पाँच दिनदेखि मालपोत कार्यालयको सेवा अवरुद्ध
बैतडी । मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ । कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकाले सोही भवनमा कार्यालय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिएका छन् । आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उनले बताए । नयाँ भवनमा कार्यालय सार्नका लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ देखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मालपोत कार्यालयले दिने सेवाहरु भदौ २५ गतेबाट नियमित रूपमा गढीबाट सञ्चालन हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिएका छन् । रासस
फोर्स मोटर्सको शोरुम हेटौंडामा, ग्राहकलाई ४ लाख सम्मको छुट
काठमाडौं । हिमालय अर्गनाईजेशन पोखरा अन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आईतबार एक कार्यक्रमका विच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ । कम्पनीले महान् चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै आइतबारबाटै ग्राहक वर्गलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुब थापाले बताएका छन् । कम्पनीका अनुसार दशै तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाख सम्मको छुट तथा विषेश उपहारहरु प्राप्त गर्न सक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, ईन्धन किफायती र आरामदायीको लागी प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख कि.मी सम्मको वारेन्टी सुविधाका साथै ६ पटक सम्म निशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ । बिगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आईरहेको छ । फोर्स मोटर्सले नेपालमै सबै भन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जिप बिक्री गर्दै आईरहेको छ भने कार्गो किङ्ग पिकप , ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यस गाडीको काठमाण्डौंको गैरीधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भईरहेको प्रवन्ध निर्देशक निरन के.सीले बताए । विक्री संगै विक्री पछिको सेवाका साथै सहज रुपमा स्पेयर पार्टसहरुको उपलब्धतालाई आयाम इन्टरकन्टिनेन्टलले प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।
एक करोड ७५ लाख बराबरकाे कभर्ड हल निर्माण शुरु
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमिन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमिन दिने निर्णय गरेको छ । “यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमिनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भने । कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्तवेदन (डिपिआर) तयार गरिएको थियो । हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना (इन्डोर) खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताए । कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहज रुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताएका छन् । उनका अनुसार कभर्ड हलमा करिब ६०० मानिस अट्नेछन् । ३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन् । सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ । रासस
जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर
काठमाडौं । भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिएका छन् । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन । पहिले एक तले मन्दिर रहेकामा पछि दुई तला थपेर तीनतले प्यागोडाशैलीको मन्दिर निर्माण गरेको प्रारम्भिक अध्ययनपछि थाहा भएको विभागका पुरातत्व अधिकृत अमृता महर्जनले बताएका हुन् । मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिए पनि मन्दिर परिसरमा शिलालेख भने फेला परेको छैन । नयाँ भेटिएका गजुरका विषयमा विभाग र कोषका उच्च अधिकारीले अध्ययन गर्ने भएका छन् । भित्रको गजुर बाहिरको भन्दा पुरानो छ । परेवाले गरेको विष्टाले छोपेको गजुरलाई सफा बनाइएको छ । पुनःनिर्माणका लागि मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि काम बन्द गरेर मन्दिरलाई जस्ताले छोपेर राखिएको छ । कोष र विभागका विज्ञको समूहले नयाँ गजुरका बारेमा अध्ययन गरी निष्कर्ष निकालेपछि मन्दिर भत्काएर पुनःनिर्माण गरिने कोषले जनाएको छ । रासस
सिलगुढी–काठमाडौँ बस सञ्चालनकाे चर्काे विरोध
