काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको २ महिना विते पनि निर्णय कार्यान्वयनकाे प्रक्रिया अघि बढेकाे छैन ।
गत पुसमा मन्त्रिपरिषदको निर्णयले उपत्यकामा सञ्चालित ती पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको थियो । उपत्यकाको सडकसँगै जोडिएका पेट्रोल पम्प सडक जाम गरेको र अव्यवस्थित भएकोभन्दै हटाउने निर्णय भएकाे थियो ।
निर्णय कार्यान्वयन गर्न नेपाल आयल निगम र सडक विभागलाई तत्कालै काम शुरू गर्न सरकारले निर्देशनसमेत दिएको थियो ।
नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्रकुमार गोइतले निर्णय कार्यान्वयनकाे प्रक्रिया अघि बढेकाे दाबी गरे । सरकारले बन्द गर्ने निर्णय गरेका १८ वटा पेट्रोल पम्पलाई निगमले पत्र काटेकाे उनकाे भनाइ छ ।
‘सडकसँगै जोडिएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय गरेकाे थियो, त्यही निर्णय अनुुसार निगमले काम गरिहरेको छ,’ गोइतल भने ।
गृह मन्त्रायको निर्देशनमा पेट्रोल पम्पहरू हटाउनका लागि प्रक्रिया थालिएको थियो । यसको काम अगाडि बढाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिएको २ महिना वितिसक्ता पनि काम भने भएको छैन।
सरकारले पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय गरेको हो । मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको निष्कर्षसहित सरकारले यस्ताे निर्णय लिएको हो ।
स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरू महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धकाे जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर रहेका छन् ।
यस्तै, कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्पलाई पनि स्थानान्तरण गराउने निर्णय भएको छ ।
काठमाडौं उपत्यकामा घण्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधारणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय नै सडकसँगै जोडिएका पम्पहरुलाई हटाउने निर्णय गरेको थियो ।