विकासन्युज

१३औँ सागका लागि ३५ क्रिकेट खेलाडी छनोट

काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ । प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् । त्यसैगरी, छनोट हुने अन्य सदस्यमा मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा छनोटमा परेका छन् । त्यस्तै, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । रासस

उत्कृष्ट शैक्षिक गन्तव्यः दामी पढाइ हुने ‘नामी कलेज’

काठमाडौं । जोरपाटी नारायणटारबाट केही अगाडि बढेपछि एउटा सुन्दर दृश्य देखिन्छ । त्यहि सुन्दरता भित्र सुन्दर सुन्दर भौतिक संरचना देखिन्छन् । सुन्दर भौतिक संरचना भित्र उत्कृष्ट शैक्षिक क्रियाकलाप हुने संस्थाको देशमै नाम कमाएको शैक्षिक गन्तव्य हो ‘नामी कलेज’ । शहर बजारका शैक्षिक संस्था साँघुरो स्थानमा सञ्चालन भइरहेका छन्, तर नामी कलेज ३७ रोपनी क्षेत्रमा फैलिएको छ । कलेजको ग्राउण्ड देख्दा लाग्छ कि यो कलेज भन्दा पनि ठूलो खेल मैदान हो । सन् २०१४ मा स्थापना भएको नामी कलेजको पूरा नाम मल्टी आयम डिसीप्लिनरी ईन्टिच्युट हो । बेलायतको युनिभर्सिटी अफ नर्थ ह्यम्प्टनबाट आफ्नो डिग्री कोर्स संचालन गरिरहेको कलेजले ५ वर्षकै छोटो समयमै राम्रो छाप छोड्न सफल भएको छ। कलेजले छोटो समयमै विभिन्न अवार्डहरु हाँसिल गरेको छ।प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । कलेजमा अध्यापन र व्यवस्थापन सहित करिब १ सय बढीले रोजगारी पाएका छन् । ४० करोडको लगानी करिब ४० करोडको लगानीमा स्थापना भएको नामी कलेज नेपालका निकै चर्चित व्यक्तित्वहरुले संचालनमा ल्याएका हुन्। कलेज सञ्चालक समितिको अध्यक्षमा डा. आरजु राणा (देउवा) र निर्देशकमा क्याप्टेन रामेश्वर थापा, सुरेशराज , उमा राज्यलक्ष्मी शाह, सोनी जोशी, सीता बास्तोला (कोईराला) र योगराज कँडेल शर्मा रहेका छन् । स्नातक तह र स्नातक्कोत्तर तहको कोर्स बाहेक कलेजमा ए लेभल र प्लस २ भने अक्षेरिका स्कुलसँगको समन्वयमा संचालन भईरहेको छ । यधपी नामी कलेज एउटा सिस्टर अर्गनाईजेशनको रुपमा संचालित छ । कस्तो छ भौतिक पूर्वाधार फराकिलो कक्षाकोठा, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालाको व्यवस्था कलेजले राम्रैसँग गरेको देखिन्छ। कलेजले कक्षाकोठा देखि विद्यार्थीहरु बस्ने टेबल, कुर्सीहरु सबै विद्यार्थीलाई सहज हुने तरिकाले व्यवस्थापन गरिदिएको देख्न सकिन्छ। कलेजका सिनियर म्यानेजर अमरदीप मण्डलले विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउन भौतिक संरचनाको पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्। कलेज शैक्षिक वातवरण राम्रो भएकाले थानकोट, हरिसिद्धी, दक्षिणकालीबाट समेत विद्यार्थीहरु आउने गरेका छन् । कलेज स्थानीय क्षेत्रमा मात्र होइन टाढाटाढासम्म प्रभाव जमाएको सफल भएको छ । युनिभर्सिटी अफ नर्थ ह्याम्पटन युनिभर्सिटी अफ नर्थ ह्याम्प्टन बेलायत सरकारबाट युनिभर्सिटी अफ नर्थ ह्याम्प्टनले सन् २००५ बाट युनिभर्सिटी टाईटल पाएको हो । नेपालमा बेलायतको डिग्री ल्याउनुको मुख्य कारण विद्यार्थीलाई बाहिर गएर पढ्नका लागि लाग्ने खर्चको एक चौथाइ भन्दा कम खर्चमा अध्ययन