कुखुराजन्य उद्योगमा १८ अर्ब बढीको नोक्सानी
चितवन । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए । उनका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उनले जानकारी दिएका छन् । यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिए । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु ३० घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यसबाट एक वर्षमा रु नौ अर्ब ७२ करोड नोक्सान भएको उनले बताए । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताउँछन् । अण्डाबाट एक वर्षमा रु तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उनले जानकारी दिए । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ । यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताए । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उनको भनाइ छ । उनले भने, ‘सबै धरापमा छन् ।’ बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उनको भनाइ छ । उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको बताए । एक वर्षअघि प्रतिकिलो रु २९ को मकै अहिले रु ३८ पुगेको छ भने रु ५६ को भटमास रु ७२ सम्म पुगेको डा. भट्टराई बताउँछन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा. भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको रु १० र मासु प्रतिकिलो रु ३३० पर्ने बताउँछन् । अहिले बजारमा दानाको मूल्य रु ५३ देखि रु ६४ सम्म पर्ने गर्दछ । नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहेका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउँछन् । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उनको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ । लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २ सय देखि २ सय २० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ ।रासस
पेट्रोल अन्वेषण तीव्रगतिमा, सर्भेको ८० प्रतिशत काम सम्पन्न
दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको छ । सर्भेको ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभीस्थानबाट अन्वेषण कार्यको औपचारिक शुभारम्भ गरेका थिए । यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करिब २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ । करिब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । सर्भे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने छ । सो अवधिपछि धेरै सम्भावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करिब चार किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने उनले जानकारी दिए । एउटा लाइनमा ४ सय वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ । दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् । यस कार्यलाई यहाँका जनता र जनप्रतिनिधिले स्वागत गरेको छन् । सांसद रवीन्द्रराज शर्माले अन्वषेण कार्यले समृद्ध नेपाल बनाउने प्रधानमन्त्रीको लक्ष्यलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ । अन्वेषणकार्य सफल भए वर्तमान सरकारले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना पूरा हुने आशा गरिएको छ । विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको अन्वेषण अधिकृत डा त्रिपाठीले बताए । दैलेखका धेरै स्थानमा जमिनमुनिबाट छिद्रका रुपमा हजारौँ स्थानमा पानीभित्र फोकाहरु भुलभुल गरेर आएको देखिन्छ । कतिपय स्थानमा ग्याँस नै बलेको अवस्थामा देखिएको छ । यसको विश्लेषण गर्ने हो भने पनि दैलेखको कुनै भूभागमा भण्डारण हुनसक्ने विज्ञहरुको भनाइ छ ।रासस
आजदेखि किनमेलको विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता, सबै उपभोक्ताले यसरी लिन सक्छन् फाइदा
काठमाडौं । उपभोक्ताले दैनिक उपभोग्य बस्तु खरीद गर्दा पनि १० प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता पाइने भएको छ । भ्याट रकम फिर्ता पाउनको लागि भ्याटमा दर्ता भएकै हुनुपर्ने भने छैन । तर, भुक्तानी रकम भने विद्युतीय माध्यमबाट गर्नुपर्नेछ । आन्तरिक राजस्व विभागले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने व्यवस्था मंगलबारबाट औपचारिक रूपमा सुरु गरेको छ । उपभोक्ताले मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा फिर्ता हुनेछ । अर्थमन्त्री डा युवराज खतिवडाले आजबाट सुरु गरेका हुन । चालु आर्थिक वर्षको बजेट बक्तव्य मार्फत घोषणा भएको भ्याट फिर्ता गर्ने कार्यक्रम बजेट आएको सात महिनाछि सुरु भएको हो । अर्थमन्त्री डा खतिवडाले विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कट एण्ड डिपार्टमेण्टलकाे त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्यूराेड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुमा शुरु गरेका हुन् । विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट बिक्रेताको बैंक खातामा र बिक्रेताको खाताबाट पुन: उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणालीमा सुधार गर्नु पर्ने भएकोले यो प्रणालीका मुख्य सरोकारवाला पक्ष जस्तै: विद्युतीय बीजक जारी गर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएका बिक्रेता, भुक्तानी प्रणाली संचालक, भुक्तानी सेवा प्रदायक संस्थाहरुको सक्रिय सहयोग प्राप्त हुने विश्वास राखिएको छ । उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फाेन पे, इसेवा, खल्ती, सेल पे, कनेक्ट आईपीएस जस्ता भुक्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ विभागले जानकारी दिएकाे छ । यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा १ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्मकाे भ्याट लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन्।यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा विभागकाे छ । डेविट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा पाइदैन फिर्ता आन्तरिक राजस्व विभागले तयार पारेको संरचना अनुसार भ्याट फिर्ता दिइनेछ । यसको लागि विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया नै तयार पारेको छ । तत्कालका लागि भुक्तानी सेवा प्रदायक संस्था र केही बैंकको मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा मात्रै १० प्रतिशत भ्याट फिर्ता दिइने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए । अहिलेसम्म सबैं यो सेवामा आवद्ध भइनसकेकोले सबैं बैंकको मोबाइल बैंकिङ भुक्तानीमा पनि भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन हुन सकेको छैन । ‘बैंकबाट सोझै भुक्तानीको व्यवस्था मिलाउन अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक पनि जोडिनु पर्ने अवस्था आउने रहेछ, त्यसैले मोबाइल बैंकिङ र अन्य भुक्तानी सेवा प्रदायकबाट हुने भुक्तानीमा छुटको व्यवस्था कार्यान्वयन भइसकेको छ,’ उपमानिर्देशक पाण्डेले भने । बैंकको डेविट र क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भिसा, युनियन पे जस्ता अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक सहभागी हुन्छन् । यसैकारण केही समस्या भएको विभागले जानकारी दिएको छ । तर, सामान बेच्ने विक्रेताले प्रयोग गरेको बैंक र ग्राहकले भुक्तानी गर्न प्रयोग गर्ने बैंकको कार्ड एउटै भएमा १० प्रतिशत भ्याट फिर्ता सुविधा भने पाइनेछ । तत्कालका लागि राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता हुनेछ । सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न भ्याट फिर्ता सुविधा दिन सुरु गरेको हो । भ्याट फिर्ताका लागि बिक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गर्नुपर्नेछ । यस्तै बिक्रेता र उपभोक्ता पनि सेवा प्रदायकसँग जोडिनु पर्नेछ । भ्याट लाग्ने सामाग्री खरिदमा उपभोक्ताले बिल भुक्तानी गर्ने बित्तिकै क्यूआर कोडमा आधारमा खातामा रकम फिर्ता पाउनेछन् । विभागले बनाएको सफ्टवेयरले विद्युतीय बिलसँगै क्यूआर कोड आउने छ । राष्ट्र बैंकको तथ्यांकअनुसार देशभर मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेहरू ९० लाख ९९ हजार ७ सय ३२ जना छन् भने इन्टरनेट बैंकिङको पहुँचमा ९ लाख २८ हजार ७ सय ९ जना छन् । साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिनेछ । कुनै साझेदारी फर्म वा कम्पनीलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा सो निकायको व्यवसायिक सूचनाका अतिरिक्त सो निकायको प्रमुख कार्यकारी व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई बायोमेट्रिक दर्ता प्रणालीमा अभिलेख रहने प्रणालीको विकास गरिएको छ । यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमश: नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुनेछ । [pdf id=195140]
विदेशी अनुभवलाई नेपालमा उपयाेग गर्दै युवा, एक करोड लगानीमा शुरू गरे पशुपालन फार्म
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरु गरेका छन् । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् । व्यवस्थित रूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् । रोजगारीको सिलसिलामा दुई वर्ष जापानमा बिताएका श्रेष्ठले भिसाको म्याद छँदै स्वदेश फर्किएर पशुपालनमा लागेको बताए । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन शुरु गरेका उनले अहिले रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरेका छन् । आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनले योजना सुनाए । ‘विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिएँ, कृषिमा राम्रो सम्भावना मैले जापान पुगेर देखेँ, गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ’, उनले भने । कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उनले बताए । जापानमा गाईफार्ममा काम गरेको अनुभव सङ्गालेका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिए । वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उनको भनाइ छ । गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिए । दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्याउने उनको योजना छ । भैँसी रु एक लाख ३० हजार र गाई रु ७० हजारका दरले खरिद गरेको उनले बताए । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङबजारमा खपत हुने गरेको उनले बताए । भैँसी र गाईको हेरचाह र दानापानी खुवाउन तीन जना कामदार राखेका छन् । फार्मको क्षमतावृद्धिसँगै कामदार थप्दै जाने उनको योजना छ । ‘बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ’, उनले भने । स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उनको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उनले बताए । बागलुङबजारमा व्यापार/व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नमूना कृषिफार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताएका छन् । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उनले बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उनको भनाइ छ । रत्नेचौरमा कृषिको राम्रो सम्भावना रहेको उनले बताउनुभयो । रासस
जीवन बीमामा बोनस भनेको के हो ? याे रकम कसरी गणना गरिन्छ ?
१. जीवन बीमामा बोनस भनेको के हो ? जीवन बीमा अवधि समाप्तिमा वा कुनै कारणबस बीमा अवधि भित्र बीमितको मृ्त्यु भएमा बीमाङ्कमा थप गरी दिइने रकमलाई बोनस भनिन्छ । २. कम्पनीले कसरी बोनसदर घोषणा गर्दछ ? जीवन बीमाका बीमितहरुले भुक्तानी गरेको सम्पृ्र्ण बीमाशुल्क र उक्त बीमाशुल्क प्राप्त गर्न लागेको खर्च कट्टा गरी जीवन बीमा कोषमा जम्मा गरिन्छ । उक्त कोषमा भएको रकमहरु बीमा समितिबाट स्वीकृत प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, जलस्रोत, सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा, डिबेञ्चर, ट्रेजरी बिल, बैंक तथा वित्तीय संस्थाको सामूहिक लगानी कोष, म्युचुअल फण्ड, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, घरजग्गा व्यवसाय, तथा अन्य स्वीकृत प्राप्त क्षेत्रमा लगानी गरिन्छ । यसरी जीवन बीमा कोषमा जम्मा भएको रकम र लगानीको प्रतिफलहरु समेतबाट कम्पनी बीमितहरुको मृत्युदावी, समर्पण तथा कम्पनीको आवश्यक खर्चहरु कट्टा गरी आएको रकमहरु मध्येबाट चालृ् प्रतिफल तथा खर्च, भविष्यमा प्राप्त हुने प्रतिफल दावी तथा खर्चलाई मध्यनजर गरी बीमाको विज्ञ (बीमाङ्की) द्धारा बीमाङ्कीय मृ्ल्याङ्कन गरी निकालिएको दरलाई बीमा क्षेत्रको नियमन गर्ने निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भए पश्चात घोषणा गरी लागू गर्ने गरिन्छ । यसरी घोषणा गरिएको बोनस जुन आर्थिक वर्षको हिसाबबाट गणना गरिएको हुन्छ सोहि वर्षको लागी लागू हुन्छ । तसर्थ प्रत्येक आवको बोनस फरक फरक हुन सक्दछ । घोषणा नगरिएको आर्थिक वर्षका लागी अघिल्लो घोषणा गरिएको बोनस दर लागु हुन्छ जसलाई अन्तरिम बोनसदर भनिन्छ । ३. बोनस रकम कसरी गणना गरिन्छ ? बोनस दर सामान्यतः प्रतिवर्ष प्रतिहजार बीमाङ्क उल्लेख गरिन्छ । जस्तै, ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख बीमाङ्कमा ७२ रुपैयाँले गुणान गरी र त्यसलाई एक हजारले भाग गर्दा हुन आउने ७२ हजार रुपैयाँ प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ । कुनै व्यक्तिले १० लाख रुपैयाँको नाफामा सरिक हुने जीवन बीमा गरेको रहेछ, जसको बीमा अवधि २१ वर्ष रहेछ र बीमा कम्पनीले २१ वर्षसम्म एकनास बोनसदर ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गरेको रहेछ भने बीमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ । यदि उपरोक्त उदाहरणमाः कथंकदाचित बीमितको बीमा चालु भएको ५ वर्षमा मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा इच्छाएको व्यक्ति नभएमा बीमितको नजिकको हकदारले निम्नानुसार रकम प्राप्त गर्दछन् । ४. के बढी बोनसदरले कम्पनीको उच्च कार्यदक्षता प्रतिबिम्ब गर्दछ ? बोनस कम्पनीको आम्दानीबाट खर्च कट्टा गरी आएको बचतबाट गणना गरी निकालिने छ । त्यसैले धेरै बोनस आउन धेरै आम्दानी हुनुपर्ने र कम खर्च गर्नुपर्ने हुन्छ र बीमितहरुबाट प्राप्त बीमाशुल्कलाई मितव्ययी ढंगले सञ्चालन गरी नाफा उच्च देखाउनुले बोनसमा सकारात्मक असर पार्दछ । तसर्थ धेरै बोनस हुनुले कम्पनीको उच्च वित्तीय एवम् व्यवस्थापकीय कार्यदक्षता प्रतिबिम्ब गर्दछ । ५. धेरै बोनसदर भएमा बीमालेख समर्पण गर्दा वा बीमालेख कर्जा लिँदा कसरी बढी रकम प्राप्त हुन्छ ? यदि कसैले बीमाङ्क १० लाख रुपैयाँको १५ वर्षको जीवन बीमा गरेको छ र लगातार ५ वर्षको पुरा बीमाशुल्क भुक्तान गरी ५ वर्ष पश्चात बीमितले कर्जा लिँदा पाउने रकम र समर्पण गर्दा पाउने रकम, उक्त अवधिको कम्पनीको घोषित बोनस दर ६२ रुपैयाँ (प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा) रहेछ भने निम्नानुसार हुन्छ । ६. के बोनसदर कम भएमा बीमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ ? जीवन बीमा चालु रहेको अवधिलाई कम्पनीको घोषित बोनस दरले गुणन गरी कुल बोनस रकम प्राप्त हुदा बोनस दर कम भएमा बीमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ । नोटः– जीवन बीमाको मुख्य उद्देश्य लगानी र उच्चतम प्रतिफलका लागी नभई आर्थिक जोखिम हस्तान्तरणको लागी भएकोले बोनस लगायतका प्राथमिकता जीवन बीमामा दोस्रो उद्देश्य भएकोले बोनसका लागी होइन जोखिम न्युनीकरणका साथै आफु र आफ्नो परिवारको बाँकी जीवनको निरन्तरता र आर्थिक सुरक्षाका लागी सम्पुर्ण नेपाली नागरिकले जीवन बीमा गरौं ।
