विकासन्युज

स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने

बाँके । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो । हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ । स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भन्नुभयो, “यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।” दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ ।“यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ”, प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए । उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताउनुभयो । बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन् । रासस

महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद

परासी । सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ लाखको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । रातीको समयमा अवैध रूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले राससलाई जानकारी दिए । “रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “म आफैं पनि खटिएर ठूलो मात्राको उक्त सामान बरामद गर्न सफल भइयो, कपडा र तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौँ ।” कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरु भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । यहाँबाट भारतबाट लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ भने कालो मरिच, मटर, केराउ, सुपारीलगायतको चोरी निकासी बढ्दो छ । जिल्लाको भुजहवा र विष्णुपुरा छोटी भन्सारबाट बढी मात्रामा चोरी निकासी पैठारी हुने गरेको महेशपुर भन्सारले जनाएको छ । महेशपुर मूल भन्सारको पश्चिमतर्फ रहेको भारतको खुला सिमानासँग जोडिएका नेपालको गोपालपुर, मुडेरा, गेरमी, विष्णुपुरा, रगरगञ्ज, सनई पडरी हुँदै सदरमुकाम परासीसम्मको बाटो तस्करले बढी प्रयोग गर्ने गरेको बताइन्छ । यसैगरी, महेशपुर भन्सारकै पूर्वतर्फ रहेको भारतको खुला सीमासँग जोडिएको नेपालको रमपुरवा, भुजहवा, हर्सपुरा, बसहिया, गुठीप्रसौनी, बलीनगर, रतनगञ्ज, सुस्ता, त्रिवेणीसम्मबाट पूर्वपश्चिम राजमार्गअन्तर्गतको बर्दघाट, भूमही, चिसापानी, भूताहा, बासालगायतका स्थानमा ल्याउने र यस क्षेत्रमा चल्ने सवारी प्रयोग गरी बुटवल, नारायणगढलगायतका शहरमा तस्करहरुले मालवस्तु पठाउने गरेको स्थानीयवासी बताउँछन् । चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताएका छन् । रासस

एकैदिन हजार रुपैयाँले बढ्यो सुन, प्रतिताेला ७६ हजार ५ सयमा कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला एकै दिन हजार रुपैयाँले बढेको छ । गत मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको तेस्रो दिन/मंगलबार ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने सोही मूल्यमा अर्थात ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

कृषि विकास बैंक र काठमाडौ महानगरपालिकाबीच माइतीघर मण्डला संरक्षणसम्बन्धी सम्झौता

काठमाडौं । कृषि विकास बैंक र काठमाडौ महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनीय कार्यहरु गर्दै आएको थिया

कालोबाजारी गर्नेलाई चोक-चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गरौं: उद्योग सभापति

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सामान अभावको समयमा कालोबजारी गर्नेहरुलाई चोक चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गर्न सरकरालाई निर्देशन दिएका छन् । उनले उद्योगमन्त्री लेखराज भटट्लाई अगाडि राखेर कोरोनाको त्रासकाे समयलाई माैका छोपी कालोबजारी बढेकाले त्यस्ता कालोबजारी गर्नेहरुलाई सार्वजनिक स्थल वा चोक-चोकमा ल्याएर सामाजिक कारबाही गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय कालोबजारी बढदै गएको छ, प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा अनुगमन गरी कालोबजारी गर्नेहरुलाई सबैले चिन्ने गरेर कार्वाही हुने पर्छ’ श्रीवास्तवले भने । उद्योग मन्त्रालयले कोरोना भाइरस संक्रमणको त्रासको समयमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्याधिक मूल्य असुली नगर्न ब्यवसायीलाई आग्रह गर्दै आएकाे छ । मन्त्रालयले त्रासको समयमा हुने कृत्रिम अभाव, कालाेबजारी, अत्याधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री नगर्न र नगराउन व्यवसायीलाई आग्रह गरेको गरिरहेकाे छ। कृत्रिम अभाव देखाउने व्यापारीमाथि कारबाही गर्ने चेतावनी सरकारी प्रशासनबाट आइरहे पनि उपभोक्ता भने ठोस कदमको पर्खाइमा छन् । सरकारको अनुगमन गर्ने निकाय वाणिज्य विभागले प्रत्येक दिन दुई–चार अनुगमन टोली नखटाएको होइन । तर, प्रत्येक टोलमा फैलिएको कृत्रिम अभावको जालो तोड्न केही संख्याका प्रतिनिधि पर्याप्त छैनन् । बजारमा भइरहेकाे कृतिम अभावलाई रोक्नका लागि  गाउँ, नगरपालिका र प्रदेश स्तरसम्म जनप्रतिनिधि र कर्मचारीको अनुगमन टोली निर्माण गर्नु पर्ने आवश्यक छ ।

कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण गर्न उनले आग्रह गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा मङ्गलबार भएको छलफलमा सांसद बस्नेतले जिल्लाका चारवटै नगरपालिकामा तत्काल विपद व्यवस्थापन समितिको बैठक राखेर कारोनाको सम्भावित विपद्को पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । यसका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको उनले बताए । वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले अहिले देशमा कालोबजारी बढेको बताउँदै सामाजिक सञ्जाल र फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गर्दै आतङ्क फैलिएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विपद व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी नै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि ५० हजार जनचेतनामूलक पर्चा वितरण गरिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोना नियन्त्रणका सम्बन्धमा सञ्चार क्षेत्रले जोखिम मोलेरै भए पनि समन्वय, खबरदारी र सचेतीकरणको भूमिका निर्वाह गरिरहेको बताए । छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्भावित विपद्को पूर्वतयारीका लागि जिल्लामा सबै तहले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै तीन दिनभित्र प्रतिकार्य योजना तयार पार्ने उल्लेख गरे । सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, नेपाली सेनाको वीरदल गणका गणपति महासेनानी (कर्णेल) शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलगायतले जोखिम न्यून गर्ने कार्ययोजना बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । रासस

एउटै विद्यालयमा ३१ अक्षयकोष स्थापना

गलकोट । बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । बागलुङ नगरपालिकाभित्र यती धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउन, विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न र विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न व्यक्तिले अक्षयकोष स्थापना गरी सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले जानकारी दिएका छन् । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ”, उनले भने, “विद्यालयमा स्थापना गरिएका अक्षयकोषले कयौँ विद्यार्थीको अध्ययनमा सहयोग पुर्याएको छ ।” प्रधानाध्यापक शर्माका अनुसार अक्षयकोषले विद्यार्थीलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ । यसले विद्यार्थीलाई अध्ययन गर्न ठूलो सहयोग पुग्नेछ । विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । विभिन्न समय र सन्दर्भ पारेर अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले सहयोग गर्ने क्रम बढेपछि विद्यार्थी र अभिभावक पनि उत्साहित देखिएका छन् । अध्यक्ष खड्काका अनुसार, विद्यालयमा रु तीन हजारदेखि दुई लाख २२ हजारसम्मका अक्षयकोष स्थापना भएका छन् । विद्यालयलको शैक्षिक विकासका लागि स्वतस्र्फूत रूपमा पूर्वशिक्षक, समाजसेवी, शिक्षाप्रेमीलगायतले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गरिएको छ । भौतिक पूर्वाधारमा सम्पन्न देखिने यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन, अध्यापन भइरहेको छ । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि शिक्षाको गुणस्तर सुधारमा सक्रिय छन् । विसं २०११ मा स्थापना भएको विद्यालयमा विसं २०४५ देखि हालसम्म ३१ अक्षयकोष स्थापना भएका हुन् । विद्यालयमा कूल ३२० विद्यार्थी अध्ययनरत छन् । रासस

पेट्रोलियम पदार्थको सहज उपलब्धताः अनावश्यक हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएशन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ’, “प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको छ ।” भारतीय सीमानाकाबाट सहज रूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ । यस क्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगतझँै सहज रूपमा हुने विज्ञप्तिमा जनाएको छ । रासस