विकासन्युज

त्रिविले पनि गर्यो सबै परीक्षा स्थगित गर्ने निर्णय (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विकासन्यूजलाई जानकारी दिए । ‘एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए, हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन, त्यसैले परीक्षा स्थगित गर्नका लागि अहिले बैठक बस्यौं, बैठकमा सबैले स्थगित गर्ने भन्ने कूरा गरेपछि स्थगित गर्ने निर्णय गर्यौं’, उनले भने । उनले परीक्षासँगै त्रिविअन्तर्गतका सबै क्याम्पसहरुकाे पठनपाठन पनि बन्द गरिएको जानकारी दिए । शिक्षा मन्त्रलायले भने बुधबार साँझ नै एसईई लगायतका सबै परिक्षाहरु बन्द गर्न निर्णय गरेको थियो । तर, त्रिवि एक स्वायत संस्था भएकोले शिक्षा मन्त्रलायको निर्णयले त्रिविको परिक्षा रोकिने निश्चित नभएको भन्दै त्रिविले आज आपतकालिन बैठक बोलाएको थियो । त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ  । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।

एकैदिन तोलामा १५ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । एकै दिन सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी एकै दिनमा ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

एक दशकसम्म पनि बनेनन् कर्णाली राजमार्गका तेह्र पुल

काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन् । गत असोजमा सम्पन्न गर्नुपर्ने ती पुलको म्याद पुनः थपिएको छ । म्याद थपसँगै निर्माणको काम अझै ढिलो हुने देखिएको छ । एक दशकदेखि निर्माण शुरु गरिएका करिब २० वटा पक्की पुलमध्ये सातवटा मात्र निर्माण सम्पन्न भएका छन् । अझै १३ वटा पुल निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । अधिकांश पुलमा मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने पेटी ठेकेदारले केही रकम बचाएर अर्कालाई जिम्मा दिने प्रवृत्तिका कारण पुल अलपत्र बनेको स्थानीयवासीको गुनासो छ । साँघुरो सडक र निर्माणाधीन पुल समयमै नसकिएपछि यात्रु दैनिक हैरानी खेप्नुपर्ने बाध्यतामा रहेका छन् । दैलेख खण्ड हुँदै जुम्लासम्म पुग्ने सो राजमार्गका पक्की पुलको जिम्मा लिएका कम्पनीको अन्तिम म्याद गत असोजसम्म थप गरिएको थियो । सरकारले पुनः नयाँ निर्देशिका जारी गरेपछि अहिले चार महिनादेखि एक वर्षसम्मको समय थप गरिएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए। उनले अन्तिम पटकका लागि म्याद थपिएको समयभित्र काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने बताए । सो राजमार्गको दैलेख खण्डका किटुखोला, जाक्सीखोला, पातलखोला, भट्टेखोला, पाल्तडाँलगायतका स्थानका पुल अझै निर्माण सम्पन्न हुनसकेका छैनन् । तल्लो डुगेश्वर सियाकोट जोड्ने लुवाखोलापुल सडकको सतहभन्दा होचो छ । रतिखोला पुल पनि अझै सम्पन्न भएको छैन । आठबीस नगरपालिका दैलेखका नगरप्रमुख खड्गराज उपाध्यायले तत्काल काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए । उनले राजमार्गमा पर्ने पुल निर्माण लिएका कम्पनीलाई बोलाएर छिटोसक्न ताकेता दिएको बताए । यातायातलाई सहज र प्रभावकारी बनाउन नेपाल सरकार र विश्व बैंकले अर्बौं लगानी गर्दा नागरिकका समस्यालाई निर्माण कम्पनीले ध्यान नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सुर्खेत सडक डिभिजन कार्यालयले दिएको जानकारीअनुसार पुल एउटै कम्पनीले विभिन्न कम्पनीसँग जेभी गरेर काम थालनी गरेको हो । रासस

विश्वविद्यालयहरुका सबै परीक्षा स्थगित

काठमाडौं ।  त्रिभुवनलगायत सबै विश्वविद्यालयद्वारा सञ्चालन हुने सबै परीक्षाहरु स्थगित भएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयले संचालन गर्ने परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे जानकारी दिए । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण फैलिरहेको बेला सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको उनले बताए । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । ‘नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ, बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो, बैठकपछि सरकारलेएसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो,’ उनले भने । यसबारे औपचारिक निर्णय भने केहीबेरमा सम्बन्धित मन्त्रालयले जानकारी दिने उनकाे भनाइ छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार थियो । यस्तै, सरकारले एसईईको परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको हो ।

