भृकुटीमण्डपमा शुरु भयो नाडा अटो शो, ‘गाडी बनाउने उद्योगलाई २५ प्रतिशत अनुदान दिने’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन् । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताए । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने बताए । ९० प्रतिशत परम्परागत इन्धन(डिजल/पेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए । ब्याट्रीबाट मात्रै स्टार्ट हुने सवारीलाई समेत अटो क्षेत्रले हाइब्रिड भनिरहेको बताए । १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले भने–‘नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुन्छ ।’ उनले जबसम्म अटो व्यापारीहरुले फाइदा मात्रै खोजिरहन्छन, तबसम्म सरकारले पनि घाटाको नीति नल्याउने बताए । २० प्रतिशत मूल्य अभिबृद्धि नहुने अटो क्षेत्रमा बहस नै नगर्ने उनको अभिव्यक्ति थियो । गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उल्लेख गरे । १४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटो मोवाइल क्षेत्र प्रगतिको सूचक भएको र अटो क्षेत्र बिना विकास नहुने बताए । उनले भने–‘नेपालमा सबैभन्दा धेरै रोजगारी दिएको अटो क्षेत्र विकासको सूचक हो । ’ नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले अब कारलाई विलासितको बस्तुका रुपमा हेर्ने दिन सकिएको बताए । जबसम्म निजी क्षेत्र फष्टाउँछ, तब मात्र देश विकास हुने उनको भनाई थियो । अटो शो भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । यी समाचार पनि पढ्नुहोस् : सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित) सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते
साताको तेस्रो दिन प्रतितोला ९ सयले घट्यो सुन
काठमाडौं । साताको तेस्रोदिन प्रतितोला ९ सयले सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । पछिल्लो समय सुनको मूल्य उच्च हुने क्रम बढ्दै गर्दा मंगलबार सुनको मूल्य घटेको हो । त्यस्तै सोमबार प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७२ हजार ३ सयका कारोबार भईरहेको छ। भने चाँदी सोही मूल्यमा प्रतितोला ८६० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रदेश नं ३ ले असोजकाे अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खाेल्ने
हेटौंडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ । सो कार्यालयले प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकललाई साविक नारायणी अञ्चलमा दर्ता रहेका नम्बरलाई खारेज गरी हाल प्रदेशको कोड नम्बरसहित नयाँ नम्बरमा दर्ता गरिएको जनाएको छ । कार्यालयका अनुसार विभिन्न जिल्लाका यातायात कार्यालयबाट सवारी अनुमतिपत्र प्राप्त गरेका पुराना एक हजार २०० व्यक्तिको अनुमतिपत्रलाई पनि यहाँ अहिले नवीकरण गर्ने कार्य सम्पन्न गरिएको छ । उक्त कार्यालयमा दैनिक ३५ देखि ४० सम्म व्यक्तिले सवारी अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेका बताइएको छ । सो कार्यालयले आव २०७५÷७६ मा विभिन्न स्रोतको राजश्ववापत रु २६ करोड ११ लाख ४८ हजार थप राजश्व असुली गरेको जनाएको छ । अब केही हप्ताभित्रै सडकको अनुगमन गरी प्रदूषणको नियन्त्रण गर्ने प्रविधिको परीक्षण गर्न एवं उच्च भारबहन गर्ने सवारीसाधनलाई प्रत्यक्ष निगरानी गरी क्षमताभन्दा बढी भारबहन गर्ने सवारीसाधनलाई कानूनी कारवाही अगाडि बढाउने क्रममा थप अधिकार प्रत्यायोजनका लागि यातायात सवारी ऐनको संशोधन गर्न प्रदेशसभामा विधेयक दर्ता भइसकेको प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले बताएका छन् । हाल सवारी अनुमतिपत्रको स्मार्टकार्ड काठमाडौँमात्रै छापिने व्यवस्था भएकाले यातायात ऐन संशोधन भएपछि हेटौँडास्थित प्रदेश यातायात कार्यालयबाट आगामी केही महिनाभित्रै प्रदेशका १३ जिल्लामा सवारी अनुमतिपत्रका लागि नयाँ स्मार्टकार्ड विवरण गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको प्रमुख थापाले जानकारी दिए । प्रदेश नं २ को वीरगञ्जको यातायात व्यवस्था कार्यालयबाट केही समयअघिदेखि दिँदै आएको सवारी अनुमतिपत्रलाई खारेज गरी ३ नं प्रदेश यातायात कार्यालयबाटै वितरण गर्ने अधिकार प्रत्यायोजित भइसकेको सो कार्यालयले जनाएको छ । रासस
