अब बिद्युत महसुल तिर्न ढिलाई भएपनि जरिवाना नलाग्ने
काठमाडौं । अब बिद्युत महसुल तिर्न ढिलाई भए जरिवाना नलाग्ने भएकाे छ । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने बताइएकाे छ । विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । सरकारले २५ जनाभन्दा बढीकाे भिड नगर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे । याे भन्दा अगाडि प्राधकरणमा विद्युत महसुल तिर्नेकाे भिड लाग्ने गर्थ्याे ।
स्टक ब्रोकर्स एशोसिएसनको सेवा बन्द
काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको ब्रोकर एसोसिएसनको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्ने सहमति गरसँगै चैत ९ गते अर्थात आजदेखि उक्त सेवा बन्द गरिएको एशोसिएसनको महासचिव धर्मराज सापकोटाले बताएका छन् । अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङको थप निर्देशन अनुसार अघि बढ्ने महासचिव सापकोटाले बताए ।
युएई रहेका नेपालीलाई नआत्तिन राजदूतावासले गर्याे अनुराेध
युएई । संयुक्त अरब इमिरेट्स (युएई) को लागि नेपाली राजदूतवासले सम्पूर्ण नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । युएईमा कार्यरत रहेका नेपालीहरुलाई सामूहिक रुपमा फर्काइन सक्ने भन्ने समाचारलाई ध्यानमा राख्दै त्यो सारा समाचारले भ्रम फैलाएको भन्दै दूतावासले सूचना प्रकाशन गरेको छ । युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रुपमा कम देखिएसँगै युएई सरकारले चालेका नीति तथा कार्यक्रमको प्रभाव देखिएको जानकारी दिएको छ । युएईमा रहेका नेपालीको हित र सुरक्षाका लागि राजदूतावास युएई सरकारका सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘हामीले आवश्यक सहयोग र सद्धाव पाएका छौं, सबैसँग सम्पर्कमा नियमित रुपमा हुन्छ’ उनले भने । यहाँ रहेका सम्पूर्ण नेपालीलाई सामुहिक रुपमा नेपाल फर्काउने भन्ने गलत प्रचार दूतावासको ध्यान केन्द्रित जानकारी दिएका छन् ।
स्यानिटाइजर पाइएन ? यो छ सस्तो र सर्वशुलभ नेपाली स्यानिटाइजर
काठमाडौं । कसैलाई मोवाइलमा फोन गर्नुभयो भने रिङव्याक टोनमा कोरोना भाइरस संक्रमणबाट कसरी बच्ने भन्ने सन्देश आउँछ । सन्देशको अन्तिमतिर ‘गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुहोस’ भन्ने सुझाव पनि सुन्न सकिन्छ । तर, बजारमा स्यानिजाइजरको अभाव छ । भएका स्यानिटाइजरको गुणस्तरका हिसावले ढुुक्क हुन सक्ने अवस्था छैन । बजारमा पाइने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्ड अनुसारका स्यानिटाइजर छन कि छैनन् भनेर आश्वास्त हुन सक्ने अवस्था पनि छैन । कोरोना भाइरसबाट बच्न स्यानिटाइर राम्रो विकल्प हो । स्यानिटाइजरभन्दा राम्रो विकल्प साबुन पानीले हात धुनु हो भने जनस्वास्थ्यविज्ञहरुले भनिरहेका छन् । तर साबुनपानी नपाएको अवस्थामा विकल्पको रुपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ । साबुनपानी नभएको र स्यानिटाइजर पनि नपाएको अवस्थामा के गर्ने त ? यस्तो फसाद पर्यो भने नेपालभरका अधिकांश किराना पसलमा पाइने सन्चो अर्काे उपयुक्त विकल्प हुन सक्छ । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा एटी व्याक्टेरियल तथा एन्टी भाइरसयुक्त वनस्पतीको तेल मिलाइएकोले स्यानिटाइजरको विकल्पको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्की बताउँछन् । ‘सन्चोमा विभिन्न प्रकारका वनस्पतीहरुको तेलको समिश्रण हुन्छ, ती वनस्पतीका तेलले एन्टी व्याक्टेरियल र एन्टी भाइरल काम गर्ने प्रमाणित भइसकेको छ, त्यसैले सन्चोले स्यानिटाइजरकै काम गर्छ भनेर दाबी गर्न त सकिदैन तर एन्टी भाइरल र एन्टी व्याक्टेरियल गुण भएका वनस्पतीको तेल भएकोले स्यानिटाइजरको काम गर्छ भनेर सिफारिस गर्न सकिन्छ,’ महाप्रबन्धक कार्कीले विकासन्युजसँग भने । सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न नसकिनुका पछाडिका कारण पनि महाप्रबन्धक कार्कीले खुलाए । ‘हामी सरकारी स्वामित्वको कम्पनी हौं, स्यानिटाइजरको लागि कुन कुन वस्तु कति मात्रामा राखेर बनाउनु पर्छ भनेर डब्लुएचओले मापदण्ड तोकेको छ, सो मापदण्ड अनुसारको केमिकल सन्चोमा मिसाइएको हुँदैन, सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर डब्लुएचओले मान्यता दिएको कुनै ल्यावबाट परीक्षण गरेर प्रमाणित भएको पनि छैन, त्यसैले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न हामीलाई केही अप्ठेरो छ,’ कार्कीले भने । स्यानिटाइजरमा रहेको ७० प्रतिशतभन्दा बढी मात्राको अल्कोहल लगाएर हात मिच्दा हातमा भएका व्याक्टेरिया तथा भाइरस मर्छन भन्ने कारणले स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिइएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् । नेपाली उत्पादनले व्याक्टेरिया तथा भाइरस संक्रमण रोक्न सक्ने क्षमता राख्छन् भने त्यस्ता उत्पादनलाई स्यानिटाइजर नाम नदिइ पनि प्रयोग गर्न सकिने दाहालको भनाइ छ । नेपालमा पाइने मसल, मेन्था, सिट्रोनला जस्ता वनस्पतीको तेलमा एन्टी व्याक्टेरियल तथा एन्टी भाइरल गुण हुन वनस्पती विभागका महानिर्देशक धनन्जय पौडेल बताउँछन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा पनि यस्तै बनस्पतीको तेल मिसाउने गरिएकोले स्यानिटाइजरको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक कार्कीको भनाइ छ । सम्बन्धित सामग्री १० करोड लगानी थपेर स्यानिटाइजर बनाउँदै जडीबुटी उत्पादन कम्पनी स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक
कोरोनाकाे शंकामा महिला सांसद अस्पताल भर्ना
काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक जना महिला सांसद काेराेनाकाे शंकामा अस्पताल भर्ना भएकी छन् । उनी आइतबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन् । तर, उनकाे नाम भने गाेप्य राखिएकाे छ । उनमा काेराेना भए नभएकाे थाहा पाउन उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ ल्याइएकाे अस्पतालले बताएकाे छ । लामाे समयदेखि रुघाखोकी र ज्वराे आएपछि उनी अस्पताल भर्ना भएकी अस्पताल स्रोतले जनाएको छ । अस्पतालले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आईसोलेसन वार्डमा राखिएको बताएकाे छ ।
धितोपत्र बोर्डले भन्योः बजार खोल्नु भनेको छैन, प्रधानमन्त्रीको कुरा नटेरेर आफै जोखिम लिनेलाई हामीले के भन्ने ?
