माछापुच्छ्रे बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आव २०७५/७६ को खुद नाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको १६ प्रतिशत लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश(कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाइएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको जनाएको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका जनाइएको छ ।
एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो । एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन बैंकले जनाएको छ ।
टाटा मोटर्सका गाडी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा
काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्न भएको छ । फाइनान्स सुबिधाका लागि सिप्रदीले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सम्झौता गरेको छ । भेइकललोन अन्तर्गत कमर्सियल गाडीहरू, सेमी(कमर्सियल गाडीहरू तथा प्यासेन्जर भेइकल(यात्रुवाहक गाडीहरू) खरिदका लागि दुईवटा बैँकहरूसँग सिप्रदीले भेइकल लोन(गाडी कर्जा) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । उक्त सम्झौताअन्तर्गत सांग्रिला विकास बैँकबाट भ्याट बिलमा उल्लेख भए बमोजिम मूल्यको ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरेको छ र यात्रुवाहक गाडीहरू किन्न भ्याट बिलमा उल्लेख भए बमोजिमको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गरिएको छ । कमर्सियल गाडी र सेमी(कमर्सियल गाडीहरूको कर्जा पाँचवर्ष भित्र चुक्ता गर्नुपर्छ भने यात्रुवाहक गाडीहरूको कर्जा सात वर्ष भित्र तिरि सक्नुपर्छ । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीका तर्फबाट सेल्स तथा मार्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सांग्रिला विकास बैंकका प्रमुख कर्जा अधिकारी रंजित मास्केले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैँकसँग भने सिप्रदीले च्यासिसको मात्र फाइनान्स गर्ने सम्झौता हस्ताक्षर गरेको छ । भ्याट बिलमा उल्लेख भएअनुसार गाडीको कूल मूल्यको बढीमा ७० प्रतिशत तिर्न चाहने ग्राहकहरूले गाडी कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जा चुक्ता गर्नका लागि ग्राहकहरूले पाँचवर्षको समयावधि पाउने छन् । सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाको उपस्थितिमा सिप्रदीकातर्फबाट सेल्स तथामा र्केटिङ्गका जेनरल म्यानेजर अनुपमणि ढकाल र सानिमा विकास बैंकका रिटेल लेन्डिङ विभागका प्रमुख हेमराज संजेलले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ओयो होटल्स एण्ड होम्सद्वारा नेपालमा ‘ओयो लाइट’ एप सार्वजनिक
काठमाडौं । ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ । नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको छ र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको छ । ८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्टि अनुभव प्रदान गर्दछ । यसलाई सार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो¥याउदै आइरहेको छ । ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत, अनिल गोयलले भने–‘ओयोमा प्रविधिमार्फत हामी अतिथिहरुलाई निबोर्ध, सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गर्न प्रतिबद्ध रहेका छौं ।’
द टाटा मोटर्स इम्पेर्र प्रोगाम उद्घाटन
काठमाडौँ । टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ्ग प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रीको लागि ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’को उद्घाटन गरेको छ । उक्त कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपूर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वार्षिक मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने जनाइएको छ । ग्राहक वर्गहरुलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणीय बनाउने उदेश्यले यो लोयल्टी प्रोग्राम सुरु गरिएको हो । यो प्रोग्रामले व्यापारको बढावा दिने मात्र नभई ग्राहकहरुको लागि अरु सुविधाहरु पनि प्रदान गर्छ जस्तै टाटा मोटर्सको फ्याक्ट्री निरिक्षण तथा प्रदर्शनीमा समावेश पनि गराउँदछ । उक्त समारोहमा टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले यस्ता किसिमका कार्यक्रमले नेपाली कमर्सियल गाडी इन्डस्ट्रीमा ग्राहकको सम्वन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गरे । त्यसैगरी उक्त समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले ग्राहकको पहिलो रोजाइ बन्ने लक्ष्यसँगै टाटा मोटर्ससँगको सहकार्यलाई अझ प्रगाढ र बलियो बनाउने बताए ।
४६ सिमेन्ट उद्योग र कम्पनी चुनढुङ्गा उत्खनन् गर्दै, सरकारले गर्यो ६१ करोड ८१ लाख आम्दानी
काठमाडौँ । नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा, डोलोमाइट र खरीको खानी लिनेको सङ्ख्या बढेको बताउँछन् । “घर तथा भौतिक पूर्वाधार निर्माणका लागि सबैले सिमेन्ट प्रयोग गर्ने भएकाले पनि यसका लागि चुनढुङ्गा लिनेको क्रम बढेको हो”, उनी भन्छन् । आव २०७५/०७६ मा मात्र ४६ सिमेन्ट उद्योग तथा कम्पनीले चुनढुङ्गा उत्खनन् गर्दै आएका छन् । चुनढुङ्गा उत्खननका लागि भित्री मधेश तथा पहाडी क्षेत्र राम्रो मानिन्छ । सरकारले आव २०७५/०७६ मा सबै खाले खानी उत्खननको राजश्वबापत मात्र रु ६१ करोड ८१ लाख ५६ हजार आम्दानी गरेको छ । यस्तै खनिजको नवीकरणबापत रु १५ करोड १८ लाख आम्दानी भएको जनाएकोे छ । रासस
