सडकमै ट्राफिक नियमको प्ले कार्ड देखाइने, उपत्यकाका ४७ स्थानमा शुरू भयाे यस्ताे व्यवस्था
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि ट्राफिक नियम लेखिएका प्लेकार्डहरू काठमाडाैं उपत्यकाका सडकमै देखाउन थालेको छ । उपत्यकाको व्यस्त चोकहरूमा सवारी चालकहरूलाई लक्षित गरि ट्राफिक नियम लेखिएको प्लेकार्ड आज(बुधबार) देखि देखाउने काम शुरू गरिएको हो । ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने भएकाले सवारी कुदाईरहेका चालकहरूलाई सडकमै ट्राफिक प्रहरीले प्ले कार्डहरूमार्फत ट्राफिक नियम सिकाउन थालिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए । उनले भने- ‘अहिले ‘दाहिने साईडबाट मात्रै ओभरटेक गरौँ ।’ भन्ने ट्राफिक नियम लेखिएको प्लेकार्डहरू निर्माण गरिएका छन्।’ सवारी साधनले तीव्र र अनियन्त्रित गतिका साथै गलत ओभरटेकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्राथमिकताका साथ यो अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए । काठमाडाैं उपत्यकाका ४७ स्थानहरूमा ट्राफिक नियम लेखिएका प्लेकार्डहरू सवारी रोकिएका वेलामा देखाइने व्यवस्था मिलाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए । यसका साथै, सम्पूर्ण सवारी चालकहरू विशेष गरी मोटरसाईकल चालकहरूलाई जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी दाहिने साईडबाट मात्र ओभरटेक गर्न महाशाखाले अनुरोध गरेको छ ।
होलीको टीसर्ट १ रुपैयाँमै पाइने, रिचार्जर एपले ल्यायो यस्तो अफर
काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैंयामा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ । रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ । १ रुपैयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिंग, इसेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ । ग्याजेटस् तथा ईलेक्ट्रोनिक्स सामानहरु रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । रिर्चाजरले ‘नेपाली लाई नेपाल घुमाउने’ नाराका साथ सस्तो मुल्यमा टुर प्याकेज साथै हेलि राईड उपलब्ध गराईरहेको छ । पोखराको साईड सिन हेलिकप्टर बाट ५ हजार ९९९ रुपैयाँमा मात्र उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले बुधबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एपमा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् । साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि सिघ्र सुचारु हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
युवराजका रेकर्ड नै रेकर्ड: कुन राम्रा, कुन नराम्रा ?
काठमाडौं । अर्थमन्त्रीमा दोस्रो पटक पदवहाली गर्दै गर्दा डा. युवराज खतिवडाको नाममा रेकर्ड नै रेकर्ड कायम भएको छ । जिन्दगीभर राजनीति नगरेका खतिवडा सरकारी सेवाबाट अवकास पाएदेखि रोजीछानी राजनीतिक लाभको पद पाउने भाग्यमानी थोरै नेपालीभित्र पर्छन् । डा. खतिवडा २ पटक अर्थमन्त्री भएपनि दुबै पटक सांसद छैनन् । पहिलो पटक मन्त्री बन्दा पनि उनी सांसद थिएनन् । मन्त्री भएको एक सातापछि मात्रै उनी राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । सांसद नभई २ पटक मन्त्री बन्ने रेकर्ड डा. खतिवडाको नाममा रहेको छ । यस्तै, डा. खतिवडा २० फागुनमा पनि मन्त्रालय गएर काम गरे । र, अपरान्ह पदबाट राजीनामा गरे । उनले राजीनामा गरेको २४ घण्टा पनि नवित्दै मन्त्री पदमा पुनः नियुक्ति पाए । पदबाट राजीनामा गरेर पुनः मन्त्री बन्दा एक दिन पनि मन्त्रालय गयल हुनुनपरेको