८ महिनामा साढे २२ प्रतिशतले बढ्याे निर्यात, आयात २ प्रतिशतले घट्याे

<p>काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कूल ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा करीब [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कूल ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षको तुलनामा करीब २५ अर्ब कम हो । गत आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा कुल ९ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो ।

यस्तै, सोही अवधिमा कूल ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आर्थिक वर्ष २०७५/७६ का तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आर्थिकमा कूल ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । विभागका अनुसार मुलुकको कूल व्यापार नौ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार रुपैयाँ बराबर भएको छ ।

गत आर्थिकमा भने १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो । पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् । भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ ।

चालू आर्थिक वर्षको आठ महिनामा सो भन्सारबाट कूल तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ । यस्तै सोही नाकाबाट कूल २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कूल २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ ।

भैरहवा भन्सारबाट कूल एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ ।

उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट कूल ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ । देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ । रासस

Share News