नेपाल उद्योग परिसंघद्वारा कोरोना संक्रमणको उपचार गर्ने ४९ थान पीपीई हस्तान्तरण
काठमाडाैं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण (काेभिड-१९) प्रकोप नियन्त्रण गर्ने प्रयासमा ४९ थान निजी सुरक्षा उपकरण(प्रसनल प्राेटेक्टिभ इक्वीपमेन्ट-पीपीई) हस्तान्तरण गरेकाे छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने उक्त उपकरण हस्तान्तरण गरेका हुन् । हाल परिसंघसंग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भिवष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने उनले जनाए। अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताए । यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो । हस्तान्तरणका अवसरमा परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पनि सहभागी भएका थिए । यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ-आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।
कोरोना प्रभावित उहानका बासिन्दालाई १४ दिन पछि अन्यत्र जान खुला गर्ने तयारीमा सरकारको
उहान । कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ । कोभिड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ । हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेइमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् । गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो । विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो । रासस/सिन्ह्वा
देउराली जनता फर्मास्यूटिकल्सले कोरोनाको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने
काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने भएको छ । देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले देशमा कोरोनाको उपचारको लागि उद्योगले उत्पादन गर्दै आएको हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट कोरोनाको उपचारका लागि प्रयोग हुने भएकाले उक्त औषधि निःशुल्क दिन बताए । ‘देशमा महामरी आइसकेको छ, सरकारलाई कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने औषधि कम्पनी दिन तयार रहेको छ,’ शर्माले भने । औषधि उत्पादनका क्षेत्रमा परिचित उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालीले विगत ३० बर्षदेखि उत्पादन गर्दै आएको औषधि कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि उपयोगी ठहरिएको पनि शर्माले बताए । यो औषधि प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण चाँडै निको हुने गरेको तथ्यहरु प्रकाशित भएपछि उद्योगले विज्ञप्ति निकालेर आफूहरु निःशुल्क रुपमा कोरोनाको उपचारका लागि औषधि उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेको हो । हालै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका अध्ययन प्रकाशनहरुमा कोरोनाको उपचारका लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि कोरोनाको उपचारका लागि उपयोगी हुने कुरा प्रकाशित भएका छन् । कम्पनीको ३ सय ५ थरीका औषधी बजारमा छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग, पेट रोग लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधीको उत्पादन गरिरहेको छ । अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत कम्पनीले गर्दै आएको छ । कम्पनीले एक दशकभन्दा अगाडिदेखि नै नेपालमा पहिलो पटक आइएसओ १४००१, आइएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठनको निर्माण प्रकृया (जीएमपी) लगायतका प्रमाणिकरण गराई औषधिको गुणस्तर कायम गरेको थियो । कम्पनीमा करिब १ अर्ब ५० करोड रूपैयाँ लगानी रहेको छ ।
घरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्यो हटलाइन
काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला ट्रमा सेन्टरले ओपिडी सेवाको लागि हटलाईन सन्चालनमा ल्याएको छ । लकडाउनको समयमा घरमै बसेर ओपीडी सेवा प्रदान गर्नको लागि अस्पताल हटलाईन सन्चालनमा ल्याएको हो । कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको छ । घरबाटै ओपीडी सेवा लिनका लागि ०१—४२२५२७५ नम्बरको हटलाइन सुरु गरेको हो । अस्पताल समयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त सेवा घरबाटै लिन सकिने बताएकाे छ ।
डिशहोमको नियमित प्याकेजका ग्राहकहरुले थप च्यानलहरु हेर्न सक्ने
काठमाडौं । डिशहोमले नियमित प्याकेजका ग्राहकहरुलाई थप च्यानलहरु उपलब्ध गराउने भएको छ। डिशहोमका नियमित प्याकेजका ग्राहकहरुले प्लस प्याकेजका ११ वटा थप च्यानलहरु हेर्न सक्नेछन् । प्लस प्याकेजहरुमा प्लस मुभि एचडी एण्ड एसडी, रमाईलो टिभी एचडी एण्ड एसडी, एक्सन स्पोर्टस् एचडी एण्ड एसडी, गुञ्जन एचडी एण्ड एसडी, सिने हिटस् एचडी एण्ड एसडी, नाइनएक्सएम एचडी, डी मूभिज, के वर्ल्ड, जुनियर टिभी, रायम्स टिभी र भोजपुरी टिभी रहेका छन् । कोभिड १९ का कारण विश्वव्यापी महामारीसँग जुध्न नेपाल सरकारले गरेका निर्णयहरूमा सहयोग गर्दै कम्पनीले आफ्नो सामाजिक उत्तर्दायित्व अन्तर्गत उक्त सेवा उपलब्ध गराएकाे हाे । यसका साथै कम्पनीले सरोकार टिभी, सीएनएन, बीबीसी वर्ल्ड न्यूज, अल्जाजीरा, आजतक, एबीपी न्युज, जी न्युज, इन्डियन टुडे, टाइम्स नाऔं, न्युज इन्डिया र इन्डिया टिभी जस्ता समाचार च्यानलहरु पहिलेदेखि नै सम्पूर्ण प्याकेजमा उपलब्ध गराउँदै आएको छ ।
घरमै बसेर परामर्श सेवा लिन टिचिङले सुरु गर्यो टेलिहेल्थ सेवा
काठमाडौं । कोरोनाको कारण देशभर लकडाउन भईरहेको बेला टिचिङ अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएको छ । लकडाउनको समयमा परामर्श सेवा प्रदान गर्नको लागि अस्पतालले फोन, स्काईप तथा एप्स मार्फत सेवा दिन टेलिहेल्थ सेन्टर सन्चालनमा ल्याएकाे हो । कोभिड १९ को सम्भावित जोखिमलाई मध्यनजर गदै अस्पतालले यस्तो सेवा ल्याएको विज्ञप्ती मार्फत जानकारी दिएको हाे । यो सेवा लिनका लागि हटलाइनमा आइतबार देखि शुक्रबारसम्म फोन गर्न सकिने छ। अस्पतालले बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा सञ्चालनमा ल्याएको छ।
‘लकडाउन’ भएपनि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
काठमाडाैं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो । ती उद्योग सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानीटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शङ्कास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । त्यस्ता उद्योगले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन तथा उत्पादन नियमित तुल्याउन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्न आह्वान गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । यसैगरी मन्त्रालयले औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक, कार्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था गर्न पनि आग्रह गरेको छ । अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई नियमित पूर्ण क्षमतामा उत्पादन थाल्न निजी क्षेत्रको छाता संगठनलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ । रासस
कोरोना विरुद्धको लडाईंमा भाटभटेनीले गर्याे एक करोड सहयोग
काठमाडौं । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछाैं,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’ विपतको घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको अध्यक्ष गुरुङले भने । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं, ।’ विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु¥याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ । भाटभटेनी समूहले विपतको अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ ।