विकासन्युज

कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन ल्याउने- मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताए । भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो विमानस्थलको अनुगमन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने जानकारी दिए । “तीनवटै सरकारका साझेदारीमा पुनः सञ्चालन हुन्छ ।” मन्त्री भट्टराईले भने, “यसका निम्ति प्रक्रिया अघि बढाउँछौं। २०५१ सालमा यहाँबाट विमान चढेर काठमाडौं गएको सम्झना अझै छ ।” उनले अनुगमनका क्रममा विमानस्थलको क्षेत्रफल र विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका थिए । सो अवसरमा मन्त्रालयको प्राविधिक टोली र जनप्रतिनिधिको समेत सहभागीता रहेको थियो । विमानस्थलमा ५० सिटको जहाज सञ्चालन गर्न समस्या नरहेको बताइएको छ । २०५६ सालमा असुरक्षाका कारण विमानस्थल सञ्चालन रोकिएको थियो । विमानस्थल पुनः सञ्चालनका स्थानीयस्तरमा रमेश चन्दको नेतृत्वमा दबाब समूहसमेत गठन गरिएको छ । विमानस्थल संरक्षण एवं सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्तनगरपालिकाले २० लाख रुपैयाँ बजेट चालु आर्थिक वर्षमा विनियोजनसमेत गरेको छ । ६५ बिघ क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ एक हजार ६ सय ६५ मिटर र चौडाइ ५ सय मिटर रहेको छ । रासस

हवाई पूर्वाधारमा झण्डै ५०० अर्ब रूपैयाँ खर्चिर्दै सरकार, कुन विमानस्थलमा कति खर्च ?    

