विकासन्युज

छिट्टै सफल हुने उद्योगमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई तीव्र गतिमा सफल बन्न सकिने व्यापार व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आयोजना गरेको महत्त्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरुलाई तीव्र गतिमा सफल बन्न सकिने व्यवसायमा लगानी गर्न आग्रह गरेका हुन् । व्यवसायी र उद्योगीहरुको सहजिकरणका लागि सरकारले धेरै ठाउँमा सहज वातावरण सिर्जना गरेको बताउँदै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘निर्यात क्षेत्रमा धेरै सहज गरेका छौं, समान रोकिएर विभिन्न ठाउँमा कुर्नु पर्ने अवस्थाको अन्त्य गरिसकेका छौं, अब ढुक्क भएर लगानी गर्नुस’, उनले भने । व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार भएको उनको भनाई छ । हामीले पाम आयलको अवरोध पनि हटाइ सकेका छौं । यस्तै, राज्यमन्त्री मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई ज्वाइँ सरह लिएको बताए । व्यवसायी देशको मेरुदण्ड भएकोले उद्योगीले भनेका सबै कुरामा सरकार सकारात्मक रहेको बताए ।

महिला सहयात्रा लघुवित्तको कर्मचारी पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । प्रदेश ४,५,र ६ मा रहेका शाखा कार्यालयको ३६ जना सहायक स्तरका कर्मचारीहरुको सहभागितामा माघ २७ र २८ गते उक्त तालिम संचालन भएको हो । कार्यक्रममा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागी कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिएका थिए । तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य, लघुवित्त कार्यक्रमको वर्तमान अवस्था,सहायक कर्मचारीको काम कतव्य, साथै “स्वच्छ र ईमान्दार कर्मचारी ,हाम्रो अभियान” उद्देश्य सहित संस्थाको कम्पनी सचिव कमल कुमार काफ्लेले प्रकाश पारेका थिए । यस कार्यक्रममा लघुवित्त व्यवस्थापन,बचत तथा कर्जाको प्रोडक्ट,कर्जा विश्लेषण,धितो कर्जा मुल्यांकन तथा आधारहरु र कर्जा सम्बन्धी कैफियतहरु सुधारको बारेमा विभागीय प्रमुख निराजन श्रेष्ठले सिकाएका हुन् । शाखाको विकास तथा राम्रो व्यवस्थापन गर्न ,केन्द्र बैठक व्यवस्थापन,संस्थागत संस्कार र कर्मचारी व्यवहारसँग सम्बन्धित आवश्यक कुराहरु विभागीय प्रमुख सुजीत खतिवडाले सिकाएका थिए । त्यस्तैगरी, कर्जा जोखिम व्यवस्थापन तथा कर्जा असुली सम्बन्धी आवश्यक कुराहरु श्री शकंर थापा र सुचना प्रबिधि,ट्याबलेट बैन्किङ ,कर्जा सुचना केन्द्रबाट लिने साख सुचनासँग सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा सन्जीब मानन्धरले सिकाएका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको आय ४ अर्बले वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आय १९ अर्ब १२ लाख ९९ करोड रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा आय १५ अर्ब १२ करोड ८ लाख ८१ हजार रुपैयाँ रहेको थियो । खुद बीमाशुल्कः नेपाल लाइफको खुद बीमाशुल्क चालु आवको दोस्रो त्रैमासमा १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ छ । यस्तै, अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १० अर्ब ४७ करोड ५४ हजार रुपैयाँ रहेको थियो । उक्त रकम ३ अर्ब ४३ करोड ५६ लाख रुपैयाँले बढ्न पुगेको हो । पुनर्बीमा कमिशन आयमाः पुनर्बीमा कमिशन आयमा नेपाल लाइफको चालु आवको दोस्रो त्रैमासमा २ करोड ७९ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड ५१ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः लगानी, कर्जा तथा अन्य आयबाट नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो भने गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १८ करोड ८९ लाख रुपैयाँ रहेको छ । हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ रहेको छ ।

विश्वका शक्तिशाली कम्पनीहरूमा काेराेना संकट; फोर्ड, निसान र टेल्साकाे उत्पादन बन्द, आइफोन तनावमा

काठमाडाैं । अग्रेजी नयाँ वर्षको सुरुवातसँगै उत्पन्न कोरोना भाइरसको प्रकोपले विश्व बजारमा साम्राज्य खडा गरेका ठूला कम्पनीहरू अार्थिक संकटमा परेका छन् । यसमा खानासम्बन्धी उद्योगदेखि फेसन, मनोरञ्जन र प्रविधि अाधारित उद्याेगहरू पनि पर्छन् । दक्ष कामदार तथा चुस्त उत्पादन केन्द्र, बढ्दो सम्पन्न एवं नव धनाढ्य चिनिँया जनताको संख्यामा आएको बृद्धि तथा तिब्र गतिमा बिस्तार भइरहेको, विश्वकै ठूलाे अर्थतन्त्र कारण चीनमा विश्वका ठूला ब्राण्डका शाखाहरू छन् । विश्वका ठूला ब्राण्डहरू कुनै न कुनै रूपमा चीनमा निर्भर रहेका छन् । तर अहिले विश्वभरी नै द्रुतरुपमा फैलिरहेको कोरोना संक्रमणको कारण यि कम्पनीका प्रतिनिधिहरु मेनल्याण्ड चीनतर्फको व्यवसायिक यात्रालाई रद्द गर्नमात्र नभइ विभिन्न चिनिँया शहरहरुमा रहेका स्टोर, शाखा, कार्यालय, ब्यवसाय तथा कारखानाहरुलाई अस्थाइरुपमा बन्द गर्न समेत बाध्य भएका छन् । यसका साथै चीनमा अवस्थित उत्पादन केन्द्र (कारखाना) मा आएको अवरोधको फलस्वरुप गाडी, मोबाइल फोन एवं भिडियो गेम लगायतका उत्पादनहरुको विभिन्न आवश्यक पाटपूर्जाहरु जुटाउन नसक्दा उनीहरुको विश्वभरीको आपूर्ती संजालमै ब्यवधान खडा भएको छ । कारोना भाइरस प्रकोपका कारण पर्न गएको पूर्ण आर्थिक क्षतिलाई अहिले नै बिस्तृतरुपमा मूल्यांकन गर्न कठिन छ किनकी चीनमा बन्द भएका ब्यवसायहरु कहिलेबाट सूचारु हुन्छन् वा कारोना भाइरसले विश्वका अन्य भागहरुमा पनि समान आर्थिक प्रभावको श्रृजना गर्छ कि गर्दैन भन्नेबारे तत्कालै केहि भन्न सकिँदैन । तर, पछिल्ला केहि दिनयता संसारका विभिन्न ठूला कम्पनीहरुले विभिन्न तहको किटानीका साथ भारइरसका कारण उनीहरुको ब्यापार वा कारोबारमा कस्तो असर परिरहेको छ भनेर खुलासा गर्न थालिसकेका छन् । न्यूयोर्क टाइम्सका अनुसार कोरोना भाइरसले उसको ब्यापारमा पारेको असरबारे डिस्नेले सबैभन्दा बिस्तृतमध्येको एउटा मूल्यांकन सार्वजनिक गरेको छ । यस कम्पनीले सांङ्घाई र हङकङमा रहेको मनोरञ्जन पार्कलाई एक हप्ताभन्दा बढी समयदेखि बन्द गरिरहेको छ जसको कारण दोश्रो त्रैमासिकमा कम्पनीको कुल आयमा १७ करोेड ५० लाख अमेरिकी डलर बराबरको कमी आउने डिस्नेको प्रमुख बित्त अधिकृत क्रिष्टिन म्याकार्थीले जानकारी दिएकी छिन् । यसैगरी क्यानाडाको चलचित्र कम्पनी आइम्याक्सले चीनमा नयाँ वर्षको उपलक्ष्यमा त्यहाँ प्रदर्शनीका लागि तयार गरेको पाँचवटा चलचित्रलाई हालका लागि स्थगित गरेको छ । यसै साता चिनिँया शहर मकाउमा रहेको ४१ वटा क्यासिनो दुई हप्ताका लागि बन्द भएका छन् । यस कदमले सो क्षेत्रमा रहेका अमेरिकी क्यासिनोलाई नराम्रोसँग असर गर्नेछ । फोब्सकाे एक रिपोर्टलाई आधार मान्ने हो भने संसारका विभिन्न देशहरुमा विशिष्ट एवं महंगा होटल तथा क्यासिनो संचालन गर्ने व्नि रिजोर्टले मकाउमा क्यासिनो बन्द भएको कारण प्रति दिन २६ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरिरहेको छ । जापानमा भिडियो गेम तथा अन्य गेमिङ यन्त्र उत्पादन गर्ने कम्पनी निनटेन्डोले उसका उत्पादनहरुको सिपमेन्टमा ढिलाइ हुने बताएको छ । प्रविधिमा पनि असर प्रसिद्ध मोबाइल उत्पादक एप्पलका प्रमुख टिम कुकले चीनतर्फको यात्रामा लागेको बन्देज तथा त्यहाँस्थित कम्पनीको मोबाइलको पाटपुर्जा उत्पादन केन्द्र बन्द रहेको कारण आइफोनको आपूर्ती चक्रमा अवरोध आउने बताएका छन् । यस अवरोधका कारण कम्पनीको कमाइ वा नाफामा कस्तो असर पर्छ भन्ने बारे एप्पलले खुलाइसकेको छैन । विश्वब्यापीरुपमा चर्चित आइफोनको चीनमा राम्रो माग रहेको छ भने एप्पलले विभिन्न उत्पादनहरुको एसेम्बल पनि यहि राष्ट्रमा गर्दछ । स्मार्ट फोनका लागि चिपको उत्पादन गर्ने क्वालकमले पनि ब्यापारमा