गराउनु रहेको हो– कलेजका सिनियर म्यानेजर मण्डल बताउँछन् । नामीलाई युनिभर्सिटी अफ नर्थ ह्याम्प्टन युनिभर्सिटीले बेलायतबाटै संचालन गर्दै आएको छ । कलेजको शिक्षक, प्रश्नपत्र बनाउने र जाँच्ने र डिग्री सबैको जिम्मेवारी युनिभर्सिटीले नै सम्हालेको छ । साथै नामी कलेजमा अध्ययन गरेर पाउने डिग्रीलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले पनि मान्यता दिएको छ। सुरुवातको दिन २०१४ मा नामी कलेज सुरुवात गर्दा ब्याचलरमा ५३ र ए लेभलमा ४० विद्यार्थी थिए । सुरुवाती दिनमा सस्तोमा नेपालमै ब्रिटिश डिग्री पढ्न पाइन्छ भन्दा धेरैले पत्याएनन् । दोस्रो बर्षमा आईपुग्दा कलेजलाई झनै भार पर्‍यो । भूकम्प गएको कारण धेरै कलेजलाई समस्या परेको कलेजका सिनियर म्यानेजर मण्डल बताउँछन् । प्रतीक्षाको फल मीठो हुन्छ भने जस्तै तेस्रो बर्षमा आईपुग्दा कलेजलाई लाभ भयो । अहिले कलेजमा ७ सय भन्दा बढी विद्यार्थी र १ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको सिनियर म्यानेजर मण्डल बताउँछन् । कलेजमा पढाईसँगै तालिम पनि कलेजले विद्यार्थीहरुलाई अध्ययनसँगै तालिम पनि प्रदान गर्ने गरेको छ । सफ्ट्वेयर ईन्जिनियरिङ्ग पढिरहेका विद्यार्थीहरुलाई आईटी कम्पनीहरुबाट ईन्जिनियरहरु ल्याएर ट्रेनिङ दिने गरेको छ । कलेजले धेरै कम्पनीहरुसँग साझेदारी गरेको छ । नामी कलेजमा पढेका विद्यार्थीहरुले आफ्नो क्षेत्रमा गएर गर्नुपर्ने कामका बारेमा व्यवहारिक तालिम दिने गरिएको छ । पढाई पूरा भईसकेपछी विभिन्न युरोपेली राष्ट्रहरुमा सजिलै प्लेसमेन्ट गराउने कलेजको दाबी छ । साथसाथै नेपालबाट सिधै विद्यार्थीलाई जापानमा प्लेसमेन्ट गराउने ‘नामी’ नेपालकै पहिलो कलेज रहेको छ । नामीमा पढाई हुने बिषयः १. प्लस २ः विज्ञान र व्यवस्थापन २. ए लेभल ३. स्नातक तह अर्थात ब्याच्लरः बिएस्सी (होन्स) कम्प्युटिङ : बिएस्सी (होन्स) सफ्ट्वेयर ईन्जिनियरिङ्ग : बिएस्सी (होन्स) कम्प्युटर नेटवर्क ईन्जिनियरिङ्ग : बिएस्सी (होन्स) ईन्भारोमेन्टल साईन्स : बिबिए ४. स्नातककोत्तर अर्थात मास्टर्सस् : एमबिए कति लाग्छ शुल्क ? कलेजले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै आफ्नो मासिक शुल्कहरु तोकेको छ । राम्रो अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । कलेजमा प्लस २ पढ्न २ देखी ३ लाख, ए लेभल पढ्न ५ लाखको हाराहारी शुल्क लाग्छ। अमरदिप मण्डल, सिनियर म्यानेजर, नामी त्यस्तै बिबिए पढ्न ९ लाख, ईन्भारोमेन्टल साइन्स पढ्न ९ लाख, सफ्ट्वेयर ईन्जिनियरिङ्ग तथा नेट्वर्किङ पढ्न ११ लाख, आईटी पढ्न १० लाख, कम्प्युटिङ पढ्न १० लाख र एमबिए पढ्न करिब ५ लाखको हारहारिमा खर्च लाग्ने कलेज व्यवस्थापनले जनाएको छ । विदेशमा एउटै सेमेस्टरमा लाग्ने खर्चले यहाँ अध्ययन पूरा गर्न सकिन्छ । नामीले आगामी दिनमा अझै टेक्निकल कोर्सहरु थप्ने जनाएको छ । ५ वर्षमा कलेजले पाएका अवार्डः – सन् २०१५ मा बेस्ट आईडल क्याम्पस अवार्ड (नर्थ ह्याम्प्टन युनिभर्सिटी) – सन् २०१६ मा बेस्ट राइजिंग कलेज – सन् २०१७ मा मोस्ट प्रोग्रेसिभ स्कुल (ब्रिटिश काउन्सिल) – सन् २०१८ मा मोस्ट क्रियटिभ कलेज (शिक्षालय म्यागजिन)  