काठमाडाैं । सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै रु पाँच खर्ब लगानी गर्ने भएको छ । विगत दुई वर्षमा मात्रै रु ९० अर्ब खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विगत दुई वर्षको अवधिमा मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पूर्वाधार विकासमा रु ५० अर्ब र जग्गा अधिग्रहणमा रु ३३ अर्ब खर्च भइसकेको छ । आन्तरिकतर्फ पूर्वाधारमा रु छ अर्ब र जग्गा अधिग्रहणमा रु एक अर्ब खर्च भएकाे जनाएको छ । प्राधिकरणले आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारमा झण्डै साढे तीन खर्ब लगानी गर्ने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले क्रान्तिकारी फड्को मार्ने सरोकारवालाको भनाइ छ । विगत दुई वर्ष र अबको पाँच वर्षभित्र हवाई पूर्वाधारमा जम्मा रु चार खर्ब ७० अर्ब खर्च हुनेदेखिन्छ । यो लगानी मुलुकभित्र सञ्चालित आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको खर्च हो । लगानीका हिसाबले देशको महत्वपूर्ण हवाई पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । हाल ५४ विमानस्थल रहेपनि जम्मा ३२ वटा मात्र व्यावसायिक सञ्चालनमा छन् । पैतिस विमानस्थल कालोपत्र भइसकेका छन् । दुई विमानस्थल अर्घाखाँची र पोखरा क्षेत्रीय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा प्रस्तावित १३ विमानस्थल निर्माणको तयारीमा छन् । उक्त अवधिमा १६ विमानस्थलको स्तरीकरण गरिएको छ । विमानस्थलभित्र गरिएको ठूलो लगानीले प्रतिफल खोज्नुपर्ने र सेवादिनुपर्ने उत्तिकै दायित्व रहेको छ । प्राधिकरण, सिभिल इञ्जिनीयरिङ विभागका निर्देश प्रदीप अधिकारी मुलुकको हवाई क्षेत्रम उल्लेख्य प्रगति भएको र यसलाई समृद्धिको आधारका रुपमा जोड्न सक्नुपर्ने बताए । उनले पूर्वाधार विकाससँगै सेवा स्तरीकरणको कामलाई पनि द्रुत गतिमा अघि बढाइने उल्लेख गरे । निर्देशक अधिकारीले क्षेत्रीय विमानस्थलको गुरुयोजना बनाई विस्तार र स्तरोन्नतिको काम भइरहेको तथा सञ्चालनमा नरहेका विमानस्थलको सम्भाव्यता हेरेर छिट्टै सञ्चालन गर्ने गरी योजनाबद्ध काम भइरहेको जानकारी दिए । तराई क्षेत्रका सबै विमानस्थलको स्तरोन्नति गरी ठूला जहाज सञ्चालनको वातावरण सिर्जना गर्ने र पहाडी तथा हिमाली क्षेत्रका विमानस्थललाई विस्तार गरी एटिआर–४२ जहाज लैजानेगरी काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८५ प्रतिशत सकिएको छ । सो विमानस्थल अबको चार महिनाभित्र सञ्चालन हुने प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । कुन विमानस्थलमा कति खर्च ? प्राधिकरणका अनुसार क्षेत्रीय हवका रुपमा रहेको विराटनगर विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिएको छ । एक सय २६ बिघा जग्गा अधिग्रहण गर्न बाँकी रहेको र पाँच वर्षभित्र सबै कामसकी ठूला जहाज सञ्चालनयोग्य बनाइनेछ । भौतिक पूर्वाधारतर्फ रु चार अर्ब र जग्गा अधिग्रहणका लागि चार अर्ब गरी रु आठ अर्ब खर्चहुनेछ । नेपालगञ्ज विमानस्थललाई दुई हजार ६०५ मिटर लम्बाइको बनाइने भएको छ । भौतिक पूर्वाधारमा रु चार अर्ब र जग्गा अधिग्रहणमा तीन गरी जम्मा रु सात अर्ब खर्चेर विस्तार गरिनेछ । चन्द्रगढी विमानस्थलको गुरुयोजना स्वीकृत भएको छ । पाँच वर्षभित्र धावनमार्गलाई एक हजार ८३० मिटर बनाइनेछ । सो विमानस्थलमा रु तीन अर्ब खर्च हुनेछ । त्यसैगरी धनगढी विमानस्थलको धावनमार्ग विस्तार गरी दुई हजार ५५० मिटर बनाइने छ । जसका लागि २४३ बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । उक्त कामका लागि अनुमानित रु साढे पाँच अर्ब लाग्ने जनाइएको छ । भरतपुर विमानस्थलको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान गर्ने योजना छ । सो विमानस्थलमा पनि ठूला जहाज अवतरण गर्नेगरी विस्तार गरिनेछ । जनकपुरको विमानस्थलको छिट्टै गुरुयोजना बनाइने र ठूला जहाज अवतरण गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्ने प्राधिकरणको योजना छ । जनकपुर विमानस्थलका लागि रु एक अर्ब खर्चनुपर्नेछ । राजविराज विमानस्थलको पनि धावनमार्ग विस्तार गरी एक हजार ७०० मिटर लम्बाइको बनाइनेछ । सो विमानस्थलको जग्गा अधिग्रहणदेखि पूर्वाधारको सबै काम सक्न रु एक अर्ब ६५ करोड खर्च गरिनेछ । महेन्द्रनगर विमानस्थलको एक हजार ६९० मिटर लम्बाइको बनाइने भएको छ । जसका लागि रु ५० करोड खर्च गरिने भएको छ । सुर्खेत विमानस्थलको भौतिक पूर्वाधारलगायतका कामका लागि रु आठ अर्ब खर्च गरिनेछ । तुम्लिङटार, जोमसोम, रामेछाप, जुम्ला, सिमकोट, रारा, साँफेबगर, लामिडाँडा, ओखलढुङ्गा, बझाङ, इलाम, गुल्मी, रुम्जाटार, डोटी, रोल्पा, डोल्पा, दाङ, कालीकोटलगायतका देशभरका ५० विमानस्थलको विस्तार गरी आगामी पाँच वर्षमा मझौला जहाज अवतरण गर्न मिल्ने बनाइने भएको छ । आगामी पाँच वर्षमा सबै आन्तरिक विमानस्थलको विस्तार गरिने भएको छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको सरकारसँग साझेदारी गरेर विमानस्थल पूर्वाधार विकासमा अघि बढ्ने जनाइएको छ । सरकारले सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’ लाई उच्च प्राथमिकता दिएको र समृद्धिका आधारका रूपमा रहेका हवाई तथा सडक यातायात, रेल र पानीजहाज जस्ता पूर्वाधार विकासमा समग्र ध्यान केन्द्रित भएको छ । रासस

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, संस्थागत सदस्यमा सरकारी संस्था हावी

साधारणसभा उद्घाटन कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व चुनिएको छ । शुक्रबार सम्पन्न ३९ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमिति सदस्यमा व्यक्तिगततर्फ किरण कुमार श्रेष्ठ सबैभन्दा बढी ३८९ मत ल्याएर विजयी भएका छन् । उनले यस वर्षको उत्कृष्ठ व्यवस्थापक अवार्ड पनि पाएका छन् । त्यस्तै, धर्मानन्ध अधिकारीले ३६८, अनु जोशीले३६४ र सुमन पोखरेलले ३५८ मत पाएर विजयी भएका छन् । त्यसैगरी हेमा अधिकारीले ३१२, इन्द्रकुमार श्रेष्ठले ३०९, मनिष झाले ३०१, आशा राणा अधिकारीले २९५, सुजन आचार्यले २७४, मिलन श्रेष्ठले २७०, मोहन ओझाले २५४ मत पाएर निर्वाचित भएका छन् । मोहन ओझाको भन्दा २ मत कम पाएर सरोज कुमार प्रधान पराजित भएका छन् । उमेदवार योगराज कँडेलले १८७, अजय कुमार मिश्रले १९३ राजन थापाले १९३ र रमेश भण्डारीले १५४ मत पाएका छन् । व्यक्तिगत समूहबाट ११ जना निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेदवारी परेको थियो । संघमा करिब ६०० सदस्य भएपनि जम्मा ४६७ मत खसेको थियो । सस्थागत तर्फ नेपाल राष्ट्र बैंकका बंमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम सिमेन्ट निर्वाचित भएका छन् । सस्थागत तर्फबाट ६ सदस्य निर्वाचित हुनुपर्नेमा सरकारी संस्थाहरु हावी भएका छन् । संस्थागततर्फ निजी क्षेत्रबाट शिवम् सिमेन्ट मात्र निर्वाचित भएको छ । सरकारी नेपाल बैंक पराजित भएको भने सीजी फुड्स्, नेविको विष्कुट पनि पराजित भएका छन् । सोमबार बस्ने नयाँ कार्यसमितिको बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको वर्तमान अध्यक्ष सुशील भट्टले जानकारी दिए । स्रोतका अनुसार किरण कुमार श्रेष्ठ, वमबहादुर मिश्रसहितले अध्यक्षको आकांक्षा राखेका छन् । म्यानेजर अफ द एयर अवार्ड पनि पाएको, सबैभन्दा बढी मत पनि पाएकोले किरण कुमार श्रेष्ठ नै अध्यक्षमा निर्वाचित हुने अनुमान गरिएको छ ।

साधना लघुवित्तद्वारा कर्जा मिनाहा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको हरमटारी शाखाले शुक्रबार एक कार्यक्रम आयोजना गरी कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले गोरखा न.पा बडा नं. ३ घलाङ्गमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको २०७६ साउन १४ गते हृदयघातका कारण मृत्यु भएकोमा वित्तीय संस्थालाई तिर्न बाँकी साँबा ब्याज गरी ६२ हजार ७८४ रुपैयाँ मिनाहा गरेको छ । साथै, तिरिसकेको साँवा १२ हजार ७५० रुपैयाँ र काजक्रिया खर्च २१ हजार ९६६ रुपैयाँ समेत गरी ३४ हजार ७१६ रुपैयाँ निजको श्रीमान् खोप बहादुर अधिकारीलाई गोरखा न.पाबडा नं. ३ का वडा अध्यक्ष रामबाबु बोगटीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष बोगटीले महिला सदस्यहरुलाई कर्जाको सहि सदुपयोग गर्न आग्रह गरेका छन् । वित्तीय संस्थाले ग्राहक अनुकुल गुणस्तरीय वित्तीय सेवा प्रबाह गर्दे सदस्यहरुलाई सिपमूलक तालिम, बजारीकरण र विश्वसनीय कारोबार गर्न वित्तीय संस्था प्रतिबद्ध रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले हालसम्म २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।

