विकासन्युज

उद्योग वाणिज्य संघका १२७ जना पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । चन्द्रागिरि हिल्सद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जना उद्योग वाणिज्य संघका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छन् । उनीहरुलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेक विक्रम शाहले परियोजनाको स्थलगत भ्रमण गराएका हुन् । भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ-आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनारहल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

७० वर्षे घाँसी बाजे, जसले कमाउछन् २५ लाख रूपैयाँ

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएका छन् । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उनलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् । खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । खनालले यो वर्ष करिब २५ लाख रूपैयाँको घाँस बिक्री गर्ने लक्ष्य राखेका छन् । यो वर्षको वर्षायाममा खनालले नौ/दश लाख रूपैयाँको घाँस बिक्री गरिसकेका छन् भने अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिए । “झण्डै दश लाख रूपैयाँको घाँस बिक्री भइसक्यो, अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने अनुमान छ”, खनालले भने, “घाँस किन्नका लागि तनहुँका विभिन्न ठाउँका अलवा, स्याङ्जा, सिन्धुली, गोरखाबाट पनि सम्पर्क गरिरहेका छन् ।” खनालले गत जेठ महिनामा सल्यानबाट बीउ ल्याएर रोपेका सुपर नेपियरको बेर्ना मात्रै पाँच लाख रूपैयाँको बिक्री गरिसकेका छन्। खनालका अनुसार सुपर नेपियरको बेर्ना दुई वटा आख्लाको १० रूपैयाँमा बिक्री भइरहेको छ । विसं २०५४ देखि घाँसखेती शुरु गरेका उनी बिहानै ७ बजेदेखि साँझ ६/७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिन्छन् । घाँसखेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन् । कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा खनालले घाँसखेती गरेकाे उनी बताउँछन् । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायतका ठाउँका कृषकले खनालले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका घाँसखेती गरिरहेका छन् । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी तीन हजार रूपैयाँ र पाखो बारीको प्रतिरोपनी दुई हजार रूपैयाँ वार्षिक भाडा तिर्ने खनालले बताए । खनालले घाँसखेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गरेका छन् । पोखरा, बागलुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको छ । उनले भने, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोरालाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनु पर्दैन ।” जिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालीन पशुसेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा विसं २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालिममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाको रुपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए । एक हप्ते घाँस बाली तालीमबाट घर फर्कदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती शुरु गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीको रुपमा परिणत भएको छ । जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालिममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात छन्। रासस

ललिता निवासको जग्गा धितोमा ऋणः अख्तियारले भने झै बैंकबाट अर्बाैं कर्जा प्रवाह भएको छैन