मोबाइल बैंकिङमा सर्वसाधारणको पहुँच बढ्दै, एक वर्षमा पौन ३३ लाख ग्राहक थपिए
काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुगेको छ । यो गत असार मसान्तसम्मको तथ्यांक हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख ८६ हजार थियो । एक वर्षको अवधिमा ३२ लाख ६१ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्ववपूर्ण माध्ययमका रूपमा मोबाइल बैंकिङलाई हेरिएको छ । प्रविधिको विकासले आम ग्राहकले आफ्नो हातमा रहेको मोबाइलबाटै सहजबैंकिङ सेवा र क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । ‘यो तथ्यांकले अबको बैंकिङ भनेको मोबाइल बैंकिङनै भएको प्रमाणित गरेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । ‘मोबाइल बैंकिङ भनेको बैंकको आउने अध्याय हो ।’ जानकारहरूका अनुसार विस्तारै मान्छेहरूले क्यासलेसमा विश्वास गर्न थालेका छन् । ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैन, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङ मानिसको विकल्प हुँदै गएको छ । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय प्रयोगमा आएका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत पनि घटाएको छ । यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन लागतमा समेत कमी आएको छ । सन् २००५ मा पहिलोपटक स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट मोबाइल बैंकिङ सेवा सुरुवात भएको हो । सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको निक्षेपका वारेमा जनाकारी गराउने सुविधाको रुपमा विकास गरिएको हो । सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गरेको थियो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातामा पैसा ट्रान्सफर गर्ने, मोबाइल रिचार्ज गर्ने जस्ता व्यवस्था मिलाइएको थियो । २०१४ मा आएर ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो । ग्लोबल बैंकले पहिलो पटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारित भएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो । हाल यसमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न, डेभिट/क्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली पानीको पैसा तिर्न सकिनेछ ।
एनआईसी एशियाले ल्यायो नयाँ सुपर चमत्कारिक निक्षेप योजना, १ करोड ३१ लाखको बीमा सुबिधा
काठमाडौँ । एनआईसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको जनाएको छ । नयाँ ‘सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ । नयाँ सुपर चमत्कारिक निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ रु १ करोड ३१ लाख ५० हजारसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बीमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बीमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सुपर चमत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ । सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।
तीन हप्तादेखि शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित
काभ्रेपलाञ्चोक । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “आन्दोलनको बीचमा भएको वार्तामा हाम्राबारे केही सुनुवाइ नभएकाले आजदेखि कडा आन्दोलनमा उत्रिएका छौँ ।” अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुपर्ने, बिरामीको सेवासुविधा बढाउनुपर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका थिए । “हाम्रो माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्नेछौँ”, श्रेष्ठले भने । उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको र प्रशासनमा धार्मिक (क्रिश्चियानीटी) गुटबन्दी आरोप लगाए । यसअघि अस्पतालका कर्मचारीमध्ये ५० प्रतिशतले आलोपालो आन्दोलनमा सहभागी हुँदै आएकामा आजदेखि सबै कर्मचारी आन्दोलनमा उत्रिएका श्रेष्ठले बताएका हुन् । उनले भने, “आजबाट सबै कर्मचारीको सहभागितामा प्रशासन घेराउ गरेका छौँ ।” अस्पतालस्थित युनियनमा २०० कर्मचारी आवद्ध छन् । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले आन्दोलनरत पक्षसँग थप छलफलमा जाने वातावरण तयार भइरहेको जानकारी दिए । अस्पताल प्रशासनले कर्मचारीले आन्दोलन थालेकै दिन अस्पताल हाताभित्र सूचना टाँस गर्दै युनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको थियो । गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ । रासस
