काठमाडौं । नेपाल प्रहरीले एउटा अनौठो ठगी धन्दाको पर्दाफास गरेको छ । कानुन व्यवसायीले थुनामा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै उनको परिवारसँग रकम लिएर ठगी गरेको तथ्य प्रहरीले फेला पारेको हो ।
कानुन व्यवसायी (वकिल) टंकबहादुर राना मगरले राजस्व चुहावट मुद्दामा नख्खु कारगारमा रहेका रमेश दाहालका बाबुसँग रकम लिएर ठगी गरेका हुन् । वकिल टंकले रमेशका बाबु तिर्थराज दाहालसँग ४२ लाख रुपैयाँ लिएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
सिंहले दिएको जानकारी अनुसार वकिल टंकले रमेशका बाबु तिर्थलाई विश्वासमा लिई राजस्व चुहावट मुद्दामा थुनामा रहेका रमेशलाई सेटिङ मिलाई जमानतमा छुटाइदिने आश्वासन दिएका थिए । यसका लागि उनले ४२ लाख रुपैयाँ कागज नै गरेर लिएका थिए ।
वकिल टंकले आफूलाई विश्वासमा पारेर रकम लिई ठगी गरेको उजुरी तिर्थले दिएका थिए । तिर्थको उजुरीकै आधारमा प्रहरीले टंकलाई २४ माघमा काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । धनकुटाको शहीदभुमि नगरपालिका–७ स्थायी ठेगाना भएका टंक हाल काठमाडौंको किर्तिपूरमा बस्दै आएका प्रहरीको भनाइ छ ।