निसान गाडीमा आकर्षक उपहार योजना
काठमाडौँ । नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत रु.३१,९९९/– बराबरको एमआई एट लाइट मोबाइल निःशुल्क दिने जनाइएको छ । गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउने छन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एकवर्षसम्मको बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेतको प्रावधान राखिएको छ । नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने जनाइएको छ ।
जिप कम्पास ट्रायल हक सार्वजनिक, नेपाली बजार मूल्य एक करोड २४ लाख
काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयूभी कम्पास ट्रायल हक सार्वजनिक गरेको छ । नयाँ कम्पास ट्रायल हकमा २.० लिटरको मल्टिजेट टर्बोडिजेल इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १७० एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । जिपले कम्पास ट्रायल हकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ । जसले गर्दा यो एसयुभी कठोर भू–बनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायल हकको मूल्य एक करोड २४ लाख नब्बे हजार रुपैयाँ कायम गरिएको छ ।
सन नेपालले गर्यो बीमा जागरण र अभिकर्ता सम्मान कार्यक्रम
काठमाडौँ । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कम्पनीका अभिकर्ताहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन भएको छ। मङ्गलबार सम्पन्न आर्थिक महिला पत्रकारहरुको भेलाले सात सदस्यीय महिला विभाग गठन गरेको हो। गठित विभाग प्रमुखमा आर्थिक अभियान राष्ट्रिय दैनिककी प्रजिता बुढाथोकी रहेकी छिन्। सदस्यहरुमा मेरो लगानी डटकमकी सुधा देवकोटा, इन्स्योरेन्स खवर डटकमकी रिना खत्री, आर्थिक अभियान राष्ट्रिय दैनिककी मल्लिका घिमिरे, अन्नपूर्ण पोष्ट दैनिककी सपना महर्जन र आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका दिप्ती भट्ट र मिना आचार्य रहेका छन्। नव गठित विभागकी प्रमुख नाफिज केन्द्रिय कार्यसमिति सदस्य हुन । प्रादेशिक संरचना अनुसार नाफिजले आफ्नो संरचना विस्तार गर्दै आएको छ। आर्थिक पत्रकारिता क्षेत्रमा महिलाहरुले भोगेका साझा समस्याको आवाज उठाउँन र आर्थिक क्षेत्रका समग्र महिलाहरुको शशक्तिकरणका लागि नव गठित विभागले काम गर्नेछ । विभागको उदेश्य भनेको पत्रकारिता क्षेत्रमा महिलाहरुले पनि आफ्नो छुट्टै पहिचान बनाउने हिसावमा काम गर्ने वातावरण सृजना गर्नु हो।नेपाल आर्थिक पत्रकार संघ( नाफिज) को अध्यक्ष सीताराम भट्टराईको सभापतित्व एवम् संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति माननिय कल्याणी खड्काको प्रमुख आतिथ्यतामा महिला विभाग गठन भएको हो। कार्यक्रममा बोल्दै संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति खड्काले नवगठित विभागका पदाधिकारीहरुलाई शुभकामना दिर्दै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तयार रहेको बताईन। सृष्टीको सृजना गर्ने महिलाहरुले जुन सुकै काम गर्न सक्ने वताउदैं उनले आर्थिक पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन महिला पत्रकारहरु निरन्तर लाग्नुपर्नेमा जोड दिईन। नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारितामा महिलाहरुको विशेष भुमिकाको आवश्यकतालाई महसुस गरी यस क्षेत्रमा महिला शशक्तिकरणको सुरुवातका लागि विभाग गठन गरिएको बताए । यो थालनी नेपाली आर्थिक पत्रकारितामा महिला शशक्तिकरणका लागि नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।
नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा
काठमाडौँ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको जनाएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नु पर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ । यो सुविधा लिनका लागि वानडीवानजी लेखेर १४१५ मा सन्देश पठाउनु पर्नेछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ । यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ । नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिने जनाएको छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति टु एट डी टु एट जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।
टाटा एच फाइभ एसयूभी सार्वजनिक, शुरुवाती मूल्य रु. ५६ लाख ५५ हजार
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य ५६,५५०००/– (छपन्न लाख पच्पन्न हजार रुपैंया)तोकिएको छ । नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि नै खुला गरिएको हो । बुकिङ्ग खुल्ला भए यता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ । टाटा एच फाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ । सो अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । नेपाली बजारमा टाटा एच फाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
महिन्द्राद्वारा नाडा अटो शोमा एक्सयूभी ३०० सार्वजनिक, मूल्य रु. ३९ लाख ७५ हजारदेखि ४१ हजार २४ हजार
काठमाडौं । महिन्द्रा ग्रुपको नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३००( एसयूभी थ्री डबल ओ उच्चारण हुने) मंगलबार नाडा अटो शोमा सार्वजनिक भएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००/– र डिजेल डब्लू फोर वर्गका लागि रु ४१,२५,०००/– तोकिएको छ । यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एक्सयूभी ३००, चित्ताकर्षक(हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले “एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर भएको बताए । बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित भएको बताउँदै एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो, जसलाई ग्राहकहरुले रुचाएको कम्पनीले जनाएको छ ।
ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा
काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मगंलबार काठमाण्डौको महाराजगंजमा नयाँ शाखा उद्घाटन गरेको छ। उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । बैंकिङ्ग पहुँचमा थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको हो। उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिएका छन् । हाल ज्योति विकास बैंकको नयाँशाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।