माघको मूल्यबृद्धि पोहोरकोभन्दा दोब्बर, सरकारी लक्ष्यभन्दा निकै धेरै
काठमाडौं । गत माघको मूल्यबृद्धि करिब ७ प्रतिशत छ । यो बृद्धिदर गत वर्षको माघ महिनाकोभन्दा करिब ३ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघको मूल्यबृद्धि ६.८७ प्रतिशत छ । गत वर्षको माघमा यस्तो मूल्यबृद्धि ४.३५ प्रतिशत थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यबृद्धि थियो । माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेव्रुअरी महिनाको) मुद्रास्फीति ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत रहेको थियो ।
सिमेन्टकाे तीव्र गतिले वार्षिक २० करोड बोरा उत्पादन
लुम्बिनी । नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक पूर्वाधारमा तीव्र गतिले विकास भइरहँदा उक्त क्षेत्रमा प्रयोग हुने सिमेन्ट र छडको उत्पादनमा पनि विकास भइरहेको छ । सिमेन्ट उद्यममा ४४ वर्षदेखि आबद्ध रहनुभएका अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीका अनुसार १३ वटा रोटरी क्लिन, सात वटा भिएसके र ४१ वटा ग्रान्डिङ प्लान प्रयोग गरिरहेका कूल ६१ उद्योगले वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुरमा रहेको उदयपुर सिमेन्ट, मकवानपुरमा रहेको हेटाैंडा सिमेन्ट उद्योगसहित ६१ उद्योग सञ्चालित छन् । निजी क्षेत्रबाट ११ रोटरी क्लिन प्लानका उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये सिरहामा रहेको मारुति, धनुषामा रहेको कसमस, हेटौँडामा रहेको शिवम्, धादिङमा युनाइटेड, पूर्वी नवलपरासीमा होङ्सी, पश्चिम नवलपरासीमा सर्वोत्तम, पश्चिम नवलपरासीमै पाल्पा, रुपन्देहीमा अर्घाखाँची, अर्घाखाँचीमा शुभश्री अग्नी, दाङमा घोराही र दाङमै सोनापुर सिमेन्ट उद्योग रोटरी क्लिन प्लानसहित सञ्चालनमा छन् । यसैगरी, भिएसके प्रविधिमा आधारित धनकुटामा नियाले, पर्सामा शालिमार, परासीमा बुटवल, रुपन्देहीमा रिलायन्स, धादिङमा केपी, रोल्पामा रोल्पा र कपिलवस्तुमा भूगर्भ सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । रोटरी प्लान र भिएसके प्रविधिमा सञ्चालित उद्योगले क्लिङ्करसमेत उत्पादन गर्ने गर्दछन् । यसैगरी, देशभर ४१ ग्रान्डिङ सिमेन्ट उद्योग सञ्चालित छन् । अठार लाख मेट्रिक टन क्षमता रहेको होङ्गसी सिमेन्टबाट हाल छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भइरहेको छ । यसैगरी १० लाख मेट्रिक टन क्षमता रहेको अर्घाखाँची सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिक टन उत्पादन गरिरहेको छ । नौ लाख मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको सर्वोत्तम सिमेन्टले पनि दैनिक तीन हजार मेट्रिक टन उत्पादन गरिरहेको छ । हेटाैंडामै ऋद्धिसिद्धि सिमेन्ट सञ्चालनका लागि तयारी अवस्थामा रहेको छ । यसैगरी घोराही सिमेन्टले क्षमता वृद्धि गर्दै दैनिक तीन हजार मेट्रिक टन पु¥याउँदै छ । दाङमा नै सम्राट, पूर्वी नेपालमा सौर्य र धादिङमै हवासिन सिमेन्ट उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । सडक निर्माणमा आरसिसी प्रयोग हुनुले नेपालमा अबको एक दशक अझै सिमेन्ट र छडको माग बढ्ने देखिएको छ । दैनिक छ लाख बोरा सिमेन्ट खपत भइरहेको छ । माघ, फागुन, चैत, वैशाख, जेठ र असार महिनामा बढी खपत हुने गर्दछ । उक्त महिनामा सरकारी ठेक्काअनुसारका काम तथा आयोजना परियोजनाले मात्रै नभएर निजी आवासीय प्रयोजनका घर कम्प्लेक्स पनि बढी मात्रामा हुने गर्दछन् । जाडो महिनामा एकातिर दिन छोटो हुने र अर्कातिर सिमेन्ट सेटिङ पनि ढिलो हुने हँुदा सो याममा सिमेन्टको खपत कम हुने गरेको निर्माण व्यवसायी महासङ्घ प्रदेश नं ५ का कोषाध्यक्ष त्रिभुवनदत्त मिश्राले बताउनुभयो । रासस
कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीले पाउने भए शतप्रतिशत भत्ता