रेकर्ड पनि डा. खतिवडाको नाममा रह्यो । डा. खतिवडाले २१ फागुन अपरान्ह मन्त्री पदको सपथ सकेर मन्त्रालय पुगी कार्यभार सम्हाले । प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो । डा. खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पतालको आईसीयु कक्षमा प्रवेश गर्नु ठीक अघि मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले आफ्नो उपचारको लागि आईसीयुमा छिर्नुअघि कसैलाई मन्त्रीमा सिफारिस गरेको व्यक्तिका रुपमा पनि डा. खतिवडाकै नाममा रेकर्ड रह्यो । सत्तारुढ नेकपाको सचिवालयका अधिकांश निर्णयहरु सहमतिका आधारमा हुने गरेका छन् । तर, नेकपाको इतिहासमै पहिलो पटक डा. खतिवडाकै कारण तीब्र तनाब उत्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभा सदस्यमा डा. खतिवडालाई नै पठाउँन चाहन्छन् । तर, सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा पठाउने निर्णय गरेको छ । सचिवालयको यो निर्णयप्रति प्रधानमन्त्री ओलीको असहमति रहेको बताइन्छ । पार्टी सचिवालयको सर्वसम्मत निर्णय पार्टी अध्यक्षले नै मान्दिन भन्ने परिस्थितिको सिर्जना डा. खतिवडाकै कारण उत्पन्न भयो । आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ । डा. खतिवडा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर पनि हुन् । आयोगको उपाध्यक्ष पद नेपाल राष्ट्र बैंकको गभर्नरभन्दा माथिको हो । राष्ट्र बैंकको गभर्नर भएपछि ५ वर्षसम्म सो पदबाट हटाउन गाह्रो हुन्छ भने आयोगको उपाध्यक्ष पद सरकार परिवर्तन हुने वित्तिकै जान्छ । आफ्नो पद लामो समय जोगिने आशमा पहिला पाएकोभन्दा तल्लो दर्जाको पदमा जागिर खान जाने रेकर्ड पनि डा. खतिवडाकै नाममा छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद सम्हालिसकेका व्यक्ति अर्थमन्त्री भएका अरु उदाहरण पनि छन् । तर, आयोग उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री एउटै व्यक्ति बनेका उदाहरण सायदै छन् । तर, डा. खतिवडाले यी तीनवटै महत्वपूर्ण पद प्राप्त गरिसकेका छन् । डा. खतिवडा अर्थमन्त्री बन्ने वित्तिकै अर्थतन्त्रको बारेमा श्वेतपत्र जारी गरे । सो श्वेतपत्रमा देशको ढुकुटी करिब रित्तो रहेको उल्लेख गरे । डा. खतिवडाले संसदमा पेश गरेको सो श्वेतपत्र आजसम्म पनि विवादित छ । सरकारले जारी गरेको श्वेतपत्र सबैभन्दा धेरै विवादमा परेको सम्भवतः डा. खतिवडाले तयार पारेको श्वेतपत्र नै हो । अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो । डा. खतिवडाको सकिन लागेको राष्ट्रियसभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णयपछि सेयर बजारमा दैनिक औसत ३ अर्बभन्दा माथिको सेयर कारोबार हुन थाल्यो । सोभन्दा अघि दैनिक औसत ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको थियो । सो निर्णय भएको समाचार आएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ५ प्रतिशतले बढ्यो । अर्थमन्त्रीको पद जान लाग्यो भन्ने समाचार सार्वजनिक हुँदा पुँजी बजार मापक एकै दिन ५ प्रतिशतले बढ्ने र कारोबार रकम ७ गुणाले बढ्ने गरेको रेकर्ड पनि डा. खतिवडाकै पालामा देखियो । उनी मन्त्रीमा पुनः नियुक्त भएको दिन भने सेयर बजार ६८ अंकले घटेको छ ।
यामाहाले इण्डोनेसियाबाट भित्र्यायो नयाँ स्कुटर, यस्ता छन् विशेषता
काठमाडौं । यामाहा नेपालले इण्डोनेसीयन सिरिजको आफ्नो नयाँ प्रस्तुति ‘एनम्याक्स १५५’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लि.ले केही ग्राहकहरुको मागमा यस स्कुटरलाई इण्डोनेसियाबाट नेपालमा आयात गरेको हो । कम्पनीका अनुसार एनम्याक्स १५५ मा जडित फ्युल इन्जेक्टेड इन्जिनको विकास यामाहाको अत्याधुनिक प्रविधि ब्लु कोर प्रविधि प्रयोग गरेर गरिएको छ । यो नवीनतम डिजाइनको लक्ष्य बाइकको दहन र चिसोपन दक्षता वृद्धि गर्न तथा, साथै सोही समयमा पावर क्षति कम गर्छ । जसले ग्राहकलाई उच्च द्रूत गतिसहितको तीव्र बेग र इन्धनको खपत कम गर्नमा केन्द्रित गर्ने छ । यो स्कूटरमा दिइएको स्लीक ढाँचाको स्पोर्टी बनौट र प्रिमियम डिजाइन हाम्रो स्पोर्टी स्कूटरहरुबाट अत्यन्त प्रभावित भएको पाइन्छ । यसको एकीकृत पृष्ठभागको समाप्तीले एनम्याक्स १५५ लाई स्पोर्टी एवं परिष्कृत बनौट प्रदान गरेको छ जबकि यसमा रहेको बूमराङ्ग साइडको परिकल्पना र केन्द्रीय टनेलले यसको मजबुत यामाहा म्याक्स विरासतको उर्जागर गरिदिन्छ । एनम्याक्स १५५ लाई त्यसप्रकारको स्पोर्टी प्रस्तुतकर्ता बनाउनमा यसमा भएको परिवर्तनशील भल्भ प्रवर्तन (भिभिए) प्रणाली नै यसको एक प्रमुख विशेषता हो । फोर भल्भ सिलिण्डर हेडले एक विशेष क्यामशाफ्ट प्रयाेग गर्दछ जसले इन्जिनलाई न्यून र उच्च इन्जिन गतिहरुमा अझ अधिक दक्षताका साथ संचालन हुन, सबै रेभ दायराहरुमा बलियो तीव्रतापूर्ण बेग दिन,र सँगसँगैं राम्रो इन्धन खपत प्रदान गर्न सक्षम बनाउँछ । एनम्याक्स १५५ एक अत्यन्त मजबुत र हल्का तौलको ट्युबलर फ्रेमका साथ निर्मित छ, जसले स्पोर्टी सवार र सहज ह्याण्डलिङ्गकासाथ स्थिर ह्याण्डलिङ्ग प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा दोहोरो सक रियर सस्पेन्सन प्रणाली र मिहीन-कार्यको टेलिस्कोपिक फ्रन्ट फोक्र्स, उच्च विशिष्टिकरण च्यासिस जस्ता विशेषताहरु रहेका छन् । बलियो र असरदार रोक्ने कार्य प्रदर्शनको लागि एनम्याक्स १५५ मा २३० मिमि फ्रन्ट डिस्क र २३० मिमि रियर डिस्क सुसज्जित गरिएको छ जसले सहज ब्रेक लगाउनका लागि पर्याप्त अवसर प्रदान गर्दछ । यो उच्च कल्पनाको स्कूटर एबिएस मापदण्ड अनुरुप उपलब्ध छ, जसले तपाईंलाई अझ बढी नियन्त्रणयोग्य ब्रेकिङ्ग पावर प्रदान गर्छ र विभिन्न परिस्थितिहरुमा आत्मविश्वास बढाइदिन्छ । सार रुपको एनम्याक्स १५५ अति कसिलो पार्किङ्ग स्थलमा समेत फिट हुनेछ । लामो आकारको दोहोरो सीटको डिजाइन सुविधाको उच्चतम स्तरको सुनिश्चित्ता दिन गरिएका छ र यसमा पूरा मुहार डाक्ने हेलमेट राख्ने भण्डारण स्थल पनि छ । स्कूटरमा भएको कम तौलको कास्ट एलो १३ इन्चको पाङ्ग्राहरुले यसको स्पोर्टी स्टाइल र प्रिमियम स्पेसिफिकेसन र फराकिलो ११०/७०-१३ को अग्र टायर र ठूलो १३०/७०-१७ को पछाडी टायरको खण्डलाई रेखाँकित गर्दछन् । हाल कम्पनीले यस स्कुटरकाे मूल्य भने सार्वजनिक गरेकाे छैन ।
कोरोना असरः ८० प्रतिशत होटल बुकिङ रद्द, चीनियाँ पर्यटक एक चौथाई मात्रै, पाँच दर्जन उडान रद्द
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि धेरै क्षति पुर्याएको छ । नेपालमा हालसम्म भाइरसको संक्रमण नदेखिएपनि यसबाट छुटकारा पाउने सम्भावना भने न्यून छ । नेपाल वरिपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनियाँ जनजीवन त निकै प्रभावति पारेको नै छ यो भाइरस हालै भारतमा दुई जनामा देखिएको खवरले पनि सबैलाई त्रसित पारेको छ । छिमेकी राष्ट्रमा देखिएको कोरोनाको त्रास नेपालमा पनि बढेको छ । यसको मानसिक त्रास मात्र होइन कोरोनाकै कारण नेपाली अर्थतन्त्रमा पनि ठूलो असर पारिसकेको छ । ठूलै तामझामका साथ करोडौं रकम खर्च गरेर सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि नेपाल सरकारले स्थगित गरिसकेको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रद्द गरिसकेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागवनमा पनि कडाई गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई अनअराइभल भिसा पनि नदिने भएको छ । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो । यसले पनि नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएकाे छ । पर्यटकको आगमन गत वर्षभन्दा खस्किसकेको छ भने विदेशी पर्यटकले नेपाल आउनका लागि बुकिङ गरेका होटलहरु पनि धमाधम रद्ध गर्न थालेका छन् । ८ं० प्रतिशत होटल बुकिङ रद्द विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ८० प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएकाे विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ । चीनबाट आउने पर्यटक ७७ प्रतिशतले घटे कोरोना भाइरसको त्राससँगै पर्यटकहरुको आगमन पनि निकै सुस्ताएको छ । पर्यटकलाई घुम्नका लागि यो उपयुक्त समय भएपनि पर्यटकको आगमन भने दैनिक घट्दै गएकाे छ । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटक आगमनको तथ्याकं सुस्ताएको छ । नयाँ वर्षको सुरुमा पर्यटक आगमनको तथ्याकं राम्रो भएपनि पछिल्लो समय भने निकै सुस्ताएको हो । नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमध्येको चीनबाट मात्रै गत वर्षको यही अवधिभन्दा ७६.८ प्रतिशतले घटेकाे छ । गत वर्षको यही अवधिमा चीनबाट १४ हजार १ सय ६१ जना पर्यटक नेपाल आएका थिए भने यस वर्षको फेब्रअरी सम्ममा ३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य देशहरुबाट आउने पर्यटक आगमनको ग्राफ पनि सुस्ताएको देख्न सकिन्छ । गत वर्षको यही अवधिको भन्दा यस वर्षमा भुटानबाट आउने पर्यटकमा ५२ प्रतिशत, दक्षिण कोरिया ३७, बेल्जियम ३७.६, जर्मनी १५.४, रसिया १६.६ , क्यानडा ९.६ र अमेरिकाबाट आउने पर्यटकको संख्या ३.५ प्रतिशतले घटेको छ । यसले पनि नेपालको पर्यटनमा धेरै घाटा हुन सक्ने अनुमान गर्न सकिन्छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालमा पर्यटकको आगमन पनि घटेको बताए । उनले यो समय भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्ने भएकोले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । नेपालको अर्थतन्त्र कति सम्म घाटामा हुन्छ त्यसको निर्धारण भने कोरोनाको समायवधिले बताउने उनकाे भनाइ छ । ५ दर्जन जहाज उडानरद्द कोरोना भाइरसको त्रास बढेसँगै धेरै अन्तर्राष्ट्रिय उडान पनि रद्ध भएका छन् । विशेष गरी चीनमा हुने उडान रद्ध भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले चीनमा उडान हुने करिब पाँच दर्जन जहाजको उडान रद्ध भएको बताए । उनले अहिले दैनिक एक जहाज मात्र चीनमा उडान हुँदै आएको बताए । उनले यी सबै जहाज मार्च २८ सम्मका लागि रद्ध भएको बताए । तर, काेराेनाकाे संक्रमण भइराखे यो कहिले सम्म रद्ध हुन्छ भन्न सकिन्न । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि विश्वमा २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले तीन दिने तालिम दिँदै, सहभागी ५० जनालाई पेड इन्टर्नसीप दिइने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत ७ देखि चैत ९ गतेसम्म वीरगंजमा संचालन गर्दैछ । जसको लागि २१ गतेबाट फागुन ३० सम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।
सनराइज बैंकले ट्राफिक कार्यालयलाई दियो ४० थान ट्राफिक कोन
काठमाडौं । सनराइज बैंकले कैलालीको जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । यससँगै, बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ ।