विकासन्युज

कोरोना रोकथाम कोषमा एनसेलकाे १० करोड सहयोग, निजी क्षेत्रबाट सबैभन्दा ठूलाे राशी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई उक्त रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । काेषमा निजी क्षेत्रबाट जम्मा भएकाे याे सबैभन्दा ठूलाे रकम हाे । यो सहयोग कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । ‘सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड-१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने । ‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड-१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड-१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड-१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ/स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं । स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्याउँदै आएको छ ।

भारतबाट भित्रिए ८० मालवाहक गाडीः एलपी ग्यास ७ बुलेट, पेट्रोलका १०, अरू कति ?

काठमाडाैं । भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ । सूचना अधिकारी लम्सालले भने, ‘एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।’ कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारी साधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताए । अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन् । ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो । उनले भने, ‘आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन् । केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन् ।’ कोभिड-१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ । सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन् । आज भने स्थलमार्ग हुँदै एक जनाले पनि वारपार गरेका छैनन् । रासस

टेलिकमले थप्यो महसुल तिर्ने समय, जरिवाना पनि नलाग्ने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुको महसुल तिर्ने समय थपेको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरेको सन्दर्भमा टेलिकमले उक्त समयावधी थपेको हो । साथै, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने टेलिकमका प्रवक्ता राजेश जाेशीले बताएका छन् । पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकलाई निरन्तर उपलब्ध गराउने भएको छ । यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने कम्पनीले जनाएको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्यूयोर्क । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । उपचारको क्रममा न्यूयोर्क अस्पतालमा ५० वर्षिय अनिल सुब्बाको मृत्यु भएको हो ।  पाँचथर घर भएका सुब्बा आफ्नो छोरा, छोरी तथा श्रीमतीको साथमा अमेरिका बस्दै आएका थिए । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुने सुब्बा पहिलो नेपाली मुलुकका नागरिक हुन् । उनी मधुमेह र उच्च रक्तचापको रोगी थिए । यस अगाडी बेलायतमा एक नेपालीकाे मृत्यु भएकाे थियाे । सम्बन्धित समाचार : अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ

पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ । केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ । ‘पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ,’ राष्ट्र बैंक संचालक समितिका एक सदस्यले विकासन्युजसँग भने । राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् । यसमध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए । यसअघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडीसहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।

झापाका सबै पत्रपत्रिका आजदेखि बन्द

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका चैत ११ गते(आज)बाट बन्द भएका छन् । पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए । झापाका सम्पादक/प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ । झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् । झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस

सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । यसका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । कोभिड–१९ को जोखिम रहेकाले मुलुकमा जथाभावी मानिस प्रवेश गर्दा र हिँडडुल गर्दा रोग फैलनसक्ने खतरालाई मध्यनगर गरी सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको थियो । चैत १८ गते विहान ६ बजेसमम उक्त आदेश लागु हुनेछ । “आफु पनि सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित राखौँ भन्ने मनसायका साथ सरकारले आव्हान गरेको हो, आजको सुरक्षा अबस्था र सीमामा भइरहेको गतिविधिको बैठकमा समीक्षा पनि भयो, नागरिकको साथ छ भन्ने निष्कर्ष छ”, बैठकपछि मन्त्री खतिवडाले भने । उनले पूर्वसूचना नपाएर वा अन्य कारणले यात्रा कायमै राखेर आएका नेपाली दक्षिणी सीमा क्षेत्रमा बसेको जानकारी आएकाले बीच बाटोमा अलपत्र नपरुन् भनेर आज अन्तिम पटक एक दिनका लागि आउन खुला गर्ने निर्णय बैठकले गरेको जानकारी दिए। उनीहरुलाई नेपाली हो भन्ने परिचय पत्र हेरेर मात्रै छाडिने छ । कतिपय स्वास्थ्य उपकरणहरुको स्थानीय बजारमा आपूर्ति नभएको अबस्थामा अन्तर्राष्ट्रिय बजारबाट छिटो ल्याउनुपर्ने आवश्यकता महसुस गरी सरकारले निजी क्षेत्रबाट ल्याउन आव्हान गर्ने निर्णय पनि गरेको छ । आपूर्तिलाई सहज बनाउन उक्त निर्णय गरेको मन्त्री डा खतिवडाले बताए । सरकारले चीन र भारतबाट मेडिकल किट ल्याउने विषयमा पहल गरिरहेको समेत उनले जानकारी । सरकारीस्तरबाट समय लाग्न सक्ने भएकाले निजी क्षेत्रले ल्याउन सक्ने भए त्यसका लागि समेत प्रस्ताव ल्याउन सरकारले आव्हान गरे । उनीहरलाई हवाईलगायत अन्य सेवा आवश्यक भए नेपाल सरकारले सहयोग गर्ने जनाएको छ । अत्यावश्यक बाहेक बाहिर ननिस्कुन र अत्यावश्यक बाहेक गाडी नचलाउनु भनेर सरकारले गरेको आव्हानलाई आम–नेपालीले पालना गरेर अपेक्षामा साथ दिएको भन्दै सरकारले धन्यवाद समेत दिएको छ । सरकारी कोषमा रकम जम्मा गर्नुपर्ने सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी केन्द्रीय कोष बनाइसकेकाले सबैलाई उक्त कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ । यसअघि कोष खडा गरेर जम्मा गरिएको रकम एक हप्ताभित्र कोषमा जम्मा गर्न समेत सरकारले आग्रह गरेको छ । “कुनै संस्थाले कोष खडा गरिसकेको रहेछ भने आफू मातहतका संस्था, कर्मचारी र निकायका व्यक्तिको रकम मात्रै सङ्कलन गर्नुपर्ने हुन्छ, तर त्यो केन्द्रीय कोषमा हरेक हप्ता जम्मा गर्नुपर्छ”, बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री डा खतिवडाले भने । वीर अस्पताल, धुलिखेल अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोगको परीक्षणका लागि तत्कालै यन्त्र उपकरण जडान गर्ने र त्यो नबन्दासम्म सवारी साधनको माध्यामबाट टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा छिटो भन्दा छिटो परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ । बैठकमा आजको अबस्थाबारे समीक्षा भएको जानकारी दिँदै मन्त्री डा खतिवडाले नागरिकको सुरक्षाका लागि सरकारले काम गरेको र आपतकालिन कफर््यू लगाएको अवस्था नभएकाले अझै कडाइ गर्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष समेत निकालेको जानकारी गराए। तर केही छिटफुट कमीकमजोरीलाई भने सच्याएर जाने सरकारले बताएको छ । मन्त्री डा खतिवडाले भने, “भिडभाडमा हिँड्दा सङ्क्रमण हुन्छ की भन्ने हो, जोखिम नलिऔँ भनेर आव्हान गरिएको हो, नागरिकले पालना गरिरहेका छन्, कहीँ कतै यस्तो अवस्था भएमा सच्चाएर सरकार अघि बढ्छ ।” सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड १९ को रोकथाम र निर्मूूल गर्न अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत् दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ । औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने आदेशमा भनिएको छ । रासस

कोरोनाको प्रभाव: गाउँतिर चहलपहल शहरमा सुनसान

काठमाडौं । केही दिन यतादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ वस्तीमा निकै चहल पहल बढेको छ । युवा तथा परदेश गएका युवाहरु धमाधम गाउँघर फर्किएपछि यहाँका गाउँवस्तीहरु भरिभराउ देखिएका छन् । यता गाउँघरमा चहलपहल बढेपनि यहाँका प्रमुख बजार भने करिब सुनसान अवस्थामा रहेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुन नदिन आजबाट देशैभरि ‘लकडाउन’ गरेपछि जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्ला बजार सुनसान हुन पुगेको हो । बजारमा यातायातका साधन समेत चल्न छोडेपछि झनै सुनसान भएको दिपायल पिपल्लाका स्थानीय सर्वजित देउवाले बताए। उनले भने, “हिजो अस्तिसम्म भारत लगायत अन्य ठाउँबाट मानिस आउने गरेका कारण बजारमा ठूलै चहल पहल हुने गर्दथ्यो, हिजो आज त बजारमा मानिस भित्रिन छोडेका छन् र यातायातका साधन पनि ठप्प भएपछि सुनसान भएको छ ।” स्थानीय भन्छन्– यतिखेर बजारको चहलपहल वस्तीतिर सरेको छ । सरकारले सोमबार साँझ ‘लकडाउन’को घोषणा गरेसँगै यहाँका बजार व्यवसाय, कलकारखाना, यातायातका साधन बन्द भएपछि पिपल्ला, राजपुर, दिपायलका ठाउँहरुमा व्यवसाय गर्दै आएका व्यापारीहरु पनि पसल बन्द गरेर बसेका छन् । अधिकांश भने आ–आफना घर तथा गाउँमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुन सक्ने भन्दै स्थानीयवासीहरु पनि आफ्ना घर बाहिर निस्किन सकेका छैनन् । त्यस्तै यहाँको स्थानीय प्रशासानले समेत निषेधाज्ञा जारी गरेसँगै घरबाहिर ननिस्कीन भन्दै प्रहरीले बजारमा गएराति देखि नै माइकिङ गर्न थालेको छ । बजारमा बिनाकाम निस्किने, भिड गर्ने लगायतका निषेधित कार्य गर्नेलाई प्रशासानले कारवाही गर्ने बताएपछि कारवाहीमा परिने डरले पनि स्थानीयबासी घरबाहिर ननिस्केका राजपुरका स्थानीय राजेन्द्रबहादुर शाहले बताए। उनले भने, “सरकारले घर बाहिर निस्किए कारवाही हुने भनी माइकिङ गरेपछि कतिपय मानिस घरभित्रै बसेका छन् भने गाउँमा घर भएकाहरु गाउँतिरै गइसकेका छन् ।” यहाँका बजारमा सुरक्षाकर्मीहरुको मात्रै बाक्लो उपस्थिति देखिन थालेको छ । कोरोना भाइरसको सतर्कतास्वरुप विद्यालय, क्याम्पस तथा कार्यालयहरु बन्द भएसँगै यहाँका गाउँ बस्तीमा चहलपहल बढेको हो । केही दिन अघिसम्म सुनसान देखिएका यहाँका ग्रामीण वस्तीमा दशैँमा भन्दा पनि बढी नै चहलपहल हुन थालेको स्थानीयहरु बताउँछन् । रोजगारीका लागि भारत तथा शहर बजारमा गएका मात्र नभएर तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाईँ सरेकाहरुसमेत हिजो आज गाउँघरमै फर्किएका जोरायल गाउँपालिका वडा नं ३ का स्थानीय गमबहादुर खड्काले जानकारी दिए। उनले भने, “वर्षौँ पहिले गाउँ छोडेर तरार्इ तथा शहर बजारमा बसाईँ सरी गएकाहरु पनि हिजो आज धमाधम गाउँ फर्किन थालेका छन्, दशैँ तिहार जस्ता ठूला चाड भन्दा कम्ती छैन अहिले गाउँघर ।” बजार तथा पसल बन्द भएसँगै जिल्लामा खाद्यन्नका लागि समस्या हुने कतिपयले आँकलन गर्न थालेका छन् । त्यस्तै नयाँ वर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका बिभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु नयाँ वर्षको अवसरमा पारेर पनि केही घर आएका छन् । बडीकेदार गाउँपालिकाका स्थानीय प्रकाशबहादुर कलेलले भने, “प्रत्येक सालको नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयले बिसु पर्वका रुपमा मनाउने गर्दछन्, त्यसैले बिसु पर्व मनाउन गाउँ फर्किएकाहरुका कारण पनि गाउँमा केही चहल पहल बढेको हो ।” बिसु पर्व मानाउन घर फर्किनेमा अधिकांस सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका मानिस छन् । उनीहरुमा कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरु बढी छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न शहरबाट गाउँ फर्किएका छन् । यसवर्ष कोरोना भाइरस (कोभिड १९) का कारण झन् यसरी घर फर्किनेको सङ्ख्या बढ्न पुगेको हो । भारतमा पनि नेपालीले काम गर्ने ठूला कम्पनीहरु हालका लागि बन्द हुन थालेका कारण सुदूरपश्चिमेलीहरुलाई घर फर्किनुपर्ने बाध्यता पनि आइलागेको केही युवा बताउँछन् । स्थानीयहरु घर फर्किएका कारण यात्रुको चाप निकै बढेकाले यहाँका पहाडी