एफएनसीसीआईको साधारणसभाः कसरी हुन सक्छ स्थगित ? रोकिए फेरि कहिले गर्नुपर्छ ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा अन्योलमा परेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण देखाउँदै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा राखेको र संक्रमण भित्रन नदिन सरकारले धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आव्हान गरेका कारण सभा अन्योलमा परेको हो । महासंघले आगामी चैत २८ र २९ गते काठमाडौंमा महासंघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । तर, सरकारी उच्च अधिकारीबाट दबाब आएको भन्दै अध्यक्ष भवानी राणाले आफू निकटसँग साधारणसभा सार्नुपर्ने तर्क गरिरहेकी छन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले साधारणसभा सार्न महासंघसँग आग्रह गरेका छन् । हिजो (बिहीबार, २९ फागुन २०७६) महासंघका प्रतिनिधिले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग छलफल गरेका छन् । सो छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले साधारणसभा सार्न आग्रह गरेका सहभागी एक प्रतिनिधिले जानकारी दिए । सरकारले सभा, सम्मेलन र धेरै मान्छे सहभागी हुने कुनै पनि प्रकारको कार्यक्रम गर्न रोकेको अवस्थामा महासंघले साधारणसभा गर्नु उचित नहुने दाहालको भनाइ छ । महासंघ अध्यक्ष राणा साधारणसभा सार्ने मनस्थितिमा भएपनि अन्य पदाधिकारी भने सार्न नहुने अडानमा थिए । तर, प्रमुख जिल्ला अधिकारी दाहालसहित उच्च सरकारी अधिकारीले सभा सार्न महासंघ प्रतिनिधिलाई दबाबसहितको आग्रह गरेपछि सभा सार्ने मनस्थितिमा अन्य पदाधिकारी पनि पुगेका बताइएको छ । ‘सरकारले सभा सार्न घुमाउरो ढंगले निर्देशन नै दियो, देशभरबाट मानिस जम्मा हुने, त्यसमध्ये कसैलाई कोरोना संक्रमण भएको अवस्था रहेछ भने सबैलाई सर्नसक्ने सम्भावना पनि छ, त्यसैले यो बेला चुनाबी जोडघटाउ भन्दा पनि मानिसको ज्यानलाई उच्च प्राथमिकतामा राखेर निर्णय गर्नु उचित हुन्छ भन्ने महसुस गरिएको छ,’ महासंघका एक पदाधिकारीले विकासन्युजसँग भने । महासंघको यसपालीको साधारणसभाले आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्दैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकोले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि महासंघको अध्यक्ष बन्दैछन् । तर, यसपटकको साधारणसभामा उपाध्यक्षहरु चन्ढीप्रसाद ढकाल र किशोर प्रधान बरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, अन्य पदमा पनि चुनाबी प्रतिस्पर्धामा धेरै उद्योगी व्यवसायी छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार भने साधारणसभा रोक्न नहुने पक्षमा छन् । आफूहरुको समय, श्रम र पैसा खर्च भइरकेको र साधारणसभा सार्दा फेरि यही प्रक्रिया दोहोरिने भन्दै उम्मेदवारले साधारणसभा नसार्न दबाब दिएका हुन् । साधारणसभा सार्ने कि नसार्ने भन्ने विषयमा छलफल गर्न महासंघले आज ३ बजे कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकले सभा सार्ने कि नसार्ने भन्ने निर्णय गर्ने अनुमान गरिएको छ । सभा सार्न सरकारी अधिकारीको दबाब र अध्यक्ष राणाको मनस्थिति भएपनि उम्मेदवारहरुले नसार्न दबाब दिएका कारण मध्यमार्गी निर्णय हुन सक्ने सम्भावना पनि छ । तत्कालको लागि सभा सार्ने निर्णय नगर्ने र पछि जे जस्तो अवस्था देखिन्छ, त्यसै अनुरुप निर्णय गर्ने गरेर अगाडि बढ्नुपर्ने मध्यमार्गी विकल्पमा पनि अनौपचारिक छलफल भइरहेको छ । ‘सभा सार्नै पर्ने अवस्था आयो भने एक साता अघि पनि सार्न सकिन्छ, अझै एक महिना बाँकी भएकोले अहिले नै सभा सार्ने निर्णय गरेर बसिरहनु पर्दैन, त्यसैले तत्कालको लागि तयारीका कामहरु गर्दै गर्ने र अवस्था अझ संकटपूर्ण हुँदै गयो भने एक साताअघि रोक्ने निर्णय गरौं भन्ने विकल्पमा कुराकानी गर्दैछौं,’ महासंघका एक पदाधिकारीले भने । विधानले के भन्छ ? साधारणसभा रोक्ने अवस्था आयो भने महासंघको विधानमा पनि टेक्नुपर्ने अवस्था रहन्छ । यस्तो अवस्थामा महासंघको विधानको दफा २४ आकर्षित हुनेछ । ‘एक वार्षिक साधारणसभा र अर्काे वार्षिक साधारणसभाबीचको फरक सामान्यतया एक वर्षको हुनेछ । तर, विशेष परिस्थितिमा कार्यकारिणी समितिको दुई तिहाई सदस्यहरुको निर्णयबाट तोकिएको प्रक्रिया पूरा गरी बढीमा ३ (तीन) महिनासम्मका लागि कार्यकारिणी समितिले साधारणसभा पछि सार्न सक्नेछ,’ भन्ने व्यवस्था दफा २४ मा छ । विधानले साधारणसभा सार्न ३ महिनाको लागि मात्रै छुट दिएकोले चैतको सभा सारेर असारसम्म पुर्याउन सकिन्छ । सम्बन्धित सामग्री एफएनसीसीआई निर्वाचनः रोक्न प्रशासनको आग्रह, नरोक्न उम्मेदवारको दबाब
लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी पक्राउ
