तत्काललाई ६ हजार जनशक्तिको दरबन्दी पदपूर्ति, ५ प्रतिशत व्याजमा ऋण
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले किसानले प्राविधिक सेवा पाउने ग्यारेण्टी दिँदै तत्कालका ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गर्ने बताए । बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहमा रहेका करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेको र हालका लागि ६ हजारलाई रोजगारी दिने घोषणा गरेका हुन् । लामो समयसम्म मौनतामा रहेका मन्त्री भूसालले आफ्नो परीक्षाका लागि आफैले प्रश्न उठाएको भन्दै कृषकले उत्पादन गरेका हरेक सामानको मूल्य तोक्ने र बिक्री भए सरकारले खरिद गर्ने जानकारी दिए । ‘हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी व्याजमा सुलभ ऋण प्रदान गर्नुका साथै सहुलियत ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्था अन्त्य गरिनेछ’ कृषिमन्त्री भूसालले भने । किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ ध्यान दिँदै कृषि उत्पादनमा दिगोपना सिर्जना गर्न पाँच नीतिगत आधारलाई अगाडी बढाउने कृषिमन्त्री भूसालले जानकारी दिए । उनले पन्चनीति सार्वजनिक गर्दै भने, ‘ उत्पादन सामग्री अनुदान, कृषकलाई सहुलियत कर्जा, घरदैलो प्राविधिक सेवा टेवा, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेण्टीलाई आधार शिला मान्दै आगामी दिनमा मन्त्रालय काम कार्य गर्ने तथा दलाल पुँजीवादलाई निरुतसाहित गर्नेछु ।’
सरकारले घोषणा गरेको आर्थिक विकासको सुरु वर्षमा बैंकमा निक्षेप र ऋण दुबै घट्यो
काठमाडौं । सरकारले चालु आर्थिक वर्षलाई समृद्धि र विकासको सुरु वर्ष घोषणा गरेको छ । सरकार गठन भएको पहिलो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्षको रुपमा घोषणा गरेको सरकारले दोस्रो वर्षलाई विकास र समृद्धि सुरु वर्षको रुपमा घोषणा गरेको थियो । सरकारले यसरी विकास सुरु वर्ष घोषणा गरेपनि यो वर्षको सूचकले अपेक्षाकृत सफलता हासिल हुनेमा शका उत्पन्न गरेको छ । यद्यपि, पछिल्लो समय विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणलाई कारण देखाउँदै प्रश्न र गुनासोहरुबाट जोगिन पाउने अवसर भने सरकारले पाएको छ । कोरोना भाइरस संक्रमण देखाएर सरकारले आर्थिक विकास र समृद्धिका सूचकबाट पन्छिन पाउने सुविधा भएपनि तथ्यांकले भने अर्थतन्त्रले सोभन्दा अगाडि नै अपेक्षित गति लिन नसकेका देखाएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा र बैंकमा जम्मा हुने निक्षेप गत आर्थिक वर्षकोभन्दा पनि कम भएको पाइएको छ । गत आर्थिक वर्षको उपलब्धीप्रति प्रश्न उठेपछि सरकारले सो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्ष भएको भन्दै चालु आर्थिक वर्षलाई विकास सुरु वर्ष भनेको थियो । तर, विकास सुरु भनिएको वर्षमा नै बैंकिङ क्षेत्रका गतिविधि गत आर्थिक वर्षको भन्दा सुस्त देखिएका छन् । अर्थतन्त्रको रक्त संचार मानिने बैंकिङ गतविधिमा सुस्तता आउँदा सरकारको अपेक्षा अनुसार विकासले गति लिन नसकेको प्रष्ट हुन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा गत आर्थिक वर्षको तुलनामा निक्षेप रकम बृद्धिदर कम छ । यस्तै कर्जा प्रवाहको बृद्धिदर पनि घटेको छ । निक्षेप परिचालन बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.७ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्षको निक्षेप बृद्धिदर कम छ । गत माघ मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३३.५ प्रतिशत र ४७.६ प्रतिशत थियो । माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत छ । अघिल्लो वर्षको माघ मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत थियो । कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो । कर्जा प्रवाहको बृद्धिदर पनि गत वर्षको भन्दा घटेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ माघ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.४ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.४ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १०.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ १०.२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.२ प्रतिशत र सेवा क्षेत्रतर्फ ११.८ प्रतिशतले कर्जा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १८.३ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.७ प्रतिशत र हायर पर्चेज कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले घटेको छ । तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा खुला बजार कारोबारमार्फत् कुल ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो । राष्ट्र बैंकले रिपोमार्फत ९१ अर्ब ६४ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल १ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २१ अर्ब ३ करोड र स्थायी तरलता सुविधामार्फत ६ अर्ब ७२ करोड रुपैयाँ गरी कुल २७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब २ करोड खुद खरिद गरी २ खर्ब ३० अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७२ करोड खुद खरिद गरी १ खर्ब ९७ अर्ब ६६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । यस्तै, अमेरिकी डलर २ अर्ब ४० करोड बिक्री गरी २ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ३ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद गरिएको थियो । पुनरकर्जा उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ माघ मसान्तमा २१ अर्ब १९ करोड रुपैयाँ लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब १७ करोड रुपैयाँ र निर्यात पुनरकर्जा १ अर्ब ३८ करोड रुपैयाँ उपयोग भएको छ । भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ माघ मसान्तमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा १ हजार ५ सय ९२ ऋणीले उपयोग गरेका राष्ट्र बैंकले जानकारी दिएको छ । सहुलियतपूर्ण कर्जा गत माघ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २२ हजार ३ सय २४ ऋणीको ४७ अर्ब १६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३ हजार ७ सय ८० ऋणीको २ अर्ब ३१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अन्तर–बैंक कारोबार गत माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुबीच १० खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच १ खर्ब ३७ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः ८ खर्ब ४२ अर्ब १० करोड र १ खर्ब २६ अर्ब ४ करोड रुपैयाँको यस्तो कारोबार गरेका थिए ।
हिमालय टेलिभिजनमा ‘डान्सिङ वीथ द स्टार्स’, मुख्य प्रायोजकमा आइएमई
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको डान्सिङ रियालिटी सोको फ्रेन्चाइज लिइ नेपाली संस्करणमा हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ । विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् “डान्सिङ वीथ द स्टार नेपाल” रहने छ । सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुनेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको १७औं एक्सटेन्सन काउन्टर भक्तपुरमा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायणमा १७औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त बैंकको नयाँ एक्सटेन्सन काउन्टर वित्तीय पहुँचमा सहयोग पुर्याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको हो । नयाँ खुलेको दुवाकोटास्थित उक्त काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । एनआईबीएलले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
तनहुँमा ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित
तनहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार सामुदायिक विद्यालयतर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा र आठ सय ७३ छात्र गरी एक हजार चार सय ८४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन् । जसमा छात्रातर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९८ रहेका छन् । गत वर्ष जिल्लामा छ हजार दुई सय ९१ विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् । रासस
घट्न थाल्यो रेमिटान्स, साढे ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति
काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा रेमिटान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको गत माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो । गत माघसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय १.१ प्रतिशतले कम भएर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति माघसम्ममा चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ । पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ थियो । शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक गत आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.७ प्रतिशत, ७०.८ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।
सुदूरपश्चिममा ५५ हजार विद्यार्थीले एसइई दिंदै
डोटी । बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तर पुस्तिकालगायत सामग्री पुगिसकेका छन् । प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी जम्मा ५४ हजार ५३७ विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् । प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ विद्यार्थी सहभागी हुने भएका तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेका क्षेत्रीय शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गाराज विष्टले जानकारी दिएका छन् । उनका अनुसार सभ्य तथा मर्यादित एसइई सञ्चालनका लागि प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ । त्यस्तै, परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताए । यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर सहायता कक्ष ‘हेल्थ डेस्क’ राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको जनाइएको छ । क्षेत्रीय शिक्षा विकास निर्देशनालयले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरूसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रहसमेत गरेको छ । रासस
वाणिज्य बैंकको २९औँ एक्स्टेन्शन काउन्टर सिन्धुलीमा
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरेका हुन् । उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । प्रजिअ गौतमले भने, “धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।” एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोवार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने उनको भनाइ छ । वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटिएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ ।