विकासन्युज

आइतबार एनसीसी बैंककाे ६२ वटा शाखाहरु खुल्ने (सूचीसहित)

काठमाडाैं । एनसीसी बैंकले आइतबार(आज) आइतबार वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिने भएकाे छ । लकडाउनकाे परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएकाे छ । यस अवधिमा ग्राहकले बैंककाे बैकिङ्ग सुविधा (नगद काराेबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्राेनिक चेक क्लियरिङ सेवा) लिन सक्नेछन् । बैंकले गत बिहीबार पनि ४७ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिएकाे थियाे । साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ । प्रदेश १ का शाखाहरु : विराटनगर, इटहरी, कटारी, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन । (सम्पर्क व्यक्ति : राम नाथ गौतम, फोन नं : ९८५१०५३९१५) प्रदेश २ का शाखाहरु : मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी, बयलवास, चन्द्रनिगाहपुर, करैयामाई, बिष्णुपुर, जनकपुर । (सम्पर्क व्यक्ति : समिर आचार्य, फोन नं : ९८५२०२७३०५) बाग्मती प्रदेशका शाखाहरु : सुकेधारा, चावहिल, सिपाघाट, बनेपा, जुगल, बाहृबिसे, पनौती, पाँचखाल । (सम्पर्क व्यक्ति : शरद जी राज, फोन नं : ९८५११०१०४०) थानकोट, महाराजगञ्ज, लुभु, चापागाँउ दोबाटो । (सम्पर्क व्यक्ति : अर्जुन जंग सिलवाल, फोन नं : ९८५११०१०९०) हेटौडा, गैंडाकोट, नरायणगढ, कावासोती, चनौली, हुप्सेकोट शाखा तथा माडी एक्सटेन्सन काउण्टर । (सम्पर्क व्यक्ति : सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३) गण्डकी प्रदेशका शाखाहरु : बाझापाटन-पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर । (सम्पर्क व्यक्ति : सुमन आचार्य, फोन नं : ९८५१२३४२१८) प्रदेश ५ का शाखाहरु : सिद्धार्थनगर, सुनवल, दाँङ्गीशरण, अर्गली, सत्यवती, सुलिचौर । (सम्पर्क व्यक्ति : मेघ नाथ पाण्डे, फोन नं : ९८५७०२८२६०) गुलरिया । (सम्पर्क व्यक्ति : संजय कार्की, फोन नं : ९८५१२४२४४४) कर्णाली प्रदेशका शाखाहरु : जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर । (सम्पर्क व्यक्ति : संजय कार्की, फोन नं : ९८५१२४२४४४) सुदूर-पश्चिम प्रदेशका शाखाहरु : महेन्द्रनगर, धनगढी, बैतडी, लम्की, अत्तरिया, दिपायल । (सम्पर्क व्यक्ति : संगिता शर्मा चटौत, फोन नं : ९८५८७५१९७०)

