विकासन्युज

कालीगण्डकी प्रसारण करिडोरले शुरु गर्यो वैकल्पिक मार्गको अध्ययन

बेनी । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो । आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताएका छन् । पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प दिइएको उनले जानकारी दिए। अध्ययन टोलीका सदस्यसमेत रहेका वडाध्यक्ष बरुवालका अनुसार प्रस्ताव गरिएको नयाँ वैकल्पिक मार्गबारे प्राविधिक अध्ययन गरी उपयुक्त देखिए अहिले प्रसारण लाइनको प्रस्तावित टावरलाई स्थानान्तरण गरी निर्माण गर्न आयोजना र स्थानीयवासीबीच सहमति भएको छ । प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रजिअ ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैंक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफल भएको थियो । सो छलफलमा स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमति भएअनुसारको अध्ययनको काम शुरु भएको प्रजिअ ढकालले बताएका हुन् । नयाँ वैकल्पिक मार्गको अध्ययन गरी टावर ४१ ‘ए’ देखि ४३ सम्मकोे मार्गमा वैकल्पिक अथवा प्रस्तावित कुन मार्ग उपयुक्त हुने भन्ने निक्र्योल हुने बताइएको छ । अध्ययनको निचोडअनुसार नै विवादित बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयवासीबीच सहमति भएको हो । म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन यस क्षेत्रको जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयवासीको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको छ । सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर र सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिएको भए पनि ढिलाइ र स्थानीयवासीको विवादले निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये १०३ टावर निर्माण भइसकेको छ । टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा छ र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण शुरु हुन नसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । प्रसारण लाइनले पोखरेबगरमा स्थानीयवासीको घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि यस क्षेत्रका स्थानीयवासीले नक्सा परिवर्तन गरी बस्तीलाई जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन् । स्थानीयवासीले भनेबमोजिम टावरको नक्सा परिवर्तन गर्ने मागमा सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन् । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन एक वर्षअघि नै सक्ने लक्ष्य थियो । पहिलोपटक छ महिना र दोस्रो पटक तीन महिनाको म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्णरूपमा निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ । रासस

शेयर बजार बढाउन भरत रानाभाटको दुई टिप्स

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजार सुुधार गर्न दुईओटा विषय अपरिहार्य रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा बजार घटिरहनुको कारण लगानीकर्ताको कन्फिडेन्स भएको भन्दै बजारमा सुधार ल्याउन लगानीकर्ताको बजारप्रतिको विश्वास बढाउनुपर्ने र त्यसका लागि सरकारले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई बजारबाट शेयर किन्न लगाउनुपर्ने र पत्रकारहरुले सकारात्मक समाचार प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिकोत्सव र साधारणसभामा बोल्दै रानाभाटले भने – ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, अहिलेको अवस्थामा शेयर बजारलाई सुधार गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई बजारबाट केही शेयर किन्न भनिदिनुस्, यसो भयो भने बजारमा सकारात्मक कन्फिडेन्स आउँछ ।’ उनले पुँजीबजारसँग सम्बन्धित समाचार लेख्ने पत्रकारहरुलाई पनि विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘तपाईँहरुले लेखेको समाचारले बजारलाई प्रभाव पार्छ, यसलाई बुझेर विश्वसनीय ढंगबाट समाचार लेख्नुभयो भने लगानीकर्ताहरुले बजारप्रति विश्वास गर्छन् ।’ उनले भने । रानाभाटले नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि उल्लेख्य काम गरेको भन्दे अर्थमन्त्रीलाई धन्यवाद दिए । उनले भने – ‘अर्थमन्त्रीज्यूले भ्याटको समस्या समाधान गरिदिनुभयो, अरु पनि धेरै सुधारका काम गर्नुभयो ।’

