
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई तीव्र गतिमा सफल बन्न सकिने व्यापार व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार आयोजना गरेको महत्त्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरुलाई तीव्र गतिमा सफल बन्न सकिने व्यवसायमा लगानी गर्न आग्रह गरेका हुन् ।
व्यवसायी र उद्योगीहरुको सहजिकरणका लागि सरकारले धेरै ठाउँमा सहज वातावरण सिर्जना गरेको बताउँदै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘निर्यात क्षेत्रमा धेरै सहज गरेका छौं, समान रोकिएर विभिन्न ठाउँमा कुर्नु पर्ने अवस्थाको अन्त्य गरिसकेका छौं, अब ढुक्क भएर लगानी गर्नुस’, उनले भने ।
व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार भएको उनको भनाई छ । हामीले पाम आयलको अवरोध पनि हटाइ सकेका छौं ।
यस्तै, राज्यमन्त्री मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई ज्वाइँ सरह लिएको बताए । व्यवसायी देशको मेरुदण्ड भएकोले उद्योगीले भनेका सबै कुरामा सरकार सकारात्मक रहेको बताए ।