विकासन्युज

आरएमडीसी लघुवित्तले २६ जनालाई दियो प्रशिक्षक प्रशिक्षण तालिम

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो तालिममा आरएमडीसीका १२ वटा साझेदार संस्थाहरुबाट २६ जना वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको माध्यमबाट साझेदार संस्थाका वरिष्ठ तहका कर्मचारीहरुलाई यस विषयको प्रशिक्षक तयार गर्ने र शाखा कार्यालयका प्रवन्धकहरु र फिल्ड सहायकहरुलाई प्रशिक्षण दिई ग्राहकहरुलाई तालिम प्रदान गरी ग्राहक सदयस्यहरुमा उद्यमशीलता बिकास गर्ने उद्देश्य रहेको छ । तालिममा सेन्टर फर माइक्रोफाइनान्स नेपालका प्रशिक्षकद्वय सनद राजभण्डारी ररुद्र पराजुलीले छलफल, खेल लगाएतका विभिन्न विधिमार्फत सहभागितामूलक रुपमा तालिमको सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्वन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तको अवस्था तथा यसका चुनौती सम्बन्धी प्रस्तुुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए । तालिमको समापन समारोहको अध्यक्षता आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत ओझाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, आयोजक तथा सहभागीहरु लाई धन्यबाद दिदै तालिममा हासिल गरेका ज्ञान, सीप र क्षमतालाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।

दुई वर्षमा पेप्सीकोला–सल्लाघारी सडक निर्माण १२ प्रतिशत मात्र

काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भैतिक प्रगति कम भएको हो । भक्तपुरको पुरानो बाटो भनिने सो सडकमा चिह्न लगाएर मापदण्डअनुसार सडक खाली गर्ने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण र सडक निर्माणको जिम्मेवारी काठमाडौँ सडक विस्तार आयोजनाको हो । स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागेर अवरोध गरिरहेकाले प्राधिकरणले सडक खाली गराउन नसकेको आयोजनाले जनाएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, “सडक खाली गर्ने वा सरकारले अर्को निर्णय गरेर यसरी अघि बढ्ने नभनेसम्म निर्माणको काम अघि बढ्न सक्दैन ।” यस सडकमा बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोध रहेको बताइएको छ । स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेको इञ्जिनीयर श्रेष्ठ बताउँछन् । उनले भने, “जग्गाको मुआब्जा दिने सरकारको व्यवस्था नहुँदा काम अघि बढ्न सकेको छैन ।” चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि आगामी पुसमा सकिँदैछ । यो सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो । रासस

सवारी कारवाहीबाट उठ्यो ९१ लाख राजश्व

बेझाड । गत आर्थिक वर्ष पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका चार हजार २६७ ट्रक र मिनी ट्रकबाट रु २५ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । यसैगरी, सो अवधिमा कारवाहीमा परेका तीन हजार १७७ बस र मिनी बसबाट रु १८ लाख ९२ हजार, तीन हजार २१८ जीप, कार, भ्यान र माइक्रोबाट १८ लाख ८१ हजार, एक हजार ५४७ ट्र्याक्टरबाट रु नौ लाख २५ हजार २५ तथा दुई हजार ८३९ मोटरसाइकलबाट रु १८ लाख ४९ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिएका छन् । आवश्यक कागजपत्र नबोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान ओसारपसार गर्ने सवारी चालक कारवाहीमा परेको उनले बताए । उनले भने, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।” आव ०७४÷७५ मा १२ हजार ८३० सवारी साधनको कारवाहीबाट रु ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको थियो । सो अवधिमा कारवाहीमा परेका तीन हजार ७७० ट्रक र मिनी ट्रकबाट रु २२ लाख २३ हजार, दुई हजार ७१ बस र मिनीबसबाट रु १२ लाख ३७ हजार, दुई हजार ६४८ जीप, कार, भ्यानबाट रु १५ लाख ९४ हजार, ९९३ ट्र्याक्टरबाट रु पाँच लाख ६८ हजार ५००, तीन हजार ३३९ मोटरसाइकलबाट रु २१ लाख २२ हजार ५०० राजश्व सङ्कलन भएको हो । ट्राफिक प्रहरी कार्यालय पाल्पाले बेलाबेलामा सरोकारवालासँग पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । तर जिल्लामा सवारी साधन बढ्दै जानु र नियम मिचेर सवारी चलाउने गर्दा राजश्व बढ्दै गइरहेको पाइएको छ । धमाधम जनचेतना तर व्यवहारमा शून्य जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन । ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएको छ तर पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन । ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ । रासस

