कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको सहयाेग
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिक रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ । कोरोना रोकथामका निमित्त आवश्यक पर्ने नमूना परीक्षण किट एवं स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गर्न सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ को समन्वयमा गरेकाे छ । सरकारी अस्पतालमा खर्च गर्ने प्रयोजनको लागि कान्तिपुरसँगको सहकार्यमा यस बैंक समेतको साझेदारीमा ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’को स्थापना गरिएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले १५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त कोषमा जो सुकै व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न सक्नु हुनेछ सो को लागि यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिनेछ । त्यसैगरी यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्दै आएको छ ।
सीमा नाका बन्द भएपनि पट्राेलियम पदार्थ सहज आउने
काठमाडाैं । सरकारले चीन र भारतका सीमा नाकाहरू बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ भने सहज रूपमा आउने जनाइएकाे छ । नेपाल आयल निगमले साेमबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थ सहज आपूर्ति हुने बताएकाे हाे । ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गरिने निर्णय मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी गरिन्छ,’ सूचनामा लेखिएकाे छ । साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यालप प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानीय प्रशासन तथा भन्सारसंग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न हुन निर्देशन दिइएकाे छ ।
कृषि विकास बैंकद्वारा बेलहिया नाकामा सावुन पानीले हात धुने व्यवस्था
काठमाडौं । कृषि बिकास बैंकले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा सावुन पानीले हात धुने व्यवस्था गरेको छ । बैंकले भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाएको हो । जसका लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको छ । साथै, संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराएका छन् । उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामाग्रिहरु रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी महादेव पन्त र कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले संयुक्त रुपमा सावुन पानीले हात धोएर शुरु गरेका थिए । साथै, बैंकका निर्देशकले उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काेराेना भाइरसकाे महामारी नियन्त्रण गर्न के गर्दैछ नेपाली सेना ?
काठमाडौं । कोरोना भाइरस (कोभिड – १९) ले विश्वव्यापी महामारी निम्त्याइरहेका बेला नेपाली सेनाले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अघि बढाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डा काठमाडौंले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्नका लागि भइरहेको तयारीबारे जानकारी गराएको हो । ‘कोरोना भाइरसको कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट र सब युनिटहरू तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ,’ नेपाली सेनाद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ । सेनाले सकलदर्जाहरुको सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको जनाएको छ । साथै सेनाले सकलदर्जालाई ब्यारेकभित्र नै लकडाउन गरिएको जनाएको छ ।
कोरोना अपडेट: विश्वभर १४ हजार ७ सयको मृत्यु, २ लाख २६ हजार संक्रमित
काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म १४ हजार ७ सय ४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । २ लाख २६ हजार ३ सय १२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ५ हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६ सय ८५ जना सङक्रमित रहेका छन् । सात हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७ सय ६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५ सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ११ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ९ सय ६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ३ हजार १ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । ७ हजार ७ सय २४ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २ सय ४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ६ सय १९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४ सय १ सङ्क्रमित भएका छन् । यसैबीच ३ सय ४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ७ व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । रासस/एएफपी
कोरोना संक्रमणको त्रासबीच कसरी चल्दैछन् बीमा कम्पनीहरु ?
काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट बच्न नेपालमा पनि उच्च शतर्कता अपनाइएको छ । सरकारले चैत महिनाभरको लागि उच्च शतर्कताका विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अन्य कार्यक्रमसँगै सरकारले यो समयमा अत्यावश्यक बाहेकका प्रायः सबै सेवा बन्द गरेको छ । अत्यावश्यक सेवामा अन्य १९ वटा सेवासँगै बीमा पनि पर्छ । त्रासका बीच बीमा कम्पनीहरुले कसरी सेवा प्रदान गरिरहका छन् वा कसरी बीमा कम्पनी संचालन भइरहेका छन् भन्ने विषयमा हामीले जीवनी बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था जीवन बिमक संघ र निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था निर्जीवन बिमक संघका अध्यक्षसँग बुझ्ने प्रयास गरेका छौं । यो त्रासको बीचमा पनि सेवा प्रवाहमा कुनै सम्झौता नगरी ग्राहकलाई सकेसम्म धेरै सेवा दिने प्रबन्ध मिलाइएको संघहरुका अध्यक्षले जानकारी दिए । जीवन बिमक संघको अध्यक्ष सूर्या लाइफ इन्स्यारेसन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छन् भने निर्जीवन बिमक संघको अध्यक्ष शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे छन् । जीवन बिमक संघ जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डे सेवा प्रवाहमा ग्राहकलाई अप्ठेरो नपर्ने व्यवस्था कम्पनीहरुले गरेको बताउँछन् । कोरोना भाइरस संक्रमणको त्रास तथा सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेकोले कार्यालय खोल्न गाह्रो भएपनि कम्पनीहरुले अधिकतम प्रयास गरेर सेवा सुचारु गरिरहेको बताए । ‘यस्तो बेलामा कार्यालय खोलेर सेवा प्रवाह गर्न सजिलो छैन, तर बीमा व्यवसाय अत्यावस्यक सेवाभित्र पर्ने भएकोले हामीले हरसम्भव प्रयास गरेर सेवा प्रवाह गरिरहेका छौं,’ सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । जीवन बिमक संघले सेवा संचालन गर्नको लागि यस्ता निर्णय गरेको छः १. नेपाल राजपत्र बमोजिम बीमा सेवा अत्यावश्यक सेवा भएको र नेपाल सरकारबाट मिति २०७६।१२।९ देखि २०७६।१२।२१ आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएकाले जीवन बीमा व्यवसाय गर्ने कम्पनीले सोही बमोजिम जीवन बीमा सेवा सुचारु रुपमा संचालन गर्ने । २. जीवन बीमा कम्पनीहरुले बीमा सेवा सुचारु गर्दा कोभिड १९ भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धि आधारभूत सुरक्षाका उपयुक्त उपायहरु अवलम्बन गर्ने । ३. कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस भन्ने उदेश्यले न्यूनतम कर्मचारीबाट बीमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउँने । ४. विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै बीमा अभिकर्ताको इजाजतपत्र नविकरण गर्ने म्याद थप गर्न बीमा समितिमा अनुरोध गर्ने । ५. विकसित घटनाक्रमलाई मध्यनजर गर्दे संघले सम्बन्धित सरोकार व्यक्ति तथा बीमा समितिसँग आवश्यक छलफल तथा पारामर्श गरी उपयुक्त निर्णय लिदै जाने । निर्जीवन बिमक संघ निर्जीवन बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपप्रकाश पाण्डेले निर्जीवन बीमा कम्पनीहरु पनि यथासम्भव बढी सुविधा दिने प्रयत्नमा रहेको बताए । कोरोना संक्रमण सन्त्रासको समयमा कार्यालय खोलेर सेवा प्रवाह सुचारु राख्नु चुनौतिपूर्ण भएपनि आफूहरुले त्यसको उचित व्यवस्थापन गरेको अध्यक्ष पाण्डेको भनाइ छ । निर्जीवन बीमा कम्पनीहरुले विगतमा दिए जस्तै सेवा दिनको लागि आवश्यक प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘हामीले जे जति समस्या र अप्ठेरो भोग्नुपरे पनि ग्राहकलाई प्रदान गर्ने सेवामा कुनै कमी आउन नदिने गरी प्रबन्ध मिलाएका छौं, अहिले पनि हिजोका दिनमा ग्राहकले जे जस्तो सेवा पाउनु भएको थियो, त्यस्तो सेवा पाउनु भएको छ, फोनबाट हुने काममा फोनबाटैै तथा अन्यका कामका लगि २४ सै घण्टा हामी सेवामा समर्पित छौं,’ शिखर इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । मुख्य कुरा दाबी–भुक्तानी रहेको र आपूmहरुले त्यसमा कुनै अवरोध नआउने गरी आवश्यक प्रबन्ध मिलाइएकोले ग्राहकलाई अप्ठेरो नपर्ने उनको भनाइ छ ।
उपत्यकामा दुई दिन बत्ती नबल्ने, कुन-कुन ठाउँमा हाे हेर्नुस् ?
काठमाडौँ । चैत ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले दुई दिन कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन अवरुद्ध हुने बताएकाे हाे । कलङ्कीदेखि ढुंगेधारा सम्मको चक्रपथ विस्तार कार्यको लागि स्वीचाटार– स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो लाइनको विद्युत् अवरुद्ध हुने भएको हो । उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री लगायतका ग्राहकमा असुविधा पर्ने भएको छ । प्राधिकरणले निर्धारित समय अगावै सो कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु गर्ने जनाएको छ ।
कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै, सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेशनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा बैंकले रु १५ लाख आर्थिक सहयोग प्रदान गरेकोे छ । कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो । यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए । बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।