लागुऔषधसहित एक महिला र दुई भारतीय पुरुष पक्राउ

पर्सा । जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो । पर्साबाट भारततर्फ लैजाँदै गरेको चार किलो गाँजासहित तारादेवीलाई र वीरगञ्जको रजतजयन्ती चोकबाट एक हजार २०० थान सुइजन्य लागुऔषधसहित कानु तथा पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिएका छन् । उनले सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका कानु र पासवानलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध नर्फिन ४०० थान, डाइजोल्याब ४०० थान र फेनारगन ४०० थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका छन् । त्यसैगरी, पर्साको ग्रामीण भेगबाट महिलालाई प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको पूर्व सूचनाका आधारमा पर्साबाट रक्सौलतर्फ पैदल जाँदै गरेकी तारादेवीलाई रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको चार किलो गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको नायब उपरीक्षक थापाले जानकारी दिएका हुन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै लागुऔषध मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

भुटानसँग व्यापार संझौता गर्न सहसचिव स्तरीय बैठक शुरु, नेपाली पक्षको छैन तयारी

काठमाडौं । १ अर्ब ६६ करोड व्यापार घाटा भएको छिमेकी राष्ट्र भुटानसँग द्विपक्षीय व्यापार संझौताका लागि सह सचिवस्तरीय बैठक शुरु भएको छ । विहीबार काठमाडौँको होटल याक एण्ड यतिमा छलफल शुरु भएको हो । गत आव २०७५/७६ मा भुटानबाट नेपालमा १ अर्ब ६७ विभिन्न सामान आयात भएको छ, भने नेपालबाट १ करोडको मात्रै सामान निर्यात भएको छ । नेपालको भुटानसँग १ अर्ब ६६ करोड व्यापर घाटा रहेको छ । उद्योग मन्त्रालयकी सहसचिव सिर्जना तिवारीले भनिन्-‘अहिलेको मूख्य एजेन्डा भनेको व्यापार संझौता हो । संझौतामा पारबहन, व्यापार सहजिकरण, केहि बस्तुमा दुई पक्षीय भन्सार छुटका विषयमा छलफल हुनेछ ।’ नेपालबाट भुटानमा साबुन, चाउमिन र नुडाल्सलगायत सामान्य बस्तुहरु मात्रै निर्यात हुन्छ । भुटानबाट भने धेरै मात्रामा मेसिनरी पाटपुर्जा, जिप्सन र कोइला निर्यात भइरहेको छ । व्यापार संझौतापछि नेपालका व्यवसायीहरुसँग बसेर के के सामानहरु निर्यात गर्न सकिन्छ भनेर सूचि तयारी पारी भुटानसगँ यो यो सामान हामी निर्यात गर्छौँ र यो यो सामान आयात गर्छौै भनेर पुनः छलफल हुने छ । कुन कुन सामान निर्यात र आयातमा भन्सार छुट दिने भनेर भन्सार कार्यालयका अधिकारी र व्यापारीसँग छलफल हुने तिवारीले जाकारी दिइन् । नेपालको तर्फबाट छलफलको नेतृत्व उद्योग मन्त्रालयका सह सचिव नवराज ढकालले गरेका छन् । भुटानको तर्फबाट सह सचिव सोनाम तेन्जिङले नेतृत्व गरेका छन् । सन् २०११ मा पहिलो पटक नेपाल र भुटानबीच व्यापार संझौता भएको थियो । ८ वर्ष पछि नेपालमा अर्को छलफल शुरु भएको हो । नेपालसगँ व्यापार घाटा हुनुमा भारतको बाटो भएर बस्तु निर्यात गर्नु पर्ने भएकाले पनि केही समस्या हुने अधिकारीहरु बताउँछन् । नेपालबाट भुटान कुन कुन सामान निर्यात गर्न सकिनछ भनेर नेपाल सरकारका अधिकारीहरुलाइ नै जानकारी छैन । नेपाल भुटान व्यापार संझौत हुदा हामी यो यो सामान निर्यात गर्ने सक्छौ भनेर जानकारी दिन सकेको भए हाम्रो देशको भुटानसगँका व्यापार घाटामा केही कम गर्न सहयोग गर्ने थियो । सह सचिबहरुले संझौता पछि मात्रै नेपालका व्यारीहरुसगँ छलफल हुने भएकाले पनि नेपालका त्यति तायारी देखिदैन ।

