विकासन्युज

कोरोना प्रभाव: श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  काेराेना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेकाे हाे । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन । सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

बुद्ध एयरले शनिबारदेखि बनारस उडान बन्द गर्ने

Photo: THT/ File काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले यस्तो निर्णय गरेको हो । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । बुद्धले यसै अवधिमा बनारस उडान बन्द गर्ने निर्णय लिएको छ । यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर धनुषामा

काठमाडौं । प्रभु बैंकले धनुषाको जनकपुर उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन प्रमुख जिल्ला अधिकृत प्रदिपराज कडेंलले गरेका हुन् । यस बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटिएम ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

एभरेष्ट बैंकका ग्राहकहरुलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएर होटलको खाना, पेय पदार्थ र बेकरीमा सो मात्रामा छुट पाउने छन् । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् ।

म्यानहन्ट इन्टरनेशनलमा विवेशले जिते मिस्टर पर्सनालिटीको उपाधि

काठमाडौं । प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् । डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्र्केिटङ्गप्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्गप्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धीका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरेका थिए । कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एमओयुमा हस्ताक्षर गरेका छन । श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरु मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए । विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् । यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्सँंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले यही आउँदा १२ चैत्र २०७६ मा हुन गई रहेको छ ।

कोरोनाकाे आशंकामा चीनबाट आएका एक व्यक्ति सेती अस्पतालमा भर्ना

काठमाडौं । कोरोनाभाइरस लागेको अशंकामा चीनबाट आएका एक व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनलाई बिहिबार अस्पतालमा भर्न गरेको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्न गरिएको हो । उनको थ्रोट स्वाब काठमाडौं पठाउने तयारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले माग्यो २२ कर्मचारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो । बिहीबार प्रकाशित सूचनाअनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन दिने म्याद चैत २० र दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्मलाई तोकिएको छ । कम्पनीले दशौँ र नवौ तहको परीक्षा दस्तुुर १२ सय, आठौं, सातौं र छैठौं तहको लागि १ हजार र पाँचौँ तहको लागि परिक्षा दस्तुर ४ सय रुपैयाँ तोकेको छ । प्रत्येक थप समूहका लागि थप दस्तुर लाग्ने व्यहोरामा खुलाइएको छ ।

तारे होटलको क्यासिनोले टेरेनन् सरकारलाई, २ अर्ब बक्यौता नतिरे जायजेथा लिलामीबाट उठाइने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि क्यासिनोको वक्यौता नउठेपछि सरकारले अब क्यासिनो रहेको होटेललाई क्यासिनोको दायित्वमा समेत जिम्मेवार बनाउन थालेको छ । कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यालयले बक्यौता तिर्न बाँकी रहेको क्यासिनो सञ्चालित होेटललाई वक्यौता तिर्न ताकेता गरेको छ । क्यासिनो सञ्चालित होटलका व्यक्तिको नाम सार्वजनिक गर्दै ३५ दिन भित्र सरकारी बक्यौता तिर्न ताकेता गरेकाे हो । वक्यौता तिर्न नगए होटलको जायजेथा लिलामी गरेर भएपनि असुल उपर गरिने कुमारीचोकले बताएको छ । कार्यालयका अनुसार होटेल र क्यासिनोले सरकारले १ अर्ब ९५ करोड ६९ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ वक्यौता तिर्न बाँकी छ । सबैभन्दा धेरै रिक्रियसन प्रालिको वक्यौता छ । कुनको कति छ वक्यौता ? होटल अन्नपूर्णको १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ र होटल सोल्टीको ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ बक्याैता छ । यस्तै, होटल याक एण्ड यतिको १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ, रिक्रिएसन सेन्टरकाे ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैंयाँ, हृयाप्पी आवर प्रालिको ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ, दि फुलबारी प्रालिको ३३ करोड ९३ लाख १५ हजार ७ सय १६ रुपैयाँ र नेपाल रिक्रियसन सेन्टर प्रालिको १ करोड ८४ लाख ९ सय ९३ रुपैयाँ क्यासिनो बक्यौता छ । आर्थिक ऐनमा तोकिएको समय भित्र रोयल्टी नबुझाउने क्यासिनोलाई अवधि नाघेको तीन महिनासम्म रोयल्टीको १५ प्रतिशत थप र सो अवधिभित्र पनि रोयल्टी नबुझाए ३० प्रतिशतका दरले वाषिर्क शुल्क जोडिने प्रावधान रहेको छ । यसरी थपिएको रकमसहित गरेर क्यासिनोले सरकारलाई २ अर्बभन्दा धेरै बक्यौता तिर्नु पर्ने हुन्छ । सरकारले क्यासिनो सम्बन्धी मापदण्ड २०७० सालमा ल्याएको थियो । सरकारले क्यासिनो सम्बन्धी लिएको नीतिमा अब क्यासिनोको सरकारी दायित्वको स्वामित्व होटेलले समेत लिनुपर्छ । साे मापदण्ड आउनुअघि यस्ताे दायित्व सम्बन्धित क्यासिनाेकाे मात्रै हुने व्यवस्था थियाे । पर्यटन मन्त्रालयले क्यासिनोको बक्यौताका बारेमा अध्ययन गर्न समिति नै बनाएकाे छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले याे विषयमा होटेल व्यासायीसगँ छलफल भइरहेको जानकारी दिए । यी हुन् सरकारी बक्यौता नतिर्ने क्यासिनो संचालित होटल संचालकहरु -होटल अन्नपूर्णका महाप्रबन्धक तपबहादुर विष्ट – होटल एभरेष्टका संचालक मस्कुर अहमद लारी -होटल सोल्टीका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्ट -होटल याक एण्ड यतिका संचालक अध्यक्ष राधेश्याम सराफ -नेपाल रिक्रियसन सेन्टरका प्रबन्ध संचालक राकेश बाधवा -ह्याप्पीआवर प्रालिका संचालक अध्यक्ष सुरेन्द्र बहादुर सिंह -दि फूलबारी लिमिटेडका संचालक अध्यक्ष पियूष बहादुर अमात्य