काठमाडौं । बालुवाटारको सरकारी जमिन ललिता निवास कम्पाउन्ड भित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार (२२ माघ) १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । सरकारी जमिन व्यक्तिको नाममा दर्ता गरी अनियमितता गर्ने प्रक्रियामा सहभागीको भएको आरोपमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छेदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध पनि मुद्दा दर्ता भयो । यस्तै, पूर्व सचिव तथा अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्व सचिवहरु दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अभियोग दर्ता भएको छ । अख्तियारले सो जग्गा धितोमा विभिन्न बैंक वित्तीय संस्थाबाट अर्बाैं रुपैयाँ बराबरको कर्जा प्रवाह भएको र सर्वसाधारणको अर्बाैंको निक्षेप जोखिममा पर्न सक्ने भन्दै सुरक्षण गर्न राष्ट्र बैंकलाई पनि पत्र पठाउने निर्णय गर्यो । ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाछ रु. २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनको लागि कानूनबमोजिम आवश्यक कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को खण्ड (ख) बमोजिम नेपाल राष्ट्र बैंकलाई सुझाव लेखी पठाउने,’ मुद्दा दर्ता गरेपछि अख्तियारले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । अख्तियारले भनेका अर्बाै रुपैयाँ दिने र त्यसरी ऋण लिएर बैंकमा रहेको सर्वसाधारणको अर्बाैंको निक्षेप जोखिममा पार्ने व्यक्तिहरु यी हुन्ः – आईएमई फाइनान्स इन्स्टिच्युसनले उमाकुमार ढकालको नाममा ७२ लाख ५८ हजार । माधवी सुवेदीको नाममा १ करोड ९० लाख रुपैयाँ –नेपाल बैंकले भारती पाण्डेको नाममा १ करोड रुपैयाँ –यति डेभलपमेन्ट बैंकले नवीन पौडेलको नाममा ४९ लाख रुपैयाँ – नेपाल इन्भेष्टमेन्ट बैंकले पुरुषोत्तम पौडेलको नाममा एउटा किस्तामा २६ करोड र अर्काे किस्तामा १ करोड रुपैयाँ –युनिक फाइनान्सले मन्ती गोर्खालीको नाममा २ करोड रुपैयाँ –ग्लोबल आईएमई बैंकले शोभाकान्त र उमाकुमारीको नाममा ३ करोड ७५ लाख –लक्ष्मी बैंकले कामना गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –लक्ष्मी बैंक सरला गुरुङको नाममा १८ करोड ३५ लाख रुपैयाँ –हिमालयन बैंकले संगिता कोठारी राखेचाको नाममा ३ करोड ३१ लाख –लक्ष्मी बैंकले कल्याण गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –आर्यातारा बचत तथा ऋण सहकारी संस्थाले केशव तुलाधरको नाममा २ करोड रुपैयाँ –युनिक फाइनान्सले बन्द्रीलक्ष्मी श्रेष्ठको नाममा १ करोड रुपैयाँ –बैंक अफ एसियाले प्रविण ताम्राकारको नाममा ७५ लाख ७८ हजार रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले विवेक कुमार सुवेदीकाे नाममा १० करोड रुपैयाँ –एनआईडीसी डेभलपमेन्ट बैंकले डीएलएफ डेभलपर्सलाई १५ करोड रुपैयाँ –काष्ठमण्डप डेभलपमेन्ट बैंकले नितु गुरुङको नाममा १ करोड ४० लाख रुपैयाँ –एनडीईपी बैंकले नुतन श्रेष्ठकाे नाममा २० लाख रुपैयाँ –प्राइम कमर्सियल बैंकले सन्ध्या शाक्यकाे नाममा ७ करोड ८२ लाख –किष्ट बैंकले सरस्वती घले र सरला गुरुङको नाममा १० करोड रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले इन्दु शर्माको नाममा ६९ करोड १० लाख रुपैयाँ –यति डेभलपमेन्ट बैंकले सन्दीप ढकालको नाममा ४९ लाख रुपैयाँ त्रुटीपूर्ण तथ्यांक अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा पेश गरेको यो तथ्य नै गलत छ । पहिलो कुरा त २ अर्ब ४१ करोड रुपैयाँको धितो पारित हुँदा अर्बाैंको कर्जा प्रवाह हुनै सक्दैन । दोस्रो कुरा, अहिले बैंकिङ क्षेत्रमा ३० खर्ब रुपैयाँभन्दा बढीको निक्षेप छ । यति धेरै निक्षेप भएको बैंकिङ प्रणालीमा २ अर्ब ४१ करोड रुपैयाँ कर्जा विग्रदैमा ‘सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षणमा चुनौति’ देखिदैन । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ सन् २०१५ मा नै तिरिसकेका छन् । ऋण लिएको २ वर्षभित्र उनको ऋण चुक्ता भएको हो । उनले तिर्न बाँकी रहेको १ हजार रुपैयाँ भने सन् २०१७ मा तिरेका छन् । विषय अरु पनि छन् । जस्तो कि नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ सन् २०१५ मा नै तिरिसकेका छन् । ऋण लिएको २ वर्षभित्र उनको ऋण चुक्ता भएको हो । उनले तिर्न बाँकी रहेको १ हजार रुपैयाँ भने सन् २०१७ मा तिरेका छन् । यस्तै, यति डेभलपमेन्ट बैंकबाट सन्दीप ढकालले लिएको कर्जा पनि चुक्ता भइसकेको स्रोतले जानकारी दियो । तत्कालिन यति डेभलपमेन्ट बैंक अहिले महालक्ष्मी विकास बैंक बनेको छ । तत्कालिन एनडीईपी विकास बैंकले ललिता निवासको जग्गा धितो राखेर नुतन श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो । यो ऋण पनि चुक्ता भइसकेको र ललिता निवासको जग्गा धितोमा कर्जा बाँकी नहेको बैंक स्रोतले जानकारी दिएको छ । तत्कालिन एनडीईपी बैंक अहिले देबः विकास बैंकको नामबाट कारोबार गरिरहेको छ । ग्लोबल आईएमई बैंकले शोभाकान्त ढकाल र उमाकुमारी ढकाललाई ललिता निवासको जग्गा धितोमा ३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । एनडीईपी विकास बैंकले ललिता निवासको जग्गा धितो राखेर नुतन श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो । यो ऋण पनि चुक्ता भइसकेको र ललिता निवासको जग्गा धितोमा कर्जा बाँकी नहेको बैंक स्रोतले जानकारी दिएको छ यस्तै तत्कालिन आईएमई फाइनान्स र अहिलेको ग्लोबल आईएमई बैंकले उमाकुमारी ढकाललाई ७२ लाख ५८ हजार रुपैयाँ तथा माधवी सुवेदीलाई १ करोड ९० लाख रुपैयाँ ऋण लिएको अख्तियारको भनाइ छ । तर, यस्तो कर्जा पनि धेरै घटेको र थप धितो पनि लिइसकिएको बैंक स्रोतले जानकारी दियो । यस्तै, सो जग्गा प्रकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भनिएका शोभाकान्त ढकाल कुमारी बैंकको यसअघिका संचालक पनि हुन् । उनीसँग कुमारी बैंकको प्रमोटर सेयर पनि छ । कुमारी बैंकको प्रमोटर सेयर थप धितो दिने प्रतिवद्धता ढकालले जनाएका बैंक स्रोतले जानकारी दियो । यद्यपि ढकाल अहिले फरार रहेका बताइन्छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक कुमारी बैंकसँग मर्ज भएको छ । तर, ललिता विनासको जग्गा धितोमा बैंकले दिएको ऋण बाँकी नरहेको कुमारी बैंक स्रोतले जानकारी दियो ललिता निवासको जग्गा धितो राखेर तत्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंकले नितु गुरुङलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएको अख्तियारको भनाइ छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक कुमारी बैंकसँग मर्ज भएको छ । तर, ललिता विनासको जग्गा धितोमा बैंकले दिएको ऋण बाँकी नरहेको कुमारी बैंक स्रोतले जानकारी दियो । किष्ट बैंकले ललिता निवासको जग्गा धितोमा सरस्वती घले र सरला गुरुङको नाममा १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । किष्ट बैंक अहिले प्रभु बैंकको नाममा कारोबार गरिरहेको छ । घले र गुरुङको नामको जग्गा धितो राखेर भाटभटेनी सुपरमार्केटले वर्किङ क्यापिटल कर्जा लिएको थियो । प्रभु बैंकले सो कर्जा वापत चितवनको जग्गा थप धितो पनि लिएको छ । यस्तै, सो कर्जा पनि अहिले करिब ३ करोड रुपैयाँ जति मात्रै बाँकी रहेको बैंक स्रोतले जानकारी दियो प्रभु बैंकले सो कर्जा वापत चितवनको जग्गा थप धितो पनि लिएको छ । यस्तै, सो कर्जा पनि अहिले करिब ३ करोड रुपैयाँ जति मात्रै बाँकी रहेको बैंक स्रोतले जानकारी दियो । यस्तै, ललिता निवासको जग्गा धितो राखेर विवेककुमार सुवेदीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको १० करोड रुपैयाँ कर्जा चुक्ता भइसकेको अख्तियारले नै उल्लेख गरेको छ । इन्भेष्टमेन्ट बैंकबाट लिएको अन्य कर्जाको बारेमा भने केही खुलेको छैन । किन मिलेन अख्तियारको तथ्य ? अख्तियारले विशेष अदालतमा पेश गरेको तथ्य र बैंक वा वित्तीय संस्थामा अहिले बाँकी रहेको कर्जाको अंक मिल्दैन । यस्तो हुनुका पछाडि अख्तियारको