विकासन्युज

नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली पोखरातर्फ प्रस्थान

काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन् । रासस

लामखुट्टेको लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै पनि उपाय छैन: डा. अनुप बास्तोला

काठमाडौं। देशभर डेंगुले मानिसहरुको जीवन प्रभावित भएको छ। जाडोमा केही समय लुकेर बस्ने र गर्मी महिनाको आगमनसँगै सकृय हुने डेंगुले यसपटक भने महामारीको रुप लिएको हो। धरानबाट सुरु भएको डेंगु हालै देशको ४८ जिल्लामा फैलिसकेको छ। गत सालहरुमा काठमाडौंमा फाट्टफुट्ट देखिएको डेंगुका बिरामीको संख्या यसपटक भने असामान्य तरिकाले बढेको छ। काठमाडौंका अस्पतालहरु डेंगु परीक्षण गर्ने मानिसको चाप बढेको बढ्यै छ। अझै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पतालमा डेंगु जाँच निशुल्क गराएपछि अस्पताललाई बिरामीको चाप थेग्न गार्हो भएको हो। बिरामीको चाप अत्याधिक बढेका कारण वीर अस्पतालमा पनि शुक्रबारदेखि डेंगु परीक्षण थालिएको छ। सरकारी तथ्यांकले ३ हजार ८ सय ९९को हाराहारीमा डेंगुको बिरामी देखाए पनि बिरामीहरु यसको दोब्बर भएको डाक्टरहरु बताउँछन्। शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५० जना भन्दा बढी व्यक्तिहरुमा डेंगु देखिएको छ। यसबाहेक देशका अन्य निजी अस्पतालहरुमा पनि बिरामीको चाप बढेको बताउँछन्। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै सेप्टेम्बर १ देखि ४ तारिखको अवधिमा मात्रै ३८४ जना व्यक्तिले डेंगु परीक्षण गराएका छन्। ४ दिनको अवधिमा परीक्षण गराएका ३८४ मध्ये १४४ जनामा डेंगु पोजिटिभ देखिएको छ। जबकी सरकारी तथ्यांकले २ महिनाको अवधिमा काठमाडौंमा २५४ मा डेंगु देखिएको बताउँछ। मानिसहरुको बिच अहिले त्रासको रुपमा रहिरहेको डेंगुलाई यदी हामीले थोरै मात्र पनि ध्यान दियौं भने सजिलै रुपमा यसबाट बच्न सक्छौं। टेकु अस्पतालका डा. अनुप भन्छन्,’जब मानिसहरुले लामखुट्टेको लार्भा नै कस्तो हुन्छ भनेर चिन्दैनन् त कसरी डेंगुको नियन्त्रण हुन्छ।’ मानिसहरुले सरसफाइलाई ध्यान दिएर घर अगाडिका पानी जमेका ठाउँहरु पुरिदिने, खाली भाँडामा जम्मा भएका पानी फ्याँकिदिने र घर बाहिर निस्कँदा लामो बाहुला भएका लुगा लगाउने हो भने डेंगुबाट डराउनु पर्ने कुरै छैन।’ उनी भन्छन्, लार्भा नस्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’ कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ती संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। लामखुट्टेको लार्भा एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ। यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातिका लामखुट्टेमा पाइदैन। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन् ? लामखुट्टेहरु विशेष गरेर दिउँसोको समयमा सकृय हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृय हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने – शरीरमा बिमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने विश्वव्यापी अवस्थाहरु विगत केही दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । मृत्‍युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्‍यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। (सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित)

अस्पतालमा ज्वरोका बिरामी हालसम्मकै उच्च

चितवन । भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिएका छन् । अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करिब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताएका छन् । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करिब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ । रासस

अदालतको आदेशसँगै कम्प्लेक्स निर्माणमा गरिएको अवरोध हट्यो

राँझा । अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि गरिएका अवरोध हटाउन मार्गप्रशस्त भएको हो । जमिन अतिक्रमणका कारण लामो समयदेखि आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुन सकेको थिएन । उक्त इजलासका न्यायाधीशद्वय ऋषिराम अधिकारी र गोपाल डाँगीको संयुक्त इजलासले मागबमोजिम बसपार्क क्षेत्रमा रहेका अतिक्रमण हटाएर शपिङ कम्पलेक्स निर्माणका लागि स्थानीय सरकार र स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको कानून व्यवसायी लोकबहादुर शाहले जानकारी दिएका हुन् । उक्त आदेशमा कोहलपुर नगर विकास समितिको जग्गामा भएको अतिक्रमणसमेत हटाउन भनिएको छ । विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्र गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका व्यवसायीहरु हट्न नमानेपछि विवाद भएको थियो । उक्त समितिले उपलब्ध गराएको जग्गामा ७२ व्यवसायीले टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएकामा समितिले २०७५ साउनदेखि व्यवसायीसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको थियो तर लामो लमयदेखि बस्दै आएको स्थानबाट आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै त्यस क्षेत्रका केही व्यवसायीहरुले जग्गा नछाड्ने अडान लिएका थिए । शपिङ कम्प्लेक्स निर्माणका लागि शहरी विकास मन्त्रालयले डिपिआरसमेत तयार गरिसकेकाले व्यवसायीहरुको अवरोधका कारण काम अगाडि बढ्न सकेको थिएन । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले फैसलाको पूर्ण पाठ प्राप्त भएपछि सोहीअनुसार अगाडि बढ्ने जानकारी दिएका छन् । रासस

सिर्जना फाईनान्सलाई लक्ष्मी मा.वि. को सम्मान

काठमाडौं। ४० औं शिक्षा दिवशको अवसरमा मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम दरालको उपस्थिती रहेको थियो । विज्ञान प्रयोगशालाको समेत उद्घाटन रहेको कार्यक्रममा बोल्दै संचालक आचार्यले सिर्जना फाईनान्सले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता जस्ता कार्यक्रममा संस्थाले प्रत्यक्ष्य सहयोग गर्दै आइरहेको बताए । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयलाई १०० थान रंगीन जस्तापाता वितरण गरेको थियो ।

काठमाडौं आइपुगे चीनका विदेशमन्त्री याङ यी

मित्रराष्ट चीनका विदेशमन्त्री याङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । चार वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा.डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले भव्य स्वागत गरेका थिए ।

नेपालको होटल व्यवसायमा विदेशीको मोह, ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि

काठमाडौं। पछिल्लो समय नेपालमा होटल व्यवसायमा लगानी गर्न विदेशी लगानीकर्ताहरू आकर्षित भएका छन् । होटल व्यवसायमा लगानीकर्ताहरुको आकर्षण बढेसँग नेपालमा साना देखि ठूला होटल निर्माण तथा सञ्चालन भइरहेको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा होटल क्षेत्रमा रोजगारी र लगानी प्रतिवद्धतामा वृद्धि भएको छ। गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिवद्धतामा वृद्धि भएको छ। यदि सो प्रतिवद्धता अनुसारको होटल संचालमा आए थप ४ सयले रोजगारी पाउने छन्। लागनी बढे पनि होटलको प्रतिवद्धता संख्यामा भने कमी आएको छ । लगानी थपिएपनि वर्षको तुलनामा गत वर्ष १० वटा कम होटल प्रतिद्धता आएको हो। गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ वटा होटलमा ४० वटा विदेशी होटल रहेका छन्। उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख ३६ हजार ८८४ रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित अनुमति लिएको विभागले जनाएको छ। सो लगानीमध्ये सबैभन्दा धेरै चीनको रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ताअनुमति लिएको छ। यस्तै भारत, कोरिया, अमेरिकाले ३-३ वटा होटल दर्ताअनुमति लिएका छन् । क्यानडा, जर्मन र जापान लगाएतका देशले पनि नेपालमा गत आर्थिक वर्षमा होटल दर्ता गर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन् । नेपाली र विदेशीको संयुक्त लगानीमा १० वटा होटल दतागर्ने प्रतिवद्धतासहित अनुमति लिएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ। नेपालीको लगानीमा भने १९ वटा मात्रै होटल दर्तागर्ने प्रतिबद्धतासहित अनुमति लिएका छन। गत आर्थिक वर्षमा लगानी प्रतिबद्धता आएका होटलहरुले २ हजार एक सय ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख ४१ हजारको लगानी प्रतिवद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिवद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा संयुक्त लगानी गर्ने प्रतिवद्धता जनाएका थिए। विगतका वर्षको तुलनामा अहिले स्वदेशी र विदेशी लगानीकर्ताबीच होटलमा लगानी गर्ने संख्यामा वृद्धि हुँदै गएको छ। देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अहिले पर्यटन क्षेत्रको विकासका लागि महत्वतपूर्ण आधारका रूपमा रहेको होटल क्षेत्रको पुर्वाधारले सकारात्मक छलाङ मारेको छ। विभागको तथ्यांङ अनुसार नेपालमा साना ठूला गरी १ हजार ४० वटा होटल संचालनमा रहेका छन्। हाल होटल व्यवसायमा ६६ अर्ब ८१ करोड ८५ लाख ९३ हजार ६७३ रुपैयाँ लगानी रहेको छ भने ४२ हजार ८१० जनालाई रोजगारी पाएका छन्। कहाँ कहाँ छन ५ तारे होटल ? नेपालमा हाल १४ वटा पाँच तारे होटल रहेका छन्। कुल संख्या मध्ये प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पाँच तारे होटल छैनन् । यस्तै प्रदेश नम्वर ३ मा ९, गण्डकी प्रदेशमा २ र ५ नम्बर प्रदेशमा ३ वटा रहेका छन् । उद्योग विभागका सूचना अधिकारी वनोद खड्का भने सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएकोले पनि होटल व्यवसायमा लगानी आर्कषण रहेको बताए । सरकारले गरेको लगानी सम्मेलनले पनि विदेशीे लगानीकर्ताले नेपालको होटल क्षेत्रमा लगानी प्रतिवद्धता बढउँदै गएको बताए। होटल एशोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष  विनायक शाहले भारत चीनबीचमा नेपाल परेको विदेशीहरुले नेपालको होटेलको क्षेत्रमा विदेशीले लगानी वृद्धि हुँदै गएको बताए। नेपालमा सडक र एयरपोटको विकास नभएको बताए । नेपाल राम्रो वातावरण भएकाले पनि होटल व्यवसायमा मनोवलसमेत वृद्धि भएको बताए।

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् । आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ । रासस