विकासन्युज

आइएमईको कारोबार २ खर्ब ६२ अर्ब, अध्यक्ष चन्द्र ढकाललाई सीआइपी सम्मान

काठमाडौं । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको छ । आइएमई नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी हो । १९ वर्ष पुरानो यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स भित्र्याएको सरकारी तथ्याङ्क छ । ढकाल यसअघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए । नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३६ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै टाटा मोटर्सकाे ‘भ्यालेनटाइन विक ह्विल अफ लभ’ आयोजना हुँदै

काठमाडौं । टाटा मोटर्सले भ्यालेनटाइन डेलाइ लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल्स अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना हुने भएको छ । यस अवधि भित्र सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गर्ने भएको छ । ग्राहक टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडिहरु एच फाईभ नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरुको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी ?

काठमाडाैं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै छन् । उनले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको नेतृत्व लिए । शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ‘को’ आउला भन्ने अहिले आम चासोको विषय बनेको छ । प्रहरी महानिरीक्षकको कार्यकाल चारवर्षे भए पनि यसपटक आइजीपी बन्नेको कार्यकाल जम्मा पाँच महिनाको मात्रै हुनेछ । यसपटक भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु प्रहरी महानिरीक्षक खनालसँगै अवकाश हुँदै छन् । त्यसकारण डिआइजीमध्येबाटै महानिरीक्षक हुनेछन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि आजै अनिवार्य अवकाश हुँदैछ । उनीहरुसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित आज २२ जनाको अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति छन् । यसपटक प्रहरी महानिरीक्षको लाइनका लागि प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणी लम्साल रहेका छन् । उनीहरु २०४७ साल असार २५ मा एकै पटक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । उनीहरुको सेवा अवधि आगामी असार सम्मको छ । एक प्रहरी अधिकारीका अनुसार महानिरीक्षकमा ज्ञवालीको सम्भावना बढी छ । उनको फाइल अघि बढिसकेको छ । आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने जनाइएको छ । अर्का प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्याय ढिला बढुवा भएकाले प्रतिस्पर्धामा कमजोर छन् । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनीहरुको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो । त्यसकारण उनीहरु पाँच महिना ढिला गरी नियुक्ति भएका थिए । प्रहरी नियमावलीमा भएमा एआइजी र एआइजी नभए डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । कार्यम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, अनुभवलगायत विभिन्न मापनका आधारमा बढुवा हुन्छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । प्रहरी प्रधान कार्यालयमा आजै प्रहरी महानिरीक्षको बिदाइ गर्दैछ । बुधबार नयाँ प्रहरी महानिरीक्षकको स्वागतको तयारी गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । रासस

राज्यले सम्मान गरेका यी २५ हस्ती, जसले देशको अर्थतन्त्रमा सवा तीन खर्बको योगदान गरे

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सीआइपी अवार्डद्वारा सम्मान गरेका हुन् । देशको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी अवार्ड प्रदान गरिएको हो। उनीहरु देशको अर्थतन्त्रमा कूल ३ खर्ब १८ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ योगदान गरेका छन् । सरकारले व्यापार तथा निकासी प्रबर्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो । सीआईपी अवार्ड २०२० बाट सम्मानित हुनेहरुमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थान रहेका प्रथम पाँच वस्तुहरुको सबैभन्दा बढी वस्तु निकासी गर्ने निर्यातकर्ता तथा उद्योगी त्रिवेणी स्पिनिङ बाराका रामचन्द्र संघई, दि साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रीका दोर्जेग्याल्सेन लामा, काठमाडौं स्टार फेसनका राहुलमान श्रेष्ठ, एभरेष्ट तथा पश्मिना निटिङका सुर्यकुमार गुरुङ, रविन श्रेष्ठ, हरिकिरत सिँह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे र विश्वराज बस्नेत छन् । उनीहरुले देशको अर्थतन्त्रमा क्रमशः ३ अर्ब ५६ करोड २९ लाख, ९४ करोड १७ लाख, ८२ करोड ८७ लाख, ४८ करोड १४ लाख, ६९ करोड ७१ लाख, १२ अर्ब ७० करोड ६७ दाख, ५ अर्ब ३ करोड, ३५ लाख, ४ अर्ब ९५ करोड ६० लाख , ४३ करोड, ६० लाख र ३९ करोड ३३ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, न्यु प्यागोडा इन्टरप्राइजेजका मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ र पवन कुमार गोल्याङ रहेका छन् । उनीहरुले पनि क्रमशः २२ करोड ४२ लाख, १७ करोड ३७ लाख, ८३ बरोड ८४ लाख, ३१ करोड ८५ लाख, ४ अर्ब ९५ करोड ६० लाख, १९ करोड ११ लाख, १० अर्ब ७१ करोड राष्ट्रको अर्थतन्त्रमा योगदान गरेका छन् । उनीहरुले सो रकमको वस्तु निर्यात गरेका हुन् । यस्तै ,बैंकिङ प्रणलीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्र्याउन योगदान गरेका छन् । पर्यटन क्षेत्रमा सबैभन्दा बढी मुद्रा आर्जन गर्ने होटल व्यवसायी तारागाउँ रिजेनसी होटलका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख, युवा उद्यमी सुनिता शेर्पाले ८ करोड ८८ लाख, अक्षण गोल्याणले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरी देशको अर्थतन्त्रमा योगदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई पनि देशको निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबर्धनात्मक कार्य गरी आर्थिक विकासमा पुर्याएकाे योगदान  वाफत सम्मान गरेको छ । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसँग चाहेको समयमा औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने बताए । उनले अब देखि निरन्तर रुपमा सीआइपी अवार्ड दिने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई प्रमाणपत्र र परिचय पत्र प्रदान गर्दै अनुशासित र मर्यादित ढंगले व्यवसाय गर्न आग्रह गरे । सरकारले आर्थिक वर्ष ०७४/७५ को योगदानलाई आधार मानेर यो सम्मान दिइएकाे हाे ।