कमजोरी देखिन्छ । आफूहरुले सरकारी निकायबाट प्राप्त सुचना र जानकारीको आधारमा कर्जाको विवरण तयार पारेकोले केही फरक पर्न सक्ने अख्तियार स्रोतले बतायो । ‘हामीले मालपोत कार्यालयमा रहेको जग्गाको दृष्टिबन्धक कागजका आधारमा कर्जा रकम पत्ता लगाएका हौं, हामीले विवरण संकलन गरेपछि केही कर्जा चुक्ता भएका होलान्, केही ऋणीले कर्जा तिरिसकेपनि त्यस्तो विवरण मालपोत कार्यालयहरुलाई दिएर जग्गा फुकुवा गरिनसकेका होलान्, त्यसैकारण फरक परेको हुन सक्छ,’ अख्तियार स्रोतले भन्यो । प्रवक्ता भन्छन्: २ अर्ब ४१ करोड ऋण छ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला भने ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ नै कर्जा प्रवाह भएको दाबी गर्छन् । ‘हामीले जारी गरेको प्रेस विज्ञप्तिमा ललिता निवासको जग्गा धितो राखेर २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेका छौं, अख्तियारको प्रवक्ताको हैसियतमा मैले पाएको जानकारी पनि यही नै हो, कसको कुन बैंकबाट कसले कुन मितिमा कति ऋण लिएको छ भनेर प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छैन, त्यसैले यो विषयमा म थप बताउँन सक्दिनँ,’ प्रवक्ता कोइरालाले भने । राष्ट्र बैंक पुग्यो अख्तियारको पत्र अख्तियारले ललिता निवासको जग्गा धितो राखेर कर्जा प्रवाह गरेका बैंकमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने चिन्ता गरेको छ । सो जग्गा धितोमा कर्जा प्रवाह गर्ने बैंकहरुमाथि कानुन बमोजिम कारबाही गर्न र सर्वसाधारणको निक्षेप सुरक्षा गर्न आवश्यक कामकारबाही गर्न अख्तियारले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । अख्तियारले पठाएको पत्र शुक्रबार अपरान्ह प्राप्त भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । यद्यपि अख्तियारको पत्र नआउँदै राष्ट्र बैंकले बिहीबार (हिजो) नै बैंक वित्तीय संस्थालाई ललिता निवासको जग्गा धितामा प्रवाह भएको कर्जाको यकिन विवरण दिन निर्देशन दिइसकेको थियो । अब के गर्छ राष्ट्र बैंक ? ललिता निवासको जग्गा धितो राखेर कुन बैंकले कति ऋण दिएका छन् भन्ने विवरण राष्ट्र बैंकले संकलन गरिरहेको छ । अख्तियारले प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसारको कर्जा प्रवाह भए नभएको बारेमा आफूलाई यकिन जानकारी नभएकोले बैंक वा वित्तीय संस्थाबाट यकिन तथ्यांक संकलन गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ । ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका भए त्यस्तो कर्जाको लागि थप धितो माग्न लगाउने र थप धितो लिन नसके बैंकहरुलाई सो कर्जाको अवस्था हेरी २५ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजनिङ गर्न लगाउने राष्ट्र बैंकको तयारी छ ‘अख्तियारले ललिता निवासको जग्गा धितो राखेर २ अर्ब ४१ करोड रुपैयाँ जति कर्जा प्रवाह भएको र त्यस्तो कर्जाको कारण निक्षेपकर्ताको निक्षेप संकटमा पर्ने हो कि भन्ने आशयको पत्र पठाएको छ, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विषय सार्वजनिक हुने वित्तिकै हामीले विवरण माग गरेका छौं, यो विवरण प्राप्त भएपछि कुन बैंकले कति रकम कर्जा प्रवाह गरेका रहेछन्, सो कर्जाको अवस्था के कस्तो रहेछ भन्ने जस्ता जानकारी प्राप्त हुन्छ, अनि त्यसै अनुसारको कदम चालिन्छ,’ राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले भने । लालिता निवासको जग्गा धितो नमान्ने राष्ट्र बैंकले संकेत गरेको छ । ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका भए त्यस्तो कर्जाको लागि थप धितो माग्न लगाउने र थप धितो लिन नसके बैंकहरुलाई सो कर्जाको अवस्था हेरी २५ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजनिङ गर्न लगाउने राष्ट्र बैंकको तयारी छ । सम्बन्धित सामग्री ललिता निवास जग्गा प्रकरणः अख्तियारले पेश गरेका तथ्य नै असान्दर्भिक ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