तीनपुस्तादेखि क्षतिपूर्ति नपाएको भन्दै कोशीपीडित २३ दिनदेखि ‘रिले’ अनशनमा

लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् । उनीहरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा गर्नु पर्ने र तत्कालीन समयमा भएको सम्झौताको कार्यान्वयन गराउनु पर्ने, पीडित समाजका गाउँमा सडक एवं विद्यालय निर्माण हुनुपर्ने, सप्तरी, सुनसरी र उदयपुरमा सिँचाइको व्यवस्था हुनुपर्ने, पीडित परिवारमा शिक्षित बेरोजगारलाई रोजगार दिनुपर्ने र पीडित परिवारजनमा स्वास्थ्य हेरचाह हुनुपर्ने जस्ता माग राखेका छन् । तत्कालीन समयमा भारतीय सरकारले क्षतिपूर्ति दिने भनिएको भए पनि ६५ वर्ष बित्दा पनि क्षतिपूर्ति नपाउनुले अहिले तेस्रो पुस्ताका मानिस क्षतिपूर्ति हुनुपर्ने मागसहित रिले अनशनमा बसेका छन् । रिले अनशन बसेको आज २३औँ दिन हो भने अहिलेसम्म पनि कतैबाट कुनै आश्वासन नआएकाले यो आन्दोलनलाई उचाइमा पुर्याउन थप कार्यक्रमसहित कडा आन्दोलन गर्ने कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले जानकारी दिएका छन् । उनका अनुसार विसं २०१८ देखि २०२८ सम्ममा सुनसरी, सप्तरी र उदयपुरका करिब ६३ हजार बिघा जमिन कटान एवं डुबानमा परेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र तत्कालीन नेपालका राजा महेन्द्रसँग भएको सम्झौताअनुसार नेपाली भूमिमा भएको क्षतिको पूर्ति गर्ने सम्झौता भएको थियो । “सम्झौताले लामो समय पार गर्दा पनि क्षतिपूर्ति नपाउनु दुःखद हो”, समितिका वरिष्ठ उपाध्यक्ष ज्योति झाले भने । तत्कालीन समयमा सुनसरीको चार हजार बिघा, सप्तरीको ५७ हजार बिघा र उदयपुरको दुई हजार बिघा जमिन डुबान र कटानमा परेको थियो । क्षतिपूर्तिका लागि पटक/पटक आन्दोलन गर्दा नदिने भनेर कहिले पनि नभनेको तर अहिलेसम्म क्षतिपूर्ति किन नदिइएको भनी प्रश्न गर्दै पीडित सप्तकोशी नगरपालिका–६ का लक्ष्मी गिरीले भने, “यतिका सयमसम्म क्षतिपूर्ति नपाउँदा कस्तो पीडा हुन्छ अरू कसैले अनुभव नै गर्न सक्दैनन् ।” वरहा नगरपालिकाका प्रल्हाद थापाले क्षतिपूर्तिसहित यस क्षेत्रका जनताका लागि सिँचाइ, विद्युत् तथा स्वास्थ्यमा पुहँच पुर्याउने भारतीय पक्षको वाचा अहिलेसम्म पूरा नहुनु दुःखको कुरा हो भने । उनले विगतमा नेपालका धरै प्रधानमन्त्रीसँग समस्या अवगत गराएर आश्वासन पनि भएको तर क्षतिपूर्ति भने नभएकामा चिन्ता व्यक्त गरेका छन् । उनले भने, “विसं २०६९ भदौ ५ गते सप्तरीका प्रजिअ हरिराज पन्थ, उदयपुरका प्रजिअ प्रेमप्रसाद लुइँटेल र सुनसरीका प्रजिअले प्रतिबिघा रु एक लाख पाँच हजारका दरले रु ८० करोड आंशिक क्षतिपूर्ति गर्ने आश्वासन दिएका थिए तर आठ वर्ष बित्दा पनि क्षतिपूर्ति नहुनुमा कहाँ समस्या छ हामीले बुझ्न सकेका छैनौँ”, आन्दोलनकारी काशिम अन्सारीले भने । नेपालका आपूर्ति, सिँचाइ, अर्थ र परराष्ट्र मन्त्रालयमा कोशी डुबान र कटानका सबै समस्या थाहा हुँदाहुँदै पनि क्षतिपूर्ति नहुन आफूहरूका लागि न्याय नभएको समितिका वरिष्ठ उपाध्यक्ष झाले जानकारी दिए । रासस

चन्द्रसिंह साउदको गुनासो- ‘सुबिसुमा आगो लाग्दा समेत नेप्सेलाई दोष दिए’

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार रहने गरेको भन्दै तर जुनसुकै समस्यामा पनि नेप्सेलाई दोष दिने गरेको भन्दै आर्थिक पत्रकारहरुसँग दुखेसो समेत पोखे । ‘अस्ति सुविसुमा आगो लाग्दा इन्टरनेट चल्न छाडेछ तर साथीहरुले नेप्सेको सिस्टम बिग्रियो भन्ने हल्ला गरेछन् ।’ उनले पत्रकारहरुले समेत सोही हल्लाको पछि लागेर समाचार लेख्ने गरेको भन्दै वास्तविक समस्या के रहेछ भन्ने पत्ता लगाएर मात्रै समाचार लेख्न आग्रह समेत गरे । ‘अनलाइन ट्रेडिङ सुरु भएपछि अनलाइनमा समस्या आयो भन्दै कति पत्रकारले मलाई फोन गरे, यहाँ भएका कम्तीमा पनि ३० प्रतिशत पत्रकारलाई म आफैंले स्पष्टिकरण दिएको छु, तर तपाईँ आफैंले चलाएर हेरेको हो भन्दा होइन फलानोले भनेको भन्नुहुन्छ, म तपाईँहरुलाई कम्तीमा समस्या कहाँनिर रहेछ बुझेर मात्रै समाचार लेख्न आग्रह गर्छु’ साउदले भने । उनले अहिले नेपालीहरुको वित्तीय साक्षरताको अवस्था त्यति सबल भइनसकेको भन्दै अन्तराष्ट्रिय स्तरको प्रणाली भित्र्याउने हो भने त्यसलाई धेरै नेपालीहरुले चलाउनै नसक्ने दाबी समेत गरे ।

सामाजिक क्षेत्रमा युनाइटेड क्लबकाे २० लाख

चिप्लेढुंगा । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी आर्थिक सङ्कलन गर्दै आएको क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आइरहेको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिएका छन् । क्लबले चालू आर्थिक वर्षमा पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल उद्यानलाई रु नौ लाख प्रदान गरेको छ भने, शिक्षातर्फ रु दुई लाख, सेती नदी संरक्षणतर्फ रु १० हजार, खेलकूदमा रु चार लाख ५० हजार, स्वास्थ्यमा रु दुई लाख, विपद् व्यवस्थापनतर्फ रु एक लाख ३९ हजार र विभिन्न सङ्घसंस्थालाई रु एक लाख १० हजार गरी रु २० लाख १९ हजार सामाजिक काममा खर्च गरेको क्लबका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिएका हुन्। तिमिल्सिनाले आर्थिक वर्ष २०७५÷७६ मा क्लबले आफ्नो सामाजिक कामअन्तर्गत रु २० लाख १९ हजार शिक्षा, स्वास्थ्य, खेलकूद, नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना, सेती नदी संरक्षण, विपद् व्यवस्थापन र विभिन्न सङ्घसस्थालाई वितरण गरिएको बताए । क्लबले स्थापनाको १०औँ वर्षसम्म आइपुग्दा सामाजिक विकासमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको क्लबका अध्यक्ष लालकाजी गुरुङ बताउँछन् । उनले क्लबको पहलमा निर्माणाधीन अवस्थामा रहेको जुलोजिकल उद्यानको कामलाई स्थानीयवासीले निर्वाध रूपमा काम गर्न दिनुपर्ने बताए । उनले भने, “क्लबले लिएको उद्देश्य साझा भएकाले पछिल्लो समय पोखरा जुलोजिकल उद्यानमा भएको विवादले गलत सन्देश गएको छ । पोखराको थप अर्को आकर्षक गन्तव्यका लागि आफूहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले सहयोग गरेर अघि बढनुपर्छ । रासस

राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिएका छन् । तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करिब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । हामीले तत्काल मिटर उपलब्ध गराइदिन जिल्लामा खबर गरिसकेका छौँ, दशैँ अगाडि नै उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष बुढामगरको भनाइ छ । नौमुले गाउँपालिकाभित्र चार जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत् आयोजनाले विगत दुई वर्षदेखि नौमुलेबाट विद्युत् उत्पादन शुरु गरेर दैलेख र सुर्खेतका बासिन्दालाई विद्युत् सेवा आपुर्ति गरेको भए पनि नौमुले आफैं बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका काममा सहजता हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताएका छन् । यसअघि स्थानीयस्तरमै उत्पादन भएको साना जलविद्युत् आयोजनाले बिहान–बेलुका मात्रै बत्ती बाल्दै आएका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको बत्ती आएपछि खुशी भएको भए पनि तत्काल जिल्लाले मिटर उपलब्ध गराउनुपर्ने स्थानीय शशिराम विकको भनाइ छ । नौमुले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाले भदौको अन्तिममा ४ दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन शुरु गर्ने भएको छ । योसँगै नौमुलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुनेछ । अन्य दुई जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको गाउँपालिकाले जानकारी दिएको छ । रासस

शेयरबजार लगानीकर्ताहरुसँग अर्थमन्त्री : सधैं तपाईँहरुसँग छलफल गर्न समय छैन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिहरुसँग भेटिरहन आफ्नो फुर्सद नहुने बताएका छन् । आर्थिक क्षेत्रको व्यापकता धेरै रहेको र सबै क्षेत्रलाई उत्तिकै समेटेर जानुपर्ने भएकोले शेयर बजारका प्रतिनिधिहरुसँग सँधै धेट्न समय नहुने उनले बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औं वार्षिकाेत्सव तथा साधारणसभामा उपस्थित भएका नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समूह लगायत लगानीकर्ता संघका प्रतिनिधिहरु उपस्थित बैठकमा अर्थमन्त्रीले त्यस्तो बताएका हुन् । ‘तपाईँहरु शेयरबजार घट्यो भन्ने चिन्ता गर्नुहुन्छ, मलाई आर्थिक वृद्धि तल जान्छ कि भन्ने चिन्ता लाग्छ’ अर्थमन्त्री खतिवडाले भने । उनले अर्थतन्त्रमा पुँजी परिचालनको एउटा स्रोत भनेको पुँजीबजार भएको भन्दै यसको विकासका लागि आफूहरू सकारात्मक प्रयास गरेको दाबी गरे । कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जित तुलाधरले शेयर बजारमा सकारात्मक परिवर्तन ल्याउने केही काम गर्न अर्थमन्त्रीसँग आग्रह गरे । शेयर लगानीकर्ता दबाव समूहका अध्यक्ष हरि ढकालले बजारलाई बजार बन्न दिन र यसलाई प्राकृतिक रुपमा अघि बढ्न दिन आग्रह गर्दै अर्थ मन्त्रालयले गठन गरेको समितिले दिएका ५८ बुँदै सुझाव कार्यान्वयन गर्न सुझाव दिए । शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पुँजीबजारको विकासका लागि अर्थमन्त्रीको हालसम्मको प्रयास सकारात्मक भएको बताउँदै बजारमा देखिएका थप केही समस्या समाधान गरेर पुँजी बजारप्रति लगानीकर्ताको विश्वास बढाउन आग्रह गरे । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले समेत पुँजी बजारको विकासका लागि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

चढ्ने हैन त केटीएम १२५ ड्यूक ? यस्ता छन् विशेषता

काठमाडौँ । केटीएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रालिले भर्खरै सम्पन्न ‘नाडा अटो शो-२०१९’ माड्यूक फेमिलीको इन्ट्री लेभल मोटरसाइकल ‘१२५ ड्यूक’सार्वजनिक गरेको छ । नेपाली बजारमा ४ लाख ४९ हजार ९०० मूल्य तोकिएसँगै यो मोटरसाइकल १२५ सीसी सेग्मेन्टकै सवैभन्दा पावरफुल बाईक रहेको छ । १४.३ बिएचपीसँगै सामान्यतया १५० सीसीका मोटरसाइकलहरुले जत्तिनै प्रोड्यूस गर्ने भएकाले र अप्साइड डाउनफर्क, लाइटवेट स्टिल ट्रेलिस फ्रेम, एलुमिनियम स्विङ्गआर्म जस्ता प्रिमियम पार्टस्हरु हेर्दा २०० ड्यूकजस्तो देखिने यो मोटरसाइकलमा इञ्जिन र ग्राफिक्स बाहेकका सम्पूर्ण पार्टस्हरु २०० ड्यूकबाटै लिइएको छ । हेलोजेन हेडलाइट देखि लिएर डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्रेकिङ्ग हार्डवेयर, चेसिस, सस्पेन्सन सेटअप लगायतका पार्टस्हरु २०० ड्यूकबाट लिइएको हो । विशेषतः१२५ सीसी सेग्मेन्टमा सिङ्गल च्यानल एबीएस फिचर्स रहेको छ , यो एडृभान्स टेक्नोलोजिले बाईकलाई अकस्मात ब्रेक लगाइएका वेला चक्का लक हुन रोकि ब्रेकिग दुरी कम गर्दै दुर्घटना हुनबाट जोगाउँछ । यो मोटरसाइकलमा १२४.७ सीसीको लिक्विड–कुल्ड ४ भल्भ इञ्जिन दिइएको छ जसले १४.३ बीएचपीको पावर र १२ एनएमको टर्क प्रोड्यूस गर्छ । यो बेबी ड्यूकले १२० केएमपीएच प्लसको टप स्पिड र ४० केएमपीएल प्लसको माइलेज दिन्छ । केटीएम एउटा अष्ट्रियन मोटरसाइकल म्यानुफ्याक्चरर् कम्पनी हो जुन सन् १९३४ मा स्थापना भएको थियो ।नेपालमा हाल केटीएमका ३९० ड्यूक, ३९० आरसी, २५० ड्यूक, २०० ड्यूक, २०० आरसी र १२५ ड्यूक गरी ६ अलग मोडलहरु विक्रीवितरण भइरहेका छन् । हंसराज हुलासचन्द प्रा.लि.ले नेपालमा भर्खरै मात्रएबीएस भेरियन्टको २०० ड्यूक र २५० ड्यूक पनि भित्र्याएको छ जसमध्ये २०० ड्यूकमा सिङ्गल–च्यानल एबीएस दिइएको छ भने२५० ड्यूकमा डवल-च्यानल एबीएस दिइएको छ । कम्पनीले २०० ड्यूकको मूल्य ५,२४,९०० तोकेको छ भने २५० ड्यूकको मूल्य ६,२४,९०० तोकेको छ ।