कोरोना संक्रमितलाई के कस्तो औषधी दिएर उपचार गरिदैछ नेपालमा ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सारा संसार आक्रान्त भैरहेको छ । नेपालमा पनि गत १० माघमै कोभिड १९ को पहिलो संक्रमण देखिएको थियो । नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ९ पुगेको छ । पछिल्लो केही दिनयताको तथ्यांकले संक्रमण बढ्दो क्रममा रहेको संकेत गर्छ । नेपालमा पुष्टी भएका ९ जना संक्रमितमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालमा हालसम्म कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको पुस्टी भएको छैन । संसारभरको तथ्यांक हेर्ने हो भने पनि करिब ११ लाख संक्रमित हुँदा ५५ हजारभन्दा बढीको मृत्यु तथा करिब २ लाख ५० हजारको उपचारपछि निको भएका अहिलेसम्मको तथ्यांकले देखाउँछ । तर, कोरोना भाइरसको औषधी भने हालसम्म पत्ता लागेको छैन । औषधी बनाउनको लागि संसारभरका हजारौँ बैज्ञानिकहरु दिनरात अनुसन्धान गरिरहेका छन् । तर हालसम्म कुनै ठोस निस्कर्षमा पुग्न नसकेको समाचारहरु आइरहेका छन् । कोरोना संक्रमितको उपचारको लागि हरेक देशले आआफ्नै उपचार पद्दति अपनाएका छन् । कोरोना भाइरस विरुद्धको औषधी वा कोरोना संक्रमण विरुद्ध खोप वा औषधी पत्ता नलागे पनि विश्वभर यो संक्रमण भएर प िनिको हुनेहरुको संख्या ठूलो छ । अधिकांश देशले संक्रमितको उपचार खर्च राज्यको तर्फबाट नै बेहोरेका छन् । औषधी उपचारको व्यवस्था राज्यले नै मिलाएको छ । नेपालमा कसरी भइरहेको छ उपचार ? हालसम्म नेपालमा देखापरेका संक्रमण त्यस्तो गम्भीर प्रकृतिको नभएको, ज्वरो, खोकी जस्ता साधारण समस्या मात्र देखिएकाले पारासिटामोल लगायतका सामान्य औषधीबाट उपचार भैरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीे बताउँछन् । संक्रमितलाई भाइरसको कारण हुनसक्ने सेकेन्डरी इन्फेक्सनबाट बच्नका लागि केही एन्टिवायोटीकहरु समेत प्रयोग गरिएको, हालसम्म कोरोनाको संक्रमणका कारण भेण्डिलेटरमा उपचार गर्नुपर्ने अबस्था नआएको, ओसेल्टामिभेर, रिटोनाभेर जस्ता एन्टिरेट्रो भाइरलहरु समेत लक्षण तथा सरुवाको रोग प्रतिरोधात्मक क्षमता बृद्धीको लागि प्रयोग गर्ने गरिएको छ । अन्य केही मुलुकमा प्रयोगमा रहेको हाइड्रो अक्सीक्लोरोक्विनको घातक साइडइफेक्ट रहेको कारण प्रयोगमा नरहेको र कोरोना उपचारको लागि नेपालमा आफ्नै गाइडलाइन तयार गरेर देशैभर समान उपचार पद्धति लागू गरिएको डा. राजभण्डारीे बताउँछन् । त्यस्तै युनिभसिर्टी अफ नटिङ्गमका भाइरोलोजिस्ट प्रा. जोनाथन वाल्ट जर्नलमा लेख्छन् ‘कोरोना भाइरसको सटिक औषधी नबन्दासम्मका लागि उपचारको उपलब्ध बिकल्प भनेको लक्षणको आधारमा गरिने उपचार नै हो । स्वासप्रस्वासमा समस्या उत्पन्न भए अक्सिजन मास्क तथा कृत्रिम स्वासप्रस्वास (भेन्डिलेटर) को प्रयोग, अस्थिर रक्तचापको लागि इन्ट्राभेनस ट्रिप, पखालाको लागि पुनर्जलीय उपचार तथा दुखाइ अत्याधिक भए पेनकिलरको प्रयोग गरिने उपचार नै हो । अन्ततः भाइरससँग लड्ने तथा भाइरसलाई हराउने भनेको मानव शरीरले नै हो ।’ अव प्रश्न उठ्न सक्छ कि लक्षणको आधारमा उपचार हुने तथा भाइरसलाई मानव शरीरले नै हराउने गर्दछ भने कोरोना बिरुद्धको औषधी किन आवस्यक पर्यो त ? त्यसको लागि हामीले यो बुझ्न आवश्यक छ कि लक्षणको आधारमा गरिने उपचार शतप्रतिसत सफल छैन । कोरोना संक्रमणको फैलावट अत्यन्त तीब्र छ । तथ्यांकलाई नै हेर्दा २ लाख ५० हजारको उपचार पश्चात निको हुँदा ५५ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ । त्यसैले कोरोना बिरुद्धको औषधी अत्यावश्यक छ ।