‘साढे तीन वर्षभित्रमै काठमाडौं-तराई द्रुतमार्गमा गाडी सरर’
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले अव आयोजनालाई तिव्रता प्रदान गर्न कुनै बाधा अड्चन नरहेको नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । एशियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रुतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकरसहित रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको आयोजना प्रमुख सरदलाल श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, “आयोजना अघि बढाउने सन्दर्भमा महत्वपूर्ण मानिएका विशेष प्रकृतिका पुल, सुरुङलगायतका काम एकैसाथ अघि बढाइनेछ, आगामी साढे तीन वर्षभित्रमै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखी सम्पूर्ण स्रोत साधन परिचालन गरेर काम गरिने छ ।” नेपाली सेनाको व्यवस्थापनमा उच्च प्राथमिकताका साथ द्रुतगतिमै कार्यान्वयन हुने उक्त आयोजनालाई गुणस्तरसहित निर्धारित समयमै सम्पन्न गर्न डिपिआरलाई महत्वपूर्ण र आधारभूत दस्तावेजका रूपमा लिइन्छ । कूल लम्बाइ ७२ दशमलव ५ किमि कायम भएको उक्त दु्रतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा गरी तीन वटा सुरुङ बनाइने छ भने ७४ मिटर अग्लोसम्मका १६ वटा विशेष प्रकृतिको पुल निर्माण गर्नुपर्ने छ । त्यस्ता पुल झण्डै आधा किलोमिटर लामासम्म हुनेछन् । उक्त द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढ एक घण्टामै पुगिने छ । आगामी साढे तीन वर्षभित्रमै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखी सम्पूर्ण स्रोत साधन परिचालन गरेर काम गरिने छ । तीन वटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किमि छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहनेछ । पाँच महिनासम्म उक्त डिपिआर स्वीकृत नहुँदा कामले तीव्रता पाउन नसकी अघिल्लो वर्ष विनियोजन भएको रु १५ अर्बमध्ये रु नौ अर्ब रकम फिर्ता भएको थियो ।रक्षा मन्त्रालयका सहायक प्रवक्ता मनोजकुमार आचार्यले उक्त राजमार्ग निर्माणको लागि बजेटको कुनै अभाव हुन नदिने अर्थमन्त्रालयबाट प्रतिबद्धता प्राप्त भएको सो अवसरमा जानकारी दिएका हुन् । प्रारम्भिक चरणका काम एसियाली विकास बैंकद्वारा तयार गरिएको सम्भावित अध्ययन र प्रारम्भिक डिजाइन तथा सेनाले बनाएको विस्तृत इञ्जिनीयरिङ सर्भे र अलाइमेन्ट डिजाइनका आधारमा काम हुँदै आएको थियो । चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुनेछ । खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुनेछ । खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङ्कनमा केही संशोधन गरी नयाँ रेखाङ्कन गरिएको छ । पुल र सुरुङबाहेक ५५ दशमलव ५ किमी लम्बाइ रहने उक्त द्रुतमार्गको २५ दशमलव ४४ किमिमा सबग्रेड फर्मेशनसम्मको निर्माणको प्रगति शतप्रतिशत, १० किमि क्षेत्रमा ८० प्रतिशत, १६ किमी खण्डमा ५० देखि ८० प्रतिशतसम्मको प्रगति रहेको छ । समग्र निर्माणको काममध्ये डिपिआर स्वीकृत हुनुपूर्व नै आठ प्रतिशत प्रगति हासिल गरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । दु्रतमार्गका लागि हालसम्म जग्गा अधिग्रहणको कार्य ९६ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत प्रगति भइसकेको छ । उक्त आयोजनाका लागि चालू आवमा रु १५ अर्ब बजेट विनियोजन भएको छ । उक्त द्रतमार्ग निर्माणका लागि नेपाली सेनाले १० स्थानमा शिविर खडा गरेर काम गर्दै आएको छ । यसअघि उक्त दु्रतमार्गको ‘ट्र्याक’ पनि नेपाली सेनाले नै खनेको थियो । उक्त आयोजनालाई नेपाली सेनाले अवसर र चुनौतीका रूपमा लिएर काम गरिरहेको छ । रासस
मुख्यमन्त्री पौडेलद्वारा माछापालनमा ‘बायोफ्लक’ प्रविधिको अवलोकन
भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गरेका छन् । भरतपुर महानगरपालिका–१२ मा युवाले शुुरु गरेको माछापालन अवलोकन गर्दै उनले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । मुख्यमन्त्री पौडेलले माछामा आत्मनिर्भर बन्नका लागि पनि यो प्रविधि महत्वपूर्ण भएको जानकारी दिएका छन् । “थोरै जमिनमा पनि धेरै माछा उत्पादन सम्भव छ, उनले भने”, यो प्रविधि उत्कृष्ट छ, यसलाई प्रदेश सरकारले सहयोग गर्छ ।’ मुख्यमन्त्री पौडेलले नयाँ नयाँ प्रविधि प्रयोग गरेर कृषिमा आत्मनिर्भर बन्ने अभियानमा युवा वर्ग जुट्नुपर्नेमा जोड दिएका छन् । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदीले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनलाई एक घर एक पोखरीको अवधारणामा विकास गर्न सकिने बताउँदै हरेक घरमा रोजगार सिर्जना गर्नका लागि यो प्रविधि निकै उपयुक्त रहेको धारणा व्यक्त गरेका हुन् । युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक)मार्फत माछापालनको सफल परीक्षणसमेत गरिसकेका छन् । युवा एग्रो फर्म एण्ड रिसर्च सेन्टर स्थापना गरेर १८ वटा ट्याङकमा माछापालन गरिरहेको सञ्चालक कपिलराज रेग्मीले जानकारी दिए । “कृषिमा केही नयाँ गरौँ भन्ने सोचका साथ हामीले यो काम गरेका हौं”, उनले भने, “यो प्रविधिले धेरै किसानलाई छिटो लाभ दिन सक्छ ।” रासस