विकासन्युज

दशैँको टीकाको शुभ साइत बिहान १०ः३५ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिए ।

औद्योगिक ग्राम बनाउन चिनियाँ चासो, काठमाडौँपछि चितवन भ्रमण

चितवन । स्थानीय सरकार र चिनियाँ लगानीकर्ताबीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र ‘द ईकोनमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राईजेज’को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा चिनियाँ लगानीकर्तासँग समन्वय गरिरहेका पूर्वगृह एवं ऊर्जामन्त्री जनार्दन शर्माले चिनियाँ लगानीकर्ताले नेपालमा औद्योगिक ग्राम निर्माण गर्न चाहेको बताए । काठमाडौँमा शनिबार भएको कार्यक्रमपछि व्यवसायीले चितवनमा औद्योगिक ग्राम निर्माण गर्न चाहेसँगै यहाँको भ्रमण गरेको शर्माले जानकारी दिए । यहाँ मुख्य ग्राम रहने र सहायक ग्रामहरु विभिन्न जिल्लामा हुने उनले बताए । सरकारले जग्गा भाडामा उपलब्ध गराई उनीहरुको अनूकुल कानुनी व्यवस्था गर्न र प्रशासनिक काम छिटोछरितो गरिदिन चिनियाँ समूहले माग गरेको शर्माले जानकारी दिए । सो अवसरमा इन्टरप्राइजेजका टोली नेता फ्यान जिआवोले नेपालमा उत्पादन र व्यापारको क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै आवश्यक वातावरण बनाइ दिन आग्रह गरे । पहिलो चरणमा चितवनमा काम गर्नका लागि आफ्नो टोली यहाँ आएको उनको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा लगानीका लागि आह्वान गर्दै आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौँ पछिको वैकल्पिक शहरको रुपमा भरतपुरलाई विकास गर्न लागिएको भन्दै उनले शक्तिखोरको औद्योगिक क्षेत्र, रङ्गशाला, दासढुङ्गादेखि गोलाघाटसम्मको नारायणी नदी, नगरवन, अटो भिलेज, मेट्रो रेलजस्ता क्षेत्रमा चिनियाँ व्यवसायीलाई लगानी गर्न आह्वान गरिन् । छलफलपछि ४२ जनाको चिनियाँ व्यवसायीको टोलीले शक्तिखोरको औद्योगिक क्षेत्रको अवलोकन गरेको महानगर उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । रासस

भुक्तानीमा राष्ट्र बैंकको ऐतिहासिक कदम, २ लाख बढीको कारोबारमा चेक नचाहिने, तत्कालै क्लियरिङ