सर्वोच्चको फैसलामा असहमति जनाउँदै गोर्खा ब्रुअरी, प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्याे साढे २१ कराेड

चितवन । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १९ मा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असुलीका सम्बन्धमा गरेको निर्णयउपर चित्त नबुझेमा त्यस्तो सूचना पाएको मितिले ३० दिनभित्र प्रशासकीय पुनरावलोकनका लागि महानिर्देशकसमक्ष निवेदन दिनसक्ने उल्लेख छ । सर्वोच्चको फैसलापछि आन्तरिक राजश्व कार्यालयले साउन १२ गते ब्रुअरीलाई अन्तःशुल्क भूक्तानीका लागि पत्र पठाएको थियो । यो मितिले ३० दिन नाघेको भए पनि म्याद गुज्रेको अवस्थामा महानिर्देशकले मनासिव देखिएमा ३० दिन थप गर्नसक्ने उल्लेख छ । ब्रुअरीले समय थप मागेर प्रशासकीय पुनरावलोकन गर्ने जनाएको छ । सर्वोच्चको आदेश स्वीकार गरेको भए ब्रुअरीले पत्र पाएको सात दिनभित्र रकम दाखिला गर्नुपर्ने हुन्थ्यो । रिजालले २५ प्रतिशत रकम भूक्तानी गरिसकेकाले अबको बाटो पुनरावलोकन भएको जानकारी दिएका छन् । अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको थियो । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७३/७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४/०७५ को रु ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तःशुल्क, जरिवाना र विलम्ब शुल्क दाखिला गर्न पत्राचार गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले साउन ८ गते यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्ट्याएपछि कर सङ्कलन गर्ने बाटो खुलेको थियो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि फ्लोमिटर बिग्रिएको भन्दै ब्रुअरीले ३.५ प्रतिशत जर्ती कटाएपछि राजश्व कार्यालयले सोको कर निर्धारण गरेको हो । निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको हो । सोपश्चात ब्रुअरीविरुद्ध आन्तरिक राजश्व कार्यालय भरतपुरले साउन ७ गते सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । सोही रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्नु/नगराउनु भनी आदेश जारी गरेका थिए । यससँगै आन्तरिक राजश्व कार्यालयले ब्रुअरीको अन्तिम कर निर्धारण गर्न बाटो खुला भएको थियो । ब्रुअरीले यसअघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ को रु सात करोड, २०७१/७२ को रु १५ करोड र २०७२/७३ को रु २९ करोड अन्तःशुल्क बुझाउन बाँकी छ । अघिल्ला दुई वर्षको राजश्व न्यायाधीकरण र पछिल्लो एक वर्षको सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले टुङ्गो लाग्न नसकेको रिजालले जानकारी दिएका छन् । यसमा पनि प्रशासकीय पुनरावलोकन चित्त नबुझेमा ब्रुअरीलाई राजश्व न्यायाधीकरणमा जाने बाटो खुला रहनेछ । उद्योगको फ्लोमिटर राखेर चलेको अवस्थामा ३.५ प्रतिशतसम्म जर्ती कटाउन सक्ने प्रावधान रहेको छ । फ्लोमिटर नरहेको र बिग्रिएको अवस्थामा दुई प्रतिशत मात्रै जर्ती काट्न सक्नेछ । तर ब्रुअरीले फ्लोमिटर राखेर पनि चलाएको छैन । तर ३.५ प्रतिशत जर्ती दाबी गर्दै आएपछि हरेक आर्थिक वर्षमा कर निर्धारणको विषयमा विवाद हुँदै आएको हो । विसं २०४५ देखि नवलपरासीको मुकुन्दपुरमा सञ्चालन हुँदै आएको ब्रुअरीले गत आर्थिक वर्षमा रु ११ अर्ब अन्तःशुल्क तिरेको छ । त्यसअघिका दुई वर्षमा रु आठ अर्ब र रु पाँच अर्ब अन्तःशुल्क तिरेको थियो । यस कार्यालयमा सङ्कलन हुने अन्तःशुल्कको ४० प्रतिशत गोर्खा ब्रुअरीले तिर्ने गर्दछ । सो उद्योगले गोर्खा, काल्सवर्ग र टुबोर्ग बियरसँगै एप्पल साइडर उत्पादन गर्दै आएको छ । रासस