क्षेत्रका प्रत्येक रुटमा कम्तीमा २ वटा गाडी थपगरिएको छ । तर दुई सिदन यता लामो दुरीका साधन चल्न नदिएपछि भने अहिले यहाँका सडकहरु पनि सुनसान भएका छन् । केही दिन यतादेखिको यात्रुहरुको चापका कारण यहाँका पहाडी क्षेत्रका होटेलहरु पनि खचाखच भएका थिए । डडेल्धुरा र दिपायलका होटेलमा यात्रुहरुले खचाखच भएकोमा आज बन्द भएसँगै उनीहरु गाउँ फर्किन थालेका छन् । तर टाढाका यात्रु भने सवारी साधनको अभावमा यतै बसिरहेका छन् । तर आज रातिदेखि भने यहाँका होटेल तथा रेष्टुराहरु पनि बन्द हुने होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए । यतिखेर कामका लागि भारत गएका मात्र नभई पहाडबाट बसाइँ सरी तराई गएकाहरु पनि बिसु पर्व मनाउन आफ्नो गाउँ तथा जन्मथलो फर्किने बेला हो । केआइसिंह गाउँपालिका वडा नं ३ बासुदेबीका स्थानीय सेरु ऐरले भन्नुभयो, “शहर भन्दा गाउँमा बढी स्थानीयको चहल पहल बढेको छ, कतै गाउँबाट कोरोना फैलिन्छकी भन्ने डर हुँदै आएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा र दशैं पर्व पछिको महत्वपुर्ण पर्व बिसुलाई मानिने भएकाले पनि यहाँका स्थानीयहरु बढीजसो यो बेला आ आफनो घर फर्किने गरेको जोरायल गाउँपालिका वडा नं ५ गडसेराका मोहनबहादुर पातलीले बताए । उनले भने, “दशैँ भन्दा पनि यहाँका गाउँमा बिसु र गौरा पर्व लाई बढी महत्व दिइने भएकाले पनि मिलेसम्म यो बेला घर नआउने लगभग कोही हुदैन ।” बिसु पर्वका लागि गाउँमा नयाँ लत्ताकपडा तथा आवश्यक सामग्रीहरु किन्नेको अहिले भिडलाग्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका अर्का स्थानीय तथा व्यापारी चेतबहादुर विष्टले जानकारी दिए । दशैं तिहारजस्ता चाडपर्वले समेत गाउँ नफर्काएकाहरुलाई पनि कोरोना भाइरसको त्रासले अहिले आफनै गाउँ आउन बाध्य बनाएको जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं १ साना गाउँका श्यामबहादुर खड्काले बताए । उनले भने, “शहर बजारमा बढी भिडभाड हुन थालेपछि कोरोना फैलिन सक्ने डरले गाउँमा आएका छौँ, गाउँमा शान्त छ शहर बजारको जस्तो भिड नभएकाले आनन्द भएको छ ।” बिगतको समयमा गाउँघरमा जनशक्ति नभएपछि सयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति अहिले गाउँ फर्किएसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “गाउँ छाड्ने प्रबृतिले यहाँको सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो अवस्थामा थिए अहिले सबै घर फर्किएका छन्, बाँझो जमिनमा खेती गरेर अन्न उत्पादन बढ्ने भयो ।” कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वकै आर्थिक क्षेत्रमा ठूलो गिरावट आउने आँकलन गरिएको छ । तर डोटी लगायत समग्र सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा यतिबेला जम्मा भएका युवा तथा सबै नागरिकले आफ्नो घरगाउँमा बाँझो रहेका पुख्र्यौली खेतबारीमा खनजोत गरी खेतीगर्ने आसा पलाएको छ । यतिबेला गाउँमा आएकाहरु बिसु पर्व मनाएर फर्किहाल्ने अवस्था नरहेको र कोरोनाको असर अझै कतिसम्म रहने हो भन्ने अनुमान नरहेकाले पनि आगामी समयमा यहाँ अन्न उत्पादनको अवस्थामा बृद्धि हुने अपेक्षा स्थानीयको छ । सडक मार्गबाट एक हप्तामा कम्तिमा पनि एक हजार जनाको सङ्ख्यामा स्थानीय जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । एक हप्तामा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला भित्रिने भिमदत्त पन्त राजमार्गबाट कम्तिमापनि ५ सय २७ ओटा जीप र १ सय ओटा बसमार्फत कम्तिमा ५ हजार ७ सय ९७ नागरिक भित्रिएको पहाडी जिल्लाका नाकाका रुपमा रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ । सार्वजनिक गाडीको अभिलेख प्रहरीसँग भए पनि निजी गाडीबाट पनि ठूलो सङ्ख्यामा यात्रु भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरिनेको सङ्ख्या कम र भित्रिनेको सङ्ख्या अत्याधिक रहेको शैलेश्वरी यातयात व्यवसायी समितिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । स्थानीय नागरिक भन्छन्– ‘संसारमा र हाम्रो नेपालमा पनि कोरोनाको कहर त छँदैछ, तर पनि यस क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो जन्मस्थलमा आएकोले गाउँघर यतिखेर निकै भरिभराउ र रमणीय बन्दै गएको छ ।’ रासस