काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सामान अभावको समयमा कालोबजारी गर्नेहरुलाई चोक चोकमा ल्याएर सबैले चिन्ने गरी कारबाही गर्न सरकरालाई निर्देशन दिएका छन् ।
उनले उद्योगमन्त्री लेखराज भटट्लाई अगाडि राखेर कोरोनाको त्रासकाे समयलाई माैका छोपी कालोबजारी बढेकाले त्यस्ता कालोबजारी गर्नेहरुलाई सार्वजनिक स्थल वा चोक-चोकमा ल्याएर सामाजिक कारबाही गर्नुपर्ने बताएका हुन् ।
‘पछिल्लो समय कालोबजारी बढदै गएको छ, प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा अनुगमन गरी कालोबजारी गर्नेहरुलाई सबैले चिन्ने गरेर कार्वाही हुने पर्छ’ श्रीवास्तवले भने ।
उद्योग मन्त्रालयले कोरोना भाइरस संक्रमणको त्रासको समयमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्याधिक मूल्य असुली नगर्न ब्यवसायीलाई आग्रह गर्दै आएकाे छ । मन्त्रालयले त्रासको समयमा हुने कृत्रिम अभाव, कालाेबजारी, अत्याधिक मूल्य असुली, गुणस्तरहीन वस्तुको बिक्री नगर्न र नगराउन व्यवसायीलाई आग्रह गरेको गरिरहेकाे छ।
कृत्रिम अभाव देखाउने व्यापारीमाथि कारबाही गर्ने चेतावनी सरकारी प्रशासनबाट आइरहे पनि उपभोक्ता भने ठोस कदमको पर्खाइमा छन् । सरकारको अनुगमन गर्ने निकाय वाणिज्य विभागले प्रत्येक दिन दुई–चार अनुगमन टोली नखटाएको होइन । तर, प्रत्येक टोलमा फैलिएको कृत्रिम अभावको जालो तोड्न केही संख्याका प्रतिनिधि पर्याप्त छैनन् ।
बजारमा भइरहेकाे कृतिम अभावलाई रोक्नका लागि गाउँ, नगरपालिका र प्रदेश स्तरसम्म जनप्रतिनिधि र कर्मचारीको अनुगमन टोली निर्माण गर्नु पर्ने आवश्यक छ ।