कोरोनाबारे गलतसूचना सम्प्रेषण गर्नेविरुद्द अनलाइनबाट उजुरी गर्न सकिने
काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाएर गलत सूचना सम्प्रेषण गर्नेविरुद्द उजुरी गर्न आग्रह गरेको छ । काउन्सिलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र जिम्मेवारी व्यक्तिले अफवाह फैलाएकाे उल्लेख गर्दै त्यस्ताे गर्नेविरूद्द उजुरी गर्न आग्रह गरेको हाे । काउन्सिलले गलत सूचना, समाचार सम्प्रेषण नगर्न निर्देशनसमेत दिएको छ । साथै, संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले समेत आम मानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कसैले अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिलले अनुरोध गरेको छ । त्यसका लागि http://complain.presscouncilnepal.org वा[email protected] मा उजुरी गर्न सकिने जनाइएको छ ।
कोरोना भाइरसबाट सुरक्षित रहन हिमालयन बैंकले चाल्याे यस्ताे कदम
काठमाडौं । हिमालयन बैंकले कोरोना संक्रमणको महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ । जसबाच बच्न बैंकले स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरुलाई आत्मसाथ गर्दै बैंकले उक्त कदम चालेको हो । आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ । त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग सम्पर्क गर्नु पर्ने भएकोले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तापक्रम नापि निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसँग आवश्यक परामर्श गर्न आग्रह गरेको छ ।
८ महिनामा साढे २२ प्रतिशतले बढ्याे निर्यात, आयात २ प्रतिशतले घट्याे
काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कूल ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा करीब २५ अर्ब कम हो । गत आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा कुल ९ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो । यस्तै, सोही अवधिमा कूल ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आर्थिक वर्ष २०७५/७६ का तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आर्थिकमा कूल ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । विभागका अनुसार मुलुकको कूल व्यापार नौ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार रुपैयाँ बराबर भएको छ । गत आर्थिकमा भने १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो । पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् । भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ । चालू आर्थिक वर्षको आठ महिनामा सो भन्सारबाट कूल तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ । यस्तै सोही नाकाबाट कूल २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कूल २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ । भैरहवा भन्सारबाट कूल एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ । उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट कूल ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ । देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ । रासस
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त मन्दिरलाई बक्स हस्तान्तरण गरी सहयोग गरेको हो । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गरेका हुन् । बैैंकले ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।
यति एयरलाइन्सले पनि भाडा घटायो
काठमाडौं । यति एयरलाइन्सले पनि भाडा घटाएकाे छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यतिले हवाई भाडा घटाएको बताएको हो । यति एयरले अब भद्रपुरको भाडादर ९ हजारबाट अधिकतम सिमा ६२ सय रुपैयाँ कायम गरेको छ । बिराटनगरको ७ हजार ४ सय ४५ रुपैयाँबाट ५५ सय कायम गरिएको छ । भैरहवाको ६१ सयबाट ४९ सय कायम भएको छ । नेपालगन्जको ९ हजार ८ सय ५० बाट ६३ सय कायम गरिएको छ । पोखराको ५ हजारबाट ३७ सय रुपैयाँ कायम गरिएको छ । अन्य गन्तब्यको भने अधिकतम मूल्य यथावत राखिएको छ । यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्मका लागि कायम रहने कमपनीले जनाएको छ । घटेको भाडादर १० चैतबाट २१ चैतसम्म कायम रहने भएको छ । आन्तरिक उडानतर्फ नेपालका तीन वटै ठूला एयरलाइन्सले भाडा घटाएका छन् । यति एयरलाइन्सले समेत भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको छ । यसअघि बुद्ध एयरले आइतबार र श्री एयरलाइन्सले शनिबारनै अधिकतम् मूल्य घटाउने निर्णय गरेका थिए । संकटकालिन अवस्थामा वायुसेवा कम्पनीले अधिकतम् भाडा लिएपछि कम्पनीहरु व्यापक आलोचना भएको थियो । त्यसपछि शनिबार नै पर्यटन मन्त्री योगेश भट्टराईले भाडादर समायोजन गर्न सुझाव दिएका थिए ।
सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरुले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् । हाल बैंकले १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
अतिआवश्यक उद्योग तथा व्यवसायमात्र संचालन गर्न महासंघ आग्रह
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै नेपाल सरकारले अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्न निर्देशक दिएको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी व्यवसायीलाई कोरोना भाइरसको प्रकोपबाट सुरक्षित राख्नका लागि अति आवश्यक उद्योग र व्यवसाय मात्र संचालन गर्न निर्देशन दिएको हो । आजबाट न्युरोडका अधिकांश पसल बन्द भएकाे जानकारी दिँदै सरकारबाट निर्देशित अन्य क्षेत्रहरू बन्द गरी आफू पनि बच्न र अरुलाई पनि बचाउन महासंघका अध्यक्ष नरेश कटुवालले आग्रह गरेका छन् । ‘नेपाल संकटको घडीमा रहेको छ, सबै आपतकालीन निर्णयहरुलाई सिरोपर गर्दै व्यवसायिक धर्म र संवेदनशीतलाई ख्याल गरी आवश्यक सहयोग गर्नु पर्नेछ’ अध्यक्ष कटुवालले भने ।
बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनः बैंक बन्द नगर्नु, सकेसम्म न्युनतम कर्मचारीले काम गर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्न निर्देशन दिएको छ । आइतबार एक सूचना सार्वजनिक गर्दै बैंकले सम्पूर्ण बैंकले सो कूरा निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न बैंकले निर्देशन दिएके छ । बैंकले कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजिनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासंभव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न, यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम र सिफ्टवाइज वर्क लगायतका व्यवस्था अवलम्ब गर्न निर्देशन दिएकाे हाे । बैंक तथा वित्तीय संस्थाहरुलाई सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चतताका साथ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको संभावनालाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्न पनि भनिएको छ ।