३० अर्ब ५४ करोड पुग्यो जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी, २ खर्ब २५ अर्ब लगानी

काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को असार मसान्तसम्म जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी ३० अर्ब ५४ करोड ९१ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी २ खर्ब २५ अर्ब १७ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ८ अर्ब २० करोड ५१ लाख रुपैयाँ रहेको पाइएको छ । जीवन बीमा तर्फ २ सय २१ प्रकारका बीमा लेख गत आर्थिक बर्षमा प्रचलनमा आए । कूल अभिकर्ता संख्या ५ लाख ४६ हजार २ सय ७६ रहेको छ । बीमा दाबी: बीमा समितिका अनुसार ३४ हजार ५ सय ८७ संख्याको बीमा दाबी परेको छ । उक्त दाबी परेको रकम ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ । जीवन बीमा कम्पनीका कार्यालय संख्या: जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या १ हजार ६ सय ५४ पुगेको छ । बीमा कम्पनीहरुको कर्मचारी संख्या भने ४ हजार ७ सय ९८ रहेको छ । गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा छन् । जीवन बीमा कम्पनीहरुले बिमितको जोखिम बहन तथा बचतमा सघाउ पुर्याउँदै आएका छन् । बीमा समितिले दिएको जानकारी अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् । जीवन बीमा व्यसाय गर्ने सरकारी कम्पनीको संख्या १, निजी तर्फ १६, विदेशी शाखा रहेको कम्पनी १, संयुक्त लगानी भएको कम्पनी १ गरी कुल १९ कम्पनीहरु संचालनमा छन् । यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा आवद्ध कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।

प्रधानाध्यापकले घाइते हुनेगरी कुटे विद्यार्थी

बलेवा । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए । अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरेका छन् । “छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो”, पौडेलले भने, “माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ”, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ । जिल्ला सदरमुकामा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा कक्षा ७ सम्म अध्ययन गरेका पौडेललाई राम्रो पढाई भएको भन्दै कक्षा ८ मा गणेश मावि लगिएको थियो । बाबु प्रेमप्रसाद शर्मा पौडेल पनि शिक्षण पेशामा छन् । “पठनपाठन राम्रो हुन्छ भनेर गणेश माविमा पठाइयो”, उनले भने, “म पनि शिक्षक हो, विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन ।” ती शिक्षकविरुद्ध कानूनी उपचार बताउँदै पौडेलले कुशल खेलाडीसमेत भएकाले सामान्य चोटबाट उनी पीडित नहुनुपर्ने बताए । विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको जानकारी दिएका थिए । रासस