काठमाडौं । लाईसेन्सको ट्रायल दिने नक्कली परिक्षार्थी जनक न्यौपाने र सुभाष सिह धामीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा ती दुईलाई नियन्त्रणमा लिइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले आज अं। १३स्०० बजेको समयमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं। १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं।३ वस्ने बर्ष १९ को सुभाष सिह धामी परेका हुन् । न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएका थिए । प्रकाउ परेका ती व्यक्तिहरूलाई कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।
सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई ५ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणकोे लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यस सिटिजन्स बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
काठमाडौं । आईपे रेमिट र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ । वैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन उक्त प्रणालीमा आबद्ध भएको हो । यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबार कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसले तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिनेछ । एनसीएचएलले आफ्ना प्रणालीहरुमार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो ।यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् । ६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रबर्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागितामा यसका एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस इ–पेमेन्ट र कनेक्ट आरटीजीएस प्रणाली संचालनमा रहेका छन् ।
बुटवलमा मेगा बैंकको भवन उद्घाटन
काठमाडौं । मेगा बैंक नेपालले रुपन्देहीको बुटवलमा रहेको आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । बिहीबार मिलनचोकस्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो । बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ । आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए । यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेकोसमेत पोखरेलले उल्लेख गरे । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उनले तत्कालीन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताइन् । स्थापनाको एक दशक नबित्दै देशभर शाखा सञ्जाल विस्तार गरिरहेको मेगा बैंकका १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र ३ हजार भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
सुनचाँदी व्यवसायी भन्छन्ः हामी असुरक्षित भयौं, हाम्रो सम्पत्तिको सुरक्षा खै ?
काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले आफुहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । लुटेरा तथा चोरहरुले आफ्नो सामान चोर्ने क्रम बढेको भन्दै उनीहरुले सुरक्षाको माग गरेका हुन् । उनीहरुले गण्डकी प्रदेश अन्तर्गतको नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ काँग्रेस चोक स्थीत “मोनिका सुनचाँदी पसलमा २०७६ फागुन १८ गते राती चोरी भएको विषयमा महासंघको ध्यान आकर्षण भएको बताउँदै तत्काल अपराधी पक्राउ गर्न सुरक्षा अधिकारीलाई आग्रह गरेका हुन् । फागुन १८ गते उक्त पसलको सटर फुटाली करीव ८१६ ग्राम सुन, रु.७ लाख नगद र १ के.जी चाँदी राखिएको सेफ नै उठाएर लगेको पिडित गहना व्यवसायी उमेश गहतराजले बताएका छन् । पूर्व–पश्चिम राजमार्गसंग जोडिएकोले चौविसै घण्टा यातायात संचालन भई रहने स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदा समेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको ११औं दिन सम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको उनीहरुको भनाइ छ । साथ,ै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको उनीहरुको तर्क छ । उनीहरुले अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गरेका छन् ।
डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्दै, कोरियन गीत तथा सिरिज प्रशारण हुने
काठमाडौं । डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्ने भएको छ । उक्त च्यानलमा के-पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द लभ, मेल्टिङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । साथै, डिसहोम गो(ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ । डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
अर्थमन्त्री खतिवडाले किन गुहारे प्रहरी ?
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रहरी गुहारेका छन् । आफ्नो फोटो र नामको अनधिकृत प्रयोग भएको भन्दै डा. खतिवडाले नेपाल प्रहरीको साइबर ब्यूरोलाई छानविनको मौखिक अनुरोध गरेका हुन् । डा. खतिवडाको नाममा फेसबुक अकाउन्ट खोलिएको र सो अकाउन्टबाट धमाधम स्ट्याटस अपडेट हुन थालेको भन्दै मन्त्री खतिवडाले छानविनको लागि साइबर ब्यूरोलाई अनुरोध गरेका ब्यूरो स्रोतले जानकारी दियो ।