नेपालमा कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ । संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।
के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?
काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् । तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ । वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे । यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो । स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।
नाकामा आइपुगेकाहरुको बारेमा साच्नेछौं, भीसा अवधि सकेकाको लम्ब्याइनेछः मन्त्री ज्ञवाली
काठमाडाैं । विश्वभर कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएको छ । सरकरले यसको जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु पनि गरिरहेको छ । नेपालमा एक जना युवतीमा कोरोना पोजेटिभ देखिएसँगै आजदेखि एक हप्ताको लागि लक डाउन पनि घोषणा गरिसकेको छ । स्वदेशमा मात्र होइन विदेशमा पनि धेरै नेपालीहरु छन् । नेपालीहरु रहेको देशहरुमा कोरोनाको अवस्था र कोरोना भाइरसको संक्रमणबीच विदेशमा रहेका लाखौं नेपालीको हकमा सरकारले के गरिरहेको छ भन्ने विषयमा बिबिसीले परराष्ट्रमन्त्री प्रदिप प्रसाद ज्ञवालीसँग कूराकानी गरेको छ । त्यही कुराकानीमा आधारित भएर तयार पारेको योे सम्पादित अंश । नेपाली राजदुत र नियोग प्रमुखहरुसँग के-के विषयमा कुराकानी भयो ? पश्चिमी खाडी मुलुकलगायत अफ्रिकी देशहरुमा नेपालीहरुको संख्या ठूलो मात्रामा छ । प्रायः सबै मुलुकहरुमा कोरोनाको संक्रमण भएको अवस्था छ । ती देशमा रहेका नेपालीहरुको स्वास्थ्यको चासो सरकारको उच्च प्राथमिकतामा हुने नै भयो । त्यसै कारणले पश्चिम एसिया र अफ्रिकामा रहेका हाम्रा नियोग प्रमुखहरुसँग छलफल गर्नका लागि यो बैठक आयोजना गरेका हौं । सबै राजदुतहरुले त्यहाँको अवस्थाको बारेमा जानकारी दिनुभयो । त्यसमा चारवटा कूराहरुमा निश्कर्ष निकालिएको छ । पहिलो, अहिलेसम्म युएईमा दुई जना बहराइनमा तीन जना गरेर पाँच जना नेपालीहरु संक्रमित छन् । अरु सबै सुरक्षित छन् । संक्रमितहरुको अवस्था पनि सामान्य नै छ । उनीहरु खतराभन्दा बाहिर नै हुनुहुन्छ । दोस्रो, त्यो क्षेत्रका सबै सरकारहरुले आफ्ना नागरिक र प्रवासीहरुलाई उपचारको विषयमा समान व्यवहार गरेको हुनाले हामीलाई तत्काल त्यस्तो ठूलो अप्ठ्यारो परेको छैन । उहाँहरुले आ आफ्ना नागरिकहरुलाई दिएजस्तै सुविधा दिइरहेका छन् । तेस्रो, ठूला कम्पनीहरुले पनि कामको बिदा र आफ्नै ठाउँबाट काम गर्ने सुविधा दिएका छन् । हाम्रा कामदारहरुको रोजगार खोसिएको र रोजगार बञ्चित पनि हुनु परेको अवस्था छैन । तर, साना कम्पनीमा त्यो समस्या आउँछ की भन्ने चिन्ता छ । र ,चौथो धेरै ठाउँमा लक डाउन गरिसकेका छन् । धेरै ठाउँ नेपालीलाई पनि क्वारेन्टाइनमा पनि राखिएको छ । त्यहाँ पनि उनीहरु सुरक्षित छन् । यीनै विषयमा आजको बैठक भएको हो । भीसा अवधि सकिएकोलाई नेपाल ल्याउने केही कुराकानी भयो ? हो, त्यो विषयमा पनि हामीले कूराकानी गरेका छौं । नियोग प्रमुख र सम्बन्धित राजदुतहरुले सम्बन्धित सरकारसँग कूराकानी गरिरहनु भएको छ । अहिले भीसा सकिएकै कारण सम्बन्धित मुलुक छोडी हाल्नु पर्ने अवस्था छैन । यो कठिन अवस्थालाई सम्बन्धित सरकारले लचकताका साथ निर्णय गर्ने विश्वास छ । भीसा सकिएकै कारण उनीहरुलाई आपतकालिन उद्धार गर्नु पर्ने र उनीहरु आँतिनु पर्ने अवस्था छैन । भनेपछि भीसा सकिसकेकाको बसाईँ लम्ब्याउन सकिन्छ ? उनीहरुको बसाई लम्ब्याउन सकिने गरेर अस्थाई बन्दोबस्त गर्ने कुराकानी भइरहेको छ । भारतका विभिन्न शहरबाट आउने नेपालीहरु नाकामा अड्किएको कुरा छ, त्यो विषयमा केही गर्ने कूरा भएको छ ? त्यो विषय सरकारको जानकारीमा छ । हामीले आज बिहान दश बजेदेखि लागु हुने गरी सबै सीमा नाकाहरुबाट नागरिकहरुको आगमन भयो । हामीले रोकेको सूचना थाहा नपाएर वा भारतमा संक्रमण बढ्दै गएको कारणले नेपालीहरु सीमा क्षेत्रमा आइपुग्नु भएको हामीले जानकारी पाएका छौं । यसको बारेमा हामी निरन्तर दिल्लीस्थित दुतावाससँग सम्पर्क गरिरहेका छौं । यो सम्बन्धमा सरकारले कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने बारेमा आन्तारिक छलफल भइरकेको छ । त्यसमा कति समय लाग्ला ? यो त आपतकालिन् अवस्था हो । पहिला त यथार्थमा कति संख्या छ भन्ने बारे रिपोर्ट लिइसकेपछि आवश्यक कदमहरु चाल्छौं । अन्त्यमा, जो भारतबाट आएर नाकामै छन, उनीहरुका विषयमा केही गर्नु पर्ने यहाँहरुले सोच्नु भएको छ ? अहिले तुरुन्तै त्यस बारे निर्णय भएको अवस्था छैन । वास्तवमा सरकारको निर्णय रोक्ने भन्ने नै हो । हामीले दुईटा कूरालाई सँसँगै हेर्नु पर्ने अवस्था छ । यता तिर नेपालीहरु आफ्नो देशभित्र फर्किन पाउने उहाँहरुको स्वभाविक चाहना हो । सँसँगै सरकारले गरेको निर्णय खास गरेर कोरोनाको संक्रमण देशभित्र नआओस् भन्नका लागि सरकारको पहिलो रणनीति हो । यी दुईटा कूराको बीचमा रहेर हामीले केही उपायहरु खोज्छौं । नेपालीहरुले धेरै दु.ख पाउनु नपरोस् भन्ने कूरामा सरकार सचेत छ । यो निर्णयको परिपेक्ष्यमा उहाँहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेछ ।
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले आगामी ४ (चार) वर्षसम्म बैंकको कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्ने छन् । विगत ७ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत रहेका कोइराला हाल यस बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनीसँग समग्र बैकिङ क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् ।
कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग
काठमाडौं । भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’ विपत्को घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनले बताए । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं,’ उनले भने । विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ । भाटभटेनी समूहले विपत्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ ।
सरकार ! बैंक किन खाेल्ने ? कसरी खाेल्ने ?
काठमाडाैं । हिजो नेपाल सरकारले अत्यन्त सुझबुझका साथ चैत्र १८ गतेसम्मका लागि लकडाउन गर्ने ब्यबस्था गर्यो। यो ब्यबस्था संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गरिएको हो। ऐन बनेको ५६ बर्षमा पहिलो पटक यो ब्यबस्था प्रयोग गर्नुपर्ने स्थिति किन आयो भनेर मनन गर्नु पर्ने देखिन्छ। सरकारको पहिलेको निर्णयमा आवश्यक सेवा संचालनमा राख्ने गरी आएको थियो भने अहिले केहि सेवाहरु तोकेर निर्णय गरिएको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामानहरु ओसार पसार गर्ने यातायात सेवा पनि आवश्यक सेवामा पर्दछन तर बन्द गरिएको छ। बैकिङ भन्दा अति आबश्यक सेवा पनि यसरी बन्द गरिएको संक्रामक रोग ऐन २०२० अन्तर्गत हो तर बैकिङ खोल्ने नखोल्ने भनेर हिजोबाट यति धेरै कन्फूजन भएको अवस्था छ। यस सन्दर्भमा संक्रामक रोग ऐन, २०२० को दफा मा विशेष व्यवस्था गर्ने अधिकार को उपदफा ३ मा निम्न कुरा उल्लेख छ। “सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।” आवश्यक सेवा सञ्चालन ऐन, २०१४को दफा ७ मा अरु नेपाल कानूनसँग बाझिएमा गर्ने सम्बन्धमा निम्नअनुसारकाे व्यवस्था छ । “प्रचलित नेपाल कानूनमा जे सुकै लेखिएको भए तापनि यो ऐन र यस ऐन अन्तर्गत निकालिएको आदेशमा लेखिएकोमा सोही बमोजिम रअरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।” यति प्रष्ट ब्यबस्था र सरकारी निर्णय हुदाहुदै पनि काेभिड १९ सर्ने धेरै सम्भावना भएको नगद समात्न र दिन बैकका कर्मचारी पैदल भएपनि पठाउनु पर्ने जस्तो देखिनु र कर्मचारीहरुमा त्रास र अन्यौलको स्थिति सृजना हुनु राम्रो देखिदैन। बैक खोले पनि हिजो भएको सरकारी निर्णयमा ‘पैसा निकाल्न र जम्मा गर्न आवत जावत गर्न पाईने’ उल्लेख छैन । मतलब उक्त प्रयोजनको लागि बैंक ग्राहक पुग्ने स्थिति छैन भने किन बैंकको शाखाहरु कर्मचारीको त्रास र भाईरसको जोखिम सहित खोल्नु पर्ने भो र? भुक्तानी सेवा महत्वपूर्ण छ तर त्यसको लागि बैकल्पीक उपायहरु धेरै दिईसकिएको छ। एटीएमबाट पैसा झिक्न मिल्ने सीमा बढाई सकिएको छ भने राष्ट्र बैकले