विकासन्युज

चितवनमा ६० करोड लगानीमा आधुनिक कविलास रिसोर्ट सञ्चालन, यस्ता छन् सुविधाहरु

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा क्षेत्रफलमा फैलिएको छ । कविलास रिसोर्ट प्रालिका अध्यक्ष इञ्जिनीयर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व बोकेको यस जिल्लामा फरक पन दिने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । हाल रिसोर्टमा ७५ वटा कोठा रहेका छन् । रिसोर्टको क्षमता विस्तार गर्दै १०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिए । हाल सञ्चालनमा आइसकेको भए पनि पूर्णरुपमा काम सम्पन्न गर्न रु एक अर्ब लगानी लाग्ने उनको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट १ दशमलव ८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट बससमेत सञ्चालन गरिँदै आएको छ । रिसोर्टमा सात वटा भिल्ला छन् । तिनमा छ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरी १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिएका छन् । तीन वटा बैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई वटा बैठक हलमा २००/२०० जना अट्ने क्षमताका रहेका छन् । पिकनिक जानेहरूको भिड शहरको नजिक रहेका पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनाबर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुलाई चितवनमा आकर्षित गर्न थप एउटा गन्तब्यका रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’ वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेको चितवनमा हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गर्दछन् । पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ । वनभोजका लागि १०० समूहलाई खान मिल्ने गरी व्यवस्थापन गरिएको रिसोर्टका व्यवस्थापक सुलभ ढकालले जानकारी दिए । पच्चीस वटा वनभोजस्थल निर्माण सम्पन्न भइसकेको र अन्य बन्दै गरेका छन् । अध्यक्ष उपाध्यायका अनुसार सामुन्द्रिक सतहबाट ५५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढ बजार क्षेत्रकोभन्दा पाँचदेखि सात डिग्रीसम्म तापक्रम फरक पर्ने गर्दछ । गर्मीको समयमा शीतल र जाडोको समयमा बिहानै पारिलो घाम लाग्ने भएकाले बसोबास गर्न आउनेका लागि छुट्टै अनुभूति दिलाउन सकिने ढकालले बताएका छन् । फनपार्कभित्र पानी र सुक्खा खेल रहेका छन् । बाइक रेस, कम्प्युटर र भिडियो गेम, फुटबल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्विल, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतका खेलमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्ने ढकालको भनाइ छ । पानीको खेलमा परिवारका सबै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिङ्गल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ । रिसोर्टमा प्राङ्गारिक खेती गरिएको छ । स्थानीय जातका कुखुरा, खसी, बाख्रा, हाँस, खरायो, बट्टाई चरापालन गरिएको छ । तरकारीसमेत प्राङ्गारिक उत्पादन गरेर खुवाउने गरिएको छ । आफ्नै खोर र बारीमा उत्पादितले नपुगेमा स्थानीयको उत्पादन खरिद गर्ने योजना बनाइएको ढकालले बताए । के–के छन् रिसोर्टमा र दुईदशकभन्दा बढी समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका ईन्जिनीयर बाबुराम उपाध्यायको नेतृत्वमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । रिसोर्टमा १०० जना कर्मचारी कार्यरत छन् । पूर्णरुपमा सञ्चालनमा आउँदा यो सङ्ख्या दोब्बर हुने उपाध्यायको भनाइ छ । खानेकुरा सबै त्यही उत्पादित प्राङ्गारिक खुवाइने भएकाले धेरैले रोजगारी पाउने उनको भनाइ छ । जिल्लामा राप्ती र नारायणी नदीमा होटल रिसोर्ट भए पनि पहाडमा ठूलो लगानीमा निर्माण गरिएको यो पहिलो रिसोर्ट हो । पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले पहाडमा खुलेका यस्ता रिसोर्टका कारण जिल्लामा भित्रने पर्यटकको सङ्ख्या बढ्ने जानकारी दिएका छन् । उनले ती क्षेत्रमा हाइकिङ र ट्रेकिङको अनुभूति पर्यटकलाई दिलाउन सकिने भएकाले जिल्लामा पर्यटन प्रवद्र्धनमा रिसोर्ट सहयोगी बन्ने बताएका हुन् । केहि महिना अघिबाट आंशिक रुपमा सञ्चालनमा आएको रिसोर्टमा विदेशी र स्वदेशी पर्यटकसँगै स्थानीय आउने गरेको जनाइएको छ । सो क्षेत्रमा अन्य होटल रेष्टुराँ र भुल्ने ठाउँ नभएकाले एकान्तमा तालिम, गोष्ठी गर्न चाहनेको रोजाइमा रिसोर्ट पर्ने गरेको छ । रासस

‘कर्मचारीको सुझावलाई बेवास्ता गरे संघीय निजामती सेवा ऐन मान्दैनौँ’

