काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका चैत ११ गते(आज)बाट बन्द भएका छन् । पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए ।
झापाका सम्पादक/प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ ।
झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् । झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस