विकासन्युज

गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्याे ४ नयाँ शाखा

काठमाडौं । गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ ।  पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरिरहेकाे छ । शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् । त्यस्तै बालुवाखानी शाखाको उद्घाटन कार्याक्रममा बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थिति रहेको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाको थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको जानकारी दिए । न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को व्यवस्थित विकास बैंकहरूको अवार्ड हासिल गरेको छ । हालसम्म सो बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।  

कोरोना भाइरसको असरले आपूर्ति प्रणाली बिग्रन सक्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनो भाइरसका कारण नेपाली अर्थतन्त्रमा पनि असर पर्ने बताएका छन् । अर्थमन्त्रीको रुपमा पुनः पदबहाली गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । नेपालको अर्थव्यवस्था आयातमुखी छ, विश्वभर फैलिएको कोरोना भाइरसको कारण आपूर्ति प्रणालीमा असर पर्न सक्छ, हामी त्यतातिर सचेत हुनुपर्छ,’ मन्त्री खतिवडाले भने । कोरोना भाइरसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने भन्दै मन्त्री खतिवडाले त्यसको कति असर पर्छ भनेर अहिले नै यकिन गर्न नसकिने पनि बताए । पछिल्लो समय विश्व अर्थतन्त्रमा नै नयाँ नयाँ प्रकारका चुनौति थपिदै गएको मन्त्री खतिवडाको भनाइ छ । डा. खतिवडाको सांसद पद सकिएको दिन उनले राजीनामा दिएका थिए भने राजीनामा दिएको भोलिपल्ट नै उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मंगलबार (२० फागुन) मन्त्रालयमा गएर काम गरेका मन्त्री खतिवडाले अपरान्ह मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा गरेको भोलिपल्ट (२१ फागुन) नै प्रधानमन्त्रीको सिफारिसमा भन्दै उनलाई मन्त्री बनाइएको छ । प्रधानमन्त्री ओली मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । बुधबार विहान प्रधानमन्त्रीले गरेको सिफारिसका आधारमा खतिवडालाई मन्त्री बनाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । सो दिन विहान करिब ९ बजेतिर प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि अस्पतालको आईसीयू लगिएको थियो । प्रधानमन्त्रीलाई आइसीयू लगिनु अघि डा. खतिवडालाई मन्त्री पदमा सिफारिस गरिएको हो । डा. खतिवडा पहिलो पटक मन्त्रीमा नियुक्त हुँदा पनि सांसद थिएनन् । उनी २ वर्ष अघि १४ फागुनमा अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि २१ फागुनमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा सांसदमा मनोनित भएका थिए । उनको सांसद पदको कार्याकाल २० फागुनमा सकिएको छ । दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त हुँदा पनि डा. खतिवडा सांसद बन्ने सौभाग्यबाट भने बन्चित छन् । सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संविधानको व्यवस्था अनुसार डा. खतिवडाले २ पटक यस्तो सुविधा पाएका छन् ।

आइएमई पेको नयाँ योजनाः नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो

काठमाडौैं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागु गरिएको छ । यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नुहुने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवा शूल्कमा पैसा पठाउन सक्ने छन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आइएमई पे’ डाउनलोड गर्नुपर्ने छ । जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

नेपाल उद्योग परिसंघद्वारा प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । संघले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएकोमा खुसी व्यक्त गर्दै उक्त कामना गरेको हो । साथै, संघले प्रधानमन्त्रीलाई पहिले जस्तै तन्दुरुस्त र तदारुकताका साथ देशको सेवामा फर्कन उस्तै ऊर्जा प्राप्त हुने विश्वास एवं शुभकामना गरेको छ ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौं क्लिनिकले दियो १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट दिने भएको छ । अनामनगरमा रहेको बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण  सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए। ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसै सहित ओलीको शरीरमा ४ वटा मृगौला भएको छ । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ । प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली र भारतीय डा अनन्त कुमारसमेत रहेका छन् । प्रधानमन्त्रीलाई उनको भान्जी पर्ने समिक्षा संग्रौलाले मृगौला दिएकी हुन् ।

अर्थमन्त्री डा. खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं।  अर्थमन्त्री डा. युवराज खतिवडाको शपथ लिएका छन्। राष्‍ट्रपतिको कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित कार्यक्रममा खतिवडाले पद तथा गोपनियताको शपथ लिएका हुन्। उनले अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीकाे शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छन्।  २० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री नियुक्त गरेकी हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारका मन्त्री एवं पूर्वमन्त्रीहरू सहभागी थिए ।

वाणिज्य विभागको आँखा गाडी व्यापारीमा, विभाग भन्छः कमिसन नखुलाई नवीकरण हुँदैन

काठमाडौं । अटोमाेबाइल्स विक्रेता कम्पनीले गाडी बिक्री गरेवापत ग्राहकसगँ लिएको कमिसन नखुलाई गाडी बिक्रेता कम्पनीहरुको नवीकरण नहुने भएको छ । कानुन बमोजिम नवीकरण गर्दा विक्रेताले कमिसन खुलाउनुपर्ने भन्दै बाणिज्य विभागले गाडी विक्रेता कम्पनीको नवीकरण रोकेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा कति प्रतिशत कमिसन खाएको छ देखाउनुस् भनेको बताए । उनले ग्राहक ठगिएका छन् कि भनेर गाडी बिक्रेतासगँ कमिसन खुल्ने कागजपत्र मागिएको बताए । ‘नेपालको कानुन अनुसार वस्तु बिक्री गर्दा २० प्रतिशतसम्म मात्रै कमिसन खाएर बस्तु बिक्री गर्न पाइन्छ, तर गाडी बिक्री गर्दा कति प्रतिशत कमिसन लिएका छन् भनेर कागजपत्र मागिएको हो,’ सुवेदीले भने । एजेन्सी ऐनमै कमिसन खुलाउनुपर्ने व्यवस्था छ । एजेन्सी ऐन २०१४ अन्तर्गत जारी भएको नियमको अनुसूची १ मा एजेन्ट हुन चाहने व्यक्तिले दर्ताका लागि निवदेन दिँदा कमिसन खुलाउनुपर्ने सुवेदीको भनाइ छ । नेपाल अटोमोबाइल्स डिलर एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफुहरुले कर कार्यलयमा सबै कागजपत्र बुझाएको बताए । उनले गाडी विक्री गर्दा २० प्रतिशतभन्दा कम कमिसन खाएको बताए । सरकारले व्यापारीलाई प्रोत्साहन गर्नु पर्ने ठाउँमा निरुत्साहित गरेको उनको भनाइ छ । एजेन्सी ऐन २०१४ को कानुनले नै फर्महरु नवीकरण भइरहेका छन् । पुरानो कानुन भएकाले पनि कानुन संशोधन गर्नु पर्ने दुलालको भनाइ छ । ‘सरकारले कानुन संशोधन नगरी व्यापारीलाई समस्यामा पारिरहेको छ, हामीले सम्बन्धित मन्त्रालयसगँ कुरा गरिसकेका छौं,’ दुलालले भने । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अटोमोबाइल्स डिलर एसोसिएसन नेतृत्व र विभागलाईसँगै राखेर छलफल भैइसकेको बताए । नवीकरणको समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको उनको भनाइ छ । यस्तो छ सवारी साधनमा कर सवारी साधन आयात गर्दा भन्सार, अन्तशुल्क र मूल्य अभिवृद्धि कर गरी २ सय ५६ प्रतिशतसम्म कर लिइने गरेको छ । गाडीमध्येमा सबैभन्दा बढी निजी सवारी साधनमा कर लाग्छ । पार्टपूर्जा खरिदमा पनि ५ देखि ३० प्रतिशतसम्म कर लाग्ने गरेको छ ।