
साधारणसभा उद्घाटन कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट
काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व चुनिएको छ । शुक्रबार सम्पन्न ३९ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
कार्यसमिति सदस्यमा व्यक्तिगततर्फ किरण कुमार श्रेष्ठ सबैभन्दा बढी ३८९ मत ल्याएर विजयी भएका छन् । उनले यस वर्षको उत्कृष्ठ व्यवस्थापक अवार्ड पनि पाएका छन् ।
त्यस्तै, धर्मानन्ध अधिकारीले ३६८, अनु जोशीले३६४ र सुमन पोखरेलले ३५८ मत पाएर विजयी भएका छन् ।
त्यसैगरी हेमा अधिकारीले ३१२, इन्द्रकुमार श्रेष्ठले ३०९, मनिष झाले ३०१, आशा राणा अधिकारीले २९५, सुजन आचार्यले २७४, मिलन श्रेष्ठले २७०, मोहन ओझाले २५४ मत पाएर निर्वाचित भएका छन् ।
मोहन ओझाको भन्दा २ मत कम पाएर सरोज कुमार प्रधान पराजित भएका छन् । उमेदवार योगराज कँडेलले १८७, अजय कुमार मिश्रले १९३ राजन थापाले १९३ र रमेश भण्डारीले १५४ मत पाएका छन् ।
व्यक्तिगत समूहबाट ११ जना निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेदवारी परेको थियो । संघमा करिब ६०० सदस्य भएपनि जम्मा ४६७ मत खसेको थियो ।
सस्थागत तर्फ नेपाल राष्ट्र बैंकका बंमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम सिमेन्ट निर्वाचित भएका छन् ।
सस्थागत तर्फबाट ६ सदस्य निर्वाचित हुनुपर्नेमा सरकारी संस्थाहरु हावी भएका छन् । संस्थागततर्फ निजी क्षेत्रबाट शिवम् सिमेन्ट मात्र निर्वाचित भएको छ । सरकारी नेपाल बैंक पराजित भएको भने सीजी फुड्स्, नेविको विष्कुट पनि पराजित भएका छन् ।
सोमबार बस्ने नयाँ कार्यसमितिको बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको वर्तमान अध्यक्ष सुशील भट्टले जानकारी दिए । स्रोतका अनुसार किरण कुमार श्रेष्ठ, वमबहादुर मिश्रसहितले अध्यक्षको आकांक्षा राखेका छन् । म्यानेजर अफ द एयर अवार्ड पनि पाएको, सबैभन्दा बढी मत पनि पाएकोले किरण कुमार श्रेष्ठ नै अध्यक्षमा निर्वाचित हुने अनुमान गरिएको छ ।