सूर्यविनायक नगरपालिकाको अर्धवार्षिक आम्दानी ८३ करोड

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म  ८२ करोड ९५ लाख ५८ हजार ९९४ रूपैयाँ आम्दानी गरेको छ । कूल रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिका प्रमुख वासुदेव थापाले जानकारी दिए । नगरपालिकाद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले रु ४७ करोड ४ लाख १० हजार ५८ आय प्राप्त गर्ने लक्ष्य पुरा गर्ने जानकारी दिए । नगरपालिकाले पुस मसान्तसम्म रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित गरेको जनाएको छ । त्यस्तै पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ र शिक्षकको तलबभत्ता, स्वास्थ्य तर्फ कर्मचारीहरुको तलब भत्ता, संघीय सरकार र प्रदेश सरकारको अनुदानको चालु खर्च रु १६ करोड ०६ लाख ११ हजार २४६ र सामाजिक सुरक्षा वापत रु ३ करोड ७१ लाख खर्च भएको सो अवसरमा जानकारी दिइयो । स्वीकृत कूल पूँजीगत बजेट रु ६९ करोड २० लाखका सबै योजनाहरु उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा कार्य भई रहेको नगरपालिका प्रमुख थापाले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारी सक्रिय रहेको बताएका छन् । नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी लगायतले नगरपालिकाले गरेको भौतिक पूर्वाधार विकासको चर्चा गर्दै समय मै काम सक्नु पर्नेमा सुझाब दिए । रासस

कलङ्की–कोटेश्वर सर्भिस ट्रयाक अझै सम्पन्न भएन

काठमाडाैं । कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो । चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीन वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन । त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भन ,’यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।’सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलङ्कीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलङ्कीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।रासस

अष्ट्रेलियाको एडिलेडका एम्बेसडरमा नेपालका चार विद्यार्थी

काठमाडौं । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए । विद्यार्थी एम्बेसडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ जसमा १ हजार ५ सय अष्ट्रेलियन डलर सम्मको फिर्ती टिकट, १ हजार अष्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निःशुल्क प्रवेश समावेश गरिएको छ जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गर्न सक्षम हुनेछन् । विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिन्छ । वर्षौदेखि नेपालबाट थुप्रै विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २ हजार भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् । यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक “स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर” को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् । यस अवसरमा स्टडी एडिलेडका सिईओ क्यारन केन्टले नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसडर प्रोग्रामको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । साथै, दक्षिण एशियाबाट १५०० भन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेको र नेपालको संख्या उल्लेखनिय रहेको बताएका थिए । उनले भने, “हामी २०२० का लागि नेपालका ४ स्टुडेन्ट एम्बेसेडरलाई स्वागत गर्न र उनीहरुलाई हाम्रो भाइब्रेन्ट शहरी जीवन, सुरक्षित, सहयोगी समुदाय र वल्र्ड–क्लास शैक्षिक संस्थासँग परिचित गराउन उत्साहित छौं । स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् । विश्वभरका शिर्ष २% युनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो । इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नाका लागि १४% किफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।

स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा ज्ञवाली

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा‍‍. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए । डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।