चार महिनादेखि नेपालगञ्ज–राराका लागि नेपाल एयरलाइन्सको उडान बन्द
रारा । विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु मर्कामा परेका हुन् । वाइ–१२ ई–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगञ्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा आफ्ना उडान गरेर यात्रुलाई सेवा दिँदै आएको छ । चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ । अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा दुई उडान गर्दै आएका थिए । यी जहाजले अन्य जिल्लामा उडान गर्दै आए पनि रारा विमानस्थलमा भने वैशाख २६ गतेदेखि उडान गरेको छैन । नेपालगञ्जबाट अन्य जिल्लामा हप्तामा दुई उडान भर्दै आएको नेपाल एयरलाइन्सले रारामा चार महिनासम्म कुनै उडान नभरेपछि यात्रु मर्कामा परेका हुन् । आफ्ना हरेक उडानमा नेपाल सरकार तथा विदेशी निकायका विशिष्ट व्यक्तिका लागि दुई, बिरामी, अपाङ्गता भएका व्यक्तिका लागि र विद्यार्थीका लागि एक/एक सिट विशेष प्रथामिकतामा छुट्याउने गरेकाले प्रायःयात्रु नेपाल एयरलाइन्सबाटै यात्रा गर्ने गरेका थिए । अन्य निजी जहाजभन्दा भाडादर केही सस्तो भएकाले सर्वसाधारण यात्रु नेपाल एयरलाइन्समै यात्रा गर्ने गरेका थिए । तर, व्यवस्थापकीय कारणले गर्दा वैशाखदेखि सेवा बन्द भएपछि स्थानीय तथा अन्य यात्रु मर्कामा परेका एयरलाइन्सका रारा विमानस्थल इन्चार्ज वीरेन्द्रबहादुर मल्लले बताएका हुन्। नेपालगञ्ज–राराका लागि नेपाल एयरलाइन्सले प्रतियात्रु रु पाँच हजार २३५ भाडा निर्धारण गरेको छ । अन्य निजी एयरलाइन्सले प्रतिव्यक्ति रु पाँच हजार ७३५ निर्धारण गरेका छन् । नेपालगञ्जदेखि रारा विमानस्थलमा हाल तारा, सीता र समिट एयरले दैनिक दुईदेखि चारसम्म उडान भर्ने गरेका छन् । नेपाल एयरलाइन्सको व्यवस्थापनको कमजोरीले गर्दा यात्रुले बाध्य भएर निजी एयरलाइन्सको सेवा लिनुपरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्ल बताउँछन्। यात्रुको सहजताका लागि रारा विमानस्थल र सदरमुकाम गमगढीमा नेपाल एयरलाइन्सले टिकट बिक्री काउन्टर स्थापना गरेको छ । चार महिनासम्म सेवा बन्द भएको भए पनि दुवै स्थानमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्मचारी काउन्टर खोलेर बस्ने गरेका छन् । सेवा कहिलेबाट सञ्चालन हुने कसैलाई जानकारी नभएको कर्मचारीले बताए । रासस
भारतको चण्डीगढ विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीसँग शैक्षिक परामर्श गर्ने
काठमाडौं । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी अगस्त २७ देखि ३० गतेसम्म चल्नेछ । अभियान अन्तर्गत प्रत्येक दिन विहान १० बजे देखि साँझ ६ बजेसम्म विश्वविद्यालयले दिने छात्रवृत्ति, विद्यार्थी जीवन, रोजगारीको अवसर, पूर्व विद्यार्थी मञ्च लगायतका विषयमा जानकारी उपलब्ध गराइनेछ । अभियानमा विश्वविद्यालयका प्रतिनिधिसँग फेसबुकबाट प्रत्यक्ष सवालजवाफ, विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष परामर्श, तत्काल योग्यता परीक्षा र भर्ना तथा विश्वविद्यालयका नेपालमा रहेका पूर्व विद्यार्थीसँग संवादको अवसर पनि प्राप्त हुनेछ । चण्डीगढ विश्वविद्यालयमा ५ सय भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । विश्वविद्यालयस्तरीय शिक्षा र असंख्य राजगारीका अवसरका लागि चण्डीगढ विश्वविद्यालय परिचित छ । भारतमा ख्याति कमाइरहेको यो विश्वविद्यालयमा विश्वका ४० देशका विद्यार्थी अध्ययन गर्छन् । विश्वविद्यालय १ सय एकर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ ।