नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला
काठमाडौं। रेनो-नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ। भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी राखिएको रेनो ट्राइबर सोमबार भाद्र १० गते देखी बुकिङ खुल्ल गरिएको हो। ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् । रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेनजर हो । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउछ । रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छन । १८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयूक्त रहेको छ । रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ । रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड भ्ब्क्थ्(च् ब्ःत् सँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ । “रेनोका लागि नेपाल प्रमुख बजार हो । नेपालमा विस्तार गर्न र हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले बी–सेगमेन्टका ग्राहकहरुको नेतृत्व गर्दै ग्राहकहरुको ठुलो संख्यालाई लक्षित गरेको छ । रेनो ट्राइबर ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निपुण इन्जिनियरिङ क्षमता, गहन डिजाइन दक्षता, आधुनिक विशेषता, धेरै स्पेश र भर्सटाइलिटी प्रदान गर्दछ । आजबाट बुकिङ खुल्ला गरेसँगै हामी रेनो परिवारमा धेरै ग्राहकहरुलाई स्वागत गर्न चाहान्छौं,” रेनोका स्पीक पर्सनले भने । नाडा अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ ।
भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिएका हुन् । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरेका छन् । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो । उनले भने, “अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।” नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावनमार्ग विस्तारको काम हुने उनको भनाइ थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए । भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताएका हुन् । भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए । अर्को प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताएका छन् । उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिएका हुन् । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताए । विमान कम्पनीले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।” हवाई भाडा दर समायोजन हुने उनको भनाइ थियो । उनले भने, “भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महङ्गो छ । विदेशीको झनै महङ्गो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।” नेपाल एयरलाइन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि बढिरहेको उनको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमले विमानस्थलको अवस्थाका बारेमा जानकारी गराउँदै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए । रासस
कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य शुरु
काठमाडौ । कुमारी बैक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेण्ट सम्बन्धि सहकार्य गरेको छ । आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उदेश्यले बैकले देशकै प्रचलित र एप वेस्ट सुविधा भएको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य गरेको हो । आधुनिका सूचना प्रविधिको प्रयोग गरि दैनिक आवात जालत सहज बनाउनको लागि सारथीको ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैँकले जनाएको छ । उक्त प्रविधिले नगद रहिद र झण्झट रहित कारोबारमा सहजता ल्याउनुको साथै ट्याक्सी व्यवसायीहरुको आम्दनीलाई पनि तुरुन्तै सम्बन्धित बैक खातामा बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने व्याजको समेत लाभ हुनेछ।
आठ इँटा उद्योगमा डोजर लगाउन नगरपालिकाले दियाे निर्देशन, ९० कराेड नाेक्सान
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा उद्योगका चिम्नि, पाकेका इँटा, बासस्थान तथा कार्यालय भवन ध्वस्त हुँदा सो मूल्यबराबरको सामग्री क्षति भएको आरोप लगाउँदै त्यस कार्यको भर्सर्ना समेत गरेको छ । सरकारले उद्योग प्रतिष्ठानको विकास, प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा उल्टो डोजर लगाएर व्यक्तिगत सम्पत्ति नोक्सानी पुर्याउने, उद्योगी व्यवसायीलाई मानसिक रुपमा यातना दिने कार्य गरेकाले यसको छानविन गरी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकाय समक्ष महासङ्घले माग गरेको छ । त्यस्तै पछिल्लो समयमा काठमाडौँको चन्द्रागिरि नगरपालिकालेसमेत आफ्नो क्षेत्रभित्रका इँटा उद्योग सञ्चालनमा रोक लगाउन पत्र काटिसकेको भन्दै यसले संवैधानिक हक हननको घटना बढाएको महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत भुस्से इँटा बनाउन छोडेर आधुनिक प्रविधि प्रयोग गर्दै आएको र यसबाट वायु प्रदूषण कम गर्न योगदान पुर्याउँदै आएको जनाइएको छ । महासङ्घले इँटा व्यवसाय विद्यमान कानूनको विधि र प्रक्रियाअनुसार दर्ता भएका, कर तिर्ने गरेका र सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएकाले ती देशका जिम्मेवार व्यवसायी भएको उल्लेख गरेको छ । रासस
१.३३ अंकले घट्यो नेप्से, २७ करोडको कारोबार
काठमाडौ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो । ०.११ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.४१ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १७० कम्पनीले कारोबार गरेका छन् । ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ । बजार घटेका दिन नेप्सेका सबै २ सूचक हरियो देखिएका छन् । बैक समूह ०.८६ र विकास बैक समूह २.९ अंकले बढेका छन् । ट्रेडीङ्ग समूह २.३७, होटल समूह ०.०७, जलविद्युत समूह ३.०४, वित्तीय समूह १.६९, निर्जीवन बीमा समूह १०.७१, उत्पादन मूलक समूह ३२.२२, अन्य समूह ०.१५, माईक्रो फाइनान्स समूह १.८४, जीवन बीमा समूह ५०.२४ र म्यूचुअल फण्ड समूह ०.०२ अंकले घटेका छन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड फाइनान्स लिमिटेड लगानीकर्ताले ६.४१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
गोरखाको छेपेटारमा प्रभु बैंकको नयाँ शाखा
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोरखाको छेपेटारमा बिहीबारदेखिे छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले गरेका हुन् । छेपेटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । यस बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ ।
गाडी र बाइकको इञ्जिन सफा गर्ने ‘एचएच ओ कार्वन क्लिनर’ नाडा अटो शोमा
काठमाडौ । अब सडकमा गुड्ने बाइक र गाडीहरुले कालो धुवा फ्याक्ने समस्याबाट सवारीसाधन प्रयोगकर्ताले मुक्ति पाउने भएका छन् । इन्जिनको समस्यालाई लक्षित गरेर ‘एचएच ओ कार्वन क्लिनर’ नेपाल भित्रिएको छ । क्याटालाइसिस अटो कम्पनीले ‘एचएच ओ कार्वन क्लिनर नेपाल भित्र्याएको छ । ‘एचएच ओ कार्वन क्लिनर’ ले गाडी र बाइकको कालो धुवा फ्याक्ने समस्याको समाधान गर्ने भएको छ । ‘नाडा अटो शो’ को विषेश अवसर पारेर ल्याएका अनेकौ नौला प्रविधि मध्ये सो क्लिनर ग्राहकहरुको रोजाईमा परेको पाइएको हो । ‘गाडीको मुख्य पार्टसको रुपमा इन्जिनलाई नै बुझ्नु पर्छ । गाडी विक्रेताहरुले पनि गाडी वा बाइकको प्रयोगकर्तलाई इन्जिनको ख्यान राख्न सल्लाह दिहिरहेका हुन्छन । एचएच ओ कार्वन क्लिनर मेसीनमा हुन्छ, हाइड्रोजन ग्यास हुने र त्यो ग्याँसले सवारीसाधनको इन्जिनलाई सफा गरि बलियो बनाउने छ । क्याटालाइसिस अटो कम्पनीका म्यानेजर खेम केसीले एचएच ओ कार्वन क्लिनर मेसीनले अक्सि हाइड्रोजन ग्यासको उत्पादन गर्ने र त्यसले इन्जिनलाई सफा गर्ने बताउछन् । यो प्रविधिको प्रयोग पछि सवारीसाधनको इन्जिन बनाउन नपर्ने र माइलेज पनि बढि दिने कम्पनीको दाबी रहेको छ । डिजेल र पेट्रोलका सबै प्रकारका सवारीसाधनहरुको इन्जिन यसले सफा गर्दछ । बाइक, गाडी र बसका लागि ग्राहकले मेसिनको प्रयोग गर्न सक्छन् । मिसिनको मूल्य भने १४ लाख रुपैयाँ कम्पनीले तेकेको केसीले बताए । सिङ्गल क्लिन र डबल क्लिनमा मिसिनका नेपाली बजारमा उपलब्ध छ । सवारी साफ गर्ने प्रविधि अमेरीकाको हो यसको उत्पादन चीनले गर्दै आएको छ । यस मेसिनले इन्जिनको सुरक्षा गर्दछ । गाडी वा बाइकको इन्जिनले कालो धुवा फाल्ने समस्याबाट हैरान भएका ग्राहकहरुको लागि यो उपयोगि हुने कम्पनीले बताएको छ । किनभने उक्त मिसिनको प्रयोग पश्चात मिसिनले कालो धुवा फाल्दैन । कार्वन क्लिन गर्दा कार र गाडीहरुको ५ हजार ५ सय र मोटरसाइकलको लागि १ हजार रुपैयाँ लाग्ने छ । विक्रेता कम्पनीले बजारमा आफूहरुको राम्रो प्रभाव परेको र सवारीसाधन प्रयोगकर्ताले उत्साका साथ प्रयोग गरेको बताएको छ । हालसम्म ८ सय भन्दा माथि मिसिन बिक्री भइसकेको कम्पनीले जनाएको छ । कम्पनील नेपाल भित्रीएको ८ महिना भएको छ । मिसिन पार्सियर्लीमा खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने पाइएको छ । कहाँ कहाँ पाइन्छ ? जिनियस अटो केयर नक्खु (एनसेलको कार्यालय नजिकै) देवी अटो केयर शंखमुल दोभान पुल, जयदुर्गा अटो सानो ठिमी, (भक्तपुर), जयदेव ट्रेडीङ्ग ग्वार्को, ललितपुर, किरण अटो वर्कसप पुरानो बानेश्वर, गुड अटो मोवाइल्स प्राईभेट लिमिटेड धुम्बाराही (पिपलबोट), भक्तपुर अटो वर्कसप सल्लाघारी (भक्तपुर) र गण्डकी इको टेक प्राईभेट लिमिटेड रहेका छन् । नाडा अटो शोको २ दिनमा नै २ सय जनाभन्दा बढीले अवलोकन गरि सकेको कम्पनीले जानकारी दिएको छ । अवलोकन कर्ताको चासो खरिदमा भन्दा बढी सर्भिसकालागि भएको कम्पनीको अनुभव छ ।
ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा
काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तारका क्रममा बिहीबार ललितपुरको सातदोबाटोमा नयाँ शाखाको उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट भएको हो । कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरेका छन् । हाल ज्योति विकास बैंकले नयाँ शाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।