विहीबार मन्त्रिपरिषद बैठक बस्ने, गभर्नर सिफारिस समिति बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता वित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसबाट बच्न र यसको सन्त्रासबाट उत्पन्न भएको आर्थिकलगायतका संकटन सामना गर्न मन्त्रिपरिषदले नीतिगत निर्णय गर्नुपर्ने वाध्यात्मक अवस्था आएपछि मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपनि सो पदमा नियुक्तिको लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदले नै अग्रसरता लिनुपर्ने भएकोले बैठक बोलाउन लागिएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दियो । ‘कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनिकरण र आवश्यक सावधानीका विषयमा केही नीतिगत निर्णय गर्नुपर्ने अवस्था छ, यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति पनि बनाउनु पर्ने भएकोले मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो,’ सचिवालय स्रोतले भने । सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका केही नीतिगत निर्णय मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने भएकोले तत्काल मन्त्रिपरिषद बैठक डाक्नुपर्ने भएको हो । मन्त्रिपरिषद बैठक विहीबारको लागि बोलाइएको स्रोतको दाबी छ ।

मेगा बैंकका ग्राहकले घरमै नर्सिङ सेवा पाउने

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंकसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरुलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले बिभिन्न अस्पताल तथा स्वास्थय संस्थासँग सम्झौता गरिसकेको छ ।

भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलि(चैत ६ गते) देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को संक्रमण र त्रास बढिरहेको बेला सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले पूरक निर्णय गर्दै एसईई रोक्ने निर्णय भएको विकासन्यूजलाई जानकारी दिए । काेराेना भाइरस (कोभिड १९) काे रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएकाे  छ। अब परीक्षा कहिलेदेखि सञ्चालन हुने हाे भने निर्णय आएको छैन । सरकारका तर्फबाट भने यसबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन । यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षा चैत ६ गतेदेखि तोकेको थियो । यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

कोरोनाको त्रासबीच फागुनमा करिब ५० हजार नेपाली विदेशीए

काठमाडौं । विश्व कोरोनाको त्रासमा रहेको अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्ला महिनामा जस्तो छ । गत माघमा ४८ हजार ६ सय ७४ जना नेपाली विदेशीयका थिए भने फागुन महिनामा ४९ हजार ४ सय ५० नेपाली युवा बाहिरीयका छन् । जसमा ४५ हजार ४ सय ६८ पुरुषले भने ३ हजार ९ सय ८२ संख्यामा महिला रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । अर्थतन्त्रमा अबल रहेका देशहरुले नै आर्थिक संकट घोषणा गरेसँगै नेपाली अर्थतन्त्रको खम्बा डग्मगाएको छ । नेपालको कुल अर्थतन्त्रको २० प्रतिशत धार धान्ने रेमिट्यान्स गुम्ने हो कि भन्ने चिन्ता सरकारलाई छ भने लाखौं व्यक्तिको दैनिक गुजारा गर्नकै लागि विदेशीने युवाको संख्या यो महामारी (कोभिड १९) को संक्रमण फैलिदा पनि खासै नघटेको पाइयो । फागुन महिनाको अन्तिम सातादेखि सरकारले श्रम स्वीकृति बन्द गरेको थियो । नेपालीको स्वास्थ्य अवस्थाप्रति सरकारले मध्यनजर गर्दै श्रम स्वीकृति नै रोक्का गरिएको हो । फागुनको १ गतेदेखि २५ गतेसम्मको तथ्यांकनुसार यूएई जानका लागि सबैभन्दा बढी नेपाली युवा जनशक्तिले श्रम स्वीकृति लिएका छन् । १२ हजार १ सय ६ जनाले श्रम स्वीकृति लिएको यूएई पछि साउदीमा ११ हजार २ सय १५ जना, मलेसियाका लागि १० हजार ९ सय १५ युवाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारमा ८ हजार ४ सय १३ जना बाहिरीय, कुवेत २ हजार २ सय ९२ जना, ७ सय ३० जनाले बहराइका लागि र जापानका लागि ५ सय ५१ जना विदेशीय जस्तै सो समयमा अन्य ८७ वटा मुलुकमा गएका छन् । गत वर्षको तथ्यांक हेर्ने हो, भने वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि देश छोड्नु पर्ने अवस्था रहेको छ । औसत भन्ने हो भने, दैनिक १२ सयभन्दा बढी नेपाली नागरिक विदेशीने गर्छन ।