गण्डकी विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ३ नयाँ शाखा

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार मात्र काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । हाल विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्ममा कुल निक्षेप ३४ अर्ब २५ करोड रुपैयाँ संकलन गरी २७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको १२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित १२ प्रतिशत नगद लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न बैंकको चौधौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले हालकाे चुक्ता पुँजीकाे (एक अर्ब ८ कराेड रूपैयाँ) १२ प्रतिशत नगद लाभांश(कर समेत) पाउने छन् । साथै, बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको हाल ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई १ लाखसम्म जरिवाना

काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना लगाउने तयारी गरेको छ । यातायात ऐनको मस्यौदामा न्यूनतम २ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको यातायात व्यवथा विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । ‘सामान्य किसीमको गल्ती गरे २ हजार, मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरेका छौं,’ उनले भने । विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउने तयारीमा रहेको छ । मन्त्रालयले कानुन मन्त्रालय र सम्बन्धित निकायसगँ छलफल गरेपछि मस्यौदा संसद पठाइने भएकाे छ । संसदले पारित गरेपछि यो नियम लागू हुनेछ । कर उठाउनैको लागि जरिवाना नबढाइएको उनले प्रष्ट पारे । यात्रुकोे ज्यान जोगाउनको लागि जरिवाना बढाउन लागेको यातायात व्यवस्था विभागकाे भनाइ छ ।

सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्याे तीन उद्यमी संघसँग सम्झौता

काठमाडौं । एनएमबि बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ तथा नेपाल उद्यमशील महिला महासंघ बीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी बैंक तथा उद्यम संघका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता संचालन तथा कर्जा सहुलियतको विभिन्न क्षेत्रमा साझेदारी स्थापना गर्ने उदेश्यका साथ गरिएको हो । सो समझदारी पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी तथा नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघका तर्फबाट अध्यक्ष पुर्जा मगर, नेपाल उद्यमशील महिला संघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् । ‘पराम्परागत बैकिङ्ग भन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिन हामीले आफ्नो स्रोत र साधनको परिचालन गर्दै आएका छाैं, साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवर्धन गर्न सहुलियतपूर्ण कर्जामा समेत हाम्रो ध्यान केन्द्रीत नै छ ’- एनएमबि बैकका सीईओ के.सी.ले भने । ‘आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न हामीले बैकको मुल्य मान्यता तथा दिगो बैकिङ्गको सिद्धान्तमा रहेर काम गर्दै आएका छौँ’ – एनएमबि बैकका अध्यक्ष पवन गोल्याणले भने । साथै, नेपाल सरकारको समृद्ध नेपाल बनाउने लक्ष्यलाई साकार पार्न उक्त समझदारी कोशेढुङ्गा सवित हुने उनले दिए ।

अनि महान् भइन् ‘अधिकृत साहेवकी श्रीमती’

काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल चोक नजिकै देखिन्छन् सुजिता पौडेल । २०६२ सालदेखि काठमाडौंको चावहिलमा बस्दै आएकी सुजिताको दैनिकी अलि पृथक छ । हुन त उनी अधिकृतकी श्रीमती । घरमा खान, लाउन र छोराछोरीलाई विद्यालय पढाउन पैसा पुग्छ । तर, उनलाई त्यतिले सन्तुष्टि मिलेन । उनले आफैले केही गर्ने योजनाका साथ काम गरिन् ।  त्यो काम थियो उनको निम्की, खजुरी र फुरुनदानाको व्यापार । सुरुमा उनका श्रीमानले पनि पत्याएनन् । सानो–सानो पाकेटहरु पसल–पसलमा लिएर विक्रि गर्नु सहज थिएन उनका लागि। तर भन्छन् नी– ‘जहाँ इच्छा त्यहाँ उपाय’ सुजिताले पनि त्यही संकल्प लिएर अगाडि बढिन् र सुरु गरिन् निम्की, खजुरी र फुरुनदानाको व्यापार । अब सुरु भयो उनको पसल–पसलमा गएर अर्डर लिने काम । फुरुनदाना बनाउनका लागि उनले सुरुमा १५ हजारको सामग्री घरमा ल्याइन् । उनको दैनिकी दिनभर पसल–पसलमा गएर बित्थ्यो । कसैले किन्थे कसैले किन्थेन । कसैले किनेन भनेर पनि उनी निराश हन्थिनन् । किनकी उनको यात्रा लामो थियो । दिन महिना र वषौं बित्दै गए । उनको व्यापारले पनि काँचुली फेर्दै गयो । बजारमा उनी चिनन थालिन् । सबैले उनको व्यापार मन पराउन थाले । उनका श्रीमान अधिकृत थिए । उनका श्रीमान ृषि अनुसन्धान केन्द्र खुमलटारमा अधिकृतका रुपमा काम गर्थे । उनका श्रीमान अधिकृत भएकै कारण उनले धेरै कुरा पनि सुन्नु पर्यो । श्रीमान अधिकृत हुनुहुन्छ, यसरी पसल–पसलमा आएर सामान किन बेच्छौं ? भन्ने खालका प्रश्नहरु उनले जीवनमा धेरै खेप्नु पर्यो । ‘छिमेकी र आफन्तहरुले अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्छौ भन्थे, म खिसिक्क हाँसेर प्रतिक्रिया दिन्थेँ, उनीहरुलाई मेरो केही जवाफ हुन्थेन,’ उनले भनिन् । आफुले कामलाई सानो ठूलो कहिल्यै नलिएको उनी बताउँछिन् । उनी बजारमा चिनिदै गइन् । उनका ग्राहक उनका प्रडक्ट मन पराउन थाले । माग पनि बढ्न थाल्यो । सुरु सुरुका दिनहरुमा मार्केटमा स्थापित हुन धेरै गाह्रो भएको उनले सुनाइन् । हाल उनको प्रडक्ट धेरैले मन पराउँछन् । हिजो अधिकृतको श्रीमती भएर पनि यस्तो काम गर्ने भन्नेहरु आजभोली उनलाई महान महिलाको ताज भिडाउँछन् । हाल सुजिताले स्तुती खाद्य प्रोडक्ट नाम गरेर एउटा घरेलु उद्योग खोलेकी छन् । करिब १० जना लाई पनि उनले आफ्नो उद्योगमा रोजगारी दिएकी छन् । हिजो अधिकृतकी श्रीमती भनेर गिज्याउनेहरु आजभोली सफल महिला उद्यमीको उपनाम दिने गरेको उनले बताइन् । सधैं कामप्रति झुकाव राखेर अगाडि बढे एकदिन अवश्य नै सफल भइने उनले बताइन् । वि.स २०३१ सालमा विरगञ्जमा जन्मिएकी सुजिता हाल सफल उद्यमीका नामले चिनिन्छिन् । उनी अहिले ४६ वर्ष भइन। तर, उनको काम प्रतिको जोश जाँगर भने उत्तिकै छ । फुरुनदाना, खजुरी, मिठेऔंठे, निम्कीलगायतका सामानको अर्डर लिन पसल–पसल जाने सुजिताको दैनिकी आज पनि निरन्तर छ । उनी समाजमा सबैको उदाहरण दिने पात्र बनेकी छन् । जनकपुरमै एसएलसी पास गरेकी उनले त्यस लगत्तै घरेलु तथा महिला उद्यमीले प्रदान गरेको तालिम लिइन् । एसएलसी पास भएसँगै उनले जनकपुरकै रारा बहुमुखी कलेजबाट कक्षा १२ पास गरिन् । बिबिएस पढ्दै उनको वि.स २०५३ सालमा सिन्धुलीका पुरुषोत्म खतिवडासँग विवाह भयो । जव विवाह भयो उनको अध्ययनले भने निरन्तरता पाउन सकेन । उनले काठमाडौंमै आएर हाल गरिरहेको व्यवसाय गर्न थालिन् । सुरुमा सबैले संकुचित नजरबाट हेरे पनि उनको काम निरन्तर अगाडि बढेकै कारण उनलाई सबैले अधिकृतकी महान श्रीमतीको संज्ञा दिन्छन् । हाल उनी सन्तुष्ट छिन् । १४ वर्ष अघिदेखि गरेको एउटा सानो व्यापारबाट एक उद्योगीको दर्जा पाएकी छिन् । विभिन्न महिला उद्यमी कार्यक्रममा जाँदा उनलाई एक पृथक तथा फरक नजरबाट हेर्ने गरेका छन् । नेपालको आर्थिक विकासका लागि घरेलु तथा महिला उद्यमीहरुको ठूलो योगदान छ । आफ्नो काममा निरन्तर नहड्बडाएर लागे सफलता हात पार्न सकिने उनी बताउँछिन् ।