विकासन्युज

कोरोनाबाट बच्न स्वास्थ्य बीमा गर्न सकिन्छ ? यसो भन्छ बीमा समिति

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । विश्व संकट निम्त्याउने हैसियत राखेको कारोनो भाइरसबाट बच्चको लागि स्वाथ्य बीमा भने नहुने बीमा समितिले जानकारी दिएको छ । महामारीको बीमा नहुने भएको कारण कोरोना विरुद्ध बीमा गर्न नसकिने समितिको भनाइ छ । रोग लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिने कम्पनीहरुमा महामारीको बीमा योजना नहुने समितिको भनाइ छ । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बीमा मार्फत सुरक्षा प्राप्त गर्न नसकिने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको सिद्धान्तले महामारीलाई नसमेटने बताए । ‘विश्वव्यापी बीमाको सिद्धान्त अनुुसार बीमाले महामारीलाई समेट्दैन, अन्य रोगको हकमा भने बीमा कम्पनीहरुले सुरक्षण दिँदै आएका छन्,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । बीमा कम्पनीहरुले घातक रोगको बीमा योजना संचालन गरिरहेका छन् । कोरोना भाइसको लागि मात्रै भनेर बिमितले कुनै किसिमका लाभ पाउँदैनन् । बीमा गराउँनु पूर्व जाँचिन्छ यी २ कुरा बीमा गराउँनुपूर्व बीमा कम्पनीहरुले व्यक्तिको आर्थिक अवस्थाको तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन् । आर्थिक अवस्थाको मूल्याङ्कनपछि मात्रै व्यक्तिले बीमा गर्न पाउँछन् । त्यस्तै, स्वस्थ मानिसको मात्र बीमा हुने गर्छ । व्यक्तिको स्वाथ्यस्थिति चेकजाँच गरेर मात्र बीमा हुने समिति बताउँछ । व्यक्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा बीमा हुँदैन । कुनै किसिमका बीमा गर्नुपूर्व उक्त व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइसको चर्चा जताजतै सुन्न सकिन्छ । नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग अहिले विश्वका विभिन्न ठाउँमा देखिन थालेसँगै मानिसमा त्रास बढेको छ । बीमाले जोखिममा आर्थिक सुरक्षण दिने भएकाले पछिल्लो समय कोरोना भाइसको बीमा गर्न मिल्ने कि नमिल्ने भन्ने चासो धेरैमा छ । महामारीको बीमा नहुने भएकोले यस्तो जोखिमबाट बच्न शतर्कता अपनाउनु पर्ने समितिको भनाइ छ ।

छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी एक जनाको मृत्यु, १६ गम्भीर घाइते

चितवन ।चितवन र गाेरखाकाे छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प अगाडि ठक्कर खाएको थियो । बसमा सवार ३४ मध्ये नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ । ठक्कर खाने दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको र बस चालक फरार रहेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् । यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो । दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ । घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ । घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । रासस

सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै बैंक

दमौली । तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् । ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । “ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ,” उनले भने, “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ । घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गनुभयो । “दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो,” उनले भने, “यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।” प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ । यसैगरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता वापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए ।  

मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दिपक सुवेदीलाई घुस रकमसहित प्रहरीले रंगेहात पक्राउ गरेको छ । सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजिकरण गरिदिने भनी विभिन्न बहानामा घुस माग गरिहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज दिपक सुवेदीलाई ३ हजार रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

