विकासन्युज

लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न, ७० प्रतिशत लाभांशको प्रस्ताव पारित

काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो । आर्थिक बर्ष २०७५/७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभामा एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले भने-‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो भइरहेको छ, सोही कारण सेयरधनी लगानीकर्ताहरु ढुक्क हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ उनले आगामी दिनमा आफ्नो इन्स्योरेन्स कम्पनी नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

लक्ष्मी लघुवित्त र युके एड सक्षमबीच डिजिटल सेवा मार्फत वित्तीय पहुँच विस्तारका लागि सम्झौता

काठमाडौँ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेटले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले शुक्रबार युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ । सम्झौता पत्रमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका थिए । लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले “ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्नेबारे प्रकाश पारेका थिए ।

केएल टावरमा ‘बिग सेल कार्भिनल‘ सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौँ । राजधानीको चाबहिल चुच्चेपाटी स्थित केएल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । साउन २४ गतेदेखि भदौ २१ गतेसम्म करिब एक महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ । मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौनालगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँबराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगायत छन् । खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङं भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्नेछन् । चाबहिलस्थित केएल टावरमा ४० वटा भन्दा बढी पसल, भीआईपी लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, पार्टी प्यालेस, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायत रहेका छन् । मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयमा कर्मचारी करार कार्यसम्पादन सम्बन्धि सम्झौता

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयमा कर्मचारी करार कार्यसम्पादनलाई ध्यानमा राखि मन्त्रालयका तीन जना सचिव, सहसचिव बीच सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशुपन्छी तर्फबाट सचिव प्रकाश माथेमा, कृषि तर्फबाट डा. युवकध्वज जी.सी. र प्रशासन महाशाखा प्रमुख सह सचिव रघुराम विष्टसँग कृषि क्षेत्रको उन्नतीका लागि आर्थिक वर्षसम्मलाई सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रशासन महाशाखाको कार्यविवरण बमोजिम कार्यक्रमहरु व्यवस्थित कार्य सम्पादन गर्न मन्त्रालयका सचिवहरु र प्रशासन महाशाखा प्रमुखबीच देहायको कार्यशर्त र सूचकहरु राखी निजामती सेवा ऐन २०४९ को दफा १५(२) एवं नियमावली, २०५० को नियम ३४(ख) तथा सुशासन ऐन, २०६४ को दफा १९ बमोजिम यो कार्य हुनेछ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म हुने उक्त सम्झौता सम्बन्धि कार्यक्रमको समापन गर्दै कृषिमन्त्री चक्रपाणि खनालले भने ‘यो सम्झौता देखाउन र प्रचार गर्न होइन, गतवर्षका केहि कार्ययोजनाहरु लागु नभएका काम सम्पन्न नभएको हुँदा आगामी दिनमा काम सुधार्ने छौं, मन्त्रालयका काम, कार्यक्रम कसरी गर्ने भन्ने विषयमा भन्दा नि त्यसले आम मानिसमा कस्तो प्रभाव पार्दछ भन्ने कुरालाई ध्यान दिनु पर्छ ।’ कृषि मन्त्रालय चालु आर्थिक वर्ष २०७६।७७ मा ‘कृषिमा युवा’ कार्यक्रमका लागि ५० करोड विनियोजन गरेको छ, भने गतवर्ष लागु भएको उक्त कार्यक्रममा १० करोड छुट्टाएको थियो । मन्त्री खनालले नेपाल पछिल्लो समयसम्म विषादी अनिवार्य रुपमा चेकजाँचलाई निरन्तर रुपमा अगाडी बढाउने र अघिल्लो वर्षमा भएका कार्य सम्पादन ढिलाईलाई ध्यानमा राखि आगामी दिनमा हरेक काम कार्यन्वयन तथा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा राज्यमन्त्री रामकुमारी चाैधरी कृषि क्षेत्रका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिहरूकाे बाक्लाे उपस्थिति रहेको थियो । यस्तो छ सम्झौतामा : यस सम्झौता एक आर्थिक वर्षको रहेको छ , सम्झौता अनुसार कार्य सम्पादन सूचकहरुको आधारमा कार्य सम्पादनको अवस्था पहिचान हुनेछ । सो सम्झौतामा स्वीकृत वार्षिक कार्यक्रमको ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । कार्य सम्पादन प्रगति विवरणको मूल्याङ्नसँग आवद्ध छ । उल्लेख भएका बाहेक सिर्जनात्मक तथा नव प्रवर्तनात्मक कार्यहरु समेत सम्पादन गर्न प्रोत्साहित गरिनेछ । मन्त्रालयको नीति निर्देशनलाई बमोजिम सम्झौतापत्रमा छुटेका विषयलाई पनि मध्यनजर गर्ने पर्ने मन्त्रालयले जानकारी दिएको छ ।    

अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता, गाडी किन्दा ७०% सम्मको कर्जा सुविधा

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको जनाइएको छ ।

टेकुमा खुल्यो एसियन कंक्रिटो प्रालिको ‘एक्सपिरियन्स सेन्टर’

काठमाडौँ । एसियन कंक्रिटो प्रालिको ‘एक्सपिरियन्स सेन्टर’ टेकुमा खुलेको छ । शुक्रबार एक समारोहकाबीच सेन्टर उद्घाटन गरिएको हो । साथै टेकुमा उद्घाटन भएको ूएक्सपिरियन्स सेन्टरू को समुद्घाटन वृज सिमेन्ट इ.प्रालिका अध्यक्ष ताराचन्द केडियाले गरेका हुन् । एसियन कंक्रिटो प्रालि वि.सं. २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना भई २०७५ साउन महिनादेखि यसले उत्पादन शुरु गरेको हो । यो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । मासा कम्पनि भनेको विश्वमा ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनि मध्ये सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनि हो । जसले यूरोप, मध्यपूर्वी देशहरु, उत्तर तथा दक्षिण अमेरिका सहित अन्य सबै देशहरु तथा भारतमा पनि ब्लक बनाउने उपकरण सप्लाईको साथसाथै निरन्तर रुपमा सेवा दिदैं आएको छ । हाम्रो छिमेकी मुलुक भारतमा ३ वटा ठाउँमा मात्र यसले मेसिन (उपकरण) सप्लाई गरेको छ । उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका उत्पादनहरु जस्तै पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक बनाउनको लागि चाहिने कच्चापदार्थ नेपालमै पाइन्छ । कच्चापदार्थहरु ९० प्रतिशतभन्दा बढी नेपालमै उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालबाट भारत निकासी हुने गिटी, बालुवा र ढुंगालाई नेपालमै प्रयोगमा ल्याएर त्यसबाट बस्तुहरु उत्पादन गरी त्यसको बजारीकरण गरी छिमेकी राष्ट्रमा निकासी गर्दा देशलाई नै बढी फाइदा हुने जनाइएको छ । उद्योगमा लगभग २०० करोड पहिलो चरणमा लगानी भइसकेको छ र दोश्रो चरणमा पनि त्यतीनै वा सो भन्दा बढी लगानी गर्नुपर्ने देखिएको छ । यो उद्योगबाट दैनिक ५०० टन उल्लेखित बस्तुहरु उत्पादन गरिरहेको छ । यो उद्योगले नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तिमा १०० देखि १५० जनाको लागि रोजगारीको सृजना गरेको छ । उद्योगका उत्पादनहरु भैरहवा, बुटवल बाहेक, काठमाण्डौ, पोखरा, चितवन, हेटौँडा, नेपालगञ्ज, धनगढी, लुम्बिनी, लगायतका धेरै क्षेत्रमा गइरहेको छ । कम्पनिको अध्यक्षमा मनिष रुङटा तथा निर्देशकहरुमा राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया, गौरब अग्रवाल छन् ।

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिएका छन् । कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर रु पाँच करोडबाट रू दुई लाख ६६ हजारमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको रु ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै रू ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो । उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी क वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिक रुपमा रु ४५ करोड राजश्व दिँदै आएको बताइएको छ । उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक रु पाँच अर्ब खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक रु छ अर्ब आम्दानी गर्दै आएको बताइएको छ । रासस

पाँचथरको रविमा सिभिल बैंकको शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमले गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी र व्यवसायीको उपस्थिति थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको शाखाले थप टेवा पुर्याउने बताए ।