काठमाडौं । २० लाख भन्दा बढीका चेक काट्न नमिल्ने र २ लाख भन्दा बढी भुक्तानी तत्कालै हुने व्यवस्थासहित नेपाल राष्ट्र बैंकले बहुप्रतिक्षित रियल टाइम ग्रस सेटमेन्ट प्रणाली लागु गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैंकहरुका लागि मंगलबारदेखि लागु हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको हो । एउटा बैंकमा खाता भएको व्यक्तिले अर्को बैंकमा खाता भएको व्यक्तिलाई ठूलो परिमाणमा भुक्तानी दिनको लागि सो व्यवस्था लागु गरिएको हो । यसअघि त्यस्तो भुक्तानी चेकमार्फत हुँदै आएको थियो जसको क्लियरिङ भुक्तानीको भोलिपल्टै मात्र हुने गथ्र्यो । यो प्रणाली लागु गरिएपछि भुक्तानीको क्लियरिङ कारोबार भएकै समयमा हुनेछ । ‘ख’ र ‘ग’ वर्गका बैंकहरुको हकमा भने यो सिस्टम लागु गर्न पुससम्मको समयावधि दिइएको छ । यो व्यवस्था लागु गर्नको लागि बैंकहरुलाई सोमबारसम्म मात्रै समय छ । मंगलबारदेखि ठूला भुक्तानीहरुमा बैंकहरुले यो प्रणाली वाध्यकारी रुपमा लागु गर्नुपर्नेछ । यो सिस्टममा सहभागी भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार संचालन गर्नुपर्ने नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको परिपत्रमा उल्लेख छ । यो कारोबारमार्फत् २ लाख भन्दा कम कारोबार गर्न भने पाईँदैन । यस्तो कारोबारको लागि नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर सिस्टम (एनईएफटी) लागु हुनेछ । आरटीजीएफबाट भने बैंक तथा वित्तीय संस्थाले गरेको कारोबारमा भने राष्ट्र बैंकको प्रत्यक्ष निगरानी हुनेछ । यो प्रणालीमा प्रत्येक कारोबार भएको आधा घण्टा भित्र यो सिष्टममा देखिसक्नु पर्नेछ । यो कारोबार आइतबारदेखि १० बजेदेखि ३ बजेसम्म र शुक्रबार १० बजेदेखि १२ बजेसम्म यो कारोबार गर्न पाइने जनाइएको छ । यो सुविधा प्रदान गर्न राष्ट्र बैंकद्वारा तोकिएको बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) को २५ प्रतिशतसम्म इन्ट्रडे लिक्वीडिटी फेसेलिटी (आईएलएफ) प्रदान हुने छ । सुविधा रकम गणना गर्दा अनिवार्य मौज्दात (सीआरआर) बाहेकको रकमलाई गणना गरिनेछ । आईएलएफ अन्तर्गत प्रदान हुने रकम आरटीजीएस प्रणालीको सोही दिन कारोबार बन्द हुने समयमा शूल्य मौज्दात हुनुपर्ने छ । यस्तो रकम आरटीजीएस सेटलमेन्ट एकाउन्टबाट स्वत शोधभर्ना हुनेछ । बैंक तथा वित्तीय संस्थाको आरटीजीएस सेटलमेन्ट एकाउन्टमा यदि आईएलएफ चुक्ता गर्न पर्याप्त रकम नभएमा अन्य स्रोतबाट रकम व्यवस्था गरेर समेत सो सुविधा रकम राफसाफ गर्नुपर्ने छ । केही गरी आईएलएफ बापतको रकम राफसाफ हुन नसकेमा स्थायी तरलता सुविधा रकम प्राप्त गरी राफसाफ गर्नुपर्ने छ । यस्तो अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग पूर्व सम्झौता गरी उक्त रकम बराबर सुरक्षण रोक्का राख्न सक्ने छ । राष्ट्र बैंकको जीएल सिस्टममा खाता रहेका बैंक तथा वित्तीय संस्थाहरुका लागि आरटीजीएस सिस्टमबाट कारोबार सञ्चालन गर्न आवश्यक पर्ने सेटलमेन्ट एकाउन्टको व्यवस्था गरेको छ । राष्ट्र बैंकले भदौ १९ गते आरटीजीएस सम्बन्धी कार्यविधि लागू गरेको थियो ।

एनसीसी बैंकपनि आरटीजीएस प्रणालीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) बीच आरटीजीएस प्रणाली सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटीजीएस प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फच्र्छौट गर्न सक्ने छन् । सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक वमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।

नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९औं शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिकावडा नं. ०१ स्थित बरुवामामा ९९औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडा अध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

नयाँ विशेषतासहित भक्सवागनको ‘अमिओ’ कार आउँदै, मूल्य ९ लाख ९९ हजार

नयाँदेल्ली। जर्मन अटोमेकर कम्पनी भक्सवागनले आफ्नो अमिओ कम्प्याक्ट सेडान मोडलमा जीटी लाइन ट्रिम समावेश गरेर बजारमा ल्याउने भएको छ । यसअघि लञ्च भएका पोलो र भेन्टोमा जस्तो अमिओ जीटी लाइनमा न्यू फ्रन्ट ग्रिल र बम्पर डिजाइन चाहिँ छैन । तर यसमा भेन्टो जीटी लाइनमा भएजस्तै कस्मेटिक चेञ्जहरु भने देख्न सकिनेछ । अमिओको स्पोर्टी भर्जनमा न्यू सनसेट रेड पेन्ट शेड, ब्ल्याक रुफ, क्रोम फिनिस्ड डोर ह्याण्डल्स, फ्रन्ट फेन्डरमा जीटी लाइनको ब्याज, ओआरभिएम कभर्स र बुट लिड स्पोइलर रहेका छ । त्यसैगरी डोरमा जीटी लाइनको डेकल्स दिइएको छ । यी बाहेकका अरु सबै फिचर्स र सेफ्टी किटहरु चाहिँ अमिओकै अर्को टप–स्पेक भेरियन्ट हाइलोन प्लसजस्तै नै छन् । भक्सवागनले भारतीय बजारमा डिजेल अमिओ जीटी लाइनको मूल्य रु.९.९९ लाख तोकेको छ । त्यसैगरी पेट्रोल अमिओ जीटी लाइनको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । तर बजारमा आइपुग्दा भने रु.७.९९ लाख पर्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय बजारमा अमिओ जीटी लाइनको आगमन भएपछि यसले मारुती सुजुकी डिजायर, फोर्ड एस्पायर, हुण्डाइ एक्सेन्ट र होण्डा अमेजजस्ता प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिनेछ भन्ने अनुमान गरिएको छ । तर यो कार नेपाली बजारमा तत्काल आउने सम्भावना छैन ।

