बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बित, महारानीको सम्बोधनलाई भने असर नपर्ने
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन् । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ । “यो निलम्वन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ”, जोहनसनले पत्रकारसँग भने । उनले ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गरे । निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ । निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्वन गरिएको हो । रासस/एएफपी
आइतबार सार्वजनिक बिदा
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताए । एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ । रासस
मलेसिया रोगजारी खुलाउन भदौ २४ र २५ गते प्राविधिक कमिटीको बैठक बस्ने
काठमाडौँ । मलेसिया रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ । दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ । दुई मुलुकबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाडौँमा बसेको थियो । गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो । नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।
विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’को व्यवस्थापन प्राधिकरणमार्फत गराउन सिफारिश
काठमाडौँ । विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेशन’ स्थापना तथा सञ्चालन कार्यविधिका सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा चार्जिङ स्टेशन सञ्चालनसँग सम्बन्धित विषयको नियमन र व्यवस्थापनलगायतका कार्य नेपाल विद्युत् प्राधिकरणमार्फत गर्नुपर्ने सिफारिश गरिएको छ । चार्जिङ स्टेशनको नियमन र व्यवस्थापनका लागि प्राधिकरणले विद्युतीय सवारी साधनसम्बन्धी कार्यविधि तयार गरी लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । कार्यविधिमा चार्जिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवस्था, चार्जिङ स्टेशन स्वीकृति, गुणस्तर तथा मापदण्ड, सुरक्षा, महसुल, सेवा शुल्क, परीक्षण तथा प्रमाणीकरण, नियमन र अनुगमन, विद्युत् आपूर्ति तथा विद्युत् वितरण प्रणालीको सुधार, जग्गा तथा अन्य पूर्वाधार, कर, सुविधालगायत विषय समावेश गर्नसमेत समितिले सिफारिश गरेको छ । चार्जिङ स्टेशनको स्थापना तथा सञ्चालन गर्न आवश्यक कार्यविधि बनाइ पेश गर्न मन्त्री पुनले गत फागुन १३ गते एक समिति गठन गर्नुभएको थियो । समितिको संयोजकमा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल, सदस्यमा मन्त्रालयकै सहसचिव तोयानाथ अधिकारी, विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राजु महर्जन थिए । रासस
काठमाडौँ-ओसाका उडान शुरु, यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते बिहीबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गर्दैछ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गर्न लागेको हो । जापान उडानको बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए। विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज बुधबार नै राति २ः३० बजे ओसाका गन्तब्य उडान गरेर ६ घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा ध्वजाबाहक जहाज अवतरण भएको छ । त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिने कार्यक्रम रहेको छ । ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् । ओसाका उडानका लागि सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन् । निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुई तर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ । विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्ने छ । उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ । जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ । मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ । राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ । डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो । निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो । निगमले जापान उडान १३ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो । रासस