काठमाडौं । पुँजी बजारको नियामक निकाय निकाय धितोपत्र बोर्डले आज सेयर बजार बन्द रहने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गत शुक्रबार गरेको सम्बोधन अनुसार आज बजार बन्द भएको र कसैले आफैले जोखिम लिएर बजार खोलेमा त्यो विषयमा केही बताउँन नसकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘प्रधानमन्त्रीले शुक्रबार गर्नुभएको सम्बोधन अनुसार आज सेयर बजार बन्द हो, खोल्नुपर्ने कारण भए हामीले खोल्न बेग्लै निर्देशन दिने थियौं, बजार खोल्न निर्देशन नदिनु भनको आज बजार बन्द नै हो, कसैले आफ्नै रिस्कमा बजार खोलेको भए त्यो उसैको कुरा हो,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । आज बजार खोल्नुको अर्थ सरकारको निर्णयको अवज्ञा गर्नुभएको पनि अध्यक्ष ढुंगानाले बताए । ‘विश्वभर फैलिएको कोरोनो संक्रमणबाट बच्नको लागि सरकारले पहल गरेको छ, सरकारको आग्रह र निर्देशनको अवज्ञा गरेर कसैले बजार खोल्छ भने बेग्लै कुरा हो, प्रधानमन्त्रीको निर्देशन नै नमान्नेहरुलाई मैले अहिले थप केही भन्न सक्दिनँ,’ ढुंगानाले भने । प्रधानमन्त्री ओलीले गत शुक्रबार सरकारकाे नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सेवाहरू बन्द गर्न आग्रह गरेकाे थियाे । सरकाले तयार पारेकाे राजपत्रकाे सूचीमा सेयर बजार अत्यावश्यक सेवामा परेकाे छैन । त्यसैले आजदेखि सेयर काराेबार हुनु पर्ने हाे । ‘प्रधानमन्त्रीकाे सम्बाेधनले बजार स्वतः बन्द हाे । अब बजार खाेल्नु पर्ने भएचाँहि बाेर्डकाे निर्देशन चाहिन्थ्याे । अहिले हामीले खाेल्ने कुरा गरेकै छैन ।’- ढुंगानाले थपे। तर सरकारकाे विपरित पनि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार सेयर बजार खाेलेकाे छ ।
आज विभिन्न ठाउँमा ग्यास बाँडिदै, कुन ग्यास कहाँ पाइन्छ ?
काठमाडाैं । नेपाल आयल निगमले आज विभिन्न ठाउँमा ग्यास बाड्ने भएकाे छ । कोरोना भाइरसका त्रासका कारण खाद्य सामाग्रीसँगै एलपी ग्याँसको अभाव हुन थालेपछि निगमले आज विभिन्न ठाउँमा ग्यास बाड्ने भएकाे हाे । उपभोक्ताले सहज रुपमा ग्याँस नपाएको गुनासो बढेपछि काठमाडौं उपत्यकामा कारोबार गर्ने ग्यास कम्पनीहरुले आज साँझ ५ बजेसम्म विभिन्न स्थानमा एलपी ग्याँस वितरण गर्ने जनाइएकाे छ । कुन कम्पनीको ग्यास कहाँ वितरण हुँदैछ ? १. नेपालरतारा ग्यास – बीएमसी कर्नर बालाजु, अनामनगर स्टोर, अनामनगर, एसएस स्टोर, सातदोबाटो २. सगररचण्डी ग्याँस – बिक्री डिपो, जडिबुटी ३. एचटीसी ग्याँस – साल्ट टे«डिङ कर्पोरेशन कालीमाटी, जडिबुटी गोदाम ४. ओम ग्याँस – आदर्श स्टोर थली, डाँछी, उत्सव खड्का नैकाप ५. बाबारश्रीरलुम्बिनी ग्याँस – भद्र फ्युल सेन्टर कपन, इलाईट स्टिल अगाडि, धुम्बाराही ६. एचपी ग्याँस – असीम किचेन एण्ड ग्याँस सप्लायर्स ७. सिद्धार्थ ग्याँस – केसी एलपी ग्याँस सप्लायर्स, इमाडोल ८. श्री माया ग्याँस – कम्पनीको डिपो, सतुंगल ९.लोकप्रिय ग्याँस – भान्जा ट्रेडर्स, नैकाप १०. सूर्य ग्याँस – जोशी भीमसेन स्टोर, जगाती ११. गीता ग्याँस – टोयटा शोरुमको अगाडि धुम्बाराही १२. राजधानी ग्याँस –बिक्री डिपो, सीतापाइला १३. हिमाल ग्याँस – प्रयास टेडर्स एण्ड सप्लायर्स, भगवती बहाल १४. नमस्ते – कुमार स्टोर, कागेश्वरी मनहरा १५. भानु ग्याँस – लीला ग्याँस डिपो, गोंगबु १६. एभरेष्ट- सुगम ग्याँस – ग्याँस एण्ड अक्सिजन ट्रेड, सिफल १७. श्रीराम ग्याँस – सेल्स डिपो, हरिसिद्धी
साताकाे पहिलाे दिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन
काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन एक हजार रुपैयाँ बढेर ७६ हजार २ हजारमा कारोबार भइरहेको छ । त्यस्तै गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चादी २० रुपैयाँ बढेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।