काठमाडौँ । कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनु पर्ने धारणा राखे । उनले भने,‘हामीले हाम्रो तर्फबाट सल्लाह र सुझावहरु दिएका छौं । सरकारले हाम्रा सुझावहरुलाई कार्यान्वयन गर्छ भन्नेमा आशावादी छौं । यदि हाम्रा सुझाव बेवास्ता गरियो भने फेरि मुलुकमा आन्दोलनको ज्वारभाटा सुरु हुन्छ । त्यसपछि के–के हुन्छ ? भन्ने कुरा थाहा छैन् । अहिले नै सबैको ध्यान पुगोस् ।’ सरकारले ऐन बनाउँदा सरोकारवाला पक्षसँग गहन र गम्भिर छलफल गर्नुपर्ने उनको धारणा छ । तर, सरकारले आफूहरुसँग सरसल्लाह नगरेकोमा ढकालले असन्तुष्टि पोखे । उनले भने,‘हामीसँग सरकारले छलफल गर्नुपर्छ । हामी कुममा कुम र काँधमा काँध मिलाएर छलफल गर्न तयार छौं ।’ ढकालले अहिले निजामती कर्मचारीलाई सामूहिक राजीनामा गराउने कुरापनि गाईँगुँई चलेकोप्रति टिप्पणी गर्दै यो बेतुकको हल्ला भएको बताए । उनले भने,‘सामूहिक राजीनामाको कुरा त थप उत्तेजित र आतंकित बनाउने प्रयत्न हो ।’ नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भीर आपत्ति र असहमति रहेको स्पष्ट पारे । उनले भने,‘सरकारले हामी स्टेकहोल्डरसँग यो ऐनको विषयमा छलफल नै गरेको छैन । यो ऐन हामी कर्मचारीसँग प्रत्यक्ष सरोकार राख्ने ऐन हो, त्यसैले हाम्रा राय, सल्लाह र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ । यदि सुझाव लिँदैन भने यो त सरकारलाई नै घाटा हो ।’ पोखरेलले अहिलेपनि आधिकारिक ट्रेड युनियन जिउँदो रहेकोले सरकारले आधिकारिक ट्रेड यूनियनसँगै राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग छलफल गर्न सरकारलाई सुझाव दिए । नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए । उनले भने,‘सरकार कानून र संविधानअनुसार चल्नुपर्छ । यस्तो महत्वपूर्ण ऐन बनाउँदा हामीसँग अनिवार्य रुपमा छलफल गर्नुपर्छ ।’ कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा आफुहरु आशावादी भएको पनि उनले सुनाए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलले आफूहरुको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले संघीय निजामती सेवा ऐनबारे सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए । उनले भने,‘हामीसँग छलफल नगरेकोमा हामी आक्रोशित छौं । हामीसँग सल्लाह नगरी ऐन ल्याईयो भने हामीलाई यो मान्य हुनेछैन ।’

नक्कली नोट छाप्ने उपकरणसहित चार गिराेह पक्राउ

धनगढी । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् । खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो । उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ । रासस

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

काठमाडौं । आसन्न एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाल भलिबल सङ्घले जनाएको छ । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते काठमाडौँमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै एभिसी सेन्ट्रल जोन भने आगामी भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित साबिक विजेता तुर्कमेनिस्तान, अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् । उक्त प्रतियोगिताका लागि नेपालले राष्ट्रिय भलिबल टोलीको घोषणा गरिसकेको छ । जसमा इमबहादुर मगर (कप्तान), धनबहादुर भट्ट क्षेत्री, विशाल विक, टेकराज अवस्थी, हरिबहादुर अधिकारी र दुर्गा खड्का छन् । त्यसैगरी, दीपकराज जोशी, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, राजकुमार निरौला, हरिहजुर थापा, कुलबहादुर थापा, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् । रासस

डिभिजन सडक कार्यालय पोखराका प्रमुख पोखरेल ९ लाख घुस रकम सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल सहित ४ जनालाई ९ लाख घुस रकम सहित पक्राउ गरेको छ । बिहीबार अख्तियारको टोलीले कार्यालय प्रमुख पोखरेल सहित इञ्जिनियर पवित्रमणी आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा समेतलाई पक्राउ गरेको हो । डिभिजन सडक कार्यालय पोखरा अन्तरगत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम शुरु गर्नका लागि पेश्की निकासा गरे बापत जीएसआर निर्माण सेवा पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस लेनदेन भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । घुस बापतको रकम दिए लगत्तै डिभिजन सडकको सरकारी निवासबाट फरार भएको जीएसआर कम्पनीका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जनाएका छन् । यता, साउन २३ गते नै अख्तियारको टोलीले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीउ अधिकृत गिरिराज कोइरालालाई काठमाडौँ स्थित कलेजका विधार्थीहरुको समस्या समाधान गरिदिने भन्दै ६ लाख ७५ हजार घुस सहित पक्राउ गरेको छ । घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको खटिएको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

करोडौँको माग गरी अपहरणको धम्की दिनेलाई प्रहरीद्वारा गोली हानी पक्राउ

काठमाडौं । काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो । घटना आज दिउँसो १२ः१० बजे भएको थियो । पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुले लिखु हाइड्रो पावरबाट रु २० लाख, विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरुले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई रु दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ । सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरु लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

कोका-कोलाको जिग्री प्याक सार्वजनिक, मूल्य ४० रुपैयाँ

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले २५० एमएलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ । यसअघि शिशाको बोतलमा मात्रै २५० एमएलको कोका–कोला, स्प्राईट, फान्टा बजारमा उपलब्ध थियो । ४० रुपैंयाँमा २५० एमएलको जिग्री प्याक कोका–कोला, स्प्राईट, फान्टा आइतवारदेखी उपत्यका लगायत देशैभरी विक्री हुने कम्पनीले जानकारी दिएको छ । उपभोताले आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट, फान्टाको नयाँ प्याक गोजीमा हालेर पनि बोक्न सक्ने र आकर्षक मूल्यमा प्रयोग गर्न सक्ने जनाइएको छ । जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा लाइट बोतल पनि हो । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ । नेपालका लागि कोका–कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीईटी बोतलको लाभ एकै पटक प्रधान गर्ने बताए । बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुशी लागेको बताए ।

हुवावे कम्पनीले सार्वजनिक गर्यो आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’

डोङगुआन, चीन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो । विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ । हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताए । रासस/एएफपी