कोरोना अपडेट : विश्व काेराेना संक्रमितकाे संख्या साढे एघार लाख बढी, ६१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वका कोरोना भाइरस (कोभिड १९)को संक्रमणले नयाँ स्वरुप लिएको छ । हालसम्म २ सयभन्दा बढी देशका फैलिएको कोरोनाबाट संसारभरीका ६१ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ११ लाख ५० हजार ३ सय ५० जना मानिस संक्रमित छन् भने २ लाख ४५ हजार ३ सय ९ जना मानिस उपचार पछि घर फर्किएका छन् । चीनबाट फैलिएको कोरोनाले अमेरिका र युरोपेली मुलुकमा अन्य मुलुककाे तुलनामा तीव्र रूपमा फैलिएकाे छ । हालसम्म अमेरिकामा ७ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र ७ सय ५ जनाको मृत्यु भएको थियो । हालसम्म अमेरिका २ लाख ८० हजारभन्दा बढी कोरोना संक्रमित छन् भने १२ हजार ७ सय ५६ जना उपचार पछि घर फर्किएका छन् । स्पेनमा १ लाख २४ हजारभन्दा बढी कोरोना संक्रमित छन् । हालसम्म ११ हजार ८ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ८ सय ५ जनाको मृत्यु भएको थियो । हालसम्म ३४ हजार २ सय १९ जनालाई निको भएको छ । इटालीमा पछिल्लो दिन ८० जनाको मृत्यु भएको छ यहाँ अहिले सम्म १४ हजार ७ सय ६१ जनाको मृत्यु भएको छ भने १ लाख २० हजारभन्दा बढी संक्रमित छन् । हालसम्म १९ हजार ७ सय ५८ जना मानिसलाई उपचार पछि निको भएको छ ।  जर्मनीमा एकैदिन ३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । हालसम्म ९३ हजारभन्दा बढी कोरोना संक्रमित छन् । जर्मनीमा ३ हजार ४६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार १ सय ६७ जना घर फर्किएका छन् । चीनमा पछिल्ला दिनमा अन्य देशको तुलनाका कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको छ । कोरोनाको उद्गम स्थलको रुपमा रहेको चीनमा पछिल्लो दिन ८० जना नयाँ सक्रमित भेटिएका छन् । ८३ हजार ३ सय ४९ जना संक्रमित छन् भने ३ हजार ३ सय २६ जनाको मृत्यु भएको छ भने ७६ हजार ९ सय ८७ जना उपचार पछि निको भएका छन् । त्यस्तै फ्रान्स २ हजार १ सय ६५ जना संक्रमित भेटिएका छन् भने ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै १४ हजार जना उपचार पछि घर फर्किएका छन् । इरानमा कोरोना संक्रमितको संख्या ५५ हजार ७ सयभन्दा बढी रहेका छन् भने ३ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ । हालसम्म १९ हजार ७ सय ३६ जना उपचार पछि घर फर्किएका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा ७ सय ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ सय ३ सय १३ जना पुग्यो भने ४१ हजार ९ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै जम्मा १ सय ३५ जना उपचार पछि घर फर्किएका छन् । टर्कीमा ४ सय २५ जनाको मृत्यु भएको छ भने झन्डै २१ हजार कोरोना संक्रमित छन् । त्यस्तै स्वीट्जरल्याण्डमा २० हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ६ सय ३२ जना मृत्यु भएको छ । बेल्जियम १८ हजार भन्दाबढी संक्रमित छन् भने १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सयभन्दा बढी छ भने १ हजार ६ सय ५१ जनाको ज्यान गएको छ । क्यानडामा १२ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित छन् भने २ सय ८ जनाको ज्यान गएको छ । अष्ट्रियामा हालसम्म १ सय ८६ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ११ हजार ७ सय ८१ पुगेको छ । पोर्चुगलमा १० हजार १ सयभन्दा बढी कोरोना संक्रमित छन् भने २ सय ६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० हजार १ सय ५६ पुगेको छ । हालसम्म दक्षिण कोरियामा ९४ जनाको मृत्यु भएको छ भने ६ हजार ३ सय २५ उपचार पछि घर फर्किएका छन् । यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ । शनिबार मात्रै नेपालमा ३ जनामा काेराेना देखिएकाे छ हाल सम्म काेराेना संक्रमितको संख्या ९ पुगेकाे छ । त्यस्तै छिमेकी राष्ट्र भारतमा पछिल्लाे २४ घण्टामा  १८ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ भने ३ हजार भन्दा बढी संक्रमित छन् ।

मेगा स्टोरले ल्यायो स्मार्ट डोको, सामान खरिद गर्दा प्रत्येक ग्राहक १० पिस माक्स

काठमाडौं । सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै मेगा स्टोरले प्रत्येक ग्राहक लागि १० पिस माक्ससँगै मेगा होम डेलिभरीको शुरुवात गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै स्मार्ट डोको एक अनलाइन सपिङ्ग मेगा स्टोरले ग्राहकको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरी गर्न सुरु गरेको हो । लकडाउनको कारण दैनिक उपभोग्य खरिद गर्नका लागि ग्राहकलाई समस्या भएसँगै उपत्यका भित्रमात्र मेगा स्टोरले सेवा प्रदान गर्छ । ग्राहकले आफ्नो कम्प्युटर वा ल्यापटप मार्फत मा गएर स्मार्ट डोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरी सुविधा पाउन सकिन्छ ।

अब एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने

काठमाडौं । सरकारले  एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान नपाइने निर्णय गरेकाे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्। उनले यसरी एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जानेलाइर् कारबाही गर्ने बताएका हुन् ।

लकडाउनलाई थप कडाई गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेकाे छ । आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । उनले लकडाउन सार्ने बारे भने केही निर्णय नभएकाे बताए । यस्तै, उनले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको बताए। उनले काेराेना भाइरस जोखिम थप जटिल नहोस भन्नका लागि सरकारले त्यहाँ र्‍यापिड टेष्ट गर्ने निर्णय गरिएको बताए । यस्तै, बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्काे स्थानीय तहकाे आवगमनमा कडाइ गर्ने निर्णय गरेको छ। यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्टमार्फत परीक्षण गर्ने, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरणहरु यथाशक्य चाँडो उपलब्ध गराउनेलगायत निर्णय गरेको छ।

उपचार नगरी बिरामी फर्काउने अस्पताललाई गण्डकी प्रदेशले कारबाही गर्ने (निर्णयसहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारले बिरामी जाँच्न नमान्ने र फर्काउने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेशस्तरीय मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने लगायत १२ वटा निर्णय गरेको छ। यस्ता छन् प्रदेश सरकारका निर्णय: १. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया विदा बाहेकका अन्य विदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका विदा समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। २. कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारीत अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने। ३. निजी क्षेत्र, सामुदायिक क्षेत्र वा विश्व विद्यालय वा शैक्षिक क्षेत्र अन्तर्गत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई कोभिड–१९ रोगको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा तयारी अवस्थामा राख्ने तथा त्यस्ता अस्पताल तथा संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासकका सुत्केरी विदा र किरीया विदा वाहेकका अन्य विदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका विदा समेत रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्न र राजीनामा समेत स्वीकृत नगर्नलाई संक्रामक रोग ऐन, २०२० को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्वन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत गराउनुपर्ने छ । ४. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको काममा खटाइएका सरकारी निकाय, निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका कर्मचारीहरुले अनिवार्य रुपमा आ-आफ्नो जिम्मेवारी सम्हाल्न जाने गरी सामाजिक विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिने। ५. प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुखहरु अनिवार्य रुपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन तथा अन्य कर्मचारीहरुलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइएको छ । ६. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, वाधा व्यावधान र्पुयाउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम तत्काल कारवाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ । ७. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा दैनिक सूचना प्रवाह गर्ने जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकलाई दिइएको छ। ८. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा चालक सहितको एम्वुलेन्सहरु जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन र सोको प्रगति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन सम्वन्धित स्थानीय प्रशासनलाइ निर्देशन दिइएको छ। ९. कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आशंकित व्यक्तिहरुको निगरानी तथा स्वास्थ्य परिक्षण गर्ने, क्वारेन्टाइन, आइशोलेशन तथा डेडिकेटेड अस्पतालको व्यवस्थापन गर्न तथा नियन्त्रण, रोकथाम तथा उपचारको कार्यलाई थप प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन भएको छ। १०. विदेशबाट आई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रुपमा स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य संघसस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीयतहलाई निर्देशन दिइएको छ। १२. सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै विरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था मिलाउने र कुनै पनि वाहनामा तत्काल उपचार नगरी विरामी फर्काउने जस्ता गैर जिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन,२०२० लगायतका प्रचलित कानून अन्तर्गत आवश्यक कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने।

लक्ष्मी बैंकले कोरोना रोकथाम तथा उपचारका लागि १ करोड सहयोग गर्ने निर्णय

काठमाडौं । लक्ष्मी बैंकले कोभिड –१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्ने उद्देश्यले १ करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यसमध्ये ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरेको हो । यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै प्रभावित व्यक्ति तथा परिवारलाई केही हदसम्म राहत मिल्ने बैंकले जनाएको छ । नियमित बैंकिङ्ग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत सो सहयोग गरिएको जानकारी दिएको छ । यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पुर्याउदैं लैजाने समेत बैंकको प्रतिबद्घता जनाएको छ ।