भद्रपुर । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् । नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका हुन् । प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताएका छन् । उनले भने, “कोलकत्ता, गुहावटीदेखि काठमाडौँसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ तर सम्झौताविपरीत भारतका महत्वहीन शहरबाट काठमाडौँजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन तत्काल यसलाई स्थगित गरिनुपर्छ ।” उनले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताए । पूर्व यातायात व्यवसायीसमेत रहेका मैनालीले नेपालमा धेरै गाडी व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजश्वमा समेत प्रभाव पर्ने विचार राखेका छन् । झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवद्र्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वीमा असर पुग्ने बताएका हुन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमा नाकामा सामान्य चेकजाँच गर्ने गरेको बताउँछन् । उनले भने, “अध्यागमनले जस्तो उसका परिचय खुल्ने कागजात हेर्न मिल्दैन, शङ्का लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं ।” रासस
सडक अवरुद्ध बनेपछि करोडाैंको स्याउ थन्कियो बारीमै
बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडौंको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षातका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोडाैं मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् । ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षातमा बाटो बन्द हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्याङ्क नआएपनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् । स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि अभिसाप बनेको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि रु डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउखेती गरिएको छ । रासस
एटीएम कार्ड बोक्नेलाई थप राहत, भुक्तानीमा शुल्क नलाग्ने, बोनस पाइने, भ्याट फिर्ताको अन्तिम तयारी
काठमाडौं । रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई थप राहत हुने भएको छ । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने त्यस्ता स्थानहरुमा हुने भुक्तानीमा त्यस्तो सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै त्यस्तो राहत हुने भएको हो । नेपाल राष्ट्र बैंकले आईतबार परिपत्र जारी गर्दै ‘प्वाइन्ट अफ सेल’ मार्फत् हुने भुक्तानीमा कुनैपनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेसँगै डेबिट वा क्रेडिट कार्डमार्फत् हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्थाकाे हाे । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले लिएको सो नीति राष्ट्र बैंकको परिपत्रसँगै औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । वइन्ट अफ सेल मेसिन भएका त्यस्ता ठाउँबाट सामान किन्दा ग्राहकले आफुसँग भएको कुनैपनि बैंकको डेबिट वा क्रेडिट कार्ड बिक्रेतालाई दिनेछ । सो बिक्रेताले त्यसलाई पीओएस मेसिनमा घुसाएपछि ग्राहकले सो भुक्तानीको भेरिफाइ गरिदिनुपर्नेछ । यसो गरेपछि सो वस्तु तथा सेवा खरिद गरेवापतको रकम ग्राहकको खाताबाट बिक्रेताको खातामा सोझै ट्रान्सफर हुनेछ । यस्तो भुक्तानीमा हालसम्म कहीँ अतिरिक्त शुल्क आएका थिए भने केही बैंकहरुले त्यस्तो सेवा निशुल्क गर्दै आएका थिए । त्यस्तो भुक्तानीमा यसअघि अतिरिक्त शुल्क पनि लाग्दै आएको थियो । केही बैंकहरुले भने विक्रेताहरुसँग सहमति गरी त्यस्तो शुल्क नलिने व्यवस्था पनि गरेका थिए । अब भने यो पूर्णतः निशुल्क भएको छ । केही बैंकहरुले भने विक्रेताहरुसँग सहमतिमा हाल त्यसरी हुने भुक्तानीमा ग्राहकलाई बोनस वा क्यास फिर्ता योजनाहरु ल्याएका छन् । भ्याट फिर्ताको अन्तिम तयारी चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले क्यासलेस भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता गर्ने योजना समेत ल्याएको छ, यद्यपि त्यस्तो क्यासब्याकको मोडालिटी के हुने भन्नेबारे सरकारी अधिकारीहरु छलफलमै रहेको र छलफल अन्तिम चरणमा रहेको आन्तरिक राजश्व विभागका अधिकारीहरु बताउँछन् । ‘हामीले भ्याट फिर्ता दिने योजना त ल्यायौं तर त्यस्तो भ्याट सामान खरिद गर्दा नै छुट दिने कि ग्राहकको खातामा ट्रान्सफर गरिदिने भन्ने मोडालिटी बन्न बाँकी छ, त्यो भएपछि यस्तो भुक्तानीमा भ्याट छुट दिने योजना सुरु हुन्छ’ विभागका एक अधिकारीले भने । उनका अनुसार विभाग यसको अन्तिम तयारीमा छ, सम्बन्धित ग्राहकको बैंक खातामै भ्याट रकम ट्रान्सफर गर्नेगरी निर्णय हुनसक्ने ती अधिकारीको भनाई थियो । यस्तो भुक्तानीबाट कुनै क्रेताको खातामा रहेको पैसा बिक्रेताको सम्बन्धित बैंक खातामा सोझै ट्रान्सफर हुने भएकोले कुनैपनि क्रेता वा विक्रेताको खल्ती वा भल्टमा ‘आइडल मनि’ रहने सम्भावना हुँदैन यसले वित्तीय तरलतामा देखिने उतारचढाव समेत कम गर्न मद्दत गर्छ ।
राष्ट्र बैंकले चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।