बीमा कम्पनीको शाखा २ हजार ५ नाघ्यो, साढे ९ हजारले पाए प्रत्यक्ष रोजगार
काठमाडौ । बीमा व्यवसाय बढ्दै जाँदा बीमा व्यवसाय गर्ने कम्पनीहरूले शाखा विस्तारमा तिव्रता दिएका छन् । गत आवको अन्त्यसम्म ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई हजार ५ सय २३ शाखा विस्तार गरेका छन् । गत आर्थिक वर्ष २०७५/७६ सम्म जीवन बीमा गर्ने १९ बीमा कम्पनीले १ हजार ६ सय ५४ शाखा कार्यालय स्थापना गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीको शाखा विस्तार पनि ८ सय ६९ पुगेको छ । गत आवसम्म बीमा कम्पनीमा प्रत्यक्ष रुपमा ९ हजार चार सय ८१ जनाले रोजगारी पाएका छन् । सोमध्ये जीवन बीमा कम्पनीतर्फ ४ हजार ७ सय ९८ जनाले रोजगारी पाएका छन् भने निर्जीवन बीमातर्फ ४ हजार ६ सय ८३ ले रोजगारी पाएको बीमा समितिले जानकारी दिएको छ । सबै भन्दा धेरै शाखा यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा तर्फ सबैभन्दा धेरै १ सय ७८ वटा कार्यालय यूनियन लाइफ इन्स्योरेन्स कम्पनीकोे रहेको छ । शाखा विस्तारमा दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्सले लिएको छ । गत आवसम्म प्राइम लाइफले १ सय २७ शाखा विस्तार गरेको छ । निर्जीवन बीमातर्फ भने सबैभन्दा धेरै ९२ वटा कार्यालय शिखर इन्स्योरेन्स कम्पनीले विस्तार गरेको छ । निर्जीवन बीमातर्फ ७६ शाखा कार्यालय विस्तार गरेर सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा पुगेको छ । जीवन बीमा गर्ने कम्पनीहरूमा सबैभन्दा धेरैलाई रोजगारी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । उक्त कम्पनीमा ४ सय जनाले रोजगारी पाएका छन् । युनियन लाइफ इन्स्योरेन्समा ३ सय ८३ कर्मचारीले रोजगारी पाएका छन् । निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै ६ सय १० कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीको रहेका छन् । निर्जीवन बीमा तर्फ दोस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनीमा रहेको छ । उक्त कम्पनीमा ३ सय ६३ कर्मचारी रहेको बीमा समितिको तथ्यांक छ ।
सलाम एयरले नेपालमा दैनिक उडान भर्ने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन आईएमई ग्रुप क्रियाशील’
काठमाडौं । ओमानको सलाम एयर कम्पनी नेपालबाट अब दैनिक उडान गर्ने भएको छ । नेपालबाट सातामा तीन उडान गरिरहेको सलाम वायुसेवाले आगामी साताबाट दैनिक उडान विस्तारको भर्ने भएको छ । कम्पनीले १८ महिना अगाडी देखि नेपालमा उडान शुरु गरेको थियो । कम्पनीका अनुसार यस अवधिमा करिब ५० हजार यात्रु बोकिसकेको छ । रेमिटेन्स व्यवसायबाट व्यापारिक क्षेत्रमा आएको आइएमई समूह आइएमई रेमिटेन्स हुँदै बैंक तथा इन्स्योरेन्स क्षेत्रमा, हस्पिटालिटी, जलविद्युत, इन्भेस्टमेन्ट कम्पनी, वित्तीय संस्था, पुर्वाधार विकास, पर्यटन लगायतको व्यापारमा सक्रिय रहेको समूहले पहिलो पटक अन्तर्राष्ट्रिय विमान सेवालाई दैनिक उडानमा जोडेको हो । सलाम एयरलायन्सले पहिलो काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेको थियो । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने – ‘हामी पहिला हप्तामा ३ पटक मात्रै उठन गरिरहेका थियौँ । अब हामी दैनिक रुपमै उडान गर्नेछौं ।’ ढकालले याे कदमले नेपालको भिजिट २०२० को लक्ष्यलाई पनि सहयोग पुर्याउने समेत बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सलाम वायुसेवाले दैनिक उडानले नेपालको पर्यटन क्षत्रमा सहयोग पुग्ने बताए । सलाम एयर कम्पनीको दैनिक उडानले नेपाल पर्यटकका लागि उपयुक्त मुलुक हो भनेर सन्देश दिने बताए । ओमानको भाषामा सलाम भनेको शान्ति र नेपाल पनि शान्तिप्रेमी मुलुक भएको पनि बताए ।
यी ५ कारण, जसले बनायो एमटी–१५ लाई खास
यामाहा टू–व्हिलरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजले हालसालैमात्र नेपालमा बहुप्रतिक्षित मोडल एमटी–१५ लञ्च गरेको छ । ‘द डार्क वरियर’ को नामबाट परिचित यो बाइक भारतमा भने केहि महिना अघि सार्वजनिक गरिएको थियो । पर्फमेन्स बाइकका सौखिनहरुलाई लक्षित गरेर ल्याइएको यो बाइकले हाल भारतमा निक्कै नै राम्रो प्रतिक्रिया पाउन सफल भइरहेको छ ।नेपाली बजारमा ४,२४,९०० मूल्य तोकिएको यस बाइकलेभारतमा जस्तैयहाँ पनि मोटरसाइकल प्रेमीहरुको मन जित्न सफल हुनेछ भन्ने आँकलन गर्न थालिएको छ । यस्तो आँकलन गरिनुका पछाडि यी ५ कारणहरुलाई मूल रुपमा प्रस्तुत गर्न सकिन्छ । १. डिजाइन सेग्मेन्टकै एग्रेसिभ र बेस्ट लुकिङ्ग बाइक भनी नाम कमाउन सफल भएकोयामाहा एमटी–१५को डिजाइन एमटी सिरिजका अन्य ठूला बाइक एमटी–०९ र एमटी–१० बाट इन्स्पायर भएको हो ।यसको लुक्स हामीले देख्दै आएका अन्य बाइकहरुको भन्दा अलि बेग्लै छ । यसको ट्रान्स्फर्मरको जस्तो हेडलाइटको डिजाइनले नै मूख्य रुपमा यो बाइकलाई अरुभन्दा भिन्न बनाएको छ । २. आर १५ को नेकेड भर्जन आर १५ एउटा स्पोर्ट बाइक हो भने एमटी–१५ त्यसकै नेकेड भर्जन हो । आर १५ को पर्फमेन्स एउटा नेकेड बाइकमा खोज्नेहरुका लागि यामाहाको एमटी–१५वास्तवमै एउटा राम्रो विकल्प हो । एमटी–१५ मा आर १५ मै प्रयोग भएको भेरिएवल भल्व एक्चुएशन (भीभीए) टेक्नोलोजी को १५५ सीसी सिङ्गल–सिलिण्डर, लिक्विड–कुल्ड इञ्जिन दिइएको छ । त्यसैगरी एमटी–१५ को सस्पेन्सन सेटअप, ब्रेकिङ्ग हार्डवेयर र इन्स्ट्रुमेन्ट कन्सोल पनि आर १५ मै प्रयोग भएका पार्टस्हरु हुन् । ३. पावर १५० सीसीको बाइक भएतापनि एमटी–१५ ले १९.३ बीएचपीको पावर र १४.७ एनएमको टर्क प्रोड्युस गर्छ ।अपाचे आरटीआर २०० ले एउटा २०० सीसीको बाइक भइकन पनि २०.७३ बीएचपीको पावर प्रोड्यूस गर्दछ भनेत्यसको तुलनामा यो बाइकले यति धेरै पावर प्रोड्युस गर्नुलाई सामान्य मान्य सकिँदैन । ४. स्लिपर क्लच ६–स्पिड गियरबक्स दिइएको एमटी–१५ मा स्लिपर क्लचजस्तो मोडर्न टेक्नोलोजीको प्रयोग गरिएको छ जुन प्रायजसो ठूला सीसीका बाइकहरुमा मात्र देख्न सकिन्थ्यो । स्लिपर क्लचले हार्ड गियर डाउन–सिफ्टको वेला पछाडिको चक्कालाई लक हुन नदिएर गियर सिफ्टिङ्गलाई स्मूथ बनाउँछ । ५. सेफ्टि एमटी–१५ कादुइओटै चक्कामा डिस्क ब्रेक दिइएको छ, जसले यसको ब्रेकिङ्गलाई मजबुत बनाएको छ ।