नेपालमै तयार भयो बजाजको ‘डोमिनार ४००’, पहिले भन्दा ६० हजार सस्तो पर्ने

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना गर्ने क्रम पनि बढ्दो छ । यसैमध्येको एउटा ब्राण्ड बजाजले आफ्नो पावरफुल र स्पोर्टी मोडेल ‘डोमिनार ४००’ लाई हालसालै मात्र नेपालमै एसेम्बल गरेर बिक्रीको लागि टेकुस्थित शोरुममा पनि पठाइसकेको छ । नेपालमै बनेको भएर नै यस बाइकको मूल्य भारतीय डोमिनार भन्दा सस्तो पर्न गएको छ । नेपालमा यसको मुल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ जुन भारतीय डोमिनारको मूल्यभन्दा ६० हजार रुपैयाँले सस्तो हो । डोमिनार आफ्नो पावरफुल इञ्जिन, एग्रेशिभ लुक्स र टुरिङ्ग विशेषताहरुका लागि प्रख्यात रहेको छ । बजाजको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले जनाए अनुसार डोमिनारमा पाइने उपरोक्त विशेषताहरु नेपालमा निर्मित डोमिनारमा पनि यथावत्नै रहेको छ । अझ भन्ने हो भने नेपाली डोमिनार र भारतीय डोमिनारमा केहि फरक नै नरहेको कुरा कम्पनीले जनाएको छ । डोमिनार एउटा नेकेड मोटरसाइकल हो जसमा ३७३.३ सीसीको इञ्जिन समावेस गरिएको छ भने सो इञ्जिनले ३४.५ बीएचपीको पावर र ३५ एनएमको टर्क उत्पादन गर्दछ । १३ लिटरको ट्याङ्क क्यापासिटी रहेको सो मोटरसाइकलमा डुअल च्यानल एबीएस पनि जडान गरिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ । यस कम्पनीले २०७५ आसार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको हो ।

वकिल टंकको धन्दाः थुनामुक्त गराईदिने भन्दै लिए ४२ लाख

काठमाडौं । नेपाल प्रहरीले एउटा अनौठो ठगी धन्दाको पर्दाफास गरेको छ । कानुन व्यवसायीले थुनामा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै उनको परिवारसँग रकम लिएर ठगी गरेको तथ्य प्रहरीले फेला पारेको हो । कानुन व्यवसायी (वकिल) टंकबहादुर राना मगरले राजस्व चुहावट मुद्दामा नख्खु कारगारमा रहेका रमेश दाहालका बाबुसँग रकम लिएर ठगी गरेका हुन् । वकिल टंकले रमेशका बाबु तिर्थराज दाहालसँग ४२ लाख रुपैयाँ लिएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार वकिल टंकले रमेशका बाबु तिर्थलाई विश्वासमा लिई राजस्व चुहावट मुद्दामा थुनामा रहेका रमेशलाई सेटिङ मिलाई जमानतमा छुटाइदिने आश्वासन दिएका थिए । यसका लागि उनले ४२ लाख रुपैयाँ कागज नै गरेर लिएका थिए । वकिल टंकले आफूलाई विश्वासमा पारेर रकम लिई ठगी गरेको उजुरी तिर्थले दिएका थिए । तिर्थको उजुरीकै आधारमा प्रहरीले टंकलाई २४ माघमा काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । धनकुटाको शहीदभुमि नगरपालिका–७ स्थायी ठेगाना भएका टंक हाल काठमाडौंको किर्तिपूरमा बस्दै आएका प्रहरीको भनाइ छ ।