अप्ठेरो परिस्थितिको सामना गरिरहेको छ । स्मार्टफोनको उत्पादन तथा बिक्रीका लागि हबको रुपमा स्थापित चीनबाट मात्रै गत वर्ष क्वालकमले कुल आम्दानीको लगभग आधाजसो आम्दानी गरेको थियो । क्वालकमका प्रमुख बित्त अधिकृत आकाश पल्खीवालाले लगानीकर्ताहरुलाई अघिल्लो साता भाइरस प्रकोपको अनिश्चितताका कारण आउने तीन महिनासम्म कम्पनीको आम्दानीमा कमी आउने बताइसकेका छन् । अटोमोबाइल चीनमा उत्पादन प्लान्ट राखेका टेल्सा, फोर्ड र निसानलगायत अन्य अटोमोबाइल कम्पनीहरुले उत्पादनको सम्पूर्ण कामलाई बन्द गरेका छन् । अर्कातर्फ संसारको पाँचौैैं ठूलो कार निर्माता हुण्डाइले चीनिँया अटो पाटपूर्जामा अभाव देखिएको कारण उसको दक्षिण कोरियास्थित उत्पादन केन्द्रबाट हुने चारपाँग्रे सवारीसाधनको उत्पादनलाई अस्थायी रुपमा रोकेको छ । भक्सवागनले गत शनिबार मात्रै कोरोना भाइरसको कारण उसको आपूर्ती चक्र र उत्पादन कर्मचारीहरुको स्वतन्त्र यात्रा गतिविधीमा अवरोध आएको जनाइसकेको छ । रोयटर्सले फियाट कार कम्पनीले कोरोना प्रकोपका कारण यूरोपस्थित उसको एक उत्पादन केन्द्रबाट हुने गाडीको उत्पादनलाई आउने केहि सातासम्मका लागि रोकेको छ । यात्रा पछिल्ला केहि सातायता डेल्टा, यूनाइटेड र अमेरिकन लगायत विश्वका केहि प्रमुख हवाइ कम्पनीहरुले चीनतर्फको हवाइ सेवालाई स्थगित गरेका छन् । तर सेवामा रोक लगाएका कारण उनीहरुको नाफामा कस्तो असर पर्छ भन्नेबारे खुलेर जानकारी दिइएको छैन । हेलाने बेकर नामक हवाइ ब्यापार विश्लेषकले यूनाटेडको कुल कमाइमध्ये चार प्रतिशत कमाइ चीनबाट आउने तथा डेल्टा र अमेरिकन एअरलाइन्सको जम्मा कमाइमा चीनको योगदान क्रमश तीन र दुई प्रतिशत रहने गरेको टिप्पणी गरेको छ । यसैगरी चीन र अमेरिकाबीच ठूलो संख्यामा यात्रुको ओसारपसार गर्ने एयर चाइनाले अमेरिकातर्फको हवाइ सेवालाई अधिक मात्रामा कम गरेको छ  भने हङकङको क्याथे प्यासिफिकले मेनल्याण्ड चीनतर्फको हवाइ यात्रालाई ९० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । खानासम्बन्धी उद्योग चीनमा मात्रै ३३ सय शाखा रेष्टुँरा रहेको म्याक डोनाल्डस्ले यहाँका सयौं शाखाहरु बन्द गरेको छ । तथापी, भाइरसलाई थप फैलनबाट रोक्ने हो भने सो बन्दबाट कम्पनीको समग्र मुनाफामा पर्ने असर कम हुने प्रमुख कार्यकारी क्रिस केम्पेनजिन्स्कीले बताएका छन् । अर्कातर्फ चीनभित्र ४३ सय शाखा बिस्तार गरेको स्टारबक्सले आधाभन्दा धेरै शाखाबाट हुने ब्यापारलाई रोकेको छ । भने कम्पनीले सन् २०२० का लागि सार्वजनिक गर्न लागेको आर्थिक प्रक्षेपणलाई पनि हालका लागि स्थगित गरेको छ । यसैगरी चीनमा केएफसी र पिज्जा हटको फ्रेन्चाइजी संचालन गर्ने याम ब्राण्डले चीनभित्रको उसको एक तिहाइ स्टोर बन्द गरेको तथा खुल्ला स्टोरको ब्यापारमा पनि भारी गिरावट आएको जानकारी दिएको छ । डेनिस बियर कम्पनी काल्सबर्गले चीनबाट फैलिएको कोरोना भाइरसको कारण थप अस्थीर व्यसायिक वातावरणको सामना गर्नुपरेको प्रतिक्रिया दिएको छ । कपडा प्रसिद्ध विश्वब्यापी ब्राण्ड नाइकले चीनमा उसको आधाभन्दा धेरै स्टोर बन्द गरेको छ भने खुल्ला रहेका स्टोरहरुको पनि संंचालन समय घटाएको छ । क्यानडा गुज होल्डिङ्सले कोरोना भाइरहेको प्रभाव बृहत भएको बताएको छ भने कम्पनीले यस वर्षको मुनाफाको प्रक्षेपणलाई पनि कम गरेको छ । होल्डिङ्सका अनुसार उसको चीनिँया ग्राहकहरुको संख्यामा उल्लेखनिय कमी आएको छ भने उत्तर अमेरिका तथा यूरोपजस्ता किनबेचको गन्तब्यमा पनि असर देखिएको छ । अमेरिकी लग्जरी फेसन कम्पनी ट्यापेस्ट्रिले कोरोना भाइरसको कारण उसको यस वर्षको पछिल्लो छ महिनाको बिक्री करिब २५ करोड अमेरिकी डलरले कम हुने अनुमान गरेको छ । (समाचार एजेन्सीहरूकाे सहयाेगमा)

३ कराेड लगानीमा चितवनकाे पटिहानीमा ‘अम्ब्रेला स्ट्रिट’ तयार, फागुन १ गतेदेखि सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ । भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको जनाइएको छ । विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न अम्ब्रेला स्ट्रिट बनाउने गरिन्छ । नेपालमा पहिलो पटक पर्यटकलाई लक्षित गरी यहाँ स्ट्रिट तयार गरिएको हो । उनले भने,’नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको हो ।’ करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन् । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् । हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको वडाअध्यक्ष महतोले जानकारी दिए । ती संरचना बनाउन थप रु तीन करोड ५० लाख लाग्ने भएकाले बजेटको खोजी भइरहेको जनाइएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अम्रेला स्ट्रिट तयार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । उनले पर्यटन क्षेत्रमा नयाँ अभ्याससहित अम्ब्रेला स्ट्रिट बनाइएको र यहाँ आउने पर्यटकलाई बसाइँ लम्भ्याउन यस्ता गतिविधि आवश्यक रहने बताए । प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीयस्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् ।यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । महानगर प्रमुख दाहालले यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा महानगर जुटेको बताए । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न विभिन्न समितिमार्फत महानगरमा काम भइरहेको उहाँले जानकारी दिए । रासस

राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने २५ व्यवसायी सम्मानित

काठमाडाैं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसंग औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने अर्यालले बताए । सम्मानित हुनेमा रामचन्द्र संघई, दोर्जेग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर रहेका छन् । जसमध्ये चन्द्र ढकाललाई आईएमई मार्फत सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएकोमा र भवानी राणालाई वाणिज्य क्षेत्रमा बढी निर्यात व्यापार गरे वापत उक्त सम्मानद्वारा सम्मानित गरिएकाे हाे ।

सात दशकदेखि बन्द पर्वतकाे फलामखानी उत्खनन शुरु, भूगर्भविद्को टोली महाशिलामा

पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया शुरु भएको छ । खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडाैं आफैँले खानीको उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिए । उनका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताए । उनले भने, ‘यहाँको परिमाण र गुणस्तरका बारेमा विस्तृत अध्ययनको प्रतिवेदनपछि अगाडिको काम शुरु हुन्छ ।’ यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ । उनका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन । विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन प्रक्रिया शुरु हुन्छ । ‘यस वर्ष विस्तृत सर्भे गर्छौँ, सबै प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुन्छ’, पोखरेलले भने । नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुमा अध्ययनलाई तीव्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिएका छन् । धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम शुरु गरेको पोखरेलले बताए । उक्त फलामखानी सदरमुकाम कुश्माबजारबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको लुङ्खु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए । पछिल्लो समय गाउँपालिकाले पनि खानी सञ्चालनका लागि चासो देखाएको थियो । सत्तरी वर्ष अघिदेखि यहाँ स्थानीयवासीले फलाम उत्खनन गर्दै आएका थिए । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाकापुस्ताको भनाइ छ । खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ । उतिबेला यहाँको फलामबाट बनेका घरेलु हतियार बागलुङ, पाल्पा, स्याङ्जाका विभिन्न गाउँमा बिक्री हुन्थ्यो । आधुनिक मेसिन र सडकको यात्रा नहुने भएकाले पर्वत आसपासका खोलामा निर्माण भएका पुलमा समेत यहीँको फलामबाट बनेका लठ्ठाको प्रयोग गरिएको थियो । मोदीवेणी र जैमिनीघाटका पुलमा अझै पनि फलामखानीको फलामले बनेका लठ्ठाका पुल देख्न सकिन्छ । यहीँको फलाम निकालेर बिक्री गरेर अहिलेभन्दा पाँच दशकअघिसम्म फलामखानीका करिब ४ सय परिवारको रोजीरोटी चलेको थियो । गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको वडाध्यक्ष सुनारले बताए । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे । स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन ।रासस

चीनमा रहेको नेपालीलाई ल्याउन फागुन ३ गते जहाज पठाईने

काठमाडौं । चीनमा रहेको नेपालीलाई ल्याउन फागुन ३ गते जहाज पठाईने भएको छ । नेपाल वायसुेवा निगमको वाईडबडी जहाजमा चीनमा भएको नेपालीलाई ल्याउन लागिएको हो । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले फागुन ३ गते जहाज पठाउने निर्णय गरेको हो । यसका लागि चीन सरकारलाई पनि नेपालस्थित राजदुतावास मार्फत पराराष्ट्रले जानकारी गराईसकेको छ । साथै चीनबाट आउने १ सय ८० नेपालीको सूची पनि निगममा पठाईसकेको छ । ती नेपालीहरुलाई ल्याएपछि विमानस्थलमा ओर्लदादेखि राख्ने क्वारेन्टाईन स्थलसम्म जाने यातायातको साधनको व्यवस्था, त्यहाँ हुने स्वास्थ्यकर्मीदेखि एम्बुलेन्स चालकलाई समेत तालिम दिईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । स्वास्थ्य मन्त्रालयकाे तर्फबाट सबै काम पुरा भईसकेको मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले जानकारी गराए । फिर्ता गरिएकाहरुलाई दुई हप्ता क्वारेन्टाईनमा राखिने र उनीहरुमा कुनै लक्ष्ण नदेखिएको अवस्थामा स्वस्थ घोषित गरेर घर फकाईनेछ । हाल सम्म चीनमा रहेका कुनै पनि नेपालीमा नोबल कोरोनाको लक्षण नदेखिएको बताईएको छ । यद्यपि कोरोनाको लक्षण रोग लागेको १४ दिन सम्म देख्न सकिने भएकोले उनीहरुलाई दुई हप्ता क्वारेन्टाईनमा राख्न लागिएको हो । नोबल कोराना भाईरसको कारण हाल चीनमा मंगलबारसम्म १ हजारको मृत्यु भईसकेको छ भने ४३ हजार भन्दा बढी संक्रमित छन् ।