बोर्डले संशोधन गर्यो धितोपत्र बजारको चारवटा नियमावली, फागुनदेखि लागू हुने
काठमाडौं । नेपाल धितोेपत्र बोर्डले कानूनलाई समसामयिक बनाउँदै धितोपत्र बजार सम्बन्धि चार वटा नियमावलीहरु संशोधन गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी) मर्चेन्ट बैंङ्कर, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता, सामूहिक लगानी कोष, धितोपत्र दर्ता तथा निष्काशन गरी चार वटा नियमावली संशोधन गरेको हो । बोर्डले नेपाल सरकार र अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी फागुन १ गतेदेखि लागू हुने गरी उक्त नियमावलीमा संशोधन गरेको हो । यससँगै धितोपत्र व्यवसायी नियमावली अन्तर्गत धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने भएको छ । त्यस्तै, सेयर निष्काशन नियमावली अन्तर्गत धितोपत्र निष्कासनको अवधि घटेर अधिकत १५ दिन कायम गरिएको छ । यसअघि अधिकतम ३० दिनसम्म सेयर निष्काशन खुला हुने गरेकाे थियो । [pdf id=195153]
घुस रकम सहित इन्जिनियर प्रहरीको नियन्त्रणमा
काठमाडौं । तनहुँको भानू नगरपालिकामा कार्यरत इन्जिनियर सुकदेव अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश र कार्यसम्पन्न प्रतिवेदन बनाईदिएको समेत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुसर / रिसवत माग गरेका थिए । उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजहरू वडा सदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारीलाई ७५ हजार लिइसकेको अवस्थामा उक्त रकमसहित भानू नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित
काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन् । डा. कार्की सबैभन्दा बढि मत सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा ६ हजार १ सय ५७ मतमा डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याएका थिए । संघमा एक जना सदस्य बाहेक सबै पदमा डा. लोचन कार्कीको लोकतान्त्रिक समुह विजयी भएको छ । १३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भए। त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन्। महासचिवमा भने बद्री रिजाल निर्वाचित भए। उनले २ हजार ४३१ मत पाए । यस्तै काेषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् । गत शुक्रबार देखि सुरु भएको मतगणना मंगलबार बिहान सिद्धिएको हो । कसले कति भाेट ल्याए ? अध्यक्ष १. डा. लोचन कार्की – ४१११ [निर्वाचित] २. डा. पुष्पमणि खराल १९७९ वरिष्ठ उपाध्यक्ष डा. रक्षा श्रेष्ठ २२६२ डा. शिवप्रसाद श्रेष्ठ – ३५९५[निर्वाचित] उपाध्यक्ष डा. अनिलविक्रम कार्की ३९४५[निर्वाचित] डा. रञ्जीतकुमार झा १९५४ महासचिव डा. अजयकुमार मिश्र ८६९ डा. बद्री रिजाल २४३१[निर्वाचित] डा. दीपेन्द्र पाण्डे १३०१ डा. मधुर बस्नेत – १३७८ कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी ३२७८[निर्वाचित] डा. सञ्जीतकुमार साह २५७९ सहसचिव डा. निरजकुमार सिंह ३७९०[निर्वाचित] डा. शैलेन्द्र झा १८९४ सहकोषाध्यक्ष डा. विश्वाराज दवाडी ३९३५[निर्वाचित] डा. उदयनारायण सिंह १९४२ सदस्यहरु १. डा. अमित चतुर्वेदी १५७४ २. डा. विक्रान्त ढकाल २५८६ ३. डा. विपेश आचार्य २८८०[निर्वाचित] ४. डा. दीपकप्रसाद कोइराला १८६८ ५. डा. जगदीशचन्द्र विष्ट १२४९ ६. डा. लिजन महर्जन २८७२[निर्वाचित] ७. डा. नन्दकुमारी गुरुङ ३३१६[निर्वाचित] ८. डा. प्रमोद जोशी २७९६[निर्वाचित] ९. डा. प्रवीणकुमार गिरी ७४७ १०. डा. राकेश कुमार साह २३१३ ११. डा. रितेश थापा ३७१७[निर्वाचित] १२. डा. सञ्जीव तिवारी ३००४[निर्वाचित] १३. डा. सुमान काफ्ले २२२६ १४. डा. त्रिभुवन चन्द्र झा १८१३