कोरोना प्रभाव : अमेरिकी डलरको भाउमा उच्च वृद्धि
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर ११५ रुपैयाँ ८० पैसा रहेको थियो । केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १४० रुपैयाँ ११ र बिक्री दर १४० रुपैयाँ ८० पैसा तोकिएको छ । रासस
बेलायतमा पनि ‘लकडाउन’, दुई जनाभन्दा बढी भेट्न नपाइने
लण्डन । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन्। सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सार्नु भएको हो । यो नियम तत्काल लागू हुने भएको छ । आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ । यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताएका छन् । उनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए । बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ । छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ । उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम भएको समाचारमा जनाइएको छ । यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ । टेलभिजनमा सम्बोधन गर्नु हुँदै चान्सलर एञ्जेला मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएका थिए । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् । रासस / एएफपी
अपडेट: कोरोनाबाट विश्वभरि १६ हजार ५ सय ५८ को मृत्यु
जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५ सय ५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ३ लाख ८१ हजार ७ सय ६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४ सय २९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७ सय ७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १ सय ७१ जना सङ्क्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १ सय ५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार सात हजार ४ सय ३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८ सय सय १२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८ सय ६१ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३ सय ११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४ सय ७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३ सय ५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय २३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४ सय ८० जना सङक्रमित रहेका छन् । यसैबीच ४ सय ५३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५ सय ८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित भने, २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८ सय ६० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७ सय ९६ सङ्क्रमित रहेका छन् भने २ हजार २ सय उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४ सय १० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५ सय ७ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २० व्यक्तिको मृत्यु भएको छ । ८ हजार ५ सय ४४ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ३५ व्यक्तिको मृत्यु भएको छ । ६ हजार १ सय ८० सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय १३ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ५ सय ३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४ सय ४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २ सय ५४ सङ्क्रमित भएका छन् । यसैबीच ४ सय १ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६ सय १ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी
बन्दी र कारागारमा रेडक्रसको सहयोग
काठमाडाैं । बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । यस अनुसार हिजो केन्द्रीय कारागर र नख्खु कारागरको भ्रमण गरी सामग्रीहरु सहयोग गरिएको छ । कारागार व्यवस्थापनको अनुरोधमा नेपाल रेडक्रसबाट केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराई र जडान गरिएको छ । केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए। साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई हिजै वितरण गरिएको छ । ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती रहेको छ । त्यसैगरी कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ । पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमण पछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।
अमेरिकामा दुई जना नेपालीमा देखियो कोरोना पाेजेटिभ
काठमाडाैं । अमेरिकामा दुई जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई जना नेपालीमा काेराेना पुष्टि भएकाे हाे । कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको जानकारी दिइएकाे छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै बसिरहेका छन्। यस्तै, संक्रमित ४७ वर्षीय व्यक्तिले न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। चार दिनमा फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिजनको मात्रा कम भएको र निमोनिया देखिएको जनाइएको छ।
सर्वसाधारणले बुझेनन् लक डाउन, माइकिङ गर्दा पनि नटेरे पुलिसले समाउने
काठमाडौं । सरकारले आजदेखि देशभर लकडाउन घोषणा गरेको छ । विश्वलाई नै चुनौति र आतंकित पारिरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपालले पनि सजगता अनाउँन आजबाट लक डाउन घोषणा गरेको हो । सरकारले क हप्ताका लागि लक डाउन गरेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने डरले सरकारले आज बिहान ६ बजेबाट लागूहुने गरी देशैभर लक डाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक अवस्था बाहेक सडकमा निस्कन निषेध गरेको छ । राजपत्रमा पनि उल्लेख भए अनुसार अत्यावश्यक क्षेत्र बाहेक सबै बन्द गर्न निर्देशन पनि दिइएको छ । लक डाउनको अर्थ सबै नागरिक सुरक्षित रुपमा घरमै बस्ने हो । तर, विभिन्न सहरहरुमा केही मानिसहरु लक डाउन कस्तो हो भनेर हेर्न निस्किएका छन् । सरकारले लक डाउन गरिसकेपछि सर्वसाधारले आफै बुझनु पर्ने प्रहरी अधिकारीको भनाइ छ । नेपाल प्रहरीका सूचना अधिकारी शैलेश थापा क्षेत्रीले सबैले बुझुन भनेर प्रहरीले माइकिङ पनि गरिरहेको बताए । बिना काममा बाटोमा हिडेका मानिसहरुलाई प्रहरीले सुझाव दिइरहेको रहेको उनको भनाइ छ । ‘सम्झाउँदा सम्झाउँदै र माइकिङ गर्दा पनि ७/८ जनाको समूह भएर हिँडे भने पुलिसले समाउछ, सबैलाई आतंकित पारिरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर सबै आफ्नो घरमा बस्ने बेला हो,’ थापा क्षेत्रीले भने । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि सरकारको निर्णयलाई पूर्ण रुपमा पालना भएको छैन । सडकमा मोटरसाईकल, अटो, जीप, कार भ्यान, ट्रक, टिपरहरु समेत सरकारको निर्णयलाई बेवास्ता गर्दै गुडिरहेका छन् ।
काेराेनाकाे शंकामा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु
काठमाडाैं । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पतालले जनाएको हाे ।
सुनसान बन्याे त्रिभुवन विमानस्थल, आन्तरिक र बाह्य उडान ठप्प
काठमाडाैं । देश पूर्ण रूपमा लक डाउन भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान बनेकाे छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प छ । आज कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले रोक लगाएपनि यात्रु लिन भन्दै केही विमान कम्पनीले उडान गरेका थिए । आज भने कुनै पनि विमान नआएको र सम्पर्कमा समेत नरहेको विमानस्थल कार्यालयले बताएकाे छ । यस्तै, आन्तरिकतर्फको उडान पनि पुर्ण रूपमा बन्द छ । आन्तरिक विमान सेवा प्रदायकहरूले चैत १८ गतेसम्म बन्द रहेको सूचना सार्वजनिक गरेका छन् ।