विकासन्युज

दाङको घोराहीमा सिद्धार्थ बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको हो । व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत बैैकिङ्ग सेवा दिंदै आएको छ ।

इरानको उप स्वास्थ्य मन्त्रीसहित ३३ सांसद कोरोना संक्रमित, ५४ हजार कैदीलाई गर्याे रिहा

तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । इरानका सर्वाेच्च नेता अलि खामेनीलाई सभामुख अलि लरिजानीको पत्रलाई ध्यानमा राख्दै उक्त विषयको जानकारी दिएका हुन् । त्यस्तै इरान सरकारले जेलमा रहेका ५४ हजार कैदीलाई रिहा गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै इरान सरकारले उक्त कैदालाई रिहा गरेको हो । पछिल्लो समय इरानमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमित ३३ सांसदसहित स्वास्थ्य मन्त्रीलाई अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहन इरान सरकारले निर्देशन दिएको छ । इरानमा दुई हप्तामा सरकारका उच्च अधिकारीसहित ७७ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ३ सयभन्दा बढी उक्त भाइरसबाट संक्रमित रहेका छन् । हाल विश्वमा ९० हजारभन्दा बढीमा व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ।

कोरोनाको जोखिमप्रति सजग रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो । यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न शुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्वारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ । साथै, विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी पालना गर्न बैंकले अनुरोध गरेको छ ।

कृषि विकास बैंक र फोनपेबीच सम्झौता, मोबाईल बैंकिङबाट किनमेल र भुक्तानी गर्न सकिने

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोनपेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका एफ वान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । फोनपेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्दा यस बैंकसँग खाता भएका ग्राहकहरुले क्यास ब्याक(नगद फिर्ता) को सुविधा पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बासु अधिकारीले बताएका छन् । बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

पाल्पाको विद्यालयलाई सिटिजन्स बैंकले दियो दश थान कम्प्युटर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो । निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ । यस बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ ।  त्रिवि  शिक्षण अस्पतालमा भएकाे ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएको हाे । ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । याे सहित ओलीको शरीरमा ४ वटा मृगौला भएका छन् । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ । प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली र भारतीय डा अनन्त कुमारसमेत रहेका छन् । प्रधानमन्त्रीलाई उनको भान्जी पर्ने समिक्षा संग्रौला मृगौलाले दिएकी हुन् ।

कोरोना भाइरसः आकस्मिक सहायताका लागि विश्व बैंकले १२ अर्ब अमेरिकी डलर दिने

काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वब्यापी बिस्तारसँगै राष्ट्रहरुले भोगेका समस्यालाई निराकरण गर्न विश्व बैंकले १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्वका ७० भन्दा बढी राष्ट्रहरुमा यस प्रकोप फैलिएको अवस्थामा विश्व बैंकले आफ्नो प्रारम्भिक आकष्मिक आर्थिक सहयोग निम्न ब्याजको कर्जा, अनुदान र प्राविधिक सहायताका लागि दिन लागेको जनाएको छ । विभिन्न देशका सरकारहरुले आफ्ना नागरिकको स्वास्थ्य तथो देशको अर्थतन्त्रलाई सुरक्षित राख्न विभिन्न सहयोग तथा योजनाहरु सार्वजनिक गरिरहँदा विश्व बैंकले पनि आज यस्तो घोषणा गरेको हो । विशेषगरी स्वास्थ्य र अर्थतन्त्रमा परेको तत्कालिक असरलाई नियन्त्रण गर्न यो सहयोग गरिएको विश्व बैंकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । ‘यस आर्थिक सहयोग सदस्य राष्ट्रहरुलाई कोभिड- १९ (कोरोना भाइरस) बिरुद्ध प्रभावकारी प्रतिकार्यका कदम चाल्न र सम्भव भएसम्म विछोडका असहरुलाई कम गर्नका लागि ल्याइएको हो,’ विश्व बैंकले आफ्नो आधिकारी वेबसाइटमा भनेको छ । विश्व बैंकले अगाडी जनाएअनुसार यस फास्ट ट्र्याक प्याकेजमार्फत उसले प्रकोपबाट जोगाउनको लागि मानिसको स्वास्थ्य सेवा केन्द्रसँगको पहुँचलाई थप सुधार गर्ने, रोगको निगरानी तथा पहरेदारीलाई बलियो बनाउने, जनस्वास्थ्यको कार्यहरुलाई गति दिन स्वास्थ्य प्रणालीलाई बलियो बनाउने सहितको राष्ट्रहरुको स्वास्थ्य प्रणालीलाई बजबुत बनाउने र निजी क्षेत्रसँग समन्वय गरी अर्थतन्त्रमा परेको प्रभावलाई कम गराउने छ । ‘यस भाइरसको सामना गर्नका लागि राष्ट्रहरुको आवश्यकतालाई ध्यानमा राखी हामीले यस सहायतालाई सकेसम्म छिटो र लचिलो तरिकाले प्रदान गर्नका लागि काम अगाडी बढाइसकेका छाैं,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड माल्पस भन्छन्, ‘यस सहयोगअन्तर्गत आकस्मिक लगानी सहायता, नीतिजन्य सुझाव र प्राविधिक सहायता रहनेछन् ।’ बिबिसीसँगको छोटो कुराकानीको क्रममा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्नका लागि पनि यो सहयोग घोषणा गरिएको जनाइएको छ । भने सहयोग वितरण गर्दा गरिब र सबैभन्दा बढी भाइरसप्रभावित देशहरुलाई प्राथमिकतामा राख्ने पनि विश्व बैंकले जानकारी दिएको छ । घोषणा गरेको कुल सहायता रकममध्येको आधा रकम संसारभरका नीजि क्षेत्रसँग काम गर्ने इन्टरनेशनल फाइनान्स कर्पोरेसनबाट आएको हो भने बाँकी रकम पहिले नै उपलब्ध श्रोतहरुलाई परिचालन गरी ब्यवस्था गरिएको हो । आजको दिनसम्म कोरोना भाइरसबाट विश्वभरी ९२ हजार जना संक्रमित भैसकेका छन् भने यस प्रकोपका कारण कम्तिमा तीन हजारभन्दा बढीको मृत्यु भैसकेको छ । ‘मानिसको ज्यान बचाउन हतारिनु सिवाय हामीसँग अर्को विकल्प छैन,’ आज आयोजित प्रेश सम्मेलनको क्रममा माल्पसले भने ।

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला, आजै लिए सपथ ग्रहण

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै दिन उनले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा गर्भनर डा. चिरिञ्जीवी नेपालबाट कृषि विकास बैंकको अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई फागुन २१ गते बिहान बैंकको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । त्यसपछि बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष निरौलाले नेपाल राष्ट्र बैंकमा लामो समयसम्म सेवामा रहि कार्यकारी निर्देशक पदबाट अवकास प्राप्त गरेका थिए । साथै, यसअघि विभिन्न बैंक तथा वित्तीय संस्थाको उच्चतहमा रही काम गरेका उनीसँग बैंकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ । पद तथा गोपनियताको सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा र शिवराज श्रेष्ठ, बैंक नियमन विभागका निर्देशक मिना पाण्डे र कृषि विकास बैंकका संचालक समिति सदस्यहरु संजिव पौडेल, हरिप्रसाद पराजुली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।