विकासन्युज

दोहोरो विवरण पेश गर्ने ऋणीलाई झड्का, करबाट विवरण लिएरमात्र ऋण दिन बैंकहरूलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ऋण दिँदा ऋण लिन चाहने व्यक्ति वा संस्थाहरूको वित्तीय सूचना कर कार्यालयबाट लिन निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै आर्थिक वर्ष २०७६/७७ को बजेटमा उल्लेख गरिएको दोहोरो विवरण पेश गर्ने समस्या समाधान गर्ने सम्बन्धमा बैंकहरूलाई त्यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा हस्ताक्षरित परिपत्रमा सो विषय उल्लेख गरिएको छ । बैंकहरूले आफू दर्ता भएको सम्बन्धित कर कार्यालयबाट युजरनेम र पासवर्ड लिन सक्ने र सो युजरनेम र पासवर्ड कार्यालयको सिष्टमा प्रविष्ट गरेपछि सम्बन्धित ऋणीले कर कार्यालयमा पेश गरेको वित्तीय विवरणहरू बैंकले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकबाट ऋण लिन चाहने व्यक्तिहरूले बैंक र कर कार्यालयमा पेश गर्ने विवरण छुट्टाछुट्टै बनाउने र कर छली गर्ने प्रवृत्ति बढेपछि त्यसलाई निरुत्साहन गर्न यस्तो कदम चालिएको हो । यस अघि आन्तरिक राजस्व विभागले समेत दोहोरो वित्तीय विवरण पेश गर्ने प्रवृत्ति हटाउन भन्दै बैंकहरूलाई कर कार्यालयबाट ऋणीको विवरण लिएरमात्र ऋण दिन भनेको थियो ।

सिटिजन्स बैंकको साधारणसभा असोज १० गते, ४ जना सञ्चालकको निर्वाचन हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुनेछ ।  बैंकले घोषित १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभामा बैंकका ४ जना सञ्चालकहरुको निर्वाचन समेत हुनेछ ।

नुवाकोट विदुर नगरपालिकाका वडाअध्यक्षले पुल बेचेर खाए ७० हजार

काठमाडौं। नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाअध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । विसं २०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा पनि वडाका आम नागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा बेच्दा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका स्थानीयवासी दुखित बनेका छन्। कबाडीलाई शुरुमा रु तीन लाखमा बेच्ने हल्ला भएको र पछि रु ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए। उनले भने,’पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’ बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर नगरपालिका–५ का वडाध्यक्षले तपाईको भाग भनेर पठाएको जानकारी दिए। उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको बताए। त्यस्तै विदुरनगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे। गल्छी–त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएका हौँ।’, उनले भने,’कबाडीलाई रु ७० हजारमा बेची रु ३५–३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ।’ यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ । विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए।

मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल, यसकारण…..

बैतडी । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ । मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिएका छन् । मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको भए पनि भित्र्याउने समयमा जङ्गली जनावरले मकैबाली सखाप पार्दा उत्पादनमा कमी आउने देखिएको उनले बताए । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा उक्त कार्यक्रम लागू भए पनि मकै जोगाउन धौधौ परेको उनले बताए । मकैबाली मुख्य खाद्यबाली भए पनि पछिल्लो समयमा यसको उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्द बताउँछन् । जङ्गली जनावरले मकैबाली सखाप पारेको विषयमा सबै ठाउँमा जानकारी गराएको भए पनि समस्या समाधानको उपाय भने ननिस्केको सो कार्यालयका प्रमुख महराको भनाइ छ । बैतडीमा पछिल्ला वर्षमा मकैको उत्पादनमा गिरावट आउन थालेको छ । गत वर्ष बैतडीमा १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा २३ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । मकैबाली जङ्गली बँदेलले नष्ट बैतडीका विभिन्न ठाउँमा किसानले लगाएको मकैबाली जङ्गली बँदेलले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकैबाली भित्र्याउने समयमा जङ्गली बदेलले मकैबाली नष्ट गर्दा भोकमरीको सम्भावाना बढेको दोगडाकेदार ३ श्रीकोटका प्रकाश चन्दले जानकारी दिए । “खेतमा लगाएको मकैबाली जोगाउन रातभर पहरा दिने गरेका छौँ”, उनले भने, “पहरा दिए पनि बथानमा आउने जङ्गली बदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।” जिल्लाको पुर्चौंडी क्षेत्रका विभिन्न स्थानमा पनि जङ्गली जनावरले मकैबाली नष्ट गर्दा किसान मर्कामा परेका छन् । बँदेल, दुम्सी, भालुलगायतका जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् । यस्तै पाटन नगरपालिका–७ का विभिन्न स्थानमा पनि जङ्गली बँदेलले मकैबाली नष्ट गरेको स्थानीय रामीराम विकले जानकारी दिए । मकै बचाउन टहरा बनाएर किसानले पहरा दिने गरेकोसमेत गरिएको छ । बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पछिल्लो समयमा जङ्गली जनावरले नष्ट गर्दै जाँदा उत्पादनमा कमी आउने गरेको छ । यसरी, मकैबालीमा विभिन्न कारणले क्षति पुग्ने गरेको भए पनि किसानले भने क्षतिपूर्ति पाउने गरेका छैनन् । बाली बीमा नगरेका कारण किसानले क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । मकैबाली लगाउने क्षेत्रफल घट्यो बैतडीमा मकैबाली लगाउने क्षेत्रफल घटेको छ । जिल्लामा गत वर्षदेखि मकैबाली लगाउने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बैतडीमा जङ्गली जनावरको प्रकोपका कारण मकैबाली उत्पादन हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिएका छन् । बैतडीमा हाल १२ हजार २०० हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । उनले भने, “केही वर्षअघिसम्म १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको भए पनि जङ्गली जनावरका कारण किसानले मकैबाली लगाउन छोडेका छन् ।” बाँदर र बँदेलले वर्षेनी मकैबालीमा क्षति गर्ने भएकाले मकैबालीतर्फ किसानको आकर्षण घट्दै गएको छ । जङ्गली जनावरका साथै पहाडबाट तराईमा बसाइँसराइका कारणले पनि मकै उत्पादन हुने क्षेत्रफल कम भएको निमित्त प्रमुख चन्दको भनाइ रहेको छ । रासस

फर्किए प्रधानमन्त्री

काठमाडौं। सिंगापुरमा १४ दिनको उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी शुक्रबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सभामुख कृष्णबहादुर महरासहित सरकारका उच्च तहका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए। ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो।

यू–१९ एशिया कप – नेपालले जित्यो टस

काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । पछिल्ला पाँच खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलङ्कामा नै भएको यू–१९ एशिया कपमा नेपाल आयोजक श्रीलङ्कासँग एक रनले पराजित भएको थियो । नेपालको प्लेइङ सेटमा रोहित पौडेल, रसिद खान, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, रीत गौतम, पवन सरार्फ, सूर्य तामाङ र हरिबहादुर चौहान रहेका छन् । रासस

सुनकाे मूल्यमा उच्च गिरावट, कति घट्याे ?

काठमाडौं । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० खरिदबिक्री भएको थियो ।

ग्यास सिलिण्डर पड्कँदा चार घर जलेर नष्ट

धादिङ । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताएका छन् । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ । वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताएका छन् । रासस