चितवन । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ । सङ्घीय सरकारले यसअघिनै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पुर्याउने भएको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताएकी छन् । उनले भनिन् “सङ्घबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पुर्याउँछौँ ।” अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिए । अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ । अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ । बहिरङ्ग सेवा र ५० श्ययाको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया सङ्कलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए । यससँगै ती श्ययामा आवश्यक सामाग्री उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवस्थापन गरिँदै छ । बिहीबार दिनभरमा १० श्ययाका सघन उपचार कक्ष र १० श्ययाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । सोका लागि आवश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानीलगायतका काम भइरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताएका छन् । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मङ्गलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो । जिल्लामा हालसम्म चार शङ्कास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । रासस
नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो । गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ । रासस
कामपाको ट्राफिक आइल्यान्ड आकर्षक बनाइँदै
काठमाडौं । रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलबार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न सक्दैन भन्दै दिगो रूपमा काम गर्नुपर्ने धारणा राखेका छन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिए। सम्झौताबमोजिम बैंकले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ । आउँदो पाँच वर्षका लागि भएको सम्झौताबमोजिम आइल्यान्डको व्यवस्थापन गरेबापतको खर्च बैंक आफैँले व्यहोर्नेछ । आइल्यान्डमा बैंक र महानगरको परिचय झल्कने लोगो राखिने छ ।
सहारा विकास बैंकका प्रवद्र्धकले हात उठाए, पुँजी नपुगेपछि संकटमा
काठमाडौं । सहारा विकास बैंकबाट प्रवद्र्धकले हात झिकेका छन् । बैंकले गत वर्ष २५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकोमा प्रवद्र्धकहरुले हकप्रद सेयरमा लगानी नगरेको पुष्टि भएको छ । चुक्तापुँजी ७ करोड २९ लाख भएको सहारा विकास बैंकले २०७५ असारमा १ बराबर २.५ अनुपातमा १८ करोड २४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो । प्रवद्र्धक सेयर ५१ प्रतिशत रहेको यस बैंकमा प्रवद्र्धकले ९ करोड ३० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर लिनु थियो । प्रवद्र्धकले एक प्रतिशत सेयर पनि नकिनेको भेटिएको छ । प्रबद्र्धक सेयर नकिनेको जनाउँदै सहारा विकास बैंकले ९ लाख २१ हजार १४८ कित्ता सेयर लिलामीमा राखेको छ । २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्काशन खुला गरेकामा प्रवद्र्धकले सेयर नकिनेकोले बढाबढ मूल्यमा बेच्न लागेको सहारा विकास बैंकले जनाएको छ । हकप्रद सेयर पछि बैंकको चुक्ता पुँजी २५ करोड ५४ लाख हुने बैंकले जनाएको थियो । तर प्रवद्र्धकले सेयर किन्न नमानेपछि बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख रुपैयाँ मात्र छ । सर्लाहीको मलंगवामा केन्द्रीय कार्यालयमा रहेको यो बैंक एक जिल्ला स्तरीय बैंक हो । बैंकका प्रवद्र्धहरुबीच द्वन्द्व हुँदा उनीहरुले हकप्रद सेयरमा लगानी नगर्ने पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बताए । यस बैंकको सेयर पछिल्लो ४६० रुपैयाँमा कारोबार भएको छ । याे बैंक अरू बैंकमा मर्ज गराउनु राम्राे हुने उनले बताए ।
कोरोनाको असर निर्माणाधीन परियोजनामा, समयावधि लम्बिने सम्भावना बढ्यो
काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । निर्माणाधीन परियोजनाका लागि प्रायःजसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । यसले पनि ती आयोजनाहरुमा असर परेको सरोकारवालाहरुले बताएका छन् । अहिले निर्माणाधीन परियोजनाहरुमा काम गर्ने कामदारहरुको देश भारत र चीनमा कोरोनाको प्रकोप छ । नयाँ वर्षका लागि घर फर्केका धेरै विदेशी कामदारहरु नेपाल फर्किएका छैनन् । नेपालका निर्माणाधीन परियोजनामा काम गर्ने अधिकांश कामदारहरु भारत र चीनका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरोना भाइरसको प्रत्यक्ष असर निर्माणाधीन परियोजनामा परेको बताएको छ । यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले कोरोनाका कारण निर्माणाधीन आयोजनाहरु सुस्त भएको बताएका छन् । सिँहका अनुसार सबैभन्दा बढी असर नेपालको हाइड्रो र विमानस्थलमा परेको छ । ‘कोरोनाको कारण अब निर्माण सामाग्रीको मूल्य बढ्न सक्ने सम्भावना छ । नेपालमा निर्माण भइरहेका धेरै परियोजनमा चीनियाँ र भारतीय कामदारहरु छन, कोरोनाको कारण उनीहरु आफ्नै देशमा छन्, यसले पनि काम सुस्त छ’, उनले भने । हाल अमेरिकी डलरको मूल्य बढेकोले पनि निर्माण सामाग्रीको मूल्य पनि बढ्ने संकेत देखिएको उनको भनाइ छ । यसले निर्माणाधीन परियोजनाका लागत पनि बढ्नेछ भने आयोजनाको निर्माण समायावधि पनि लम्बिने सम्भावना बढेको छ । हाल कोरोनाको कारण निर्माण कार्य न रोक्न सकेको नत तीव्र गतिमा अगाडि बढाउन सकिएको सिँहको भनाइ छ । आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य सुस्त भएको बताएका छन् । उनीहरुले निर्माण कार्यमा निर्माण सामाग्री र जनशक्तिको अभावले काममा तीव्रता दिन नसकिएको बताएका हुन् । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ । चीनियाँ कामदार भएको परियोजनामा कामदारको त्यति समस्या नभए पनि विज्ञहरुको टोलीले कामको निरिक्षण गर्ने कार्य नभएकोले काम पछाडि धकलिन सक्ने आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । ‘अहिलेसम्म त्यस्तो प्रत्यक्ष असर परेको छैन, विस्तारै यसको असर पर्न सक्ने संकेतहरु देखा परेका छन्, मुभमेन्टहरुमा पनि कमि आउन थालेका छन, युरोपका परामर्शदाताहरु आउन सकिरहेका छैनन्, अस्ति नै तीन जना आउनु पर्ने थियो तर आएनन्, यसको इम्प्याक्ट आयोजनालाई पर्ने देखिन्छ’, उनले भने । नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरुमा कोरोनाको असर देखिएको छ । विशेष गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानथल र पोखरा क्षेत्रिय विमानस्ग.थलमा कोरोनाको असर बढी देखिएको उनको भनाइ छ । उनले कोरोना कति सम्म रहन्छ त्यहि अनुसारको निर्माणाधीन विमानस्थलमा असर पार्ने उनले बताए । अब निर्माणाधीन आयोजनाहरुको तोकिएको समयमा निर्माण कार्य नसकिने खतरा बढेको उनले बताए । यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि कोरोनाकै कारण समस्या आएको बताइएको छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ । परियोजना प्रमुख विनेश मुनाकर्मिले कोरोनाको कारण दुई महिनादेखि निर्माण कार्य निरन्तर रुपमा गर्न नसकेको बताए । कामदारहरु चीनकै भएकोले काम निकै प्रभावित भएको उनको भनाइ छ । उक्त विमानस्थलको कुल लागत २द्द अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ । हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा कोरोनाले खासै असर नपारेको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् । उनीहरु नहुँदा पनि अहिले काममा कुनै अवरोध नपुगेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर कमलराज श्रेष्ठले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् ।चीन गएकामध्ये एकजना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा पनि हालसम्म कुनै असर नपरे पनि अब भने पर्ने खतरा छ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएकोे द्रुतमार्ग निर्माण सेनाले इतिहास रच्ने अवसरका रूपमा लिएर कामलाई तीव्रता दिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोभिड–१९ को असर नपरेको हो । खरिद ऐनको प्रक्रिया र केही नीतिगत निर्णयका कारण हुने ढिलाइबाहेक आयोजना अघि बढाउने सन्दर्भमा हालसम्म कुनै बाधाअड्चन नभएको हुँदा कार्ययोजनानुसार नै काम भइरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पारे । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक चासो दिएर हेरिएको ७२ दशमलव ६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ ।
सहारा विकास बैंकको ९ लाख कित्ता सेयर लिलाममा
काठमाडौं । सहारा विकास बैंकले ९ लाख कित्ता सेयर लिलाम गर्ने भएको छ । बैंकले चैत १२ गतेदेखि ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता संस्थापक सेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको जनाएको छ । बैंकले गत वर्ष २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो । बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।