त्यसैगरी यस बाइकमा भएको एबीएसले यसको ब्रेकिङ्गलाई अझ सुरक्षित पनि बनाएको छ । सिङ्गल च्यानल एबीएस भएको यस बाइकमा एग्रेसिभ ब्रेकिङ्गको वेला बाइकको अगाडिको चक्का लक हुन पाउँदैन र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ ।
महिला सुरक्षालाई ध्यान दिँदै सौगात मन्टेश्वरीले संचालन गर्यो आत्मारक्षा तालिम
काठमाडौं। कलंकीस्थित सौगात मन्टेश्वरीले आफ्नो विद्यार्थी र उनका अभिभावकलाई आत्मारक्षा सम्बन्धी एक दिने तालिम संचालन गरेको छ। ईनर व्हिल कल्ब किर्तिपुरको संयोजकतामा सौगात मोन्टेस्वोरीले तालिम संचालन गरेको हो। मन्टेश्वरीले ६५ भन्दा बढी अभिभावक र शिक्षकहरुको उपस्थितिमा शुक्रबार तालिम संचालन गरेको हो। सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिक स्थल लगायतमा महिला हिंसा घट्ना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन आफूहरुले तालिम संचालन गरेको मन्टेश्वरीकी संचालक तथा प्रिन्सिपल राज्य लक्ष्मी बैद्यवारले बताइन् ।तालिमामा महिलाहरुलाई कसैले आफूलाई जबर्जस्ती कतै लैजाँदै अथवा कसैले आफूलाई आफ्नो मर्जीबिना छुँदा कसरी आफुले प्रतिकार जनाउने र उक्त व्यक्तिलाई कसरी घाइते बनाउने सम्बन्धी तालिम दिईएको थियो। तालिमाका प्रशिक्षक गौरब भन्छन्, ‘कसैले आफूलाई आक्रमण गर्दै छ भने डर अवश्य लाग्छ तर यदी हामीले केही नसोची उक्त व्यक्तिको आँखा, नाक, कान जस्ता संवेदनशिल अंगहरुमा प्रहार गर्न सक्यौं भने हामी पक्कै पनि बच्न सक्छौं। आत्मारक्षाको समयमा हाम्रो जिन्दगी भन्दा ठूलो केही होइन त्यसैले जहाँ सक्नुहुन्छ त्यहीँ प्रहार गर्नुहोस् र बिशेष गरेर संवेदनशिल अंगमा प्रहार गर्ने कोसिस गर्नुहोस्।’ समाजमा पछिल्लो महिला हिंसाका घट्ना बढ्न थालेपछि विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मारक्षा तालिम दिन थालिएको छ।
आइओएम र पाटनको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो। आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।
सरकारको झन्झटिलो प्रक्रियाले गर्दा विदेशबाट २० अर्बको फर्निचर आयात भैरहेको छ : रुपेश प्रधान
हरियो वन नेपालको धन भन्ने भनाइ हामीले सुनिरहेका छौ । करिव ४४ प्रतिशत वनले ओगटेको नेपालमा ६० प्रतिशत फर्निचर आयात हुने गरेको छ । सम्रगमा नेपालमा फर्निचरको अवस्था कस्तो छ ? फर्निचरमा नेपाल आत्मनिर्भर हुन सक्छ कि सक्दैन अर्थात आत्मनिर्भर हुनका लागि के कस्तो पहल कदमीको आवश्यक छ ? सातौं फर्निचर एन्ड फर्निसिङ एक्स्पोको तयारी के कसरी भइरहेको छ ? यस विषयमा नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका अध्यक्ष रुपेश प्रधानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीः यस वर्ष हुन लागेको ७ औं फर्निचर एन्ड फर्निसिङको