काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले आफुहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । लुटेरा तथा चोरहरुले आफ्नो सामान चोर्ने क्रम बढेको भन्दै उनीहरुले सुरक्षाको माग गरेका हुन् ।
उनीहरुले गण्डकी प्रदेश अन्तर्गतको नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ काँग्रेस चोक स्थीत “मोनिका सुनचाँदी पसलमा २०७६ फागुन १८ गते राती चोरी भएको विषयमा महासंघको ध्यान आकर्षण भएको बताउँदै तत्काल अपराधी पक्राउ गर्न सुरक्षा अधिकारीलाई आग्रह गरेका हुन् ।
फागुन १८ गते उक्त पसलको सटर फुटाली करीव ८१६ ग्राम सुन, रु.७ लाख नगद र १ के.जी चाँदी राखिएको सेफ नै उठाएर लगेको पिडित गहना व्यवसायी उमेश गहतराजले बताएका छन् ।
पूर्व–पश्चिम राजमार्गसंग जोडिएकोले चौविसै घण्टा यातायात संचालन भई रहने स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदा समेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको ११औं दिन सम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको उनीहरुको भनाइ छ ।
साथ,ै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको उनीहरुको तर्क छ । उनीहरुले अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गरेका छन् ।