भारतमा पर्यटक भिसा बन्द
काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो । साथै, भारतले प्रकोप रहेका विश्वका विभिन्न सातवटा देशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बताएको छ। भारत सरकारले चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ। ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ। कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाहरूका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत् रहने बताइएको छ।
प्राधिकरण सञ्चालक समितिमाथि अख्तियारले छानिवन गर्नुपर्ने ठहर
काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिमाथि छानविन गर्नु पर्ने ठहर गरेकाे छ । उपसमितिले ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ । नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति, प्रवन्ध निर्देशक विभागीय निजम्मेवारी लिएका पदाधिकारीमाथि छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन उपसमितिको प्रस्ताव छ । उपसमितिका अनुसार ९ अर्ब ४६ करोड ४४ लाख राजश्व उठाउन बाँकी देखिएको छ । प्राधिकरणले बिजुलीको बिल नतिर्ने ग्राहकको लाइन काट्न नसकेको भन्दै उपसमितिले थप निर्देशन दिन सिफारिस गरेको छ ।
३ हजारले घट्यो सुनको मल्य
काठमाडौं । सुनको भाउमा एकै दिन उच्च गिरावट आएको छ । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ हजारले गिरावट आएको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन तोलाको ७८ हजार ५ सय कायम गरेको छ । मंगलबार तोलाको हालसम्मकै उच्च ८२ हजार ७ सय पुगेको सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भएको थियो । बिहीबार ८ सायले घटेर तोलाको ८१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलामा ३ हजारले झरेर ७८ हजार २ सय कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ८१ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले झरेको छ । आज चाँदीको भाउ तोलाको ८ सय २० रहेको महासंघले जनाएको छ । बिहीबार तोलको ८ सय ६० मा कारोबार भएको थियो भने बुधबार तोलको ८ सय ८० मा कारोबार भएको थियो ।
भवानी राणाको कार्यकाल बढ्दै, शेखर गोल्छाको घट्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज बस्ने कार्यसमितिको बैठकले दुईटा निर्णय गर्दैैछ । पहिलो, ७ प्रदेश उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्दैैछ । दोस्रो, कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने निर्णय लिँदैछ । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई तत्काल रोक्ने वा नरोक्ने विषयमा कुनै निर्णय नहुने स्रोतले बतायो । आवश्यक पर्दा चैतको तेस्रो साता कार्यसमितिको बैठक बसी निर्वाचन सार्न विषयमा अनौपचारिक समझदारी बन्दैछ । कोरोना संक्रमणले विश्वव्यापी रुपमा निम्त्याएको संकट र नेपाल सरकारले गरेका निर्णयहरुको आधारमा महासंघको निर्वाचन तीन महिनालाई सर्ने लगभग निश्चित भएको महासंघका पदाधिकारीहरु बताउँछन् । निर्वाचन रोकिएको अवस्थामा अध्यक्ष भवानी राणासहित वर्तमान कार्यसमितिको कार्यकाल ३ महिना लम्बिने छ भने आगामी अध्यक्ष शेखर गोल्छासहित नयाँ कार्यसमितिको कार्यकाल ३ महिना छोटिने छ । महासंघको विधान अनुसार हरेक वर्ष चैत्र मसान्तमा साधारणसभा हुनुपर्छ र हरेक ३ वर्षमा नयाँ नेतृत्वको लागि निर्वाचन हुनुपर्छ । विशेष अवस्थामा ३ महिनाको लागि साधारणसभा सार्न सकिन्छ । यहि व्यवस्थाका आधारमा यस वर्ष चैत मसान्तमा हुनुपर्ने निर्वाचन असार मसान्तमा सर्ने सम्भावना छ । केन्द्रको निर्वाचन हुनु भन्दा एक महिना अघि नै प्रदेशको निर्वाचन हुनु पर्ने व्यवस्था कार्यान्वयन नभएकोले पनि केन्द्रलाई निर्वाचन सार्न दवाव पर्नेछ । यसरी निर्वाचन सर्दा अध्यक्ष भवानी राणाको कार्याकाल ३६ महिनाको सट्टा ३९ महिनाको हुने छ भने आगामी अध्यक्ष शेखर गोल्छाको कार्यकाल ३३ महिना मात्र हुने जानकारहरु बताउँछन् । सम्बन्धित सामग्री एफएनसीसीआई साधारणसभाः कसरी हुन सक्छ स्थगित ? रोकिए फेरि कहिले गर्नुपर्छ ? एफएनसीसीआई निर्वाचनः रोक्न प्रशासनको आग्रह, नरोक्न उम्मेदवारको दबाब
सुर्खेतका ४० हजार बालबालिकामा खोप लगाइँदै
सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । “पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ”, उनले भने, “तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।” उनका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन् । दादुरा र रुबेला नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताउँछन् । बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उनले बताए । रासस
भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, चारमा हेल्थ डेस्क
बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो । झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । हेल्थ डेस्कमा उपकरण अभाव तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए । ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँजको काम हुँदैन उनले भने, “ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ ।” तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना शङ्कास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. वसन्तराज जोशीले जानकारी दिए । “शङ्कास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ”, उनले भने, “कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो ।” यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आग्रह गरेको छ । प्रशासन र नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, हात नमिलाउन आग्रह गरिएको छ । रासस
सिई कन्सट्रक्सनले माग्याे विभिन्न विद्यामा ३७ कर्मचारी
काठमाडौं । निर्माण क्षेत्रकाे पायाेनियर कम्पनी सिई कन्सट्रक्सनले विभिन्न विधामा ३७ जनाको कर्मचारी मागेको छ । सिई कन्सट्रक्सनले १८ भिन्न विधा कर्मचारीहरू मागेको हो । कन्सट्रक्सनले हाईड्रोपावरमा दुई प्रोजेक्ट म्यानेजर र असिस्टेन्ट प्रोजेक्ट म्यानेजर मागेको छ । यस्तै दुई टनेल ईन्जिनियर, सिनियर ईन्जिनियर, जियोलोजिस्ट, एकजना क्युये/क्युसि सिनियर ईन्जिनियर, क्युये/क्युसि ईन्जिनियर, दुई कवान्टिटि सर्भयर, प्लान्ट ईन्चार्ज, ईलेक्ट्रिकल ईन्जिनियर, मेकानिकल ईन्जिनियर, ६ जना टनेल सुपरभाईजर, ३ जना जियोम्याटिक ईन्जिनियर, दुई जना सेड्युलर, स्टोर कोओरडिनेटर, ४ जना स्टोर किपर, एक जना एचआर अफिसर र दुई जना सिनियर पिआर अफिसर मागेको छ । जागिर खान चाहानेले चैत १५ गतेसम्म बायो डाटा कभर लेटर सहित सिई कन्सट्रक्सनका [email protected] मा ईमेल पठाउन सक्नेछन् । याे कम्पनीले अावास निर्माण तर्फ पनि राम्राे ख्याती कमाएकाे छ ।
सुर्खेतमा नक्कली चिकित्सक पक्राउ
सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका रावलले बताए । उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ । रासस