एक्स्पोको तयारी कस्तो छ ? उपभोक्ताका लागि नयाँ के आउँदैछ एक्स्पोमा ? पछिल्लो समय विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि प्रयोग भएका फर्निचरहरू याे एक्स्पोको मुख्य आकर्षण हुनेछ । नेपालमा निर्मित र विदेशबाट आयातित सामानहरू फर्निचर एन्ड फर्निसिङ एक्स्पो रहने छन् । एक्स्पोमा १ सय २० वटा स्टल रहने छ । नेपाली र विदेशी ब्रान्डका फर्निचरहरुको जानकारी एक्पोमा दिइने छ । ब्रान्ड बुझे पछि कुन फर्निचर कस्तो हो भनेर उपभोक्ताहरूले आफै बुझ्न सक्नु हुन्छ । नेपाल काष्ठकलामा उत्कृष्ट भएपनि विदेशबाट फर्निचर आयात हुन्छ, त्यो किन ? हो, हामी काष्ठकलामा विश्वमा उत्कृष्ट छौं । सबैले हाम्रो काष्ठकला प्रयोग गर्न सकदैन्न । हाम्रो काष्ठकला अलि मंह्गो छ । नेपाली काष्ठकला धेरै मेहनत गरेर बनाइन्छ । विदेशी फर्निचरहरूमा प्रविधिको प्रयोग गरेर थोरै खर्चमा धेरै फर्निचरहरु उत्पादन भइरहेका छन् । मूल्यका कारणले नेपाली फर्निचरभन्दा विदेशी फर्निचरको प्रयोग बढी भएको हो । नेपाल काठमा धनी छ । तर, सरकारले काष्ठ उद्योगलाई प्रवद्र्धन नगर्दा विदेशी काठ आयात बढ्दै गएको छ । अद्यावधिक काठ नीतिमा सरकाले ध्यान जानु जरुरी छ । सरकारले पनि वनमा धनी रहेको देशमा काठ आयात भएको विषयलाई चासोका साथ हेर्नु पर्ने हुन्छ । अनि मात्रै देश फर्निचरमा आत्मनिर्भर हुन्छ । प्रविधिको प्रयोग हुन नसक्दा नेपाली फर्निचर मह्गो भएको हो त ? नेपालमा बनेका फर्निचरहरू प्राय हस्त निर्मित हुन्छन् । हस्त निर्मित भएकाले नेपाली सामानहरू बलियो र टिकाउ हुनका साथै मूल्य पनि बढी परेको हो । जुन सुकै राम्रो सामानको मूल्य सामान्य भन्दा मंहगो हुन्छ नै । त्यसैले नेपाली काठ पनि अन्यभन्दा मंहगो भएको हो । विदेशी फर्निचर बनाउदा मेशिनको प्रयोग भएको हुन्छ । विदेशमा कच्चा पदार्थ र श्रम पनि सस्तो छ । हाम्रो देशमा मह्गो श्रमका साथै कच्चा पदार्थ नि विदेशबाट आयात गर्नुपर्छ । फर्निचर क्षेत्रमा कति लगानी भएको छ ? वार्षिक कति कारोबार हुन्छ ? नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा १८ देखि २० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ । लगानी वृद्धि हुने क्रममा छ । यो क्षेत्रमा वर्षमा करिब ४० अर्बको कारोेबार हुने गरेको छ । सो कारोबारमध्ये १८ देखि २० अर्ब मूल्य बराबरका फर्निचर तथा फर्निचरका सामानहरू विदेशबाट आयात हुने गरेको छ । फर्निचरमा नेपाल र विदेशको करिव आधा/आधा हिस्सा रहको छ । फर्निचर व्यवसायी कति छन् र यसमा कतिले रोजगारी पाएका छन् ? नेपालको फर्निचर क्षेत्रमा करिब ५ हजार व्यवसायीहरू आवद्ध छन् । फर्निचर क्षेत्रले ५ लाखलाई रोजगारी प्रदान गरेको छ । यो क्षेत्रमा कामदारको अभाव छ । फर्निचर क्षेत्रमा ६० प्रतिशत कालिगढहरू भरतबाट आउने गरेका छन् । तपाईले श्रमिक छैन भन्नु भयो, नेपालमा नै कालिगढ उत्पादन गर्न केही गर्नु भएको छैन ? श्रम मन्त्रालयसँग मिलेर हामीले तालिम प्रदान गर्ने लक्ष्य लिएका छौं । तालिम पछि नेपालकै बेरोजगार युवाहरूले रोजगार पाउँछन् । यो तालिमले फर्निचर निर्माण गर्ने मानव संसाधन नेपालमा नै उत्पादन हुन्छ । तालिमबाट उत्पादित कालिगढहरूले नेपालमा राम्रो पारिश्रमिका साथ रोजगारी पाउँछन् । नेपालमा ठूला भवान निर्माण हुँदा किन नेपाली काठको प्रयोग हुदैन ? मागअनुसार नेपाली काठ उपलब्ध हुन नसक्दा ठूला भवन निर्माणमा विदेशी काठको प्रयोग हुने गरेको हो । ठूला ठूला भवन निर्माण गर्नेले जुन काठ सहज र सरल तरिकाबाट प्राप्त हुन्छ त्यहिनै प्रयोग हुँदै आएको छ । नेपाली काठभन्दा विदेशी काठ सस्तो हुनाका साथै सहज तरिकाले बजारमा पाइन्छ । त्यसो भए नेपालमा काठ व्यवसायमा ठूलो समस्या छ, होइन त ? यो व्यवसायमा सबैभन्दा ठूलो समस्या नै काठमा छ । यदि सरकारले सहजसँग काठ उपलब्ध गराउने हो नेपाली बजारमा खपत हुने ९० प्रतिशत उत्पादन नेपाल मै निर्माण हुन सक्छ । हामीले आयात दरलाई १० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ कि फर्निचर व्यवसायीहरुले काठ सिधै वन विभागबाट पाउने व्यवस्था छैन । हामीले सहज रुपमा काठ नपाएका कारण बाहिरबाट काठ आयात गर्नु परेको हो । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने मुख्य कुरा हो । मलेसियन र भारतबाट फर्निचर बन्ने काठ आयात हुन्छ । चाईनाबाट प्लाईहरु बढी आउँछन् । नेपाली अग्राख, सिसौ र सल्लोका काठ विश्वमै बलियो मानिन्छ होइन ? व्यवसायीहरुले बाध्यताले मात्र विदेशी काठ झिकाएका हुन् । नेपाली अग्राख, सिसौ र सल्लोका काठ जस्तो विदेशी काठ टिकाउ हुँदैन । हामीले वन मन्त्रालयसँग काठ सहज र सरल बनाउन पर्यो भनि रहेका छौ । मन्त्रालयमा हुन्छ भन्छन र काठ पाइँदैन । फर्निचरको बजार कस्तोे छ ? कुन देशबाट धेरै फर्निचर आयत हुन्छ ? सबैभन्दा बढी चाइनाबाट काठ आयत हुन्छ । चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयात हुने गर्दछ । एउटा टि–टेबल कै २ लाखसम्म मूल्य पर्ने गरेको छ । काठका उत्पादनमध्ये कुन बढी बिक्री हुन्छ ? नेपाली काठका उत्पादनमा सबैभन्दा बढी पलङ र टेबल बिक्री हुने गरेको छ । यिनीहरू महंगो भए पनि बलियो हुन्छ भनेर नेपालीले बुझेका छन । आम ग्राहकले पाएसम्म नेपालमा बनेको पलङ र टेबल किन्न रुचाउँछन् । तर नपाएको खण्डमा चिनियाँ काठ किन्न वाध्य हुन्छन् । फर्निचर व्यवसायीलाई नेपाली काठका उत्पादन बिक्री गर्नभन्दा विदेशीबाट बढी फाइदा हुन्छ हो ? फाइदा त उस्तै उस्तै हो । लागत भने कम पर्छ । एउटा नेपाली काठ २० हजार पर्छ भने विदेशी काठ १५–१६ हजार रुपैयाँ पर्न जान्छ । विदेशी काठ सजिलोसँग पनि बजारमा उपलब्ध हुन्छ भने नेपाली उत्पादनको लागि अडर दिनुपर्ने हुन्छ । नेपाली कार्पेटको स्थिति कस्तो छ नि ? आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भएका छौँ । आयात पनि बन्द भएको छ । यस वर्षको एक्स्पोमा २ वटा नयाँ ब्रान्डको कार्पेट पनि आउँदै छ ।
अर्को प्रदेशको सवारी ६ महिनाभन्दा बढी राख्न नपाउने व्यवस्थासहितको विधेयक प्रदेशसभामा
विराटनगर । अर्को प्रदेशको सवारीसाधन ६ महिनाभित्र राखे प्रदेश यातायात कार्यालयमा दर्ता गर्नुपर्ने भएको छ । प्रदेश १ को प्रदेशसभाले शुक्रबार प्रस्तुत भएको प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ ले व्यवस्था गरेको हो । सो विधेयक प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७९२० बमोजिम मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए। उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै कार्कीले दुर्घटनाका कारण मृत्यु भएमा सङ्घीय कानूनअनुसार नै क्षतिपूर्ति पाउने जानकारी दिए । कार्कीले सुरक्षा, प्रदूषण र राजश्वको विषयमा विधेयकमा स्पष्ट गरिएको छ भन्दै ई–रिक्साको नवीकरण र दर्ता स्थानीय तहबाट नै गरिने व्यवस्था मिलाइएको जानकारी दिए ।
सहसचिव र उपसचिवमा खुल्लामा भिड्दा पहिलेको सेवा गणना नहुने
काठमाडौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव तथा सह–सचिवमा खुल्लामा प्रतिष्पर्धा गर्दा पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । उक्त प्रावधान राख्ने विषयमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघिय निजामती सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन माथिको छलफलमा सहमति भएको हो । राजपत्राङ्कित द्धितिय श्रेणीमा (उपसचिव) र प्रथम श्रेणी (सहसचिव) को हकमा १० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह खुल्ला प्रतिष्पर्धा, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ७० प्रतिशत कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवा हुने भएको छ । निजामती सेवा भन्दा बाहिरका विशिष्ट क्षमता भएका प्रतिभाशाली व्यक्तीहरुलाई उपसचिव र सहसचिवमा प्रवेश गराउनका लागि खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको बताइएको छ । सदस्य नवराज सिलवालले भने– ‘यसको मुख्य उदेश्य भनेको ९० प्रतिशत भित्रकै कुरा हो, १० प्रतिशत न्यूनतम बाहिरबाट फ्रेस इनोभेटीभ, क्रिएटिभ, नयाँ ब्रेन पावर भएको, इन्टलिजेन्स मान्छे आएर निजामतीमा आओस् भन्ने हो ।’ राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा पनि ७० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह र १० प्रतिशत कार्यमूल्याङ्कनका आधारमा हुने प्रावधान राख्ने विषयमा सहमति भएको छ । राजपत्र अनङ्कित श्रेणीविहिन पाँचौ तहका सबै पद खुल्ला प्रतियोगिताबाटै लिने राजपत्र अनङ्कित द्धितीय श्रेणी ८० प्रतिशत खुल्ला र २० प्रतिशत अन्तरतह प्रतियोगीता, राजपत्र अनङ्कित प्रथम श्रेणी ५० प्रतिशत खुल्ला, ५० प्रतिशत कार्यक्षमताका आधारमा बढुवाका आधारमा हुने व्यवस्था राख्न सहमति भएको छ । श्रेणी विहीन कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी बनाउने कि नबनाउने भन्ने विषयमा भने समितिमा जुटिसकेको छैन । यस्तै, एउटै दलका सदस्यबीचमा पनि मत बाझिएको हो ।