विकासन्युज

आईएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको हो । यस कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उदृत गदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिएका छन् ।

ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो । केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताएका छन् । “सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उनले भने । ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए । “प्रहरी सङ्गठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्नेछौँ,” उनले भने । विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाइ थियो । उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले जानकारी दिए । काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् । एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ । रासस

त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौँ । कतारबाट काठमाडौँ ओर्लिएका नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका छन्। हिमालय एयरलाइन्समार्फत काठमाडौं आएका तनहुँका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । गुरुङ मसला पिँध्ने ओखलमा लुकाएर डेढ किलो सुन ल्याएको अवस्थामा पक्राउ परेका हुन् । उक्त सुन लिन विमानस्थल पुगेका मोरङ पथरीका अनिल लुइँटेल र भोजराज घिमिरे पनि पक्राउ परेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।

खराब मौसमका कारण माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण

दैलेख । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दैलेखमा आज बिहानैदेखि लगातार वर्षा भइरहेको छ । रासस

काठमाडौंमा चल्न थाल्यो इलेक्ट्रिक बस, भाडा २० प्रतिशत सस्तो, डेढ वर्षदेखिको अभिष्ट पूरा

काठमाडौं । बहुप्रतिक्षित विद्युतीय सवारी आजबाट सञ्चालनमा आएको छ । निजी क्षेत्रको विद्युतीय यातायात कम्पनी सुन्दर यातायात प्रा.लि.ले चीनबाट ल्याएका ४ ओटा विद्युतीय बस साेमबारबाट व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको हो ।  सोमबार दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साे बसकाे उद्घाटन गरे । उद्घाटनलगत्तै सुन्दरले चक्रपथमा टेष्ट ड्राइभ गर्ने तयारी गरेकाे छ । उद्घाटनलगत्तै अहिले ३ बजे सुन्दर यातायात यातायत व्यवस्था विभागमा बस दर्ताको लागि जाँदैछ । यातायातले दर्ता दिए आजै साँझदेखि व्यवसायिक रुपमा बस सञ्चालन गर्नेगरी तयारी गरेको छ । डेढ वर्षदेखिको अभिष्ट पूरा सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको अहिलेदेखि होइन । डेढ वर्ष अघिदेखि योजना बनाएको भए पनि सवारीसाधन आयात, सवारी दर्ता, रुट व्यवस्थापन, चार्जिङ स्टेशन निर्माणका लागि विद्युत लाइनको प्राप्ति लगायतमा कठिनाई हुँदा यति समयसम्म सुन्दरले ल्याएका बसहरु ‘आइडल’ रुपमा सञ्चालन हुँदै आएका थिए । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले सबैतिरको अप्ठ्यारो पार गर्नुपर्दा सुन्दर यातायात विद्युतीय सवारी सञ्चालन गर्ने सोचबाटै पछि हट्ने सोचमा पुगिसकेको समेत स्मरण गरे । तर, मिडियाकर्मीहरुको साथ, हौसला र दबाबका कारण आफू पछि हट्न नपरेको समेत उनले बताए । खासगरी विद्युतीय सवारीसाधन दर्तामा यातायात मन्त्रालयबाट भएको असहयोगले सुन्दरलाई सबैभन्दा बढी असहयोग गर्यो । ४ पांग्रेभन्दा बढी विद्युतीय सवारीलाई दर्ता अनुमति दिने कानूनी व्यवस्था नै नभएको अवस्थामा मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरु नै त्यसमा असहयोगी देखेपछि आफ्नो योजना नै त्याग्ने मनस्थितिसम्म पुगेको दुखेसो उनको थियो । विद्युतीय यातायात सञ्चालनको अर्को अप्ठ्यारो भनेको चार्जिङ स्टेशनका लागि विद्युत लाइनको प्राप्ति र सवारी चार्ज गर्ने शुल्क निर्धारण हो । सुन्दरले चार्जिङ स्टेशन समेत आफैं ल्याएकोले शुल्कको विषयमा समस्या नरहे पनि विद्युतीय लाइन विस्तारका लागि पनि कयौं कानूनी कठिनाई पार गर्नुपरेको थापाको भनाई थियो । यद्यपि त्यसका लागि उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको सहयोगप्रति भने उनी सन्तुष्ट छन् । प्रदेश १ र प्रदेश ५ लाई जोड्दै सोमबारदेखि काठमाडौंमा सञ्चालन सुरु गर्न लागेको सुन्दर यातायातले प्रदेश १ र प्रदेश ५ लाई समेत जोड्ने योजना बनाएको छ । त्यसका लागि वुटबलदेखि विराटनगर हुँदै झापासम्म सञ्चालन हुनेगरी विद्युतीय बस सञ्चालनका लागि अन्तिम तयारी भइरहेको समेत थापाले बताए । त्यसका लागि बुटवलमा चार्जिङ स्टेशन मंगबारसम्म बनिसक्ने पनि उनले बताए । काठमाडौंमा भने चक्रपथका अतिरिक्त काठमाडौंका भित्री रुटहरुमा समेत सो बस सञ्चालन हुनेछ । त्यस्तै पहिले ट्रलिबस सेवा सञ्चालन भएको काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्याविनायकसम्मको रुट पनि थपिएको छ, विद्युतमा आधारित ट्रलिबसको गरिमा र स्मरण गराउने समेत थापाले बताए । ११ ओटा बस कोलकत्तामा काठमाडौंमा रहेका ७ ओटा बसमध्ये ४ ओटा बसको व्यवसायिक सञ्चालनको तयारी भइरहँदा चीनबाट आएका ११ ओटा बस कोलकत्ता बन्दरगाहमा आइपुगेको र केही दिनभित्रै त्यो नेपाल आइपुग्ने जानकारी दिए । सो बस आएपछि सुन्दरका १८ ओटा बस हुनेछन् । सो बस सञ्चालनका लागि सुन्दर यातायातको तर्फबाट ११ करोड लगानी भएको र चिनियाँ कम्पनीले कुल भुक्तानीको ७० प्रतिशतसम्म क्रेडिट सुविधा दिएको बताइएको छ, त्यसो गर्दा १८ ओटा बसका लागि करिब १८ करोड रुपैंया लगानी गरेको अध्यक्ष थापाको भनाई थियो । २० प्रतिशत भाडा सस्तो सरकारले हाल विद्युतीय सवारीसाधनको लागि कुनै भाडादर निर्धारण गरेको छैन । सरकारले भाडादर निर्धारण नगरे पनि सामान्य सवारीहरुको भाडादरकै आधारमा सुरुवाती भाडादर सुन्दरले कायम गरेको छ । तर सो भाडामा आन्तरिक रुपमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको यातायातले जानकारी दिएको छ । सरकारले छुट्टै भाडादर तोक्यो भने सोही भाडादरअनुसार चल्ने योजना सुन्दरको छ ।

निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न

घोडाघोडी । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो । “भवनको भित्री सबै काम पूरा भइसकेको छ”, साउदले भने । छ सय श्यया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताएका छन्। कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ । “एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ”, साउदले भने । सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । “आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौँ”, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन । रासस

मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिका लागि तीन लाख सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले समावेशीताको आधारमा गरिब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई सी पास भई काठमाडाैंमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी तीन लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरेका हुन् । यस बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि उक्त छात्रवृत्ति दिएको हो । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।