नाडा अटो शोमा ६२ लाखसम्मका बाइक, सस्तोको मूल्य १ लाख ४९ हजार
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १४ औं नाडा अटो शोमा १४ ब्राण्डका पेट्रोलबाट चल्ने र ४ वटा ब्राण्ड विद्युतीय (इलेक्ट्रिक) मोटरसाइकल(बाइक) सहभागी भएका छन् । नाडा अटो शोमा प्रदर्शनमा राखिएका बाइकहरु मध्ये सबैभन्दा एमभी अगस्टाको एफ फो ९९८ सिसिको बाइकको मूल्य ६१ लाख ९० हजार तोकिएको छ । नाडा अटो शोमा सबैभन्दा सस्तो चीनमा बनेको भिइमा कम्पनीको एसडी वानको बाइक रहेको छ । जसको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो बाइक ४ घन्टा चार्ज गर्दा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज गर्दा सय किलोमिटर चल्ने कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइकमा सबैभन्दा सस्तो रनर मोटर्सको ८० सिसिको बाइक टिआर रहेको छ । जसको मूल्य १ लाख ५२ हजार रहेको छ । यता, विद्युतीय बाइकमा सबैभन्दा महङ्गो चीनमा बनेको जीनीएस कम्पनीको एक्स ५४ र डब्लु ५४ बाइकको रहेको छ । सो बाइकको मूल्य ३ लाख ७८ हजार रहेको छ । यी बाइकहरु ४ घन्टामा फुल चार्ज हुने र एक पटक चार्ज गरेपछि १ सय किलोमिटर गुड्ने कम्पनीले जानकारी दिएको छ । इलेक्ट्रिक स्कुटरमा सबैभन्दा सस्तोे चीनमा बनेको जीनीएस कम्पनीको सियु प्लस हो । जसको मूल्य २ लाख ३८ हजार रहेको छ । सबैभन्दा महङगोमा चिनियाँ कम्पनी नियुले उत्पादन गरेको एनजीटी विद्युतीय स्कुटर रहेको हो । जसको मूल्य ३ लाख ९८ हजार ८८८ रहेको छ । विद्युतीय सवारी साधन, त्यसका आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झर्ने र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गरिएपछि यस्ता सवारीको माग बढेको हो । सन् १९९३ देखि विद्युतीय सवारी प्रयोग नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताएका थिए । विद्युतीय स्कुटर
नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई-पेमेन्ट को सेवा पनि थप गरिएको हो ।
ब्याज बढाएर ऋणीसँग खेलवाड नगर्न अर्थमन्त्रीको सुझाव, डिजिटल प्रविधिद्वारा १४ शाखा उद्घाटन
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ब्याजदर बढाएर ऋणीसँग खेलवाड नगर्न निर्देशन दिएका छन् । आज बुधबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखा उद्घाटन गर्दै उनले ९ प्रतिशत ब्याजमा कर्जा दिएर १३ प्रतिशत नपुर्याउन सुझाव दिएका हुन् । ‘ऋण दिइसकेपछि ब्याज बढाउनु राम्रो होइन,’ उनले भने ‘मलाई संसद्मा गएर बोल्न सक्ने अवसर सिर्जना गरिदिनु होस् ।’ सरकारी लगानीमा संचालित वाणिज्य बैंकको बेसरेट नै साढे ५ प्रतिशत भएपछि मैले खुसी हुने कि दुःखी हुने तपाई आफै नै भन्नुहाेस्,’ उनले भने ‘बचतकर्ताको ब्याजदर मूल्यवृद्धि दरभन्दा कम हुनु हुँदैन ।’ बचतकर्तालाई अन्याय नगर्न उनले सुझाव दिए । सरकारले साढे चार अर्ब थप लगानी गरेर वित्तीय अवस्थामा सुधार ल्याएको सरकारी बैंकबाट सरकारले प्रतिफल खोज्ने बताएका छन् । ‘सरकारी लगानी भएका कारण सरकारले यसको प्रतिफल खोजेको हो , आज उद्घाटन गरिएको शाखाहरूबाट १ महिनामा ५ जनालाई मात्र सहुलियत कर्जा दिन सके म राम्रो मान्छु,’ उनले भने । अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंककाे आज ५ वटा प्रदेशमा १४ वटा शाखा डिजिटल प्रविधिबाट उद्घाटन गर्दै कर्मचारीको कार्य क्षमता बढाउन सुझाव दिए । बुधबार प्रदेश १ मा दुई वटा, प्रदेश २ मा ४ वटा, प्रदेश ३ मा तीन वटा, गण्डकी प्रदेशमा दुई वटा र प्रदेश ५ मा तीन शाखा डिजिटल प्रविधिबाट उद्घाटन गरेका हुन् । याे सहित बैंकले ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध गराएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैंयाँ पुगेको छ । सामाजिक बैंकिङ सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने पर्ने अर्थमन्त्रीको सुझाव छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन आरबीबी खरो रुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ प्रविधिलाई आत्मासाथ गरी समग्र बैंकको सुदृढिकरणको लागि क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेशन अभियान संचालन गरिरहेको बताए ।