गभर्नरले भने-‘राष्ट्र बैंकले लिएको नीति खुरुखुरु कार्यान्वयन गर्नुहोला, हारगुहार गरेर केही हुन्न’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका सञ्चालकहरुले आफ्नो इच्छाले पैसा चलाउन नपाउने बताएका छन् । नेपाल बैंकिङ इन्स्टिच्यूट(एनबीआई)ले विहीबार आयोजना गरेको रिक्स म्यानेजमेन्ट सम्बन्धी कार्यक्रममा गभर्नर नेपालले भने–‘आफ्नो इच्छाले चलाउने भने अरु नै व्यवसाय गर्नुस् ।’ बैंकमा सञ्चालकहरुका सम्पत्ति ८ प्रतिशत मात्रै हुन्छ, बाँकी ९२ प्रतिशत सर्वसाधारणहरुको सम्पत्तिलाई सञ्चालहरुले आफ्नो इच्छाले चलाउन पाउँदैनन्–गभर्नर नेपालले भने । राष्ट्र बैंकले लिने नीति दूरगामी हुन्छ । पछिल्लो समय राष्ट्र बैंकले लिएको नीति पनि दूरगामी छ, गभर्नर नेपालले भने–‘राष्ट्र बैंकले आफ्नो नीति जसरी पनि लागू गरेरै छाड्छ ।’ राष्ट्र बैंकले लिएको नीति कार्यान्वयन गर्नु होला, बैंकका सीईओ र सञ्चालकहरुलाई उनले भने । राष्ट्र बैंकले लिएको नीति खुरुखुरु कार्यान्यवन गर्नु होला, माथिल्लो निकायमा गएर हारगुहार गरेपनि केही हुने वाला छैन, म गभर्नर रहेसम्म र अर्का गभर्नर आएपनि राष्ट्र संघले लिएको दूरगामी नीति कार्यान्वयन भएरै छाड्छ–उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सञ्चालन हुन ६५ र ७० वर्षको उमेर हद तोकिएको प्रशंगमा उनले भने–‘निजी व्यवसाय उमेर ढल्कदै गएपछि उत्तराधिकारीलाई जिम्मा लगाइन्छ, तर बैंक तथा वित्तीय संस्थाको प्रमुख पदमा चाँही उमेर जति भएपनि बसिरहन पाउनु पर्छ भन्ने धारण गलत छ ।’ कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढंगानाले सञ्चालकको स्थार्थ हेरर मात्र काम गर्दैनौं भने । पूँजी बृद्धि संगै बिजनेशपनि बृद्धि गर्यौँ, जसले गर्दा केही समस्यापनि आयो, तर त्यसलाई व्यवस्थापन गरेर अघि बढेको अध्यक्ष ढुंगानाले बताए ।