वृद्धभत्ता लिन प्यान चाहिन्छ कि चाहिँदैन ? दशैंअघि मात्रै १६ अर्ब भुक्तानी हुने

काठमाडौं । एक हजार भन्दा बढीको भुक्तानीमा अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएसँगै प्यान नम्बर लिन आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुमा प्यान लिनेको भीड बढ्दै गएको छ । सरकारले जुनसुकै व्यवसायिक प्रतिष्ठानहरुले प्यान नम्बरबिना गरिएको एक हजार रुपैंयाभन्दा बढीको भुक्तानीलाई खर्चमा समावेश गर्न नपाउने भनेसँगै त्यस्ता संस्थाहरुबाट हुने भुक्तानीमा प्यान समावेश गर्न प्रतिष्ठानहरुले सुरु गरेका छन् । तर, सरकारी ढुकुटीबाटै जाने वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता लिन भने प्यान नम्बर नचाहिने भएको छ । मन्त्रालयसँगको छलफलपछि आन्तरिक राजश्व विभाग त्यस्तो भुक्तानीमा प्यान नम्बर अनिवार्य नहुने निष्कर्षमा पुगेको हो । आन्तरिक राजश्व विभागले सरकारी भुक्तानीमा पनि प्यान नम्बर अनिवार्य भएको भए पनि वृद्धभत्ता लिन भने प्यान नम्बर नचाहिने जानकारी दिए । अधिकारीका अनुसार यस्तो भत्ता सरकारले वृद्धवृद्धा, एकल महिला, अपांग र विशेष क्षेत्र वा सम्प्रदायका मानिसहरुलाई वितरण गर्ने विशेष प्रकारको सामाजिक सुरक्षा कार्यक्रम भएकोले यसमा स्थायी लेखा नम्बर आवश्यक नपर्ने निष्कर्षमा विभाग पुगेको बताएका हुन् ।  वृद्धभत्ताको लागि प्यान नम्बर नचाहिए पनि अन्य प्रकारका सरकारी अनुदान र भुक्तानीहरुको लागि भने प्यान अनिवार्य रहेको उनको भनाई थियो । सरकारले सामाजिक सुरक्षा भत्तावापत प्रत्येक चारचार महिनामा त्यस्तो भत्ताबापतको रकम बैंकमार्फत् भुक्तानी गर्ने गरेको छ । जसमध्ये दशैं खर्चस्वरुप साउन, भदौ, असोज र कार्तिक महिनाको भत्ता दशैंअघि एकमुष्ठ रुपमा पाउँदै आएको छ । त्यस्तै मंसिर, पुस, माघ र फागुनको भत्ता चैतमा तथा चैत, वैशाख, जेठ र असारको भुक्तानी असारमा दिने गरेको छ । अघिल्लो वर्ष प्रतिमहिना २ हजारका दरले वितरण गर्दै आएको सो भत्तालाई यस वर्षदेखि ५० प्रतिशतले बढाएर ३ हजार रुपैंया पुर्याएको छ । यसो गर्दा दशैंअघि उनीहरुले एकमुष्ट १२ हजार रुपैंया भुक्तानी पाउनेछन् । हाल त्यस्तो भत्ता लिनेको संख्या कुल १३ लाख १० हजार रहेको जनाइएको छ । यसो गर्दा सरकारी ढुकुटीबाट दशैं अघि मात्रै करिब १६ अर्ब रुपैंया भुक्तानी हुनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बागेश्वरी मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले यही भाद्र २० गते गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको छ । उक्त कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेबाट भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरताको पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ । यस बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको यस बैंकले आफ्ना देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको छ ।