पनि डिजिटल पेमेन्टको सिमा बढाएर निर्दैशन जारी गरिसकेको छ। आपतविपदमा उधारो मै लिएर पनि सामान किन्न सक्ने स्थिति हुन्छ भने सबै अस्पतालहरुमा डेविट कार्ड र क्रेडिट कार्ड मार्फत भुक्तानी हुन्छ नै। चेकको भुक्तानी पनि राष्ट्र बैकले गरेको व्यबस्था पश्चात विश्वसनीय भैसकेको छ। जम्मा गर्नुपर्ने पैसा ६्/७ दिन घरमा राख्दा आपद नै पर्दैन । यसैले काेभिड १९ को सम्भावित जोखिम र हाम्रो सेवा सुचारु सम्बन्धी व्यबस्थामा छलफल गरी निर्णय गर्नुपर्छ । यदि बैंक खोल्नु नै पर्ने भएमा तत्सम्बन्धमा ब्यबस्था गरेर राष्ट्र बैंकको विवेकी र प्रष्ट निर्दैशन जरुरी देखिन्छ।(फेसबुकबाट)
‘लक डाउन’मा के गर्न पाइने र के गर्न नपाइने ?
काठमाडौं । सरकारले ११ चैतदेखि १८ चैतसम्म देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । यस्तो लक डाउनको समयमा सरकारले नागरिकका अधिकांश अधिकार निलम्बन गर्ने गर्छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि विश्वभरका विभिन्न देशहरुले यस्तो लक डाउन गरिरहेका छन् । सरकारले कोरोना संक्रमण फैलन सक्ने सम्भावना देखिएकोले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनको समयमा गर्न पाइने र नपाइने क्रियाकलापहरु यस्ता छन्ः १. औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा घर बाहिर निस्कन पाइन्छ । अत्यावश्यक बाहेकको काममा घरबाट बाहिर निस्कन पाइदैन । २. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सवै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधान संचालन गर्न पाइदैन । ३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सवै प्रकारका आन्तरिक व्यवसायिक उडानहरु बन्द हुन्छन् । ४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसंचार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक पर्ने सेवा वाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र कार्यालयमा उपस्थित हुन्छन्, अन्य सवै प्रकारका कार्यालयहरु बन्द हुन्छन् । अति आवश्यक पर्ने बाहेकका सरकारी कार्यालयहरु पनि बन्द हुन्छन् । कर्मचारीलाई विदा दिइन्छ । ५. औषधी तथा स्वास्थ्य उपकरण, खाद्यान्न, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरुबाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग, कलकारखना बन्द हुन्छन् । बन्द हुने उद्योग तथा कलकारखनामा काम गर्ने कर्मचारीहरुले विदा पाउँछन् । ६. व्यवसायीहरुले औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्नुपर्छ । अभाव देखाइ मूल्य बृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई सरकारले नियन्त्रणमा लिएर सामग्री जफत गरी रोगको रोकथाम र उपचार कार्यमा प्रयोग गर्छ । ७. संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा २ बमोजिम सरकारले अहिले गरेको लक डाउन आदेश कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपालका सबै प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिने र सोको लागि स्थानीय प्रशासन ऐन २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने सरकारको निर्णय छ । सम्बन्धित सामग्री मंगलबारबाट नेपाल पूर्ण रुपमा ‘लक डाउन’, घर बाहिर निस्कन नपाइने (निर्णयसहित)
बीमा कारोबार सहज बनाउने निर्णय, अबस्था सामान्य भएपछि पोलिसी नविकरण पाइने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूकाे काराेबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेकाे छ । विश्वभरी महामारीकाे रूपमा काेराेना भाइरस फैलिएकाे र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा काराेबारकाे भुक्तानी प्रकिया सरल बनाएकाे हाे । बीमा कम्पनीहरूले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएकाे समितिले जनाएकाे छ । बीमा क्षेत्रमा धेरै काराेबार चेक भुक्तानी विधिबाट हुने गरेकाेमा अब डिजिटल काराेबारले प्राथमिकता पाउने छ । बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय पनि थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि नै जानकारी दिनुपर्ने निर्देशन बीमा समितिले दिएकाे छ ।