निर्माण व्यवसाय विकास परिषद्ले एक करोड दिने
काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रूपैयाँ दिने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको हाे । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित छन् । परिषद्को गत बुधबार बसेको बैठकको निर्णयानुसार सो रकम जम्मा गरिएको सदस्य सचिव सहसचिव गोपालप्रसाद सिग्देलले बताएका छन् । परिषद्मा पूर्वाधार निर्माणसम्बन्धी मन्त्रालय तथा निकायका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासङघको प्रतिनिधि रहेका छन् ।
मंगलबारबाट नेपाल पूर्ण रुपमा ‘लक डाउन’, घर बाहिर निस्कन नपाइने (निर्णयसहित)
काठमाडौँ । सरकारले भोलि(मंगलबार)देखि देशलाई पूर्ण रुपमा लक डाउन गर्ने भएकाे छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भाेली बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको हो । सरकारले भाेलिदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेकाे बताएकाे छ । लक डाउनमा अनावश्यक बाहिर निस्कन पाइने छैन । सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछन्। सरकारले हिजाे मात्रै भारततर्फका सबै नाका बन्द गर्ने निर्णय गरेकाे थियाे भने चीनतर्फका पहिले नै गरिसकेका छन् ।आज एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले यस्तो निर्णय लिएको हो। सरकारले उल्लेखित निर्णयहरूकाे पालना नगर्ने र काममा बाधा पुर्याउनेलाई कारबाही गर्ने बताएकाे छ ।
कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड दिने
काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेकाे हाे । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे थियाे ।
विराटनगरमा मङ्गलबारदेखि ‘लक डाउन’
काठमाडाैं । कोभिड-१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात् लक डाउन गर्ने निर्णय गरिएको महानगर प्रमुुख भीम पराजुुलीले बताए । खाद्यान्न, औषधि, खानेपानी, विद्युत्, एम्बुलेन्ससेवालगायत अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुुलीले बताए । सुुरक्षाका लागि नगरवासीले स्वयम् लक डाउन गरेको बुझ्न उनले आग्रह गरे । उद्योग धन्दा कलकारखाना तथा बजार, पसल तथा यातायातका साधन बन्द भए पनि अति आवश्यक पसल भने खुला रहने छन् । विराटनगर लक डाउन भए पनि बिरामीलाई अस्पताल लानुपरेमा वा मरिमराउको अवस्थामा यातायातको साधन प्रयोय गर्न सकिने उनले बताए। अति आवश्यक कामबाहेक घरबाट बाहिर हिँलडुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ । सङ्कटका बेलामा कालाबजारी नर्गन व्यापारीलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले अनुरोध गरेको छ ।
नेपालमा कोरोना देखिएसँगै सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई तयारी अवस्थामा राखिने
काठमाडौं । नेपालमा कोरोना भाइरस देखिएसँगै सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका काम नहुनेभन्दा पनि सेवाग्राही कार्यालय पुग्ने भएकाले कर्मचारीलाई कार्यालय नगइ घरमा तयारी अवस्थामा राख्न लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । तर, कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको भने बिदा हुने छैन । कोरोनाको त्रास बढदै जाँदा सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कार्यालय बन्द गरेर सरकारले आवागमन रोक्न लागेको हो । सडक लगायत सार्वजनिक स्थलमा आवागमन रोक्न प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्ने भएको छ ।
आपतकालिन अवस्थासँग जुध्न सरकारसँग सहकार्य गर्दै नेपाल उद्योग परिसंघ
काठमाडाैं । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न नेपाल उद्योग परिसंघले सरकारसँग सहकार्य सुरु गर्ने भएकाे छ । निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के-कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा परिसंघको प्रतिनिधि मण्डलले साेमबार सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप-प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ । सरकालाई निजी क्षेत्रले सघाउन सक्ने क्षेत्रहरु आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित रह्यो । उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट पार्नु भयो । यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराए । उक्त छलफल कार्यक्रममा परिसंघका पदाधिकारी तथा गभनिङ्ग काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।
रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर सित्तैमा पाइने
काठमाडाैं । मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ । यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यक्ता पुरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ । किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शुन्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने छन् । विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्छन् । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
२४ घण्टाभित्र कोरोना संक्रमित युवती चढेको सबै यात्रुसँग सम्पर्क गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएकी युवती चढेको हवाईजहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाईले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई २४ घण्टाभित्र यात्रुहरु पत्ता लगाउन निर्देशन दिएको हो । ईकाईले महाशाखालाई जहाजका यात्रुसहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु, उनको सम्पर्कमा आएका अन्य व्यक्ति समेतलाई परिक्षण गर्न निर्देशन जारी गरेकाे हाे । सोमबार कतार एयरवेजबाट नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएका अन्य यात्रुले पनि परीक्षण गनुपर्ने धारणा नागरिकले मात्र हाेइनन् विज्ञहरूले पनि राखेका छन् । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी उक्त युवतीलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलाेचन पाैड्यालका उनुसार उनी कतारको दोहाबाट क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।