
काठमाडौं । कृषि बिकास बैंकले रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा सावुन पानीले हात धुने व्यवस्था गरेको छ । बैंकले भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाएको हो ।
जसका लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको छ ।
साथै, संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराएका छन् ।
उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामाग्रिहरु रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी महादेव पन्त र कृषि विकास बैंक ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले संयुक्त रुपमा सावुन पानीले हात धोएर शुरु गरेका थिए ।
साथै, बैंकका निर्देशकले उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।