सागरबारे लेखिएको सिलवालको पुस्तक फिकुरीको हिउँमा विमोचन

काठमाडौं । सामान्यतः मान्छेले सन्दर्भ खोज्छ । हिमालबारे लेखिएको पुस्तक सगरमाथाको टाकुरोमा विमोचन गर्ने रहर हरेक लेखक र प्रकाशकको हुन सक्छ । यस्तै, नदीबारे लेखिएको पुस्तक विमोचन महासगरमा गर्न पाए राम्रो हुन्थ्यो भन्ने मनोकामना धेरैको हुन सक्छ । यसो हुन सकेमा सन्दर्भ मिल्छ होला । तर, लेखक तथा पत्रकार अशोक सिलवालको सन्दर्भमा भने यस्तो भएन । उनले महासगरले घेरिएको टापु देश श्रीलंका यात्राका क्रममा समेटेका अनुभव र फेला पारेका तथ्य समेटेर लेखेको पुस्तक ‘श्रीलंका स्मृति’ हिउँले ढाकिएको उनकै जन्मथलो फिकुरीमा गरियो । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३ हजार ४ सय ६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३ हजार ८ सय मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखला समेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो । ‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो, महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो,’ बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड (एनटीवी) सदस्य दीपक महतले भने । कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज (आरएनपीएस) का कार्यवाहक अध्यक्ष शिव लामिछनेले लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरे । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा एनटीवी सदस्य महत, आरएनपीएसका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए) को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–ट्रेकिङ गाइड तथा ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् । ‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो, त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्, त्यसका लागि यात्रा आयोजक आरएनपीएस र यात्रामा जोडिएका विदुर, सूर्यगढी, किस्पाङ, उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन्,’ कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने ।

युनिग्लोब कलेजले गर्यो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन, पूर्व अर्थमन्त्री डा. महतबाट उद्घाटन

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन डा. पर्व अर्थमन्त्री रामशरण महतले गरेका हुन् । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा महतले अनुसन्धानको महत्व र युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन र विकासको प्रशंसा गरेका थिए । नेपालको प्राचिनकाल देखि छिमेकी देशसँग व्यापारको सम्बन्ध सुमधुर रहेको बताए । साथै, आधुनिक व्यापारमा पनि नेपाल विश्वको दुई ठुला छिमेकी मुलुक भारत र चीनको बिचमा रहेकोले उक्त आवसरको फाईदा लिन रणनैतिक भुमिका खेल्नु पर्नेमा जोड दिनुपर्नेसमेत उनले उल्लेख गरे । कार्यक्रमका विशेष अतिथि विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा. भिम प्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु निरन्तरता आयोजना गर्नुले यस कलेजको प्रतिबद्धतालाई झन प्रगाढ पारेको बताए । प्रा.डा सुवेदीले स्वदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले अनुसन्धान र अन्वेशणको माध्यमबाट स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई स्वेदशमै उधमशिलता र रोजगारीको क्षेत्रमा आकार्षण गर्ने तथा उद्योगहरु स्थापन गर्नका लागि सम्वाहकको भूमिका खेल्ने उल्लेख गरेका छन् । सम्मेलनमा प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए । कार्यक्रममा कलेजका प्रिन्सिपल डा.नर बहादुर विष्टले युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमुलक शिक्षण पद्धति महत्वपूर्ण हुने कुरामा प्रकाश पारे । कार्यक्रमका प्रस्तोता कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सफल गरिने र यस्ता कार्यक्रमले भविष्यमा विद्यार्थीहरुलाई अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ मजबुद बनाउने बताए । उक्त कार्यत्रममा अमेरिका, मलेशिया, इन्डिया वङ्गलादेश लगायत ५ देशका प्रतिनिधीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा १६० वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

बेनेलीकाे होली अफरः सात नयाँ मोडेल नेपाली बजारमा

काठमाडौं । इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले होली अफर सार्वजनिक गरेको छ । नेपालको लागि बेनेलीको अधिकारीक बिक्रेता केटीएम इन्टरनेश्नल ट्रेडिंगले विभिन्न मोडलका मोटरसाइकल बजारमा ल्याएको हो । उक्त अफर अन्तर्गत बेनेलीको सात नयाँ मोडेल जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरलाई फाइदा पुर्याउने उद्देश्य रहेको छ । कम्पनीका अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । १९११ देखि  मोटरसाइकल पारखीबीच एक बैग्लै पहिचान बनाएको यस कम्पनीले थ्रीएस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ । बेनेली मोटर साइकलहरू सबै सवारको आवश्यकता पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले दाबी गरेको छ ।

सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा

काठमाडौं । सिभिल बैंकले ललितपुर जिल्लाको नखिपोटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बुधबार एक कार्यक्रमकाबीच गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा उक्त संस्थाकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेका छन् । साथै, देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब ३५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिएको पनि उनले बताए । उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए । साथै, यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताएका छन् । त्यस्तै, सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।