अब व्यापारीले स्प्रिङ तराजुबाट खरिद बिक्री गर्न नपाउने, यस्ता छन् कारण

चिप्लेढुंगा । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य १९ गरी ६९ थान नापतौलका सामग्री नियन्त्रणमा लिएको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले जानकारी दिएका छन् । महेन्द्रपुल, पृथ्वीचोक र चिप्लेढुङ्गा क्षेत्रका फुटपाथमा गरिएको अनुगमनमा त्यस्ता नापतौलका सामग्री भेटिएको उनले बताए । स्प्रिङ ब्यालेन्स तराजुबाट उपभोक्ताका लागि सामान खरिद बिक्री गर्न पाइँदैन यो अवैध हो, स्प्रिङ तराजु प्रयोग गर्दै जाँदा लुज हुने र त्यसले एक हजारबाट घट्दै ६०० ग्रामसम्म देखाउने हुँदा यस्तो तराजुबाट उपभोक्ता ठगिने नापतौल विभागका अनुगमन निरीक्षक युवराज अधिकारीले बताए । पहिलो चरणको अनुगमनमा कम लगानीका साना व्यापारी भएकाले सजक गराइएको र दोस्रो चरणको अनुगमनमा पनि लापरवाही देखिए कारवाही गरिने उनले जानकारी दिएका छन् । रासस

प्लास्टिकको चामल बिक्री गर्ने लक्ष्मी खाद्यान्न भण्डार प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ । उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका छन् । प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धित सबैलाई आग्रह गरेको छ । रासस

निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो । लामो समय बितिसक्दा पनि ठेकेदारले पुल निर्माणमा चासो नदिँदा अलपत्र बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले बताएकी छिन् । शुरुमा काठमाडौँस्थित जयबाबा जेभी निर्माण कम्पनीले ०७० साल चैत १९ गते ठेक्का लिएकामा काम नगरी सम्पर्कविहीन बनेपछि बिटी जेभी निर्माण कम्पनीले रु तीन करोड ७८ लाख चार हजारमा निर्माण गर्ने ठेक्का लिएको थियो । उक्त कम्पनीले पनि पुलको दुवै पट्टिको एउटा लिफ्ट मात्र उठाएर सम्पर्कविहीन बनेकाले निर्माणाधीन पुल अलपत्र बनेको उनले जानकारी दिएकी छिन् । केही दिनअघि सम्पर्क गर्दा निर्माण ठेकेदारले ठेक्का सम्झौता भएको रकमको २० प्रतिशत रकम बैंक ग्यारेण्टी (एपिजी) राखेर काम गर्छु भन्नुका साथै निर्माण कम्पनीको साहुका छोरा सुजन भण्डारीले समेत काम सम्पन्न गरेर छाड्ने आश्वासन दिएको जानकारी दिँदै उनले भने, “ढिलोमा भदौ महिनाको पहिलो सातादेखि काम गर्छु भन्ने सम्झौता गरी बैंक ग्यारेण्टी पत्र ल्याउने विश्वास दिलाएको हुँदा निर्माणाधीन पुल सम्पन्न हुन्छ भन्नेमा विश्वास लिएको छु ।” उक्त अवधिमा पनि निर्माण कम्पनीले काम शुरु नगरे सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न परिपत्र गर्नुका साथै कानून बमोजिम बाँकी असुल गरिने प्रमुख भण्डारीले बताए । उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा प्रक्रिया लम्बिने र निर्माण कार्य ढिलो हुने भएकाले सोही निर्माण कम्पनीलाई निर्माणका लागि दबाब गरिएको हो, काम शुरु गरेमा एक वर्षभित्र सम्पन्न पनि गर्न सक्छ । ” उक्त कम्पनीले ०७३ साल फागुन महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कार्यले गति नलिँदा लाखौँ मूल्य पर्ने निर्माण सामग्री बेवारिसे हुनाका साथै निर्माणमा पनि ढिलाइ भएको छ । पुल अलपत्र अवस्थामा पुगेपछि त्यस क्षेत्रका पाँच हजार बासिन्दा चिन्तित भएका छन् । करिब ४० मिटर लामो उक्त पुलको छ वर्षको अवधिमा १३ प्रतिशत मात्रै काम सम्पन्न भएको इञ्जिनीयर सागर मगरले बताए । तत्कालीन समयमा पुलको दुवैतिरको पर्खाल ठड्याउने काम गरेपछि निर्माण कम्पनी सम्पर्कविहीन भएको उनले जानकारी दिएका छन् । रासस