बिऊ पूँजी ५ लाख, प्रतिफल दुई बैंकको सञ्चालक र बीमा कम्पनीको अध्यक्ष

काठमाडौं । चार वर्षअघि रमेशकुमार निरौला नेको इन्स्योरेन्सको अध्यक्ष हुँदा कम्पनीको प्रिमियम वार्षिक ३५ करोड रुपैयाँ थियो । बीमा समितिको निर्देशन अनुसार २५ करोड चुक्ता पुँजी पुर्याउन कठिन भएर प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा थियो । सेयर मूल्य प्रतिकित्ता १५० को हाराहारीमा थियो । अहिले सेयरको मूल्य प्रतिकित्ता ३९० भन्दा माथि छ । गत वर्ष १९१ करोड प्रिमियम आर्जन गरेको छ । ३४ करोड खुद नाफा गरेको छ । चार वर्षमा कम्पनीले सेयरधनीलाई १२१ प्रतिशत बोनस सेयर दिएको छ । प्रस्तावित १२ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १३१ करोड बन्दैछ । कम्पनी बलियो भएको छ । ‘खुद नाफाको आधारमा हामी दोस्रो स्थानमा छौं । प्रिमियमको आधारमा शिखर पहिलो, सगरमाथा दोस्रो, नेको तेस्रो स्थानमा छ । नाफाको हिसावले शिखर पहिलो, हामी दोस्रो स्थानमा छौं । कुल प्रिमियम र खुद नाफाको अनुपातका आधारमा हामी पहिलो स्थानमा छौं’- अध्यक्ष निरौला व्याख्या गरे-‘हामीले  १९१ करोड प्रिमियम संकलन गरेर ३४ करोड नाफा गर्यौ । शिखरले ३२५ करोडको कारोबार गरेर ४७ करोड मात्र खुद नाफा गरेको छ ।’ हाल नेकोको चुक्ता पुुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । फेरी कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । के लगानीकर्तालाई नगद लाभांश चाहिँदैन ? अध्यक्ष निरौलाका लागि यो गम्भीर प्रश्न भयो । उनले भने-‘बीमा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दवाव दिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब बनाउने आभास हामीले पाएका छौं । त्यसैले हामीले फेरी बोनस दिने निर्णय गरेका छौं ।’ पाँच वर्षको सबै परिसूचकमा पहिलो हुने योजनासहित काम गरिरहेको उनले सुनाए । ‘रिटेल विजनेशमा हामी अहिले पनि नम्बर वान छौ । एभिएशन विजनेश हामीसँग नभएकोले केही समय मिहेनत गर्नुपर्छ । केही वर्षमा अर्थतन्त्र बुम हुन्छ, हुन्छ । अर्थतन्त्र बुम हुँदा बीमा कम्पनीहरुले लाभ लिन सक्छन् । त्यो बेला हामी पहिलो कम्पनी बन्छौं’- उनले आत्मविश्वास व्यक्त गरे । उपेन्द्र महत्तो, रमेशकुमार निरौला, इन्द्रबहादुर थापा र रामेश्वर सिंह सिजापति संलग्न विनायक कम्पनीले नेकोमा लगानी गरेपछि निरौलाले अध्यक्षको जिम्मेवारी पाए । उनी कार्यकारी पदमा छैनन् । तर, प्रायजसो कार्यालय जान्छन् । कम्पनीलाई शुक्ष्म रुपमा नियाल्छन्, सुधारका योजना बनाउँछन् । व्यवस्थापन समितिबाट नै कम्पनीका सबै काम गराउँछन् । ‘मैले यो कम्पनीमा कुनै पनि कर्मचारीलाई हटाइन । प्रभावकारी रुपमा काम गराउने क्रममा कसैकसैले आफै छोडे । राम्रो काम गर्नेले मौका पाए । हामीले बैकिङ क्षेत्रबाट केही नयाँ मान्छे ल्यायौं । परिणाम राम्रो आयो’ उनले सुनाए । छोटो कर्पोरेट यात्रा निरौलाको कर्पोरेट यात्रा लामो छैन । एनडीइपी डेभलपमेन्ट बैंकमा एक कार्यकाल र माछाुपुच्छ्रे बैंकमा एक कार्यकाल सञ्चालक भएर काम गरे । पब्लिक कम्पनीको सञ्चालक समितिमा रहेर काम गर्नु उहाँको लागि तेस्रो कम्पनी हो नेको । बिऊ राम्रो पब्लिक कम्पनीमा सञ्चालक वा अध्यक्ष बन्न आवश्यक पहिलो सर्त हो लगानी । उनी कति ठूलो लगानीका मालिक हुन् ? हामीले जान्न प्रयास गर्यौँ । उनले अर्को पटकलाई भाका सारे । ‘म सफल लगानीकर्ता हुँ’ उनले भने-‘सेयर लगानीबाट राम्रो प्रतिफल आउँछ । राम्रै जीवन बिताउनु पुग्छ ।’ निकै जोड गर्दा पनि उनले लगानीबारे खुलेर अंक बोलेनन् । ‘नेको इन्स्योरेन्समा २ प्रतिशत सेयर छ । युनिलिभर, नागरिक लगानी कोषमा राम्रो लगानी छ । केही नयाँ बीमा कम्पनीमा प्रमोटर सेयरमा लगानी गरेको छु ।’ सेयर बजारमा प्रवेश गर्दा उनले लगभग ५ लाख रुपैयाँ लगानी गरेका थिए । उनको पहिलो लगानी माछापुच्छ्रे बैंकको सेयरमा थियो । वि.स. २०६१ सालतिर उनले किन्दा कित्ताको १ सय ७० रुपैयाँ परेको थियो । त्यहि बैंकमा उनी सञ्चालक पनि बने । विगतमा सञ्चालक भएको माछापुच्छ्रे र हालको देवः विकास बैंक दुबैमा एक कित्ता पनि सेयर नभएको उनले खुलाए । कारण खुलाए-‘सेयर बजारको गेम जित्नु भनेको विज्ञान र कलाको राम्रो प्रयोग गर्नु हो ।’ बिऊ राम्रो भएमा फल राम्रो हुने विश्वास उनलाई छ । ‘बरको विऊ तोरीको गेडाभन्दा सानो हुन्छ । त्यो सानो बिऊबाट ठूलो बरको रुख बन्छ’–उनले भने-‘दुब्लो मान्छेको दिमाग पनि एटम बम भन्दा ५ लाख गुणा शक्तिशाली हुन्छ ।’ चाहाना डाक्टर, बने पूँजीपति पारिवारिक पृष्ठभूमि, पढाई र जागिरे जीवन भन्दा अलग स्थानमा छन् रमेश निरौला यतिबेला । चाहाना डाक्टर बन्ने थियो, तर बने पूँजीपति । उनको पहाड घर ओखलढुंगा हो । उनको परिवार सो स्थानबाट सिरहाको सिमरामा बसाई सरेर आएको थियो । हाल सर्लाही जिल्लाको बाग्मतीमा वसोबास रहेको छ । गोल बजारको श्री जनता माध्यमिक विद्यालयबाट उनले स्कूले शिक्षा आर्जन गरे थिए । वि.स. २०३८ सालमा एसएलसी परीक्षा पाए गरे । उनले ८ कक्षादेखि बेच्चमा बसेर बढेका हुन् । ‘कक्षा ७ सातमा अध्ययन गर्ने बेलासम्म पनि घरबाट बोरा बोकेर विद्यालय जानु पथ्र्यो’ उनले सम्झिए । उनका छोरा एमबीवीएस गर्दैछन् । छोरी विविए पढ्दैछिन् । छोराछोरीको स्कूले जीवन र आफ्नो स्कूले जीवन तुलाना गर्दै भने–‘हामी गुच्चा खेलेर हुक्र्यौ । हाम्रा छोरा छोरी प्रविधिसँग खेलेर हुर्किए । पहिलेको आईए पढेको विद्यार्थीले नपाएको ज्ञान अहिलेको ८ कक्षाको विद्यार्थीले लिइसकेको छ ।’ तर विकाससँगै प्रतिस्पर्धा बढेकोले नयाँ पुस्ताको जीवन सहज नभएको उनको बुझाई छ । बीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसबाट आइएसी र बीएससी अध्ययन गरे दिदीको घरमा बसेर । ‘साइन्स पढ्दा डाक्टर बन्छु भन्ने थियो । त्यो रहर वा कहर नभई फेसन थियो’ उनले भने–राम्रो पढाई भएको विद्यार्थीले साइन्स पढ्नुपर्छ भन्ने फेसनमा उनी फसे । ‘अग्रेजी कमजोर थियो । चार कक्षामा एवीसी पढेको मान्छे । पढेर जानेको कुरा पनि अंग्रेजीमा लेख्न नसकेर माक्स कम भयो’ उनले भने–‘केमेस्टीमा एमएसी गर्दै थिए । पहिलो वर्षको परीक्षा मुम्बई स्थीत एक कम्पनीमा काम गर्ने अवसर जुर्यो । पढाई छोडेर जागिर खान गएँ ।’ सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ । उनी एमआर (मेडिकल रेप्रिजेन्टिभ) बने । त्यतिबेला यो पेशा निकै राम्रो मानिन्थ्यो । परिवार र आफन्त सबै खुशी भए । उनको कार्यक्षेत्र बीरगञ्ज केन्द्रीत भयो । उनले पूर्वमा राजविराजदेखि पश्चिममा नारायणघाटसम्म हेर्थे । वि.स. २०५१ साल फागुन महिनामा उनको विवाह भयो । विवाहपश्चात घुमफिर गर्नु पर्ने काम सकसपूर्ण बन्दै गयो । श्रीमती, घर–परिवारलाई समय दिनै नपाइने बाध्यताले त्यो पेशा छाडिदिए । २०५३ सालमा उनी जागिर छोडेर काठमाडौ आए । सोही अवधिमा उनले सरकारी जागिरको लागि समेत प्रयास गरे । २०५५ र ५६ सालमा दुई पटक लोक सेवाको परीक्षा दिएपछि उमेरले नेटो काट्यो । अब सरकारी जागिर खान उनले नपाउने भए । त्यसपछि गोरखा आयुर्वेदमा म्यानेजर भएर ५ वर्ष काम गरे । वि.सं २०६१ सालमा सेयर बजारमा प्रवेश गरे । र, यहि क्षेत्रबाट उनी पब्लिक फिगर, पुग्ने पैसा पनि कमाए । सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । ‘बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ ।’ ‘विजनेशमा कानुनी रुपमा फाइदा कमाउने नाफामा जान्छन्, तर सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन गर्नेहरु अगाडि हुन्छन् । सेयर बजारमा छिर्न तथा निस्कन सही समयको छनोट गर्नु पर्छ’–उनले भने । फेरी उनले वारेन वफेटको लगानी सुत्र सम्झिए । भने–‘सेयर बजार घटेको बेलामा किन्न पर्छ, तर बजार बढेको बेलामा पनि बेच्नु सक्नु पर्छ ।’

जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा

श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महिनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे । “हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने । उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मलिकले भने,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।” रासस/एएनआई